'काका हो' बाट सिकौं !

क. हो चि मिन्हः उहाँको जीवनशैली सारै सरल थियो, तर उहाँको विचार भने पहाड जस्तै निकै दृढ र उँचो थियो ।
विश्व कम्युनिष्ट आन्दोलनमा क. हो चि मिन्हको नाम निकै प्रसिद्ध छ । चिनियाँहरु भियतनामी जनताका मुक्तिदाता हो चि मिन्हलाई स्नेह र आदरका साथ 'काका हो' भन्थे । हो चि 1 मिन्हको बाल्यकालको नाउँ कुङ्ग थियो । उहाँको जन्म गरीब र एउटा साधारण परिवारमा भएको थियो । उहाँ बाल्यकालदेखि नै आफ्नो मुलुकलाई उपनिवेश बनाउने साम्राज्यवादी मुलुक फ्रान्सका विरुद्ध लाग्नु भएको थियो । हो चि मिन्हले फ्रान्सिसी उपनिवेशविरोधी आन्दोलनको क्रममा डुएन तात थान्ह, बा, डुएन ऐ कुआक, ली थुई, लिन, टोङ्ग भाङ्ग, ओल्ड थु, हो क्वाङ्ग आदि नामबाट काम गर्नु भएको थियो । र, अन्तमा वहाँ हो चि मिन्ह अर्थात् 'ज्ञानदाता' को नामले प्रसिद्ध हुनु भएको थियो ।
फ्रान्सिसी साम्राज्यवादलाई पराजित गरेपछि आफ्नो देशमाथि आधिपत्य जमाउने अमेरिकी साम्राज्यवाद विरुद्ध पनि उहाँ निरन्तर जुझ्नु भयो । स्वतन्त्र र जनवादी भियतनामका राष्ट्र पति बनिसकेपछि पनि उहाँले निकै सरल जीवनयापन गर्नुभयो । उहाँको जीवन कति सरल थियो भन्ने कुरा वहाँको पहिरनबाटै स्पष्ट झल्किन्थ्यो । खाकी रंगको जीनको कमिज पाइन्ट र रबरको चप्पलका साथै, छाप्रो जस्तो घरमा वहाँको बसाईले पनि दर्शाउँछ- उहाँको जीवनशैली सारै सरल थियो, तर उहाँको विचार भने पहाड जस्तै निकै दृढ र उँचो थियो ।
प्रस्तुत छ, वहाँ सम्बन्धी दुई रोचक र प्रेरक प्रसंगहरु-
विश्वकम्युनिष्ट आन्दोलनको एकताको लागि
प्रसङ्ग सन् १९६० को हो ।
हो चि मिन्ह राष्ट्रपति भैसक्नु भएको थियो । उता, दुई ठूला समाजवादी राष्ट्रहरू चीन र सोभियत संघबीच कटुता बढ्न थालिसकेको थियो । मास्कोमा कम्युनिष्ट पार्टी र श्रमिक पार्टीहरूको सम्मेलन हुँदै थियो । सम्मेलनमा तयार पारिएको घोषणा-पत्रप्रति सबै राष्ट्रका प्रतिनिधिहरूले सहमति जनाइसकेका थिए । मात्र चिनियाँ प्रतिनिधिले असहमति जनाउँदै थिए । असहमतिको बुँदा सैद्धान्तिक भएकोले सोभियत संघ र चीन दुबै आ-आफ्नो अडानमा अडिग थिए । यसको कारणले सम्मेलन नै असफल हुने छाँटकाँट देखिइसकेको थियो । स्थितिलाई बिग्रन नदिन हो चि मिन्हले खुस्चेभलाई भन्नु भयो- “कमरेड खुस्चेभ, तपाई अलि लचिलो भइदिनुस् र चीनको कुरो मान्नुस् ।”
खुस्चेभले भने- "कसरी हुन सक्छ, आखिर यो सिद्धान्तको कुरा छ ? "
