घटना नै नदेखिकन डाक्टरले कसरी हत्या भएको समय किट्छ ?

कुनै होटेलमा बास बसिरहेको व्यक्तिको हत्या भयो। त्यो व्यक्तिको लाश १० बजे बेलुकी मात्र होटेलको कामदारले देख्यो। होटेलेका कर्मचारीहरुले बताएअनुसार र रजिस्टरमा उल्लेख भएअनुसार, त्यो व्यक्तिलाई दिनभरिमा चारजना मान्छे आएर भेटेको थियो। एउटा मान्छेले बिहान १० बजे, एउटाले दिउँसो १ बजे, एउटाले दिउँसो ३ बजे र एउटाले बेलुकी ७ बजे त्यो मान्छेलाई भेट्न आएको थियो

अब हत्याको अनुसन्धान गर्ने क्रममा पुलिसले शंका गर्छ– हत्या गरिएको व्यक्तिलाई भेट्न आउने चारजना मध्ये कुनै एकले त्यो हत्या गरेको हुनुपर्छ। अझ धेरै जनाले त सोझै सबैभन्दा पछि भेट्न आउने मान्छेमाथि नै शंका गर्न पुग्छ। किनभने, यदि ऊ आउनुभन्दा पहिले नै त्यो व्यक्तिको हत्या भएसकेको हुन्थ्यो भने त उसले पुलिस वा होटेलका कर्मचारीहरुलाई खबर गरिसकेको हुन्थ्यो

तर शंका गरिएजस्तो हत्या सबैभन्दा पछि भेट्न आउने मान्छेले नै गरेको हो भनेर ठोकुवा गरेर भन्न मिल्दैन। सबैभन्दा पछि भेट्न आउने मान्छेले कोठामा ढक्ढक्याउँदा कुनै जवाफ नपाएर फर्केको पनि हुन सक्छ। अथवा, त्यो व्यक्तिको लाश देखेर पनि झमेलामा पर्न नचाहेर वा पुलिसको डरले चूपचाप त्यहाँबाट भागेको पनि हुन सक्छ। यस्तो अवस्थामा कसले हत्या गरेको हुन सक्छ भनेर कसरी पत्ता लगाउने ?

यस्तो स्थितिमा सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ– त्यो व्यक्तिको हत्याभएको समय कुन थियो भनेर पत्ता लगाउनु। र, यो पत्ता लगाउने काम डाक्टरले गर्छन्। कुनै पनि हत्या गरिएको व्यक्तिको सामान्य जाँचबुझ गरिसकेपछि नै डाक्टरले भनिदिन्छन्– त्यो व्यक्तिको हत्या भएको यति समय भइसक्यो ! अथवा, यति बजेर यति मिनेट जाँदातिर उक्त व्यक्तिको हत्या भएको हो !

सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ– त्यो व्यक्तिको हत्याभएको समय कुन थियो भनेर पत्ता लगाउनु। र, यो पत्ता लगाउने काम डाक्टरले गर्छन्

तपाईं हामीमध्ये धेरैलाई आश्चर्य लाग्न सक्छ– डाक्टरले चाहिँ प्रत्यक्ष घटना नदेखिकन नै त्यसरी समय किट्न कसरी सकेको होला ? आउनु होस्, यहाँ डाक्टरले हत्या भएको समय कसरी पत्ता लगाउँछन् भन्ने कुराको चर्चा गरौं

कुनै पनि तातो चिजलाई त्यत्तिकै छोडिदिने हो भने, केही समयपछि त्यो सेलाएर वातावरणको तापक्रम बराबरको हुन जान्छ। उदाहरणको लागि, एक गिलास उमालेको दूधलाई टेबलमा राखौं। केही समयपछि त्यो दूध सेलाउँछ र मनतातो हुन्छ। सेलाउने क्रममा त्यो दूधको तापक्रम हाम्रो वरिपरिको वातावरणको तापक्रमसँग मिल्दोजुल्दो हुनपुग्छ

वातावरणको तापक्रम जतिसुकै भए पनि हाम्रो शरीरको तापक्रम चाहिँ स्थिर नै रहन्छ। हाम्रो शरीरभित्र हुने विभिन्न जैविक प्रक्रियाहरुले हाम्रो शरीरको तापक्रमलाई स्थिर राखिरहेको हुन्छ। तर जब कुनै मान्छेको हत्या हुन्छ वा मृत्यु हुन्छ, उसको शरीरभित्र तापक्रमलाई स्थिर राख्ने जैविक प्रक्रिया पनि रोकिनपुग्छ

