फिनिक्सको पुनर्जन्म र सुन्दर भविष्यको आकांक्षा

आजकाल, अलिक अघिदेखि नै, आफ्नो कपाल दुवै हातले चर-चरी लुछौँ लुछौँ, आफैँलाई कोतरौं कोतरौं जस्तो पनि लाग्छ  किनभने अर्कालाई त्यसो गर्ने न उमेर रह्यो न स्वास्थ्य । सामाजिक शिष्टाचार पनि त भएन । विवेकले दिँदैन पनि ।

जिन्दगीको क्यानभास क्या रंगिन छ ! आफनै साथीको घात गर्नेलाई क्षमा गरियो, आफैँलाई अभरमा छिर्के लाउनेलाई, कोखामा दाँत भ’को भन्छन् नि - उसलाई समेत नेता मानियो - किन ? वरिपरि साथी थिए, मेरो पनि स्वार्थ थियो म उनीहरुलाई छोड्नु अधर्म ठान्थें । पुर्खाले सिकाका पनि 'थे, गाँस छोड्नु साथ/थी नछोड्नु । किन किन आजकाल दोगला, झिल्के देख्यो कि भनन्न रिंगटा छुटेर आउँछ । वाचाल । वाणी र व्यवहारमा कहीं कत्तै तालमेल मिलोस् त मर्नु । उसमाथि यो सृष्टि, यो सारा चराचर मेरो करामत भनेर उहीँ फुटानी लाउँछ । मलाई भने कम्ता झ्वाँक चल्दैन ।

सारै भएर परत्र कस्तो होला त्यो पनि चाहारे । ल त्यहाँ पनि भनियो कि

"यति बेला फिनिक्स बेघरबार भ'को छ ।

'मन्दिरमा कागले गुँड लगा'को छ ।

बागमा दुर्लभ चमेली ओइल्या'को छ ।

इन्साफ जालझेल भ'को छ, जालझेल इन्साफ ।

दिन रात भ'को छ, रात दिन ।"*

मनको घाउमा नुन चुक ! गमे । यो त धेरै अतित हो । अनि सम्हालिन्छु पनि । बादशाहलाई कुरी कुरी गर्ने अवोध बालक पढे पछि भने क्या फुरुंग हुन्छु ! किनभने उसमा म मेरो बैंश देख्छु, आफैले रण मैदानमा गरेको हुङ्कार ठान्छु । अनि भने खुब मजा आउँछ । फेरि पनि मनको अग्राख निभोस त मर्नु ! चिसोपानीमा हाम्फाल्न खोज्छु । कोही भन्दै थियो :

"सुन्दर छ जंगल,  घना र विराट

तैपनि मैले प्रतिज्ञा साच्नु छ

शयनपुर्व कोशौं दुर जानु छ

कोशौं दुर जानु छ ।"**

बीचैमा संगीतवद्ध मधुरो आवाज सुन्छु :

"सुनको दिन एक उदाउँछ रे

यस देश खुलीकन आउँछ रे !"***

अनि भने लट्ठ हुन्छु र ढुक्क पनि । मिठो निद्रामा सुत्छु पनि ।

*Qu Yuan (340 BC – 278 BC)

**Robert Frost (1864-1963)

***Laxmi Prasad Devakota (1909- 1963)