भारतलाई ‘आर्थिक महाशक्ति’ बनाउने सिंहको निधन

भारतलाई आजको विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्नमा निर्णायक भूमिका खेलेका भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ ।

पुस ११ गते बिहीबार “घरमै अचानक होस गुमेपछि” उनलाई आपत्कालीन उपचारका लागि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) मा भर्ना गरिएको थियो। उपचारकै क्रममा ९२ वर्षीय सिंहको निधन भएको हो ।

उनले त्यसबेला (१९९० को दशकको शुरुवाततिर) भारतको वित्तमन्त्रीको पद सम्हालेका थिए, जुनबेला भारत चरम आर्थिक संकटबीच गुज्रिरहेको थियो । त्यसबेला  भारतमा सञ्चित विदेशी मुद्रा भण्डारले केवल केही साताका अत्यावश्यक वस्तुहरू आयात गर्न मात्र पुग्ने अवस्था थियो।

त्यस्तो स्थितिबीच उनले महत्वाकांक्षी सुधारहरू लागू गर्दै भारतको केन्द्रिकृत अर्थतन्त्रलाई खुला अर्थतन्त्रतिर रूपान्तरण गरे। यस क्रममा, उनले राज्य-नियन्त्रित कम्पनीहरूको निजीकरण र विदेशी लगानीको प्रोत्साहनजस्ता कदमहरु चाले । अहिले भारतको हैसियत विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्नुको मूल श्रेय उनले अपनाएका आर्थिक नीतिहरुलाई दिइने गरिन्छ । अक्सफोर्डबाट शिक्षित अर्थशास्त्रीका रूपमा सिंहलाई भारतको अर्थतन्त्रमा दूरगामी सुधार ल्याउने योजनाका वास्तुकारका रूपमा लिइने गरिन्छ । उनकै सुधारका कार्यक्रमहरूले भारतको आर्थिक वृद्धिलाई तीव्र बनाउँदै करोडौं मानिसलाई गरिबीबाट बाहिर निकाल्न सहयोग पुर्‍याएको कुरा उनका प्रतिपक्षीहरु समेत स्वीकार्ने गर्छन् ।

आफ्नो पहिचानको रूपमा चिनिने नीलो पगडी लगाउने सिंह सिख अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने  भारतका पहिलो प्रधानमन्त्री थिए । उनले २००४ देखि २०१४ सम्म काङ्ग्रेस आइ पार्टीको तर्फबाट भारतको नेतृत्व गरेका थिए ।

गरिबीमा हुर्किएका सिंह व्यक्तिगत इमानदारी र नम्रताका लागि व्यापक रूपमा सम्मानित थिए ।  आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमा उनका केही मन्त्रीहरूविरुद्धको भ्रष्टाचार काण्डले उनको छविमा केही दाग लाग्यो यद्यपि उनी स्वयंमाथि भने कहिल्यै भ्रष्टाचारको आरोप लागेन।

https://www.sarkarimirror.com

विनम्रताको गज्जब उदाहरण !

सन् १९८२ मा इन्दिरा गान्धीको सरकारमा प्रणव मुखर्जी वित्तमन्त्री थिए ।त्यस समयमा डा. मनमोहन सिंहलाई आरबीआई गभर्नर बनाइएको थियो। उनी वित्तमन्त्री मुखर्जीलाई रिपोर्ट गर्थे र उनलाई ‘सर’ भनेर सम्बोधन गर्थे।

रमाइलो के भयो भने मनमोहन सिंह प्रधानमन्त्री हुँदा तिनै प्रणव मुखर्जी उनको मन्त्रिपरिषद्का मन्त्री बने। मनमोहन सिंहको मन्त्रिमण्डलमा प्रणव मुखर्जीले सन् २००९ देखि २०१२ सम्म वित्तमन्त्री पद सम्हालेका थिए। यसअघि, मुखर्जीले मनमोहन सिंहकै सरकारमा सन् २००४ देखि २००६ सम्म रक्षा मन्त्री र विदेश मन्त्री सन् २००६ देखि २००९सम्म विदेश मन्त्रीको पदसमेत सम्हालेका थिए ।

अनुभव र नेतृत्व क्षमताका कारण मुखर्जी मनमोहन सिंहको सरकारका सबैभन्दा प्रभावशाली र वरिष्ठ मन्त्रीमध्ये एक मानिन्थे।

यसअघि सिंहबाट रिपोर्ट लिने प्रणव मुखर्जीको हैसियत अब सिंहलाई रिपोर्ट गर्नुपर्ने भयो । तर विनम्र र सरलताका धनी मनमोहनले मुखर्जीलाई पूर्ववत उच्च आदर गर्थे र सम्बोधनमा ‘सर’ नै भन्थे।  भनिन्छ, त्यसबाट अप्ठ्यारो महसूस गरेका मुखर्जीले एक पटक सिंहलाई भनेका पनि थिए, “तपाईं मलाई किन ‘सर’ भन्नुहुन्छ जबकि अब त म तपाईंको मातहतमा छु!”

शान्त स्वभाव र नम्र व्यक्तित्व भएका प्राविधिक विशेषज्ञ सिंहले शीर्ष पदको लागि आफूलाई कहिल्यै दावेदारका रुपमा प्रस्तुत गरेनन् । २००४ मा हिन्दू राष्ट्रवादीहरूलाई पराजित गर्दै काँग्रेस पार्टीले अप्रत्याशित विजय प्राप्त गरेपछि पार्टी नेतृ सोनिया गान्धीविरुद्ध ‘इटालीमा जन्मेका कारण’ भारतका अतिवादी हिन्दू राष्ट्रवादीहरुले विदेशी भन्ने आरोप लगाउँदै चर्को विरोध गरेपछि गान्धीले प्रधानमन्त्री नबन्ने निर्णय गरेका थिए र सिंहले प्रधानमन्त्रीको पद सम्हालेका थिए । सरल, विनम्र र भद्र स्वभावका सिंहलाई कतिपय आलोचकहरूले प्रधानमन्त्री पद सिंहले सम्हाले पनि पर्दापछिबाट प्रधानमन्त्रीत्व चाहिँ सोनिया गान्धीले नै चलाउने गरेका थिए भनी आरोप लगाउने गर्छन् ।

सन् १९३२ मा ब्रिटिश शासनकालीन भारत (अहिलेको पाकिस्तान) को एउटा सानो कृषिप्रधान गाउँमा सिंहको जन्म भएको थियो । नौ दाजुभाइ-बहिनीहरूसँग गरिबीमा हुर्किएका सिंहले कडा मेहनत गर्दै भारतका विश्वविद्यालयहरूमा अध्ययन गरेका थिए । क्याम्ब्रिज विश्वविद्यालयबाट मास्टर डिग्री सकेपछि उनले अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका थिए ।

उच्च शिक्षा पूरा गरेपछि सिंहले आफ्नै विश्वविद्यालयमा अर्थशास्त्र अध्यापन गरेका थिए । सन् १९७१ मा उहाँ वाणिज्य मन्त्रालयमा आर्थिक सल्लाहकारका रूपमा काम थालेपछि उनको दशकौं लामो सरकारी सेवाको यात्रा सुरु भएको थियो ।

Main Image: https://gdb.voanews.com