देशको विद्यमान परिस्थिति र किसान मजदुर आन्दोलन

गलत नेतृत्वले सञ्चालन गर्ने राजनीतिक संगठनको नेतृत्वमा हुने समग्र वेथितिले क्षतविक्षत राज्यको सुधार वा परिवर्तनका निम्ति सञ्चालित आन्दोलनसँग तत्कालीन राज्य व्यवस्थाको असफल प्रयास विरुद्धमा जनपक्षीय नीतिनिर्माण तथा कार्यान्वयनको सफल परीक्षण गर्नुपर्ने चुनौति समयको माग हो । जनतामाझ समय सापेक्ष आन्दोलनको आवश्यकता र आन्दोलनले दिने विकल्पका बारेमा स्पष्ट धारणा प्रस्तुत गर्नुपर्छ । कुनैपनि आन्दोलन जनताका मुद्दासँग सम्बन्धित हुन्छन् । तर समग्र राज्य प्रणालीका सबै क्षेत्रहरुले जनताको आमजीवनमा प्रत्यक्ष वा परोक्ष रुपमा नकारात्मक प्रभाव पारेका छन् र त्यस्तो परिस्थितिका विरुद्धमा सबै क्षेत्रका उत्पीडित जनताहरु संगठीत भएका छन् भने त्यो केवल आन्दोलन मात्र रहँदैन । सडकमा देखिएका त्यसखाले सबै आन्दोलनहरुको साझा प्रयत्नले जनआन्दोलनको निर्माण गर्दछ ।

हरेक आन्दोलनलाई दीर्घकालीन लक्षसम्म पुर्याउन कुशल नेतृत्वहरुको साझा राजनीतिक संगठनको आवश्यकता पर्दछ । कुशल नेतृत्वको कौशलताले मात्र आन्दोलनलाई सही बाटोमा लैजान सक्छ । राज्य प्रणालीका असफल क्षेत्रहरुलाई सही तरिकाले समीक्षा गरेर मात्र कुनै पनि जन आन्दोलनले राज्य भित्र मौलाउँदै गएका अस्थिरता र अराजकतालाई रोक्न सक्छ । साथै जनताको निम्ति आवाज उठाउने नेतृत्वले जनताको वास्तविक जीवनशैलीसँग परिचित हुनुपर्छ । स्पष्ट विचार र दृष्टिकोणले ओतप्रोत खुल्ला तथा फराकिलो मस्तिष्क भएको नेतृत्वले सही मार्ग निर्देश गर्नसक्दछ । जनताका बिचमा उत्पन्न हुने अन्तरद्वन्द्व र विवादलाई दीर्घकालीन रुपमा समाधान गरी विभाजन होइन, एकताको नीतिमा संगठित गर्नसक्ने नेतृत्वले मात्र संगठनलाई एउटै सुत्रमा बाँध्न सक्छ । र दुरदर्शी नेतृत्वले राष्ट्रको इतिहासलाई सुक्ष्म रुपमा वैज्ञानिक ढङ्गले अध्ययन तथा समिक्षा गरी भविष्यका लागि दीर्घकालीन योजना तय गर्नसक्छ ।

राज्य प्रणालीका असफल क्षेत्रहरुलाई सही तरिकाले समीक्षा गरेर मात्र कुनै पनि जन आन्दोलनले राज्य भित्र मौलाउँदै गएका अस्थिरता र अराजकतालाई रोक्न सक्छ । साथै जनताको निम्ति आवाज उठाउने नेतृत्वले जनताको वास्तविक जीवनशैलीसँग परिचित हुनुपर्छ ।

वर्तमान समयको नेपाल कुशल शाषक र शासनको अभावले दिशाहीन भई कुहिरोको काग झैँ रुमल्लिएको अवस्थामा छ । भौतिक विकासको गति र जनताको आम जीवनको दुर्गतिले शासकहरुलाई आफ्नो अस्तित्व जोगाउन भ्रम र झुटको सहारा लिनु पर्ने विडम्बना छ । भ्रष्टाचार संस्कारको रुपमा स्थापित हुँदैछ । सिर्जनशिल युवाहरु फ्रस्टेसन र डिप्रेसनको सिकार हुनुपरेको छ । कृषि प्रधान भनिदै आएको देशका किसानहरुले जीविको पार्जनको एउटै आधार रहेको खेती योग्य जमिन आधारभूत आवश्यकता पूरा गर्नकै निमित्त बेचविखन गर्नुपर्ने बाध्यता छ । अधिकांश खेतियोग्य जमिनमा भूमाफियाहरुको तिव्र चलखेल देख्दा कृषि उत्पादन शून्य हुन अब यही परिस्थितिले निरन्तरता पाउने हो भने यो अन्तिम दशक हुने देखिन्छ । यहाँ हरेक क्षेत्रका मजदुरमाथिको शोषण इतिहासदेखि भोग्दै आएका मजदुरहरुको स्थिति भन्दा कुनै फरक छैन । यति दयनिय परिस्थिति छ कि मजदुर माथिको आर्थिक शोषणको प्रत्यक्ष उदाहरण भनेको उसको ज्यालाले एक महिना उसको परिवार चल्दैन । यी त प्रतिनिधिमूलक समस्या मात्र हुन् ।