हो चि मिन्हले फेरि भन्नुभयो- “कमरेड खुस्चेभ, आखिर तपाई किन बुझ्नु हुन्न ? चीन एउटा ठूलो मुलुक हो र चिनियाँ कम्युनिष्ट पार्टी पनि निकै ठूलो पार्टी हो । यो हाम्रो अन्तर्राष्ट्रिय आन्दोलनबाट चीन अलग्गियो भने विश्व कम्युनिष्ट आन्दोलनले नै ठूलो घाटा व्यहोर्नु पर्नेछ । यो घोषणा पत्रमा चीनको सहमति पनि हुनै पर्दछ, तब न विश्वमा यसको राम्रो प्रभाव पर्नेछ ।”
खुस्चेभले फेरि भने- “तपाईं यो नसम्झनुस्, हामीले चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिलाई कम आँक्दैछौं । हामी उनीहरूसंग भाइचाराको व्यवहार गर्दैछौं नै। तर यो पनि नसम्झनुस् कि हामी पनि कमजोर छौं ।”
तर हो चि मिन्ह कुनै पनि हालतमा विश्व कम्युनिष्ट आन्दोलन टुक्रियोस् भन्ने चाहनुहुन्नथ्यो । त्यसकारण वहाँले फेरि भन्नु भयो- “तर यो हाम्रो लागि दुःखद घटना हुनेछ । साथै तपाईं यो पनि नबिर्सनुस् कि चीन हाम्रो छिमेकी मुलुक पनि हो ।”
यति भनी वहाँ चिनियाँ प्रतिनिधिहरूकहाँ जानु भयो र "कुराकानी गर्नु भयो । उहाँ फेरि सोभियत प्रतिनिधिहरूकहाँ जानु भयो । कुराकानी गर्नुभयो । लामो अन्तर्क्रियापश्चात् सोभियत प्रतिनिधिहरू बल्ल चिनियाँहरूसित सम्झौता गर्न तयार भए । र, केही हेरफेर पश्चात् चिनियाँहरूले पनि हस्ताक्षर गरे । र, यसरी वहाँले तत्कालीन स्थितिमा विश्व कम्युनिष्ट आन्दोलनलाई विभाजित हुनबाट बचाउनु भयो ।
गरीबहरूप्रतिको ममता
प्रसँग क्रान्ति अगाडिको समयको हो ।
विभिन्न मुलुकहरू घुमेर देशलाई मुक्त पार्ने उत्तम उपाय खोजी गर्ने ध्येयले २७ वर्षको उमेरमा उहाँ बेलायत पुग्नु भएको थियो । उहाँले त्यहाँ थाल र रिकापीहरू माझ्ने काम पाउनु भएको थियो । उहाँले त्यहाँ विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो ५ बजेदेखि बेलुकी ५ बजेसम्म काम गर्नु पर्थ्यो । रिकापी र थालहरू धुने क्रममा कुखुरा र सुँगुरका केही टुक्रा मासुहरू बचेको रहेछ भने त्यस्तो मासुको टुक्रालाई उहाँले भान्साघरमा पठाइदिनु हुन्थ्यो ।
उहाँको यस कामलाई एक दिन रेष्टुराँको भान्साको प्रमुखले देख्यो र उहाँलाई सोध्यो- बा ! (त्यतिबेलाको नाउँ) तिमी किन अरूहरूले जस्तै यी चीजहरूलाई फोहर फाल्ने भाँडोमा हाल्दैनौं ?
बाले जवाफ दिनुभयो- “यी चीजहरू किन फ्याँक्ने ? बरू तपाई यसलाई खान नपाएका गरीबहरूलाई बाँडीदिन सक्नुहुन्छ ।” बाको गरीबहरूप्रतिको यस्तो ममतायुक्त कुरा सुनी भान्साको प्रमुख अति खुसी भयो र उसले वहाँलाई भान्साको काम सिकाई कुक बनाइदियो ।
मूल्याङ्कन,२०५३, कार्तिक-मंसीरमा प्रकाशित
प्रतिक्रिया