स्वदेश
यसरी नै यो देशमा
युवाहरु लर्को लागेर रित्तिँदै गए
एकदिन यो देश रित्तो हुनेछ ।
जसरी यो देशका गाउँशहरहरु
रित्तिँदै रित्तिँदै गएका छन्
हो त्यसरी नै
एकदिन यो देश रित्तो हुनेछ
अनि यो नेपाली रित्तो देशमा
आँखामा राख्छु मेरो देश
मुटुमा राख्छु मेरो देश भन्दै
मादल बजाउने को होला ?
सारङ्गी रेटने को होला ?
डम्फु बजाउने को होला ?
रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो भन्दै
देशको रास्टीय झण्डा फहराउने युवा को होला ?
यो देशको राष्ट्रिय गान गाउने को होला ?
मेरो प्यारो ओखलढुंगा
मेरो प्यारो तराइ गाउने को होला?
अनि यो देशको गुम्बाहरुमा
बुद्धम शरणम गच्छामी भन्ने को होला ?
अनि यो देशको मन्दिरहरुमा
घण्टी बजाउने को होला ?
अनि यो देशका डाँडा- डाँडा पुगेका चर्चहरुमा
प्रभुको भजन गाउने को होला ?
अचेल म भूपु भेडा गमिरहन्छु।
यसरी नै यो देशमा
युवाहरु लर्को लागेर रित्तिँदै गए
एकदिन यो देश रित्तो हुनेछ ।
अनि यो नेपाली रित्तो देशमा
हिमाली संगीत सुन्ने को होला?
लालीगुरास फूलीरहेको पहाड हेर्ने को होला?
तराईका फाटहरुमा धान झुलीरहेको हेरिरहने को होला ?
हे ! आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँला भन्दै
नेपाली भाका गाउने ओठ कसका होलान्?
अचेल म भुपु भेडा गमिरहन्छु।
लर्को लागेर
युवा रित्तिँदै गएपछि
नेपाली गमाजी गाउँहरु रित्तो भएका छन्
गमाजी रित्तो गाउँमा
अचेल सरकारले सडक पुगाएको छ
ती सडकहरुमा
बाँदरहरु हुल बाँधेर हिँड्छन्
स्यालहरु हुइँया गर्छन्
गिद्धहरु चच हुइ चच हुइँ गर्दै
नमिठो गीत गाउँछन्
अनि म भुपु भेडा गमिरहन्छु
स्याल, बाँदर र गिद्धहरुका लागि
सरकारले किन गमाजी गाउँमा
सडक पुगाएको होला?
सरकारले किन
बाँदरहरु चढनको लागि
गमाजी गाउँमा भ्युटावरको लिस्नो बनाएको होला ?
अचेल म भुपु भेडा गमिरहन्छ।
युवा रित्तिँदै गएको
यो सगरमाथाको देश
यो पशुपतिको देश
यो बुद्ध जन्मिएको देश
यो भूस्वर्गको देश
यसरी नै युवाविहीन हुँदै जाने हो भने
एकदिन यो देश रित्तो हुनेछ।
देश हुनुको स्वाभिमान छ भने
पुर्खाहरुको अभिमान छ भने
नेपाली हुनुको गौरवगान छ भने
नेपालीहरु जाग
फिलिस्तिन देश खोजिरहेछ
जाग नेपाली जाग
दलालहरुका विरुद्ध जाग ।
दलाल जन्माउने बीउहरुका विरुद्ध जाग
आञ्चलिक शब्द
गमाज - पहाडका विकट गाउँहरुलाई गमाज भनिन्छ
गमाजी - विकट पहाडी गाउँमा बस्नेहरुलाई गमाजी भनिन्छ
प्रतिक्रिया