अप्प दीपो भव

कुशीनगरमा एउटा सालको रुखमुनि तथागत विश्राम गरिरहेका छन्। उनी घोर पीडामा छन्, तर त्यो पीडालाई उनी अत्यन्त सहज भावले, बिना कुनै दुःख, सहन गरिरहेका छन्। विषाक्त भोजन सेवन गरेका कारण उनी अतिसारबाट ग्रस्त भएका थिए। उनको अवस्था झन् झन् बिग्रिँदै जान थालेको थियो। यस्तो लाग्थ्यो, अन्तिम समय आउन लागेको छ। उनले कोल्टो फेरे र आफ्ना शिष्य आनन्दलाई भने, "मलाई पानी खुवाऊ।"

आनन्द बुद्धका काका छोरा मात्र नभएर उनका अत्यन्त प्रिय शिष्य समेत थिए। बुद्धले बाह्य जगतसँग संवाद प्रायः उनीमार्फत नै गर्थे। बुद्धको जीवनका अन्तिम पच्चीस वर्ष आनन्द उनकै सान्निध्यमा रहेका थिए।

आनन्द पानी लिएर आए। बुद्धलाई पिलाए। पानी पिएपछि बुद्धले भने, "वत्स, अब म परिनिर्वाण प्राप्त गर्नेछु।"

आनन्द विचलित भए। उनी तथागतको छेउमा उभिन सकेनन्। केही पर रहेको रुखमुनि गएर रुन थाले।

बुद्धले फेरि कोल्टो फेरे। उनले आनन्दलाई कतै पनि देखेनन्। बुद्धले अर्का शिष्यसँग सोधे, "आनन्द कहाँ छन्?"

"तथागत, उहाँ पर एउटा रुखमुनि बसेर रोइरहनु भएको छ।"

"किन रोइरहेछन्?" तथागतको मुद्रा अत्यन्त शान्त थियो। "उनलाई बोलाऊ।" आनन्दलाई बोलाइयो। उनलाई देखेर बुद्धले सोधे, "किन रोइरहेका छौ?"

"बुद्ध, तपाईंको परिनिर्वाण हुन लागेको छ ।अँध्यारो हुँदैछ," आनन्दले भने।

बुद्धको शान्त अनुहारमा अलिकति मुस्कान छायो। उनले भने, "म न त कतैबाट आएको हुँ, न त कतै जाँदैछु। अब म अस्सी वर्षको भएँ, यो शरीर त छाड्नैपर्छ। अनि अँध्यारो कहाँ छ?"

आनन्द चुपचाप उभिइरहे। उनका आँखाबाट आँसुहरू बगिरहे। उनले बडो हिम्मत गर्दै बिस्तारै भने, "जब तपाईं हुनुहुन्न, बुद्ध ! तब हामीलाई बाटो कसले देखाउँछ? मलाई कसले प्रकाश दिन्छ?"

"अप्प दीपो भव !" तथागत बुद्धले भने। "मैले जुन कुरा भनेको छु, त्यसलाई बिर्स। तिम्रा पूर्वजहरूले जुन कुरा भनेका छन्, त्यसलाई पनि बिर्स। र आफ्नो अन्तःकरणमाथि विश्वास गर। आफ्ना विवेकमा विश्वास गर। अरूको प्रकाशको भर पर्नुभन्दा आफू नै दियो बन्नु उत्तम हो। अप्प दीपो भव। आफ्नो बाटो आफैँ उज्यालो बनाउ।"

प्रस्तुति: केदार सिटौला