कविता लेख्दा पनि सर्वश्वहरणसहित जन्मकैद !

१९९७ को काण्डमा कविता लेख्नले पनि जेल सजायँ भोग्नुपर्यो ।

वि. सं.१९९७ सालमा नेपाल प्रजापरिषदले राणा शासनविरोधी पर्चाहरू छर्नथाल्यो । पहिलो 'पर्चा छरे पछि नै त्यसले काठमाण्डौ उपत्यकाका जनताहरूमा केही चेत जगाइदिएको थियो । दोश्रो पटकको पर्चाले अझ केही जनचेतना जागृत गरायो । यता राणाहरू भने जनचेतना जागेकोमा निक्कै डराउन थालिसकेका थिए । पर्चा 'नेपाल प्रजापरिषद'को नामबाट छापिएको भए तापनि त्यस संगठनमा को को छन् भन्ने कुरा कसैलाई थाहा थिएन । दोश्रो पर्चा छरेपछि राणा सरकारले 'प्रजापरिषदका कार्यकर्ताहरूलाई गिरफ्तार गराउने व्यक्तिहरूलाई ५ हजार रूपैयाँ पुरस्कार दिने' भन्ने इश्तिहार (सूचना) पनि गोरखापत्रम छपायो ।

तर त्यो इश्तिहार छापिइसकेपछि पनि फेरि दोश्रो र तेश्रो पर्चा देखियो । यी पर्चाहरूले उपत्यका तथा अन्य ठाउँका जनताहरूमा निकै ठूलो जागृति ल्याए । नेपालमा शासकको रूपमा रहेका राणाहरू नै जनताका शत्रुहरू रहेछन् भन्ने कुरा जनताले थाहा पाउनथाले । यसरी एकातिर जनतामा जागृति आउन शुरूभयो भने अर्कोतिर सत्तामा बसेका राणाहरू तथा उनीहरूका समर्थकहरू राणाशासनको अन्त्य हुन्छ कि भन्ने कुरामा चिन्तित हुनथाले ।

अझ यसमाथि 'प्रजापरिषदसँग हातहतियारहरू, डाइनमाइटहरू पनि छन् र यो संगठनले नेपालमा सशस्त्र क्रान्ति गर्न खोजेको छ' भन्ने हल्ला पनि व्यापक रूपमा चल्नथाल्यो । यसले गर्दा प्रजापरिषदमा, को को सदस्यहरू छन् ? यो संगठन कहाँ छ ? भन्ने कुराहरू थाहा पाउन जनताहरूसमेत उत्सुक हुनथाले । राणाहरूको त झन् होसहवासै गुम्नथाल्यो । राणाहरूले प्रजापरिषदका सदस्यहरूबारे राम्ररी कुरा बुझ्न अनेक प्रयास गरे । र उनीहरूलाई जसरी भएपनि गिरफ्तार गर्ने योजना बनाउन थाले ।

त्यसैले राणा सरकारले चन्द्र समशेरको पालादेखि सरकारको विरोधमा लागेका वा राजनैतिक, सामाजिक तथा धार्मिक काममा सक्रिय भई काम गरेका सबैलाई गिरफ्तार गर्ने योजना बनायो । त्यही योजना अन्तर्गत पहिले गिरफ्तार भएर सजायँ पाइसकेका व्यक्तिलाई पनि गिरफ्तार गर्न शुरू गरियो । यो गिरफ्तारीको क्रम १९९७ साल आश्विन महिनाको अन्तिम हप्तादेखि थालियो ।

चित्तधर हृदय । https://upload.wikimedia.org

यही गिरफ्तारीको क्रममा राजनीतिसँग कुनै सम्बन्ध नभएका चारजना व्यक्तिहरूलाई पनि समातियो । ती चारजना व्यक्तिहरू थिए चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठ, फत्तेबहादुर सिंह र योगवीरसिंह कंसाकार । उनीहरू नेपाल भाषामा (नेवारी भाषामा) कविता लेखेको र नेपाल भाषामा कविता संग्रह निकालेको कारणले समातिएका थिए । चित्तधर हृदयलाई नेपाल भाषामा कविता संग्रह निकालेको आरोपमा ६ वर्ष कैद सजायँ दिइयो । सिद्धिचरण श्रेष्ठलाई 'बर्षा' नामको कविता लेखेको निहुँमा १२ वर्ष कैद सजायँ दिइयो । फत्तेबहादुर सिंहले आफूले मात्र नेपाल भाषामा कविता लेखेको नभई अरूले लेखेका कविताहरू पनि जम्मा गरेर कविता संग्रह निकालेका थिए । त्यसैले उनलाई सर्वस्वसहित जन्मकैदको कडा सजायँ सुनाइयो ।

सिद्धिचरण श्रेष्ठ । https://i.ytimg.com

तर अचम्मको कुरा, नेपाल भाषा र साहित्यका नेता त योगवीर सिंह कंसाकार थिए । उनलाई भने कुनै किसिमको सजायँ भएन । उनले पनि थुप्रै कविताहरू नेपाल भाषामा लेखेका थिए । उनलाई सजायँ नहुनुको एउटै कारण के थियो भने जुद्ध समशेरलाई एकपटक उनले आर्थिक सहयोग गरेका रहेछन् । सो सहयोग गरेको प्रमाणस्वरूपको कागज उनको घर खानतलासी गर्दा फेलापरेको थियो । त्यसैले जुद्ध समशेरले नै उनलाई सजायँ नगरी छुटाएका थिए ।

योगवीर सिंह कंसाकार । https://en.wikipedia.org/

यसरी रांणाकालदेखि नै नेपाली भाषाबाहेक अरू भाषालाई माथि उठ्न नदिनको लागि जाल रचेको देखिन्छ ।

सन्दर्भस्रोत: नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषदको भूमिका- राजेश गौतम, भाषा आन्दोलन सम्बन्धमा प्रा. माणिकलाल श्रेष्ठका विचारहरु

–नव युवामा प्रकाशित