सिरियामा असदको पतन र हायत तहरीर अल-शामको उदय: भूराजनीतिक प्रभाव र चुनौतीहरू

सिरियामा रुस–इरान समर्थित असदको शासनको पतन भएको छ र उनको शासनसत्ताविरुद्ध भीषण संघर्ष गर्दै आएका सशस्त्र समूह हायत तहरीर अल-शाम [Hay'at Tahrir al-Sham (HTS)] को हातमा सिरियाको शासनसत्ता पुगेको छ । असदको पतन पश्चात २१ औं शताब्दीको सबैभन्दा लामो र विनाशकारी द्वन्द्वहरुमध्यका एक द्वन्द्वले नयाँ अध्यायमा प्रवेश गरेको छ ।

अहिले रुस र इरानको समर्थनमा लामो समयदेखि सत्तामा टिकिरहेका र आफूविरुद्धको विद्रोहहरुलाई दबाउँदै आएका असदको शासनसत्ताको पतनलाई पश्चिम एशियामा रुस र इरानको रणनीतिक पराजयको रुपमा पनि हेरिँदैछ । एउटा कुरा के पक्का हो भने अहिले सिरियामा घटित घटनाक्रमहरुले सिरियाको आन्तरिकमा मात्रै हैन, क्षेत्रीय भूराजनीतिक नक्सालाई समेत पुनर्लेखन गर्न सक्छ । त्यसले पश्चिम एशियाको अन्तर्राष्ट्रिय राजनीतलाई पनि नयाँ आकार दिन सक्छ ।

 सिरियामा भइरहेको तख्ता पलटकै मौका छोपेर इजरायलले सिरियामा भीषण बमबर्षा गरेर उसको नौसैनिक तथा हवाइ क्षमता नष्ट गरिरहेको छ भने गोलानहाइट क्षेत्रको ठूलो भूभाग कब्जा गरेको छ । उसले सिरियाको हवाइ अखडाहरु, सैन्य गाडीहरु, हवाइ प्रतिरक्षा प्रणाली, सैन्य सामग्री उत्पादन केन्द्रहरुमा हवाइ हमला गरेर विध्वंशको ताण्डव मच्चाएको छ । कतिसम्म भने इजरायली सेना राजधानी दमास्कसको १९ किलोमिटर नजिकसम्म पुगेका छन्। यही स्थितिबीच सिरिया कब्जा गर्ने विद्रोहीहरुको ठूलो डफ्फा इराकमा समेत पसेको खबर छ । त्यसको प्रतिरोधमा इरानले सैनिक नै पठाएर प्रतिकार गर्ने कुराहरु पनि सतहमा आएका छन् । यी सबै पृष्ठभूमिमा अब पश्चिम एशियामा नयाँ खालको भूराजनीतिक सन्तुलन पैदा भएको र त्यसले पश्चिम एशियामा अब अस्थिरता र द्वन्द्व झनै चर्केर जाने खतरालाई समेत बढाएको छ ।

पश्चिमा एशियाको भूराजनीतिक सन्तुलनमा नयाँ दिशा !

सिरियामा असदको शासन ढलेको र सिरियाको ठूलो भूभाग विद्रोही समूह हायत तहरीर अल-शामको नियन्त्रणमा पुगेको पछिल्लो घटनाले अब पश्चिम एशियाको भूराजनीतिक सन्तुलनलाई पूर्णतः नयाँ दिशामा लैजानेछ। हायत तहरीर अल-शामको नियन्त्रणले सिरियालाई कट्टरपन्थी इस्लामिक शासनतर्फ लैजान सक्ने सम्भावना छ। रमाइलो कुरा के छ भने रुस–इरानविरुद्ध पश्चिमाहरुको साथसमर्थन समेत पाएर अहिले विजय हासिल गरेको यो समूहले विगतमा अल कायदा र आईएसआईएसको पूर्वसहयोगीको रूपमा आफ्नो जरा विस्तार गरेको थियो । यसका नेता अबु मोहम्मद अल-जोलेनीको नेतृत्वमा यो आधारभूत इस्लामिक विचारधाराका लागि परिचित थियो।यसले यो सम्भावनालाई अहिल्यै नै खारेज गरिहाल्न मिल्दैन कि हायत तहरीर अल-शामले सिरियामा कठोर इस्लामिक शासन लागू गर्न खोज्न सक्छ, जसको आन्तरिक र देशको वैदेशिक सम्बन्धमा पर्ने सम्भावित प्रभावहरू गम्भीर हुन सक्छन्।

तर  पछिल्ला वर्षहरूमा हायत तहरीर अल-शामको नीति तुलनात्मक रूपमा अधिक मध्यम खालको देखिएको छ। यसले आफ्ना अल-कायदासँगका सम्बन्धहरूबाट टाढा बस्न मात्र होइन, अन्तर्राष्ट्रिय इस्लामिक संघर्षबाट पनि पन्छिएर सिरियामा केन्द्रित भएको छ र पान-इस्लामिज्मको सट्टा अधिक राष्ट्रियता झल्काउने दृष्टिकोण अपनाएको छ। यस आधारमा यसले कट्टरपन्थी इस्लामिक बाटो नलिन पनि सक्छ । यस अवस्थामा अबको सिरियाले लिन सक्ने विचारधारात्मक दिशाबारे तत्काल यसै भन्न सकिने अवस्था छैन।