हाम्रो शरीरको औसत तापक्रम ९८.६° फरेनहाइट (७°C) हुन्छ। तर हाम्रो वरिपरिको वातावरणको तापक्रम चाहिँ ६० देखि ८० डिग्री फरेनहाइट वा त्योभन्दा घटी वा बढी पनि हुन सक्छ। जेहोस्, वातावरणको तापक्रम जतिसुकै भए पनि हाम्रो शरीरको तापक्रम चाहिँ स्थिर नै रहन्छ। हाम्रो शरीरभित्र हुने विभिन्न जैविक प्रक्रियाहरुले हाम्रो शरीरको तापक्रमलाई स्थिर राखिरहेको हुन्छ। तर जब कुनै मान्छेको हत्या हुन्छ वा मृत्यु हुन्छ, उसको शरीरभित्र तापक्रमलाई स्थिर राख्ने जैविक प्रक्रिया पनि रोकिनपुग्छ। यसो भएपछि गिलासमा राखिएको दूध जस्तै मृत शरीरको तापक्रम पनि वातावरणको तापक्रमको अनुकूलतामा सेलाउन थाल्छ। यो सेलाउने क्रम पनि निश्चित समयमा निश्चित मात्राको दरमा भइरहेको हुन्छ। उदाहरणको लागि, गर्मी महिनामा मृत शरीरको सेलाउने क्रम औसत रुपमा प्रति घण्टा ०.७५ डिग्री फरेनहाइटको दरले हुन्छ भने जाडो महिनामा चाहिँ १.५ डिग्री फरेनहाइटको दरले। मृत शरीरमा घट्ने यही तापक्रमले नै डाक्टरहरुलाई हत्या भएको समय तोक्न आधार प्रदान गर्छ

गर्मी महिनामा मृत शरीरको सेलाउने क्रम औसत रुपमा प्रति घण्टा ०.७५ डिग्री फरेनहाइटको दरले हुन्छ भने जाडो महिनामा चाहिँ १.५ डिग्री फरेनहाइटको दरले

सबैभन्दा पहिले डाक्टरले मृत शरीरको तापक्रम जाँच्छन्। यो जाँच्ने क्रिया मृत शरीरको मुखमा थर्मामिटर राखेर गरिँदैन। जाँच्ने क्रममा डाक्टरले सबैभन्दा पहिले मृतशरीरको भित्री अंगको तापक्रम (Core Temperature) नाप्छन्। यसको लागि मृत शरीरको गुद्वारबाट ४–५ इन्चभित्रसम्म थर्मामिटर घुसाइन्छ। यो शरीरको भित्री तापक्रम नाप्ने सबैभन्दा सजिलो तरिका हो

कतिपय डाक्टरहरुले चाहिँ दाहिने करंगमुनि आधा सेन्टिमिटर चिरेर थर्मामिटर घुसाउँछन्। यसरी थर्मामिटर घुसाउँदा त्यसलाई कलेजोभित्रसम्म पुर्‍याइन्छ र तापक्रम लिइन्छ। तर यसो गर्दा कलेजोलाई क्षति पुग्ने भएकोले र पछि पोष्टमार्टम गर्दा कलेजोमा कुनै असर परेको थियो थिएन भन्ने थाहा पाउन अड्चन आउने भएकोले धेरै डाक्टरहरु यो तरिका अपनाउँदैनन्

शरीरको भित्री तापक्रम लिने अर्को तरिका हो– टाउकोको हड्डीमा प्वाल पारेर गिदीभित्रसम्म थर्मामिटर छिराउने। कतिपय डाक्टरहरुले यो विधि पनि अपनाउँछन्। कतिपय डाक्टरहरुले चाहिँ हत्या गरिएका व्यक्ति महिला रहेछ भने उसको योनीको भित्रीभागको तापक्रम लिने गर्छन्। यसरी शरीरको भित्री भागको तापक्रम लिने विभिन्न तरिकाहरु भए पनि सजिलो र सर्वप्रचलित तरिकाचाहिँ गुद्वारभित्रबाट तापक्रम लिने तरिका नै हो

