जेल र जंगलमा समेत किताब नछाड्ने क्रान्तिकारी नेता फिडेल क्यास्त्रो

क्यूबा क्रान्तिकारी नेता र पूर्व राष्ट्रपति फिडेल क्यास्त्रोको किताबप्रति मोह र गहन अध्ययनशीलता देख्दा लाग्छ गहन अध्ययनबिना नेतृत्व असंभव छ !
सानैदेखि अत्यन्त अध्ययनशील खालका क्यास्त्रो इसाईहरूको धार्मिक स्कूलमा पढ्दा 'बाइबल' अति नै मन पराउनु हुन्थ्यो । स्कूलेकालमा स्पेनीश भाषाका थुप्रै महत्वपूर्ण साहित्यिक किताबहरूको अध्ययन गर्नुभएका युवा क्यास्त्रोलाई सबैभन्दा मनपर्ने लेखक हुनुहुन्थ्यो होसे मार्टी, क्यूबाली क्रान्तिका वीर ।
होसे मार्टी । इमेज: https://i.ytimg.com/
स्कूल र क्याम्पसकालमा उहाँलाई म्याक्सिमो गोमेज, कार्लोस म्यानुयल डे केस्पेडस इग्नासियों एग्रामोटे र अनतोनियो मेसियोजस्ता वीर देशभक्तहरूका जीवनीहरू असाध्यै मनपर्थ्यो । क्यूबाली संघर्षको इतिहासका उथलपुथलहरू र त्यसका वीरहरूको गाथा पढ्दै उहाँ हुर्कनुभएको थियो । र किशोर अवस्थादेखि क्यूबाको स्वतन्त्रता संघर्षका वीरहरूलाई पूजा गर्ने क्यास्त्रोले विश्वका धेरैजसो क्रान्तिका इतिहासहरू खर्लप्पै निल्नुभएको थियो ।
क्याम्पसमा कानूनको अध्ययनको क्रममा पहिलो वर्षमा पूँजीवादी राजनैतिक अर्थशास्त्रको गहिरो अध्ययन गर्नुभएका क्यास्त्रोले दोस्रो वर्ष क्रान्तिकारी र पूँजीवादी अर्थशास्त्रहरूका किताबहरूको स्वाद लिनुभएको थियो । पूँजीवादी अर्थतन्त्रको चिरफार गर्ने क्रममा मार्क्स, एंगेल्स, लेनिनबाट प्रभावित भई उहाँ क्रमशः समाजवादी हुन थाल्नुभएको थियो । क्याम्पसमा खेलकूद र राजनैतिक गतिविधिहरूमा पनि अत्याधिक क्रियाशील क्यास्त्रोले औपचारिक शिक्षा र अनौपचारिक ज्ञान आर्जनमा आफूलाई कहिल्यै पनि पछि पार्नु भएन ।
सन् १९५३ देखि १९५५ सम्मको जेल जीवन उहाँको लागि विश्वविद्यालय सावित भयो । जेलको अधिकांश समय अध्ययनका लागि खर्च गर्नुहुने क्यास्त्रोले त्यसबेला आफ्नो पढाइलाई अत्यन्त ब्यवस्थित र गहन पार्नुभएको थियो । जेलभित्रै राजनैतिक स्कूल स्थापना गरेर दर्शन, विश्व-साहित्य र राजनैतिक सिद्धान्त एवं क्रान्तिकारी संघर्षहरूको सुन्यवस्थिति अध्ययन गर्नुभएको थियो । दुई वर्षको जेल जीवनमा दैनिक १४/१५ घण्टाको दरले अध्ययन र अन्तर्क्रियाका लागि खर्च गर्ने क्यास्त्रोले संघर्षहरूको घोषणा-पत्र लेख्ने चिट्टीपत्रमार्फत् बाहिरका जनसंघर्षहरूसँगको सम्बन्धलाई जीवन्त पार्ने काम गर्नुभएको थियो ।
जेलजीवनकै क्रममा उहाँले महान् रूसी साहित्यकार दोस्तोयव्स्कीका अधिकांश किताबहरू, रोमाँ रोलाको lean Chrislophe का १० वटा भागहरू, भिक्टर ह्यूगोका Les Miserables जस्तो विशाल पुस्तक र बाल्जाको Human Comedy को अध्ययन गर्नुभएको थियो । उहाँ भन्नुहुन्छ "जेलमा बस्दा दोस्तोयव्स्कीको The House of the Dead पढ्नु भनेको राम्रो सोचाइचाहिँ होइन रहेछ !"
रोमाँ रोलाका किताबहरू राति ११ / १२ बजे मैनबत्ती र दियोको धमिलो प्रकाशमा झूलभित्र बसेर अध्ययन गर्दा आँखामा समस्या भएको बताउँदै उहाँ भन्नुहुन्छ - "मैले आफ्नो जीवनबाट किताबलाई अलग्याउन सकिनँ ।"
मेक्सिकोको निर्वासनका कठिन घडीहरूमा, क्यूबाली क्रान्तिको बेलामा सियरा माईस्त्राका पहाडहरूका संघर्षपूर्ण समयमा, प्रधानमन्त्री र राष्ट्रपतिको गहन जिम्मेवारी युक्त बेलामा पनि किताब पढ्न नछुटाउने क्यास्त्रो होसे मार्टी, बोलिभारजस्ता क्रान्तिकारीहरूको बारेमा लेखिएका किताबहरू जति मनपराउनु हुन्छ, त्यति नै मनपराउनु हुन्छ सेर्भान्तेजको 'दोन क्विक्जोट' र गाभ्रियल गार्सिया मार्सेजका सबै किताबहरू । सरकारी रिपोर्टहरूमा मात्रै हराउने शासकहरूभन्दा फरक रूपमा क्यास्त्रो आफ्नो देश र विश्वकै जटिल समस्याहरूको समाधानका लागि जीवन र जगतको अध्ययन गर्ने र विचारोत्तेजक भाषणहरूद्वारा चिन्तन-मनन गर्न सबैलाई अभिप्रेरित गर्ने विश्वकै कुशल नायक र राजनैतिक चिन्तकका रूपमा स्थापित हुनुहुन्छ ।
- मूल्याङ्कन, २०५७ चैतमा प्रकाशित
प्रतिक्रिया