कुशल नेतृत्वको अभावमा उत्पन्न हुने दयनीय परिस्थितिलाई अन्त्य गर्ने पहलकदमी स्वरुप समय समयमा विभिन्न शक्तिहरुको उदय नभएको पनि होइन तर वैकल्पिक रुपमा उदाएका हरेक राजनीतिक संगठनहरु दुर्गन्धित पोखरीभन्दा केही परको सुन्दर तालसम्म पुग्ने साहस गर्दैनन् । विचार र दृष्टिकोणको स्पष्टताबाट समाजलाई गति दिने सिद्धान्त प्रतिपादन गर्न त्यति सहज छैन । तर समाज विज्ञानको यही नियमले मात्र राष्टको आमूल परिवर्तनको सही बाटो थाहा पाउन सकिन्छ । आधुनिक प्रविधिको सहायताले सस्तो लोकप्रियतावादबाट उदाउने शक्तिहरु अन्ततः क्षणिक आसाका केन्द्र मात्र हुन् भन्ने प्रमाणीत भइसकेको छ । विचारको स्पष्टताको अभावले रुमल्लिएका वैकल्पिक शक्तिहरुबाट समेत निराश भएका नेपाली जनताहरु पश्चगमनको बाटो राज्नुको अर्को विकल्प नदेख्नु स्वाभाविक हो । टाउकोमा टोपी लाउँदैमा कपाल पलाउन रोकिदैन । जनताको परिवर्तनकारी गतिलाई अस्थिर बनाउन संसारका कुनै पनि शक्तिले नसकेको आजसम्मको इतिहास छ । नेपाली जनताको यही स्वभावलाई दुरुपयोग गरी यहाँ विभिन्न दक्षिणपन्थी शक्तिहरु मौलाइ रहेका छन् । दक्षिणपन्थी शक्तिहरुको धमिलो पानीमा माछा मार्ने घृणीत योजनालाई शक्तिको केन्द्रमा रहेका राजनीतिक दलहरुको व्यवहारले अप्रत्यक्ष रुपमा मद्दत पुर्‍याइरहेको छ । दक्षिणपन्थी शक्ति र यथास्थितिवादी शक्तिको अप्रत्यक्ष गठजोडले प्रगतिशील विचारहरु कुण्ठित हुनुपरेको छ भने आम जन समुदायमा निराशाको कालो वादल छाएको छ ।

नेपाली जनताको यही स्वभावलाई दुरुपयोग गरी यहाँ विभिन्न दक्षिणपन्थी शक्तिहरु मौलाइ रहेका छन् । दक्षिणपन्थी शक्तिहरुको धमिलो पानीमा माछा मार्ने घृणीत योजनालाई शक्तिको केन्द्रमा रहेका राजनीतिक दलहरुको व्यवहारले अप्रत्यक्ष रुपमा मद्दत पुर्‍याइरहेको छ । दक्षिणपन्थी शक्ति र यथास्थितिवादी शक्तिको अप्रत्यक्ष गठजोडले प्रगतिशील विचारहरु कुण्ठित हुनुपरेको छ भने आम जन समुदायमा निराशाको कालो वादल छाएको छ ।

लोकप्रियतावाद (पपुलारिजम) को सिकार भएका आम जनताको बाध्यकारी बेराजगारीलाई प्रयोग गरेर केही व्यक्ति वा शक्तिहरुले झुटा आश्वासनहरु बाँडेर असम्भव आशाहरु देखाउनमा तल्लीन छन् । स्पष्ट विचारको अभाव र घृणाको राजनीतिले अन्ततः पतनको दिशामा लैजान्छ । नेपालमा सामाजिक सञ्जाल सूचना आदानप्रदान गर्ने सहज माध्यम हुनुपर्ने हो तर सामाजिक सञ्जाललाई विचार निर्माणको थलो बनाइएको छ । लोकप्रियतावादको एउटा विशेषता भनेको यहाँ कुनैपनि व्यक्तिलाई हिरो वा भिलेन बनाउन समय लाग्दैन । यस्तो क्षेत्रबाट उदाउने जोसुकैको पतन हुने सम्भावना सहजै अनुमान लगाउन सकिन्छ ।

