बाँदरको बुद्धि (अफ्रिकी लोककथा)
वर्षा मौसम आउँदैथियो । बाँदरलाई अब चाँडै एउटा नयाँ घर बनाउनुपर्ने भयो ।
‘मलाई कसले मद्दत गर्ला ?’ उसले सोध्यो ।
‘म मद्दत गर्न चाहन्छु,’ सिंहनीले भनिन् ।‘तर मलाई शिकार गर्नु जानुछ ।मेरा बच्चाहरु भोकाएका छन् ।’
‘म मद्दत गर्न चाहन्छु,’ हात्तीले भन्यो । ‘तर मलाई बथानको लागि पानीको एउटा नयाँ पोखरी खोज्नुपर्नेछ ।’
‘म मद्दत गर्न चाहन्छु,’ बूढो जिराफले भन्यो । ‘तर मेरो खुरमा चोट लागेको छ । त्यसले गर्दा मलाई हिँड्डुल गर्न गाह्रो छ ।’
‘त्यसो भने मैल आफैंले एक्लै घर बनाउनुपर्नेछ,’ बाँदरले भन्यो । र, उसले त्यही गर्यो ।
‘डी–डूडल–डी–डम!’ बाँदरले कसैले गीत गाइरहेको सुन्यो । एउटा हुँडार झाडीबाट बाहिर कुदेर आयो ।
‘मैले देखिरहेको छु कि तिमी एउटा नयाँ घर बनाउँदैछौ,’ उसले भन्यो, ‘म तिमीलाई अवश्य पनि मद्दत गर्नेछु ।’
तर हुँडार धूर्त थियो । बाँदरलाई उनीप्रति अलिकति पनि भरोसा थिएन ।
बाँदरले हुँडारलाई भन्यो, ‘भैगौ ! म आफ्नो घर एक्लै बनाउछु ।’
हुँडारले भन्यो, ‘त्यसो भने ठीकै छ ।’ तर जानुभन्दा पहिले हुँडारले बाँदरको एउटा केरा चोर्यो । उसले त्यो केरा क्वाप्पै खायो ।
"मेरो केरा खान छोड् !" बाँदर चिच्यायो। "यहाँबाट जाऊ!"
"अरे! ही-हो!" हुँडार हाँस्न थाल्यो। "त्यो केरा त धेरै मीठो थियो!" त्यसपछि हुँडार नाँच्दै-नाँच्दै त्यहाँबाट टाढा गयो।
बाँदर दिनभर आफ्नो घर बनाउन लागिरह्यो। तर काम खासै अगाडि बढेन।
त्यो रात, झाडीबाट एउटा सुन्दर जीव बाहिर आयो। ऊ मीठो स्वरमा गाउन थाल्यो, "डी-डुडल-डी-डम!"
"म यस्तो गाउने कोहीलाई चिन्छु," बाँदरले सोच्यो। "तर को हो ?"
सुन्दर जीवले बाँदरको घरतिर हेर्यो । "के तिमीलाई मद्दत चाहिएको छ?" उसले सोध्यो। "म पक्कै मद्दत गर्नेछु। तर त्यसअघि तिमीले मेरो लागि एउटा ठूलो भाँडो सूप बनाउनुपर्छ।"
बाँदरलाई सख्तै मद्दतको खाँचो थियो। "हुन्छ," उसले भन्यो। "म तिमीलाई मान्छु। भोलि बिहान फर्केर आउनू।"
भोलिपल्ट बिहान बाँदरले ठूलो भाँडोमा सूप बनाएर राख्यो। त्यसपछि, झाडीबाट एउटा कुरूप राक्षस बाहिर निस्क्यो। बाँदर डरले काम्न थाल्यो। ऊ भागेर रुखको पछाडि लुक्यो। उसले कुरूप राक्षसलाई सबै सूप खाइरहेको देख्यो।
"के म यस्तो खाने कोहीलाई चिन्छु?" बाँदरले सोच्यो। "तर को हो?"
त्यसपछि कुरूप राक्षस फेरि झाडीभित्र भाग्यो।
केही बेरमा, सुन्दर जीव फेरि फर्केर आयो। उसले खाली भाँडोमा नियालेर हेर्यो। "मेरो सूप कहाँ गयो?" उसले सोध्यो। बाँदरले उसलाई कुरूप राक्षसको बारेमा बतायो।
"यो त धेरै नराम्रो भयो," सुन्दर प्राणीले भन्यो। "तर मैले तिम्रो सूप खाएको छैन, त्यसैले म तिमीलाई मद्दत गर्ने छैन।"
"कृपया," बाँदरले भन्यो। "भोलि फेरि फर्केर आउनू। म अर्को भाँडो सूप बनाउनेछु।"
सुन्दर जीवले नाँच्दै भन्यो, "के म यस्तो नाँच्ने कोहीलाई चिन्छु?" बाँदरले सोच्यो। "तर को हो?"
बाँदरले आफ्नो वाचा पूरा गर्यो। अर्को दिन, उसले फेरि ठूलो भाँडोमा सूप बनायो। तर यसपटक, झाडीबाट आउने आवाज सुनेपछि उसले हेर्यो। के त्यो सुन्दर जीव थियो? होइन! फेरि त्यही कुरूप राक्षस बाहिर आयो।
बाँदर झाडीको पछाडि लुक्यो। कुरूप राक्षसले सारा सूप खायो। "अरे! ही-हो!" ऊ भाग्दै हाँस्यो।
"के म यस्तो हाँस्ने कोहीलाई चिन्छु?" बाँदरले सोच्यो। "तर को हो?"