माथि शुरुमा उल्लेख गरिएको घटनामा हत्या भएको घटनास्थल होटेलमा १० बजे राति पुलिस र डाक्टर डाकिएपछि सबैभन्दा पहिले डाक्टरले मृत शरीरको तापक्रम लिन्छन्। मानौं, घटना भएको समय जाडो महिनाको समय हो र त्यसरी तापक्रम लिँदा मृत शरीरको तापक्रम ८८.२ डिग्री फरेनहाइट देखियो। यस्तो अवस्थामा डाक्टरले मान्छेको शरीरको तापक्रम ९८.६ फरेनहाइटबाट १० बजे राति मृत शरीर जाँच्दा देखिएको तापक्रम ८८.२ डिग्री फरेनहाइट घटाउँछन्। यसरी घटाउँदा बाँकी रहने संख्या भनेको १०.४ डिग्री फरेनहाइट हुन आउँछ। जाडो महिनामा मृत शरीरको तापक्रम औसत रुपमा १.५ डिग्री फरेनहाइटको दरले सेलाउने विज्ञानको नियमअनुसार अब डाक्टरले त्यसरी बचेको १०.४ डिग्री फरेनहाइटलाई १.५ ले भाग लगाउँछ। यसरी भाग लगाउँदा निस्कने नतिजा हुन आउँछ– ७। अर्थात् त्यो व्यक्तिको हत्या भएको समय भनेको मृत शरीरको तापक्रम जाँच्दाको समय–भाग लगाउँदा निस्केको नतिजा (१० बजे– ७) = ३ बजे हुन आउँछ

यसरी हत्या भएको समय डाक्टरले तोकिदिएपछि पुलिसलाई अनुसन्धान गर्न सजिलो हुन्छ। पुलिसले ३ बजे मृत व्यक्तिलाई भेट्न आउने व्यक्तिको खोजतलास गर्न शुरु गर्छ र अन्य सबुत प्रमाणहरुका आधारमा समेत शुरु हुन्छ– हत्याराको खोजी गर्ने अभियान

 

हत्याको समय पत्ता लगाउन प्रयोग गरिने केही विधिहरु

घटना प्रत्यक्ष नदेखे पनि डाक्टरले हत्या भएको समय अनुमान गर्न फरेन्सिक विज्ञान र शारीरिक अवलोकनको आधारमा विभिन्न विधिहरू प्रयोग गर्छन्। केही महत्त्वपूर्ण विधिहरू यस्ता छन्:

रिगर मोर्टिस (Rigor Mortis): मृत्युपछि मांसपेशी कठोर हुने प्रक्रिया हो। यो सामान्यतः मृत्युको २–६ घण्टापछि सुरु हुन्छ, १२ घण्टामा पूर्ण रूपमा विकास हुन्छ, र २४–४८ घण्टामा हराउँछ। यसको अवस्थाको आधारमा मृत्युको समय अनुमान गर्न सकिन्छ।

एल्गर मोर्टिस (Algor Mortis): मृत्युपछि शरीरको तापक्रम घट्दै जान्छ। शरीरको तापक्रम र वातावरणीय तापक्रमको तुलनाबाट मृत्युको समय किट्न सकिन्छ।

लिभर मोर्टिस (Livor Mortis): मृत्युपछि रक्त प्रवाह बन्द हुँदा रगत शरीरको तल्लो भागमा जम्छ। यसको रंग र अवस्थाबाट मृत्युको समय थाहा पाउन सकिन्छ।

पेटको अवशेष (Stomach Contents): मृतकले अन्तिम पटक खाएको भोजन पाचन प्रक्रियाको अवस्थाको आधारमा मृत्युको समय अनुमान गर्न सकिन्छ।

शरीरको विघटन (Decomposition): शरीरको विघटनको अवस्था, गन्ध, र जीवाणुहरूको गतिविधिको आधारमा मृत्युको समय पत्ता लगाउन सकिन्छ।

फरेन्सिक कीट विज्ञान (Forensic Entomology): शवमा भएका कीराहरूको जीवनचक्रको अध्ययन गरी मृत्यु भएको समय पत्ता लगाउन सकिन्छ।

अन्य प्रमाणहरू: चोटपटक, घाउ, रक्तश्राव, र आसपासका वस्तुहरूको अध्ययनले पनि समय निर्धारणमा मद्दत पुर्‍याउँछ।

यी विधिहरूको प्रयोग गरेर डाक्टर र फरेन्सिक विज्ञहरूले हत्या भएको समयको वैज्ञानिक अनुमान लगाउँछन्।