प्रसिद्ध चित्रकार तथा लेखक जोन रस्किनको एउटा भनाइ छ, “आसा र परिश्रमको बिचमा एउटा सिधा र सरल रेखा हुन्छ, जसले सबै बाधाहरुलाई पार गर्ने शक्ति दिन्छ ।” हामी अहिले राज्यको असफलताले दुखहरुको परिबन्धनमा घेरिएका छौँ । नेपाली जनमानसमा यति धेरै दुख र कष्टहरु सिर्जना भएका छन् कि हामीले लेख्न थाल्यौँ भने दुखको ग्रन्थ नै तयार हुन्छ । इतिहासदेखिका उत्पीडन, जनताप्रति अनुत्तरदायी शाषक, शोषणका अनेकन आयामहरु आदि कैँयौ यस्ता कारणहरु छन् जसले आम जनतामा सुख, शान्ति र आनन्दको जीवन काल्पनिक हुन थालेको छ । तर आम मानिसका भौतिक दुखहरु शब्दमा व्यक्त गरेर होइन राजनैतिक संघर्षद्धारा समाधान गर्नु नै एकमात्र निरुपणको उपाय हो । देशभित्र व्याप्त पीडा र निराशाको अन्धकारभित्र एउटा सुन्दर दिप प्रज्वलित भएको छ । रस्किनको भाषामा भन्ने हो भने आसा र परिश्रम बिचको रेखा तयार भएको छ । त्यो रेखा हो किसान मजदुर आन्दोलन ।

आम जनताका प्रमुख समस्याहरुका विरुद्ध संगठित नेतृत्व प्रदान गर्दै सडकबाट उदाएको उत्पीडित तथा शोषित जनताहरुको नेतृत्वले सुसज्जित आन्दोलनको रुपमा किसान मजदुर आन्दोलन एक उदियमान संगठन हो । समग्र जनताका मुद्धाहरुलाई सम्बोधन गर्नका निमित्त निर्माण भएको एउटा नयाँ पहलस्वरुप यस संगठनले जनतामाझ स्पष्ट कार्यदिशा सहित जन आन्दोलनको विकासमा जुटेको छ । वित्तिय शोषण तथा उत्पीडन विरुद्धको यो आन्दोलनले आम नेपाली जनसमुदायमा एउटा नयाँ जागरण समेत ल्याएको छ । मिटरब्याजी सुद्खोर, लघुवित्त लगायत वित्तीय संस्थाका ज्यादति तथा भूमिहीन सुकुम्बासी बनाउने भुमाफियाहरु विरुद्ध तथा यी लगायत स्थानीय क्षेत्रका सामाजिक शोषण तथा उत्पीडन विरुद्ध आवाज उठाउँदै आएको यस संगठनले एउटा नयाँ आन्दोलनको उद्घोष गरेको छ । श्रमिक जनताका विरुद्धमा रहने हरेक सरकारबाट आजित सबै क्षेत्रका उत्पीडित जनताको साझा पहलको नतिजा स्वरुप यस संगठन अस्तित्वमा आएको छ । समग्र किसान र मजदुरका मागहरु सम्बोधन गर्दै जनतामाझ लोकप्रिय बन्दै गएको यस आन्दोलनले पक्कै पनि जनतामा छाएको निराशाको कालो बादल चिर्नेछ ।

अब किसान मजदुर आन्दोलनले सामाजिक, आर्थिक तथा राजनीतिक तिनै पक्षमा आजको परिस्थितिको समीक्षा तथा गहन वहसको सुरुवात गर्न ढिलाइ गर्नुहुँदैन । जनताका सबै मागहरुलाई समेटेर आवश्यकता अनुसारको आन्दोलनका स्वरुपहरु लागू गर्दै शोषणका आयामहरुलाई ध्वस्त पार्नुपर्ने चुनौती छ ।

टाढा टाढा क्षितिजसम्म पनि कुनै परिवर्तनकामी शक्तिहरु नदेखिएको बेला यस्तो परिस्थितिमा सस्तो लोकप्रियताबाट टाढा रहेको यस आन्दोलनले निर्मम अन्धकारमा आशाको झिनो प्रकाश देखिएको छ । अब पुनः एकपटक आम जनताले त्याग र समर्पण गर्ने समय आएको छ । यो आव्हान होइन, यो समयको माग हो । कठोर परिस्थितिले दिएको चुनौति हो । आगामी दिनमा अन्तिम विकल्पको रुपमा उदाएको यस आन्दोलन र यसले संगठित गर्दै गरेका सम्पूर्ण आन्दोलनहरुको एकता र साझा प्रयत्नबाट नयाँ जन आन्दोलनको प्रारम्भ हुनेछ । अब किसान मजदुर आन्दोलनले सामाजिक, आर्थिक तथा राजनीतिक तिनै पक्षमा आजको परिस्थितिको समीक्षा तथा गहन वहसको सुरुवात गर्न ढिलाइ गर्नुहुँदैन । जनताका सबै मागहरुलाई समेटेर आवश्यकता अनुसारको आन्दोलनका स्वरुपहरु लागू गर्दै शोषणका आयामहरुलाई ध्वस्त पार्नुपर्ने चुनौति छ । साथसाथै जनहीतका नीतिहरु निर्माण गर्दै नैरश्यताले छाएको वर्तमान राज्य प्रणालीको विकल्प समेत दिनुपर्ने कार्यभार रहेको हुनाले सचेत पहलकदमीका लागि नेतृत्वपंक्ति तयार रहेकोमा विश्वस्त छौँ । सम्पूर्ण न्यायप्रेमी जनसमुदायको एकता आजको आवश्यकता हो ।