पोप फ्रान्सिसको अवसान : समर्पण, करुणा र परिवर्तनको युगको अन्त्य

रोमन क्याथोलिक चर्चका सर्वोच्च धर्मगुरु तथा भ्याटिकन सिटी स्टेटका प्रमुख, पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। भ्याटिकनले आजै उनको निधन भएको घोषणा गरेको हो ।

सन् २०१३ मा पोप बेनेडिक्ट सोह्रौँको राजीनामापछि निर्वाचित भएका पोप फ्रान्सिसले चर्चको इतिहासमा नयाँ अध्याय सुरू गरेका थिए। उनी पहिलो अमेरिकी महादेशका पोप, पहिलो जेसुइट, र १२०० वर्षपछि युरोपबाहिरबाट चयन भएका पहिलो पोप थिए।

उनको जन्म १९३६ डिसेम्बर १७ मा अर्जेन्टिनाको ब्युएनोस आयर्समा ‘जर्ज मारियो बर्गोलियो’ को रूपमा भएको थियो। इटाली मूलका प्रवासी परिवारमा जन्मिएका उनी रेलवेमा कार्यरत एकाउंटेन्ट बाबु र आमाकी संतान थिए। पाँच सन्तानमध्ये एक, जर्जले प्रारम्भिक शिक्षा रसायनशास्त्रमा प्राप्त गरे। तर, जीवनको मोडमा उनले धर्मको बाटोलाई अँगाले र सन् १९५८ मा ‘सोसाइटी अफ जेसस’ (जेसुइट समुदाय) मा प्रवेश गरे।

पोप बन्नुअघि ब्युएनोस आयर्सका आर्चबिशपको रूपमा सेवा गरेका उनले, चर्चको अनुशासन र रूपान्तरणमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरे। पोप बनेपछि उनले “फ्रान्सिस” नाम ग्रहण गरे — सन्त फ्रान्सिस अफ असिसीप्रतिको श्रद्धा स्वरूप, जसले विनम्रता, दरिद्रता र शान्तिको मार्ग अपनाएका थिए।

पोप फ्रान्सिस केवल एक आध्यात्मिक नेता मात्र होइन, परिवर्तनका संवाहक पनि थिए। उनले गरिबी, सामाजिक न्याय, अन्तरधार्मिक संवाद र जलवायु परिवर्तनजस्ता विषयहरूमा चर्चको ध्यान केन्द्रित गराए। पोपको भव्य निवास त्यागी उनी भ्याटिकनको गेस्टहाउसमा बस्न थाले — विनम्रता, मितव्ययिता र सरलताका प्रतीकका रूपमा।

उनले चर्चलाई थप समावेशी बनाउने अभियान चलाए। सीमान्तकृत समुदाय, आप्रवासी, समलैंगिक व्यक्ति, र धार्मिक अल्पसंख्यकहरूप्रति उनले गहिरो संवेदना व्यक्त गरे। यद्यपि, उनका विचारले सबैको समर्थन पाएका थिएनन्। चर्चका केही रूढिवादी वर्गले उनलाई अत्यधिक प्रगतिशील भन्दै आलोचना गरे।

उनको कार्यकाल केही विवादमुक्त पनि थिएन। विशेषतः यौन दुर्व्यवहारका घटनाहरूको व्यवस्थापनमा उनले सुधारको पक्ष लिँदा भित्रैबाट विरोधको सामना गर्नुपर्‍यो। तर उनले नेतृत्व छोडेनन्, बरु थप पारदर्शिता र जवाफदेहिताको अभियानमा सक्रिय रहे।

उनले अन्तिमपटक सार्वजनिक रूपमा सन् २०२५ को ईस्टर सन्डेपछि सेन्ट पिटर्स स्क्वायरमा ३५,००० मानिसलाई अभिवादन गरेका थिए। डबल निमोनियाबाट राहत मिलेपछि त्यो नै उनको अन्तिम सार्वजनिक उपस्थिति बन्यो।  आफ्नो मृत्यु हुनु भन्दा एक दिन अगाडि पोप फ्रान्सिसले गाजामा युद्धविरामको लागि आवहान गरेका थिए।

Image: https://ichef.bbci.co.uk