पृथ्वी कतिवटा टेक्टोनिक प्लेटहरूमा विभाजित छ ?

तपाईं हामी सबैलाई थाहा भएको कुरा हो– पृथ्वीमा भूकम्प मुख्य गरेर टेक्टोनिक प्लेटहरुमा हुने हलचलका कारण आउने गर्छ । हाम्रो पृथ्वी ७ ठूला टेक्टोनिक प्लेटहरू र थुप्रै साना प्लेटहरूमा विभाजित छ। यी प्लेटहरूले पृथ्वीको सतहलाई पूर्ण रूपमा ढाकेका छन् र निरन्तर गतिमा छन्।

टेक्टोनिक प्लेटहरू पृथ्वीको लिथोस्फियर (Lithosphere) का भाग हुन् ।  पृथ्वीको ठोस बाहिरी तहलाई लिथोस्फियर भनिन्छ । सबै टेक्टोनिक प्लेटहरू लिथोस्फियरभन्दा तल्लो भागमा रहेको अस्थेनोस्फियर (Asthenosphere) मा तैरिरहेका हुन्छन् । अस्थेनोस्फियर पृथ्वीको आन्तरिक संरचनाको एक महत्त्वपूर्ण तह हो, जुन लिथोस्फियर (Lithosphere) को ठीक मुनि रहेको हुन्छ। यो तह पृथ्वीको म्यान्टलको माथिल्लो भागमा पर्छ, करिब १०० देखि २५० किलोमिटर गहिराइसम्म फैलिएको हुन्छ।

अस्थेनोस्फियर अर्धतरल (semi-fluid) अवस्थामा हुन्छ। यो तहमा चट्टानहरू उच्च तापक्रम र दबाबका कारण आंशिक रूपमा पग्लिएका हुन्छन्, जसले गर्दा तिनीहरू प्लास्टिक जस्तै लचिलो हुन्छन्। यस क्षेत्रमा तापक्रम लगभग १३००°C सम्म पुग्छ, जसले चट्टानलाई पगाल्न र लचिलो बनाउन सहयोग गर्दछ।

अस्थेनोस्फियरले लिथोस्फियरका प्लेटहरूको गतिमा महत्त्वपूर्ण भूमिका खेल्छ। अस्थेनोस्फियरमा हुने प्रवाह (convection currents) ले प्लेटहरूलाई सार्न सहयोग गर्छ। प्लेट टेक्टोनिक्सका कारण हुने महादेशहरूको गति, भूकम्प, र ज्वालामुखी क्रियाकलापहरू यसै तहमा हुने गतिविधिहरूसँग सम्बन्धित छन्।

ठूला टेक्टोनिक प्लेटहरू (Major Plates):

सबैभन्दा ठूलो  प्यासिफिक प्लेट  (Pacific Plate) हो । यो प्लेट प्रायः प्रशान्त महासागर मुनि फैलिएको छ। यो प्लेट रिङ अफ फायर (Ring of Fire) का लागि प्रख्यात छ, जहाँ धेरै ज्वालामुखी र भूकम्प हुने गर्छ।

अर्को ठूलो नर्थ अमेरिकन प्लेट (North American Plate) हो । यो प्लेटले उत्तर अमेरिका, ग्रीनल्यान्ड, र अटलान्टिक महासागरको केही भाग समेट्छ।

तेस्रो नम्बरमा आउँछ युरेसियन प्लेट (Eurasian Plate) । यो प्लेटले यूरोप, एशिया (भारतबाहेक), र आर्कटिक महासागरको केही भाग समेट्छ।

अफ्रिकन प्लेट (African Plate) ले अफ्रिका महादेश र आसपासका समुद्री क्षेत्रहरू समेट्छ। यसै प्लेटमा इस्ट अफ्रिकन रिफ्ट भ्याली  (East African Rift Valley) सक्रिय छ । ध्यानयोग्य कुरा के छ भने यही रिफ्ट भ्यालीले अफ्रिकालाई दुई भागमा विभाजन गर्दैछ।

साउथ अमेरिकन प्लेट (South American Plate) ले दक्षिण अमेरिका महादेश र दक्षिण अटलान्टिक महासागर समेट्छ।

अन्टार्कटिक प्लेट (Antarctic Plate) ले अन्टार्कटिका महादेश र त्यसलाई घेरेका महासागर समेट्छ।

सातौं नम्बरमा इण्डो–अस्ट्रेलियन प्लेट (Indo-Australian Plate) पर्दछ । यस टेक्टोनिक प्लेटलाई पनि कहिलेकाहीँ दुई अलग प्लेटमा बाँडिन्छ: भारत र आसपासका क्षेत्रहरू समेट्ने इण्डियन प्लेट (Indian Plate) तथा अस्ट्रेलिया र आसपासका समुद्री क्षेत्रहरू समेट्ने अस्ट्रेलियन प्लेट (Australian Plate)।

