गोप्य अनुरोध

थुप्रै मजदूर तथा किसानहरु भ्लादिमीर इल्यीचलाई उपहार पठाउने गर्थे । त्यो बेला मुलुकमा खाद्य पदार्थहरुको अभाव थियो र उनीहरु लेनिनलाई रोटी, दाल, चिनीहरु उपहारस्वरुप पठाउने गर्थे । उपहारहरुमा अरु चीजहरु पनि आउने गर्थे– छालाको कारखानामा काम गर्ने मजदूरहरुले लेनिनलाई भेडाको छालाको कोट पठाए, लोलोग्दाका लेस बनाउने महिला मजदूरहरुले उनलाई एउटा सुन्दर तन्ना पठाए, उता पेत्रोग्रादका कपडा मीलका मजदूरहरुले न्यानो कम्बल ।
जब त्यस्ता उपहारहरु आउथे, लेनिनलाई धेरै रिस उठ्थ्यो ।
‘यो कस्तो कुरा हो भ्लादिमीर इल्यीच, उनीहरुले त आफ्नो मनखुसीले यी उपहार पठाउने गर्छन्,’ सहकर्मीहरुले लेनिनलाई भन्ने गर्थे ।
‘ठीकै हो, यो कुरा म पनि जान्दछु,’ लेनिनले जवाफ दिन्थे, ‘तर यो कुरा ठीक होइन । यसको जड इतिहासमा छ । पुरानो जमानामा जमीन्दार र पादरी–पुजारीहरु उपहारको आशा गर्दथे । अब यो प्रथालाई अन्त्य गरिनुपर्ने समय आएको छ । हो, यो प्रथालाई खतम गरिनुपर्छ,’ उनी जोड दिएर भन्थे ।
एक पटक लेनिनलाई गोमेल प्रदेशका क्लींन्सी नगरका स्तोदोल्स्काया कपडा मिलका मजदूरहरुले पठाएको पत्र प्राप्त भयो ।
लेनिनले त्यो पत्र पढे । मजदूरहरुले लेनिनलाई अक्टोबर क्रान्तिको पाँचौं वार्षिकोत्समको अवसरमा बधाई पठाएका थिए, सुस्वास्थ्यको कामना गरेका थिए र लेखेका थिए, ‘...हामी तपाईंप्रतिको आदरस्वरुप एउटा सानो प्रतीक पठाइरहेका छौं ।’ पत्रमा त्यो उपहार कपडाको एउटा टुक्रा हो भनी लेखिएके थियो ।
पत्रको पुछारमा हस्ताक्षर गरिएको थियो । हस्ताक्षर पनि दुई चारजनाको होइन, पूरै चार सय मजदूरहरुले सो पत्रमा हस्ताक्षर गरेका थिए ।
थप एउटा उपहार पाउँदा लेनिन धेरै दुःखी भए । तर उनी मजदूहरुको उत्सवको उल्लासलाई भंग गर्न चाहदैनथिए ।
भ्लादिमीर इल्यीचले कलम उठाए र मजदूरहरुलाई एउटा पत्र लेखे–
‘प्रिय साथीहरु,
तपाईंहरुको शुभकामना र उपहारका लागि हार्दिक धन्यवाद । म तपाईंहरुलाई एउटा गोप्य कुरा बताउछु र त्यो भनेको मलाई अब देखि कहिल्यै उपहार नपठाउनुहोला । अनि यो गोप्य अनुरोधबारे यथासम्भव धेरै भन्दा धेरै मजदूर साथीहरु जानकारी पनि गराइदिनुहोला ।
तपाईंहरुकै
भ्ला. उल्यानोव (लेनिन)’’
लेनिनको पत्र पाउँदा क्लींत्सीका मजदूरहरु अत्यन्तै खुसी भए । तर साथसाथै उनीहरुले लेनिनलाई उपहारहरु मन पर्दैन भन्ने पनि बुझे । उनीहरुले भ्लादिमीर इल्यीचको त्यो अनुरोधलाई आदेशसरह माने । क्लींत्सीका सबै मजदूहरुले त्यो पत्रबारे छलफल गरे र उनीहरुले त्यसलाई सहरमा मात्रै हैन, पूरै प्रदेशमा प्रचार गरिदिए ।
‘ऐसे थे लेनिन’, प्रगति प्रकाशन मास्को (हिन्दी)बाट अनुदित

भोकै रहनु परेपनि पार्टीको नीति उल्लंघन गर्नु हुँदैन: चाओ एन लाई

वास्तविक अछूत को ?

लेनिनको सूट

सुन्दरी अभिनेत्रीलाई जर्ज बर्नाड शाको चतुर जवाफ

पुत्र वियोगले शोकाकूल गौतमी र महात्मा बुद्ध

नेताका छोराहरू: बलिदान, संघर्ष, र विवादका प्रसंग

जब मैले माओ र चे पढेँ, म झन् बढी सत्ता विरोधी भएँ: माइक टाइसन

प्रतिक्रिया