सभ्यताको गति बदलिदिने आविष्कार पाङ्ग्रा !

Image: https://cdn1.ozone.ru/

मानव इतिहासमा केही आविष्कारहरू यस्ता छन्, जसले सभ्यताको गति नै बदलिदिए। तीमध्ये पाङ्ग्रा सम्भवतः सबैभन्दा महत्त्वपूर्ण आविष्कार हो। अर्थात् मानव इतिहासमा गरिएका आविष्कारहरुमध्ये सबैभन्दा महत्त्वपूर्ण वस्तुहरू मध्ये एक पाङ्ग्रा  हो । यसलाई पहिलो पटक कसले प्रयोग गर्यो वा आविष्कार गर्यो भन्नेबारे कसैलाई थाहा छैन। तर यस आविष्कारले मानव जीवनको प्रत्येक पक्षमा गहिरो प्रभाव पारेको छ। यातायात, निर्माण, कृषि, उद्योगदेखि आधुनिक प्रविधि सम्म यसको प्रयोगले मानवीय कार्यक्षमतामा क्रान्ति ल्याएको छ।

अहिलेसम्म स्थापित मान्यताअनुसार प्रारम्भमा, पाङ्ग्राको प्रयोग अहिले जस्तो यातायातका लागि नभई कुम्हालेहरुले भाडा बनाउनका लागि गरेका थिए । पुरातात्त्विक प्रमाणहरू अनुसार,  आजको इराक भनिने क्षेत्रमा रहेका मेसोपोटामियालीहरूमा सम्भवत: ५००० BCE तिर पहिलोपटक पाङ्ग्राको प्रयोग विश्वास गरिन्छ । ती पाङ्ग्रा ढुङ्गा वा माटोका चक्रहरू थिए, जसलाई भाँडा बनाउन प्रयोग गरिन्थ्यो। गिलो माटोलाई पाङ्ग्रामाथि राखेर हातले घुमाइन्थ्यो, जसरी कुम्हारले माटोलाई भाँडा वा अन्य पात्रहरूमा रूपान्तरण गर्थे। यसरी  पाङ्ग्राको मद्दतले कुम्हालेहरुले पूर्ण रूपमा गोलाकार भाँडा बनाउन सिके ।  

रोलर र स्लेज

पाङ्ग्राको आविष्कार हुनुअघि, भारी वस्तुहरू कहिलेकाहीँ "रोलर र स्लेज" विधि प्रयोग गरी सारिन्थ्यो। स्लेज एउटा प्लेटफर्म हुन्थ्यो, जसलाई गोलाकार काठका लठ्ठाहरूको माथि राखिन्थ्यो। जब मानिसहरूले स्लेजलाई अगाडि तान्थे, अरूले पछिल्लो रोलरलाई निरन्तर अगाडि सार्ने काम गर्थे। यो कठिन परिश्रमपूर्ण विधि थियो, तर यसरी भारी वस्तुहरू एक ठाउँबाट अर्को ठाउँमा सार्न सम्भव हुन्थ्यो।

डिस्क पाङ्ग्रा

त्यसपछि, करिब ३५०० बीसीतिर, यसलाई जमिनमा मानिस र सामग्री सार्नका लागि प्रयोग हुन थालेको थियो । परिवहनका लागि प्रयोग गरिएका पहिलो पाङ्ग्राहरू ठोस काठका टुक्राहरूलाई जोडेर बनाइएका गोलाकार चक्रहरू थिए। तिनीहरूलाई साधारण गाडा, रथ, तथा बग्गीहरूमा जडान गरिन्थ्यो, जसलाई घोडा वा गोरुले तान्थे। यिनीहरू बलिया भए पनि अत्यधिक भारी र अलि असुविधाजनक थिए। सवारीसाधनमा यात्रा गर्न असहज तथा धक्का-मुक्का हुने खालको अनुभव हुन्थ्यो।

स्पोक-पाङ्ग्रा (छड्के पाङ्ग्रा)

करिब २००० BCE मा, इजिप्ट र मेसोपोटामियामा स्पोक-पाङ्ग्रा (छड्के पाङ्ग्रा) विकास गरियो, जसले तौल कम गर्न मद्दत गर्‍यो। यसले घोडा गाडी र रथहरूलाई हल्का बनायो र गति बढायो।

फलामे पाङ्ग्रा

युरोपमा करिब १००० BCE तिर फलामे पाङ्ग्राको प्रयोग हुन थाल्यो। यसले गाडीहरूलाई अझै बलियो र टिकाउ बनायो।

ह्वीलबारो (एक पाङ्ग्रे गाडा)

ह्वीलबारोको आविष्कार प्राचीन ग्रीसमा इसापूर्व ६औं देखि ४औं शताब्दीको बीचमा वा चीनमा इस्वीसंवत २औं शताब्दीमा भएको हुनसक्छ। ग्रीक ह्वीलबारोमा, आजकलका बारोहरू जस्तै, पाङ्ग्रा अगाडिको भागमा राखिएको हुन्थ्यो, जबकि चिनियाँहरूले पाङ्ग्रालाई बीचमा राखेका थिए।

