कछुवाको बदला

पञ्चतन्त्रको कथा

एआइ निर्मित चित्र ।

एउटा नदीको किनारमा एउटा विशाल रूख थियो। त्यस रूखमा बकुलाहरूको ठूलो झुन्ड बस्थ्यो। त्यही रूखको खोंचमा एउटा कालो सर्प बस्थ्यो। जब बकुलाका अण्डाहरूबाट बच्चाहरू निस्कन्थे, सर्पले मौका पाउनासाथ उनीहरूलाई खान्थ्यो।

यसरी वर्षौंदेखि कालो सर्पले बकुलाका बच्चाहरूलाई खान्थ्यो। आफ्ना बच्चाहरु वेपत्ता भएको कुराले बकुलाहरु दु:खी हुन्थे तर के कति कारणले बच्चाहरु हराए भन्ने कुरा उनीहरुले थाहा पाउन सकेका थिएनन् ।

धेरै पटक बकुलाहरूले त्यो स्थान छाड्ने सल्लाह त गरे तर छाडिहाल्न भने सकेनन् । किनभने त्यहाँको नदीमा माछा र कछुवाहरू प्रशस्त थिए। कछुवा बच्चाको नरम मासु बकुलाहरूलाई धेरै मनपर्थ्यो।

एक पटक, सर्पले एउटा बच्चालाई खान लाग्दा बाबु बकुलाले देख्यो ।  बल्ल बकुलाले थाहा पायो कि उसका अघिल्ला बच्चाहरूलाई पनि सर्पले खाएको रहेछ । उसलाई धेरै दुःख लाग्यो। ऊ  नदीको किनारमा उभिएर रोइरह्यो । आँसु बगाइरहेको बकुलालाई एउटा कछुवाले देख्यो र सोध्यो, "मामा, किन रोइरहनुभएको छ?"

दुःखमा परेका प्राणी आफ्नो पीडा अरूसामु पोख्न थाल्छन्। बकुलाले सर्प र आफ्ना मारिएका बच्चाहरूको कुरा बताउँदै भन्यो, "म त्यो सर्पसँग बदला लिन चाहन्छु।"

कछुवाले मनमनै सोच्यो, 'आफ्ना बच्चाहरूको शोक मामा रोइरहेको छ, तर जब यसले हाम्रा बच्चाहरू खान्छ, त्यसबेला यसलाई हाम्रो दुःखको कुनै ख्याल हुँदैन। तिमी सर्पसँग बदला लिन चाहन्छौ भने हामी पनि तिमीबाट बदला लिन चाहन्छौँ।'

बकुलाले आफ्नो शत्रुलाई आफ्नो दुःख बताएर गल्ती गर्‍यो। चतुर कछुवाले एउटै योजनामार्फत् दुई काम गर्न सोच्यो। उसले भन्यो, "मामा! बदला लिन म तपाईंलाई एउटा उत्कृष्ट उपाय बताउछु।"

बकुलाले उत्ताउलो स्वरमा सोध्यो, "छिटो भन न, त्यो उपाय के हो? म तिम्रो उपकार जीवनभर सम्झिरहनेछु।"

कछुवाले मनमनै हाँस्दै उपाय बताउन थाल्यो, "यहाँबाट केही पर एउटा न्याउरी मुसा बस्ने ठाउँ छ। न्याउरी मुसा सर्पको कट्टर शत्रु हो। न्याउरी मुसालाई माछा धेरै मन पर्छ। तपाईंले साना-साना माछाहरू समातेर न्याउरी मुसाको घरबाट सर्पको प्वालसम्म छरिदिनुहोस् । न्याउरी मुसाले माछा खाँदै सर्पको प्वालसम्म पुग्नेछ र सर्पलाई मारिदिनेछ ।"

बकुलाले भन्यो, "मलाई त्यो न्याउरी मुसाको घर कहाँ छ देखाइदेऊ।" कछुवाले बकुलालाई न्याउरी मुसा बस्ने दूलो देखाइदियो । बकुलाले कछुवाले भनेजस्तै गर्‍यो। न्याउरी मुसा साँच्चै माछा खाँदै सर्पको दूलोसम्म पुग्यो। न्याउरी मुसालाई देख्नेबित्तिकै सर्पले आफ्नो ज्यान जोगाउन फन खडा गर्‍यो। केही समयको लडाइँपछि न्याउरी मुसाले सर्पलाई टुक्रा-टुक्रा पारिदियो। दुश्मन मारिएकोमा बकुला खुसीले नाँच्यो ।

कछुवाले मनमनै भन्यो, 'यो त सुरु मात्रै हो मूर्ख बकुला। अब मेरो बदला सुरु हुनेछ र तिमीहरु सबै बकुलाहरूको नाश हुनेछ।'

साँच्चै नै त्यस्तै भयो । सर्पलाई मारिसकेपछि न्याउरी मुसा त्यहाँबाट फर्केर गएन। उसले आफ्नो वरिपरि रहेका बकुलाहरूलाई देख्यो र आक्रमण गर्न थाल्यो। एकपछि अर्को गर्दै न्याउरी मुसाले बकुलाहरूलाई मार्न सुरु गर्‍यो। बकुलाहरू भाग्न लागे, तर धेरैजसो न्याउरी मुसाको शिकार भए।

यसरी, कछुवाले बकुलासँग बदला लियो । बकुलाको मूर्खताले आफ्नो र आफ्नो समूहको विनाश निम्त्यायो।