के प्रेममा मानिस अन्धो हुन्छ?

अफवाहका दुत हुन् ती
निहायती बेवकुफ हुन् ती
जो भन्छन्,
'प्रेममा मानिस अन्धो हुन्छ'

खेतीपाती गर्थ्यो
सिरान घरे 'देउराली कान्छो'
फेदिमा बस्थी
उसै कि दामली 'बिन्दु'
सँगै हिँड्थे सँगै पढ्थे
कैले मिल्थे कैले लड्थे

सँगै जान्थे घाँस काट्न-
सँगै भैंसी चराउँथे।
यौवनको प्यास साट्न-
घन्टौँ जंगल हराउँथे।

सारा ईश्वर डाके
देउराली नि भाके
सँगै बाँच्ने सँगै मर्ने-
कसम पनि खा'थे।

तर...
समयको खेला अर्कै थियो
'बिन्दु' हराएको ४ दिनपछि-
कान्छोले बल्ल थाहा पायो,
'बिन्दु'त लाहुरबाट फर्केको-
हर्के सँग पोइला गई अरे…'

कान्छोको जमिन भाँसियो
सोच्ने मगज मासियो
मुटुमा हिउँ पस्यो
सिँगो आकाश खस्यो
अविवाहित बाँचेकै छ ऊ
रक्सीको आहारामा
सम्झनाको साहारामा

प्रेममा मानिस अन्धो हुन्छ भने!
बिन्दुले देउराली कान्छोको-
गरीबी कसरी देखी?
हँ?
गरिबी कसरी देखी?

फगत हल्लाका रुप हुन् ती
निहायती बेवकुफ हुन् ती 
जो भन्छन्,
'प्रेममा मानिस अन्धो हुन्छ'

     ***     

सेतीको बगरमा बस्थी 'जुठी'
ऊ मन्दिर जाँदा; हेला चल्थ्यो
ऊ रक्सी पार्दा; मेला चल्थ्यो
बहुत सुन्दरी...
जुठी कि छोरी 'सामली'

बुबा नभएको टुहुरो घर
घाँस दाउरा आफै झार्थी
दिउँसो पड्न जान्थी
बेल्का रक्सी पार्थी

रक्सी खान आउनेहरु
उसका एक्स-रे लिन्थे
वक्र/किनार शरिरका-
आँखैले डामीदिन्थे
 तर ठुली भैरहेकी उसको
हल्ला खुब चलेथ्यो-
सँगै पढेको बाउन् गाउँको-
'टिकाराम आचार्य' सँग
घरकाले जात-मारा भनेनी..

उ अक्सर आउने गर्थ्यो
१ जम्बु रक्सी भर्थ्यो
रक्सीसँग सुकुटी र-
भटमास मन पर्थ्यो
हल्का लाग्दै गएपछि 
सामली तिर सर्थ्यो।
सानैदेखिको साथी भनी
'जुठी' गार्हो मान्थिन
'ज्वाइँ बन्छौ' भन्दै जिस्काउँथी
तर नतिजा जान्थिनँ

आँखा सन्काउँदै जिस्काउनी 
अर्को मुसुक्क हाँस्दिनी
कहिले काहीँ अबेर हुँदा
'सामली'ले बास दिनी

निकैबेर लामा गफ गरेर
रातभर जुठीलाई सताउँथे
रक्सी अनि प्रेम-नसामा
एउटै ओछ्यान तताउँथे

तर..
समयको खेला अर्कै थियो
बाजा सहितको २ रिजर्भ बस-
गाउँले कुर्लाउँदै लगेपछि
बसमा टाँगेको ब्यानर पढ्दा
'टीका आचार्य वेड्स -
मुना उपाध्याय' 
बल्ल 'सामली'ले थाहा पाई...
'टिके'को बिहे पो रहेछ।
'सामली' आँखा मिची
कान ट्याप्प बन्द भो
बाजा पनि सुनिन
संसारको गति मन्द भो
सेतीमा हाम फाल्न
अघि बढेका उसका खुट्टा
आमा सम्झेर फर्किए...

प्रेममा मानिस अन्धो हुन्छ भने!
टिकारामले सामलीको-
जात कसरी देख्यो?
हँ?
जात कसरी देख्यो?

गफाडीका ग्रुप हुन् ती 
निहायती बेवकुफ हुन् ती
जो भन्छन्,
'प्रेममा मानिस अन्धो हुन्छ'