लेनिनको सूट

 

अलिकति सोच्नुस् त ! उहाँ सिंगै अ देशको लागि बन्दोबस्त मिलाउन चाहिँ सक्नु हुन्छ, तर आफ्नो लागि एउटा सूट पनि बन्दोबस्त गर्न सक्नु हुन्न ।'

आफ्नो लागि एउटा सूट पनि व्यवस्था गर्न नसक्ने, तर सिंगै देशका समग्र कुराहरू व्यवस्था गर्ने व्यक्ति को हुनु हुन्छ होला त ? तपाईहरूले शीर्षक हेरेर अनुमान त गरिसक्नु भयो होला, होइन ?

हो, उहाँ लेनिन हुनुहुन्थ्यो । लेनिनको बारेमा यस्तो कुरा कसले भन्नुभएको थियो त ?

यो कुरा लेनिनकै गृहस्थीको हेरचाह गर्ने महिलाले भन्नु भएको थियो । लेनिनको सूट सफा गर्नका लागि गल्लीमा आउँदा उहाँले त्यहाँ आफ्नो ड्यूटीमा तैनाथ लालसैनिक एस. वाई कोकोरेवलाई भन्नु भएको कुरो थियो, यो ।

लाल सैनिक कोकोरेवलाई उक्त महिलाले आफ्नो दुखेसो पोख्दै भन्नु भएको थियो-
'मलाई त यत्ति मात्रै थाहा छ, मेरो सिंगै उमेर यही एउटा सूट मर्मत गर्दैमा र यो सूट टाल्दैमा बित्ने भो!'...

यत्ति कुरा पनि सकिनै पाएको थिएन, उहाँहरूको पछिल्तिर अट्टहास सहित कोही हाँसेको सुनियो । उहाँहरूले पछाडि फर्केर हेर्दा देख्नुभयो- त्यहाँ त लेनिन आफ्नो अफिसबाट निस्केर आई उहाँहरूको पछाडि उभिरहनु भएको थियो !

लेनिन एकनासले हाँसिरहनु भयो र अत्यन्त प्रेमपूर्वक ती महिलाको काँध थप्थपाउँदै भन्नुभयो- 'चिन्ता नलिनुस्, पटक्कै चिन्ता नलिनुस् । हामी धनी भएपछि म आफ्नो लागि नयाँ सूट किन्नेछु । त्यसपछि त तपाईले कम मात्रै चिन्ता लिनु पर्ने हुन्छ ।'

लेनिन धनी त हुनुभएन, किनकि धनी बन्ने सपना नै उहाँसँग थिएन, बरू उहाँसँग सबै समान, सबै स्वतन्त्र हुनु पर्छ भन्ने साम्यवादी सपना मात्रै थियो । यो सपनालाई साकार पार्न उहाँ कहिले पनि सुटेड बुटेड भएर हिँड्नु भएन, बरू उहाँले सादा कपडामै जीवनयापन गर्नु भयो, चाहे त्यो क्रान्ति अगाडिकै भूमिगत कालमा होस्, या क्रान्ति पछिको सोभियत संघको नेता हुँदा नै किन नहोस् !

सादा र कम खाना जस्तै, कम र सादा कपडा मै जीवनयापन गर्ने लेनिन र उहाँको परिवारबारे लाल सैनिक कोकोरेवको जस्तै अरूहरूको पनि थुप्रै संस्मरण उल्लेखनीय छन् ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट क्रान्तिकारी नेतृ क्लारा जेट्किनले क्रान्तिपछिको आफ्नो भेट्घाटको क्रममा आश्चर्य व्यक्त गर्दै लेखेकी छिन्- "लेनिन त त्यही सूट लगाउनु हुन्थ्यो, जुन विदेशमा आफ्नो प्रवासको क्रममा लगाउनु हुन्थ्यो !”

लेनिन साधारणतया जाडोमा कानेटोपी लगाउनु हुन्थ्यो, जसमा ठण्डीबाट बच्नका लागि बाक्लो भुवा राखिएको हुन्थ्यो । उहाँ साधारण स्वास्थ्यप्रद खाना खानु हुन्थ्यो, तर रक्सी कहिले पनि खानु हुन्नथ्यो । शारीरिक मिहेनतको काम गर्ने शौक उहाँमा थियो । उहाँ अत्यन्त खुश-मिजाजको र कुराकानी गर्न मन पराउने व्यक्ति हुनु हुन्थ्यो र कुराकानीको क्रममा अति नै हाँसो ठट्टा गर्ने व्यक्ति हुनुहुन्थ्यो ।

उहाँको लवाइ-खवाइको बारेमा अमेरिकाको न्यूयोर्कको एउटा रूढिवादी अखवार 'दि वर्ल्ड' का सम्वाददाता लिंकन आएरले १९२० मा लेनिनसँग भेटीसकेपछि यसरी रिपोर्टिंग गरेका थिए-

 "उहाँको लवाइमा कनै विशेष उल्लेखनीय कुरो थिएन केही मैलो जस्तो देखिइने, बिना कलफको सेतो रंगको कमीज (जसमा मैलो सेतो रंग पनि कम मात्रै देख्न पाइन्थ्यो), कालो टाई र गहिरो खरानी रंगको सूट, बूँटको आधी-आधीसम्म घुसाइएको पाइन्ट, हो यत्ति हो उहाँको पोशाक। बूट र बूटभित्रै घुसाइएको पाइन्ट बाहेक खुट्टालाई गरम बनाइराख्ने अर्को कुनै कुरा थिएन । कमसेकम उहाँको सन्दर्भमा, कपडा हेरेर मानिसको असली स्वरूप थाहा पाउन साह्रै गाह्रो हुन्छ । किनकि लेनिनको पोशाक त्यस्तो क्याविनेट मन्त्रीले मात्रै लगाउन सक्छ, जो पोशाकको मामिलामा लापरवाह हुन्छ, या कुनै अखवारमा काम गर्ने व्यक्ति वा खाते- पीते राज मजदूर !

 तर, उहाँमा त्यस्तो मानसिक चुस्ती, त्यस्तो बौद्धिक करेन्ट थियो, जुन शायद उहाँको सबैभन्दा प्रमुख लाक्षणिकता होला । निश्चय नै यस मानिसमा अतिनै बढी वैयक्तिक आकर्षण थियो । उहाँको मुस्कुराहटले तपाईको मनलाई मोहित पार्न सक्थ्यो र अन्य सबैलाई मुस्कुराउनका लागि पनि बाध्य पार्न सक्थ्यो । उहाँको रवैया सहानुभूतिपूर्ण थियो र अरूहरूका कुरा ध्यानपूर्वक सुन्नु उहाँको प्रवृत्ति नै थियो ।”

मूल्याङ्कन मासिक, २०५२ वैशाखमा प्रकाशित

Image: https://stihi.ru