रबर-मोडिएका पाङ्ग्रा

आधुनिक समयसम्म आइपुग्दा, पाङ्ग्राको संरचनामा उल्लेखनीय परिवर्तन आयो। १८४५ मा रोबर्ट विलियम थोमसनले रबर-लेपित पाङ्ग्रा आविष्कार गरे, जसले गाडीहरूलाई झन् सहज बनायो। १८८८ मा, जोन डनलपले वायुपूर्ण पाङ्ग्रा (Pneumatic Tire) आविष्कार गरे, जसले आजको मोटर गाडी उद्योगलाई नयाँदिशा दियो।

प्रार्थना पाङ्ग्रा

प्रार्थना पाङ्ग्रा बौद्ध धर्मको महत्त्वपूर्ण अङ्ग हो, जुन विश्वका प्रमुख धर्महरूमध्ये एक हो। यी पाङ्ग्राहरू खोक्रो धातुका सिलिन्डरहरू हुन्, जसको भित्र एउटा स्क्रोलमा मन्त्र (पवित्र श्लोक वा वाक्य) लेखिएको हुन्छ। बौद्धहरू विश्वास गर्छन् कि पाङ्ग्रालाई घुमाउँदा वा हावाले चलाउँदा, त्यो प्रार्थना बोलेजस्तै हुन्छ।

पाङ्ग्रा र अक्ष (Wheel and Axle)

आजको सवारीसाधनहरूमा, इञ्जिनले चलाउने पाङ्ग्राहरू बेलनाकार धुरीहरू (अक्ष) मा जोडिएका हुन्छन्। जब सवारीसाधन चल्छ, धुरी र पाङ्ग्राहरू सँगै घुम्छन्। अरू पाङ्ग्राहरूका धुरीहरू सवारीसाधनमा जडान गरिएका हुन्छन् र त्यससँगै सर्छन्। प्रारम्भिक सवारीसाधनहरूमा, सबै धुरीहरू पाङ्ग्रासँगै जडान गरिएका हुन्थे।

पाङ्ग्राको सभ्यताको विकासमा योगदान

पाङ्ग्राको विकासले यातायातको क्षेत्रमा क्रान्ति ल्याइदियो । त्यसले छोटो तथा लामो दूरीको यात्रालाई सहज बनायो। गाडा, रथ, बग्गी हुँदै आजको आधुनिक कार, मोटरसाइकल, र विमानका ल्यान्डिङ गियरमा समेत पाङ्ग्राको प्रयोग हुन्छ।

पाङ्ग्राको प्रयोगले कृषि उपकरणहरूमा व्यापक सुधार ल्यायो। ट्र्याक्टर, हलो, बीउ रोप्ने मेसिन जस्ता उपकरणहरूमा पाङ्ग्राको प्रयोगले कृषिको क्षेत्रमा निक्कै ठूलो योगदान दिएको छ । तिनको प्रयोगले कृषि उत्पादन क्षमता अभूतपूर्व रूपमा बढायो।

पाङ्ग्रा नहुने हो भने, आधुनिक उद्योग अस्तित्वमा आउनै सक्दैन थियो। कारखानामा प्रयोग हुने मेशिनरी, कन्भेयर बेल्ट, क्रेन आदिमा पाङ्ग्राले महत्त्वपूर्ण भूमिका खेल्छ।

सैन्य क्षेत्रमा पनि पाङ्ग्राको विशिष्ट स्थान छ । प्राचीन समयमा, पाङ्ग्रा भएका रथहरू युद्धका लागि उपयोग गरिन्थे। रोमन साम्राज्यले युद्धका लागि उन्नत रथहरू प्रयोग गर्‍यो, जसले उनीहरूको सैन्य शक्ति बलियो बनायो।

आज हामी विभिन्न प्रकारका पाङ्ग्रायुक्त यन्त्रहरू प्रयोग गर्छौं। दैनिक जीवनका हरेक क्रियाकलापमा प्रयोगमा आउने घडी, गाडी, मोटरसाइकल, साइकल, रेल, हवाईजहाजदेखि कम्प्युटरका हार्ड ड्राइभसम्म पाङ्ग्राको प्रयोग विविध रूपमा भएको छ।

यस अर्थमा भन्दा पाङ्ग्राको आविष्कार मानव सभ्यताको मेरुदण्ड हो। यसले यातायात, कृषि, उद्योग, निर्माण र प्रविधिमा अभूतपूर्व क्रान्ति ल्याएको छ। आजको आधुनिक युगमा पनि पाङ्ग्राबिना कुनै पनि उद्योग वा प्रविधिको कल्पना गर्न सकिँदैन। आगामी दिनहरूमा, नयाँ प्रविधिहरूको विकाससँगै पाङ्ग्राको भूमिका अझ विस्तारित हुँदै जाने निश्चित छ।

सम्बन्धित सामाग्री

के पाङ्ग्राको आविष्कार नभएको भए संसार यति विकसित हुन्थ्यो र ?