केही बेरपछि, सुन्दर जीव फेरि आयो।उसले फेरि खाली भाँडोतिर हेर्यो।
"यो त धेरै नराम्रो कुरा भयो," सुन्दर प्राणीले भन्यो। "मैले तिम्रो सूप खाएको छैन, त्यसैले म तिमीलाई मद्दत गर्न सक्दिनँ। तर म भोलि बिहान फेरि आउनेछु।"
त्यसैबेला, बाँदरले सुन्दर जीवको अनुहारमा अलिकति सूप लागेको देख्यो। "उनको अनुहारमा त्यो सूप कसरी लाग्यो?" बाँदरले मनमनै सोच्यो। त्यसपछि उसले सबै कुरा बुझ्यो।
यो पटक बाँदर सुन्दर जीवको पछि-पछि नदीसम्म गयो। सुन्दर जीवले चारैतिर हेर्यो। त्यसपछि उसले आफ्ना पखेटा फुकाल्यो। त्यो त हुँडार नै रहेछ!
बाँदरले पूरै रात पर्खाइमा बितायो। भोलिपल्ट बिहान उसले हुँडारले आफूलाई माटो र पातले पोतिरहेको देख्यो। अब पक्का भयो– हुँडार नै कुरूप राक्षस थियो!
"म धेरै चालाक छु!" हुँडार हाँस्दै बोल्यो।"हे-हे-हो! म बाँदरलाई फेरि झुक्याउन आतुर छु।"
"यो हुँडारको बदमासी रहेछ!" बाँदरले मनमनै भन्यो। हुँडारले आफूलाई देख्नुभन्दा अघि नै बाँदर त्यहाँबाट टाप कस्यो।
जब कुरूप राक्षस झाडीबाट बाहिर निस्क्यो, भाँडोमा सूप पकिरहेको थियो र उम्लिरहेको थियो। तर बाँदर त्यहाँ थिएन। एकदम दुब्लो जेब्राले भाँडोको सूप चलाउँदै थियो।
"भाग! हिँड!" कुरूप राक्षस चिच्यायो।
"तिमी चाहिँ यहाँबाट भागिहाल!" जेब्राले उल्टै चिच्यायो। "तिमी मलाई मूर्ख बनाउन सक्दैनौं।तिमी कुरूप राक्षस होइनौ। तिमी हुँडार हौ!"
कुरूप राक्षसले पात र माटो फुकाल्यो। "तिमीले ठ्याक्कै बुझ्यौ! ही ही हो!" हुँडार हाँस्दै बोल्यो।
"मैले तिमीलाई झुक्याइनँ, तर मैले त्यो मूर्ख बाँदरलाई भने झुक्याएँ।" हुँडारले भाँडोको सूपलाई सुँघ्दै भन्यो। अनि उसले जेब्रोलाई सोध्यो, "त्यो बाँदर कहाँ छ?"
जेब्राले उसलाई हेर्यो र भन्यो, "ऊ आफ्नो घरका लागि काठ र हाँगा लिन गएका छन्। तर बाँदरलाई तिमीले गरेका बदमासी थाहा पायो भने
ऊ रिसले चूर हुनेछ। त्यसपछि उसले तिमीमाथि जादू गर्नेछन् ।"
यो सुनेर हुँडार बस्यो। ऊ अलि डराएको देखिन्थ्यो।
जेब्राले भन्यो, "म कुनै बेला हट्टा-कट्टा र बलियो थिएँ। तर जब मैले बाँदरलाई दु:ख दिएँ, त्यसपछि उसले ममाथि जादू गर्यो। नपत्याए अहिले हेर्नू, म कति पातलो भएको छु।"
यो सुनेर हुँडार उफ्रियो। ऊ साँच्चै डरायो। "ओहो, होइन!" हुँडार रोयो।
"मलाई भन, म आफूलाई कसरी बचाउन सक्छु?"
दुब्लो जेब्राले सूप चलाउँदै भन्यो, "तिमीले बाँदरलाई नयाँ घर बनाउन मद्दत गर्ने वाचा गरेको थियौ। यदि तिमीले त्यो गरेनौ भने, बाँदर धेरै रिसाउनेछ र तिमीमाथि जादू गर्नेछन् ।"
हुँडारले समय खेर फालेन। उसले हाँगाहरू जम्मा गर्यो। उसले धेरै माटाका इँटहरू बनायो। हुँडारले पूरै दिन चर्को घाममा काम गर्यो।
जेब्रा चूपचाप बस्यो र उसले काम गरेको हेरिरह्यो। अन्ततः हुँडारले घर बनाइसक्यो ।
"मैले बाँदरलाई आउदै गरेको चाल पाएको छु!" जेब्राले चिच्यायो हुँडारलाई भन्यो ।
हुँडार तुरुन्तै झाडीतिर भाग्यो। भाग्दाभाग्दै उसले रुँदै भन्यो, "बाँदरलाई भन्नू, म सधैँका लागि टाढा जाँदैछु!"
हुँडार टाढा गएपछि बाँदरले जेब्राको छालालाई फुकालेर फ्याँकिदियो। "अब मेरो राम्रो नयाँ घर तयार भएको छ," उसले खुसी हुँदै भन्यो।
बाँदरले जंगलका साथीहरूको लागि एउटा भोजको आयोजना गर्यो । उसले सबैलाई कसरी उसले धूर्त हुँडारलाई आफ्नो घर बनाउन लगाए भन्नु कुरा सुनायो। त्यो सुनेर सबै जनावरहरु मज्जाले हाँसे।
त्यसपछि सबै मिलेर ठूलो भाँडोको सूप खाए!
प्रतिक्रिया