माथि उल्लेख गरिएका प्लेटहरु यस संसारमा रहेका मुख्य टेक्टोनिक प्लेटहरु हुन् । ती बाहेक पनि अन्य ससाना टेक्टोनिक प्लेटहरू पनि यस पृथ्वीमा रहेका छन् । ती साना प्लेटहरूको संख्या ठूला प्लेटहरूको तुलनामा धेरै छ।

त्यस्ता साना तर केही प्रमुख प्लेटहरूमा दक्षिण अमेरिकी प्लेटको पश्चिममा, प्रशान्त महासागरमा अवस्थित Nazca Plate, मेक्सिकोको पश्चिमतर्फ प्रशान्त महासागरमा रहेको Cocos Plate, क्यारेबियन क्षेत्रलाई समेट्ने Caribbean Plate, फिलिपिन्स र यसको आसपासको क्षेत्रमा रहेको Philippine Sea Plate, मध्यपूर्वको क्षेत्रमा रहेको Arabian Plate,  दक्षिण अटलान्टिक महासागरको दक्षिणी भागमा रहेको Scotia Plate र उत्तर अमेरिकी प्लेटको पश्चिममा रहेको Juan de Fuca Plate मुख्य छन् ।

हालसम्म ठूला प्लेटहरू ७ वटा र साना प्लेटहरू  २० वटाभन्दा बढी पत्ता लागिसकेको छ । ख्याल गर्नुपर्ने कुरा के छ भने निरन्तर अध्ययनका कारण थप साना प्लेटहरूको पहिचान हुँदै आएको छ।

टेक्टोनिक प्लेटमा नेपालको अवस्थिति

नेपाल भारत र तिब्बतसँग सीमाना जोडिएको देश हो । यी तीनवटै क्षेत्र  भूगर्भीय रूपमा इन्डो-ऑस्ट्रेलियन प्लेट (Indo-Australian Plate) र युरेसियन प्लेट (Eurasian Plate) को अन्तरक्रियामा अवस्थित छन्।

नेपाल र भारत इन्डो-ऑस्ट्रेलियन प्लेटको भाग हुन्। उता तिब्बत युरेसियन प्लेट (Eurasian Plate) को दक्षिणी भागमा पर्दछ। तिब्बत भूभाग विशेष गरी टेक्टोनिक प्लेटहरूको टक्कर (collision zone) मा अवस्थित छ, जहाँ इन्डियन प्लेट युरेसियन प्लेटसँग ठोक्किन्छ। तिब्बत उच्चभूमि (Tibetan Plateau) इन्डियन प्लेटले युरेसियन प्लेटलाई ठेल्दा बनेको हो। यो संसारकै सबैभन्दा ठूलो र उच्चतम प्लेटो हो।

नेपालको भूगर्भीय अवस्थिति ठ्याक्कै इन्डियन प्लेट र युरेसियन प्लेटको सिमानामा छ।अर्थात् नेपाल इन्डियन प्लेटको उत्तरी भागमा अवस्थित छ। यो युरेसियन प्लेटको दक्षिणी भागसँग प्रत्यक्ष टकराउने क्षेत्र हो। नेपाल टेक्टोनिक सबडक्शन जोन (subduction zone) मा पर्दछ, जहाँ इन्डियन प्लेट युरेसियन प्लेटमुनि जान खोजिरहेको छ।

टेक्टोनिक प्लेटहरूको अन्तरक्रियाका कारण इन्डियन प्लेट प्रति वर्ष लगभग ५ सेन्टिमिटरको दरले उत्तरतर्फ सरिरहेको छ। यही इन्डियन प्लेट युरेसियन प्लेटसँग ठोक्किँदा हिमालय पर्वत श्रृंखला बनेको हो।यो ठोक्किने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ र त्यसले हिमालयलाई बिस्तारै अझै माथि उठाइरहेको छ।

इन्डियन प्लेट र युरेसियन प्लेटको टक्कर निरन्तर चलिरहने भएकोले नेपाल, भारत, र तिब्बत उच्च भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ । यस क्षेत्रमा ठूलो भूकम्प आउने खतरा सधैं रहिरहन्छ । २०१५ मा नेपालमा आएको ७.८ म्याग्निच्यूडको भूकम्प तथा गत पुस २३ गते मंगलबार  दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक केन्द्रबिन्दु भएर गएको ६.८ म्याग्निच्यूटको भूकम्प पनि यसै टेक्टोनिक गतिविधिको परिणाम थियो।