मिडिया मीमांसा

काठमाडौँ स्कूल अफ ल र प्राध्यापकहरूमाथि लगाइएको आरोपका सन्दर्भमा यसपटक युट्युबरहरूले बडो धैर्यता देखाए। कसैले आरोप लगाएकै भरमा एकपक्षीय रूपमा सनसनीपूर्ण भिडियो बनाएनन्। मेरा लागि चाहिँ यो नौलो घटना भयो। तर बिडम्बना, मूलधारका भनिएका केही मिडिया, अन्तर्राष्ट्रिय स्तरका भनिएका अंग्रेजी दैनिक र व्यवसायिक पत्रकार भएका केही अनलाइन न्युज पोर्टलहरूका लागि यो ठूलो मसला भयो। कसैले आरोप लगाएकै भरमा, त्यसबारे नबुझी एकपक्षीय ढंगले यो स्तरको समाचार सामग्री बनाइन्छ भन्ने कुराको बुझाइ दुई दशकभन्दा बढीको मेरो पत्रकारिता यात्रामा कहिल्यै थिएन, छैन पनि। आरोप लगाउने र आरोप खेप्ने दुवै पक्षको प्रतिष्ठाप्रति संवेदनशील हुनुपर्छ मिडिया। तर, आरोप लाग्नेहरू अपराधी नै हुन् जसरी प्रस्तुत हुँदै आएको अभ्यास छ। मिडिया अदालत होइन, यसमा काम गर्ने हामी न्यायाधीश होइनौँ। यो प्लेटफर्म हो, दुवै पक्षलाई स्थान दिनुपर्छ। अनुसन्धान गरी प्रमाणसहित सत्य तथ्य उजागर गर्न सकिन्छ।
पत्रकार सम्मेलनअघि युट्युबरहरूले देखाएको धैर्यता मूलधारका भनिएका मिडियाले देखाउन नसक्नुको कारण के हो? भोलि आरोप पुष्टि भए त हामीले न्याय दिलायौँ भन्ने ठाउँ रहला। पुष्टि भएन भने, आरोप लगाएकै आधारमा भँगेरे अक्षरका हेडलाइनसहित कथित समाचार सामग्री बनाएर व्यक्ति र संस्थाले वर्षौँको लगानीमा बनाएको प्रतिष्ठामा आघात गर्ने हामी मिडियाले फेरि कसरी अनुहार देखाउने? हामीसँग त्यो ल्याकत छ, प्रतिष्ठा पुनर्स्थापना गर्ने? अहिलेसम्मको अभ्यास हेर्दा, हामी विग्रह गर्न सक्छौँ, तर निर्माण गर्ने हाम्रो ल्याकत छैन।
अतः हामीले गम्भीर समीक्षा गर्नुपर्ने बेला चाहिँ भएको छ। मेरो यो दाबी छैन कि मैले एकदमै सही अभ्यास मात्रै गरेको छु। आउनुस्, अब मिलेर समीक्षा गरौँ। हामी कहाँ छौँ? हाम्रो सन्दर्भ (reference) सामाजिक सञ्जाल हो कि सामाजिक सञ्जालको हामी? हामी सामाजिक सञ्जालको पछि दगुर्ने कि सामाजिक सञ्जाललाई हाम्रो पछि दगुर्याउने? सामाजिक सञ्जालमा लेखिएका–बोलेका कुरामा हामीले विश्वास गर्ने कि हामीले हाम्रा माध्यममा लेखेका–बोलेका कुरा सामाजिक सञ्जालले विश्वास गरी त्यसको प्रसारलाई अझ वृहत बनाउने अवस्थाको सिर्जना गर्ने?
विश्वसनीयताको दृष्टिले, आर्थिक दृष्टिले आज मिडिया र हामी पत्रकार जुन धरातलमा छौँ, यसको निर्माता हामी आफैँ हौँ। नयाँ उदाएको एउटा नयाँ पार्टीका नयाँ नेताले "......भाइ" (यससँग असहमत) सम्बोधन गर्दै बोलेका कुराले कति क्षति गरेको छ? के हामीले यस्तै विरोधी कमाउँदै जाने हो? "हामी शक्ति हौँ, हामीले जे गरे हुन्छ" भन्ने भ्रमबाट हामी बाहिर निस्कनै पर्छ।
हो, "मिडिया शक्ति हो, तर त्यो शक्तिको स्रोत सत्य र तथ्य हो। मर्यादित पत्रकारिताले मात्र शक्ति आर्जन गर्न सक्छ।" आज मिडियाको शक्ति ह्रास हुनुको एउटा कारण हो "खोज पत्रकारिताको सत्यानाश, फण्डा र प्रोपोगन्डामा विश्वास"। हामीले विवेक गुमाउँदै गएका कारण नै हामीलाई शासनसत्तामा रहेका व्यक्तिहरूले प्रयोग र दमन दुवै गर्दै आएका छन्। विपक्षीमा हुँदा प्रयोग गर्छन्, सत्तामा पुगेपछि दमन गर्न खोज्छन्। किनकि उनीहरूलाई हाम्रो औकात थाहा छ।
केही बिग्रिएको छैन। छलफल गरौँ, हामी कहाँ छौँ? अनुसन्धान, सत्य, तथ्य र मर्यादालाई मिडिया र पत्रकारितामा पुनर्स्थापित गर्ने र फण्डा तथा प्रोपोगान्डालाई मिल्काउने उचित समय यही हो।

नित्सेको ईश्वरको मृत्यु – बाटो हराएका मानिसहरूको स्तब्ध साउती

महिला मुक्तिको लागि नेपालको सन्दर्भमा साँस्कृतिक आन्दोलनलाई प्राथमिकता दिइनु प…

निरङ्कुश सत्तालाई चुनौती दिने अपराजित कलम

‘ट्रम्पले हामीलाई के–कसरी पढाउने भन्ने निर्देशन नदिऊन्, हार्वर्डमा पढेर ८ जना …

मुखुण्डो पछाडिको कालो मन: समाजमा प्रतिष्ठित देखिने व्यक्तिहरूमा यौन हिंसाको व…

'मालिक र कारिन्दा'को व्यवहारबाट टाढा रत्नकुमार वान्तवा

एडम स्मिथको सुगा र राष्ट्र बैंकको गभर्नर

प्रतिक्रिया