गाजामा युद्धविराम सम्झौतामा सहमति

इजरायल र प्यालेस्टिनी समूह हमास गाजा क्षेत्रमा युद्धविराम गर्ने सहमतिमा पुगेका छन्, जसले गाजामा भएको इजरायली विनाशकारी युद्धलाई अन्त्य गर्न सक्छ। यो युद्धविराम आइतबारबाट लागू हुनेछ। कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले बुधबार दोहामा आयोजित पत्रकार सम्मेलनमा यस सम्झौताको घोषणा गरेका छन् ।
कतारले इजिप्टसँग मिलेर इजरायलसँग यो युद्धविराम सम्झौतामा सहमति गराए भने इजरायली पत्रिका हारेट्जका अनुसार नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजरायली पक्षलाई दबाब दिएको थियो।
स्मरणीय छ ट्रम्पले भनेका थिए कि २० जनवरीको उनको सपथग्रहण भन्दा अगाडीनै इजरायली बन्दीहरूको रिहाइबारे सम्झौता नभए "ठूलो मूल्य चुकाउनुपर्ने" स्थिति आउन सक्छ। ती बन्दीहरूमध्ये केही अमेरिकी नागरिकहरू पनि रहेका छन्।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यो सम्झौताको श्रेय दिंदै आफ्नो सामाजिक संजाल TruthSocial प्लेटफर्ममा लेखेका छन्, "यो ऐतिहासिक युद्धविराम सम्झौता हाम्रो नोभेम्बरको ऐतिहासिक जितको परिणामस्वरूप मात्र सम्भव भएको हो, जसले संसारलाई हाम्रो प्रशासन शान्ति खोज्ने र सबै अमेरिकीहरूको सुरक्षाका लागि सम्झौता गर्ने उद्देश्य राख्नेछ भन्ने सन्देश दियो।"
"मेरो राष्ट्रिय सुरक्षा टोली, मध्यपूर्वका विशेष दूत स्टीभ विटकोफको प्रयासमार्फत, इजरायल र हाम्रा सहयोगीहरूसँग मिलेर गाजालाई फेरि आतंकवादीहरूको सुरक्षित क्षेत्र बन्न नदिने सुनिश्चित गर्न काम जारी राख्नेछ। हामी बलको माध्यमबाट शान्ति प्रवर्द्धन गर्नेछौं," ट्रम्पले लेखे।
त्यसपछि, बर्तमान राष्ट्रपति जो बाइडेनले आफ्नो बयान जारी गर्दै यो सम्झौताका श्रेय आफुले लिए। उनका अनुसार यो सम्झौतामा ढिलाइ हमासको कारण भएको भन्दै इजरायली पक्षलाई जिम्मेवार नरहेको जनाए।
"मैले यो योजना ३१ मे २०२४ मा प्रस्तुत गरेको थिएँ, जसलाई पछि संयुक्त राष्ट्र सुरक्षा परिषदले सर्वसम्मतिले अनुमोदन गर्यो। यो योजना केवल हमासले भोग्नुपरेको गम्भीर दबाब र लेबनानको युद्धविराम तथा इरानको कमजोर अवस्थापछि बनेको क्षेत्रीय समीकरणको परिणाम मात्र नभई अमेरिकी कूटनीतिक प्रयासको नतिजा पनि हो," बाइडेनले भने।
जुन महिनामा हमासले बाइडेनको योजना स्वीकारेको बताएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने त्यसमा सहमत हुन अस्वीकार गरेका थिए, यधपी त्यतिबेला वाशिंगटनले उनको सहमति रहेको दाबी गरेको थियो।
"हामी हाम्रा दाजुभाइ र दिदीबहिनीहरूको फर्कने प्रतीक्षा गर्दैछौं," इजरायली राष्ट्रपति इसाक हर्जोगले युद्धविराम घोषणा भएलगत्तै भने। उनले नेतन्याहुको सुरक्षा क्याबिनेटलाई सम्झौतालाई समर्थन गर्न आह्वान गरे।
इजरायली सरकारले बिहीबार यो सम्झौतामा मतदान गर्ने अपेक्षा गरिएको छ।
यसैबीच, हमासका कार्यवाहक प्रमुख खालिल अल-हय्याले बुधबार इजरायलले गाजामा आफ्नो लक्ष्य प्राप्त गर्न असफल भएको भन्दै १६ महिनासम्मको आक्रमणले तेल अभिभका लागि राजनीतिक रूपमा धेरै महँगो युद्धमा परिणत भएको बताए।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले बुधबार यस सम्झौताले गाजामा मानवीय सहयोगको आपूर्ति बाधित गर्ने महत्वपुर्ण सुरक्षा र राजनीतिक अवरोधहरू हटाउने आशा व्यक्त गरे। उनले भने, "संयुक्त राष्ट्र यस सम्झौताले मागेअनुसार आफ्नो राहत आपूर्ति विस्तार गर्न तयार छ।"
सम्झौताका विवरणहरू
यो सम्झौताको पहिलो चरणमा छ हप्ताको प्रारम्भिक युद्धविराम समेटिएको छ, जसमा इजरायली सेनाले उत्तरी गाजाबाट क्रमिक रूपमा फिर्ता हुने र हमास तथा अन्य सशस्त्र समूहहरूले कब्जामा राखेका बन्दीहरूको रिहाइको सट्टामा इजरायलमा कैद प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ।
सम्झौताका विवरणअनुसार, पहिलो चरणमा गाजामा हमासद्वारा कब्जामा राखिएका ३३ इजरायली बन्दीहरूलाई रिहा गरिनेछ। त्यसमा नौजना बिरामी र घाइतेहरू पनि समावेश छन्।
इजरायलले ८ अक्टोबर २०२३ पछि पक्राउ परेका १,००० प्यालेस्टिनीहरूलाई रिहा गर्नेछ।

गाजामा युद्धविरामको अन्त्य

ट्रम्प २.० – चीनको दृष्टिकोण

ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच तिक्तता…

अमेरिका र युक्रेनबीच खनिज स्रोतहरूमा पहुँचबारे सम्झौता

अमेरिका र रुसबीच रियादमा युक्रेन युद्ध अन्त्यबारे महत्वपूर्ण वार्ता

सभ्यताहरूबीचको संवाद शान्ति र संस्कृतिका लागि हवाना सम्मेलन

नयाँ दिल्ली विधानसभा चुनाव: आम आदमी पार्टीको पराजय र भाजपाको विजयले सिकाएक…

प्रतिक्रिया