त्यसो त  कुनै बेला अफगानिस्तानमा सोभियतसंघविरुद्ध मुदाहिद्दीनहरुलाई खडा गरेको अमेरिकाका लागि कालान्तरमा तिनीहरु नै जसरी टाउको दुखाइको विषय बनेको थियो र तिनका विरुद्ध अमेरिका २० ‌औं वर्षसम्म युद्धको भुँमरीमा फँस्न पुगेको थियो कालान्तरमा सिरियामा पनि त्यही स्थिति नआउला भन्न सकिन्न । यस हिसाबले हेर्दा सिरियामा हायत तहरीर अल-शामको उदयलाई पश्चिमी शक्तिहरूले खतरा मान्ने सम्भावना छँदैछ । यो स्थितिमा हायत तहरीर अल-शामको सिरियाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न निक्कै ठूलो संघर्ष गर्नपर्ने अवस्था आउन पनि सक्छ  किनभने यसको कट्टरपन्थी विचारधारा र क्रियाकलापहरू विश्वव्यापी सुरक्षा चासोका लागि चुनौती ठानिन सक्छ । त्यसो त अमेरिकाले सिरियाको शासनसत्तामा उदाएका विद्रोहीहरुसँग संवाद र सम्पर्कको थालनी गरेको छ, रुस र विद्रोहीहरुबीच सिरियामा रहेको रुसी नौसेनाको अखडालाई यथावत राख्नेबारे कुराकानी भएको छ, र विद्रोहीहरुसँगको संवादपछि अर्को महाशक्ति चीनले पनि सिरियाको पुननिर्माणमा चासो देखाएको खबरहरु आएका छन् । यो कुराले हायत तहरीर अल-शामले आफ्नो विजयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने दिशामा गम्भीर रहेको देखाउँछ ।

सिरिया विखण्डनको खतरा

सिरियाको मुख्य भूमि र ठूलो हिस्सामा हायत तहरीर अल-शामको नियन्त्रण रहेपनि त्यसको ठाउँ ठाउँमा अन्य विद्रोहीहरुको नियन्त्रण छ । देशको पूर्वी भागमा आईएसआईएसविरुद्धको जारी लडाइँबाहेक, हायत तहरीर अल-शामको अन्य विद्रोही गुटहरूसँग जटिल र प्रायः विवादास्पद सम्बन्ध छ, जसमध्ये धेरैका आ-आफ्नै विचारधारा र उद्देश्य छन् र उनीहरुले सिरियाका फरक फरक ठाउँहरुमा प्रभुत्व राख्ने गर्छन् । ती समूहहरुबीच मिलन र सहमतिको बिन्दू पैदा हुन सकेन भने त्यसले थप तनाव र सम्भवतः पुनः संघर्ष निम्त्याउन सक्छ।  यस स्थितिमा सिरियाको केन्द्रमा बलियो र अन्तर्राष्ट्रिय मान्यताप्राप्त शासन बन्न सकेन भने सिरिया राजनीतिक र सामाजिक रूपमा थप विखण्डित हुने सम्भावना छ।

खासगरी, उत्तरमा कुर्दिश क्षेत्रहरू (जस्तै, Syrian Democratic Forces) ले आफ्नो स्वायत्तता घोषणा गर्न सक्छन्। सिरियाको भावी भविष्यको कुरा गर्दा सम्भवत:  सबैभन्दा महत्त्वपूर्ण प्रश्न देशको उत्तरपूर्वमा रहेका कुर्दहरूको सम्बन्धमा छ। गृहयुद्धको समयमा, विभिन्न कुर्द समूहहरूले, डेमोक्रेटिक युनियन पार्टी (PYD) र यसको सैन्य शाखा YPG को नेतृत्वमा, एक स्वशासित क्षेत्र स्थापना गरेका थिए। अबको नयाँ सिरियामा यसको भूमिका के हुनेछ? अहिलेसम्म स्थितिमा कुर्दहरूले विद्रोहीको विजयलाई स्वीकार गरेको र मान्यता प्रदान गरेको जस्तो देखिन्छ । सञ्चार माध्यमहरुमा आएका रिपोर्टहरू अनुसार उनीहरूले नयाँ सिरियन झण्डा उक्त क्षेत्रमाथि उठाएका छन् र समानतामा आधारित नयाँ सिरिया निर्माण गर्ने अवसरलाई स्वागत गरेका छन्। तर, के कुरा पनि निश्चित हो भने उनीहरूले आफ्नो स्वायत्तता कायम राख्न चाहनेछन्। यो स्थितिमा  दमास्कसका नयाँ शक्तिहरूले क्षेत्रलाई केन्द्रीय सरकारको नियन्त्रणमा ल्याउने प्रयास गर्नेछन् वा कस्तो रणनीति अपनाउनेछन् ? त्यो भविष्यकै गर्भमा छ ।

 टर्कीले स्वतन्त्र कुर्द राज्य कुनै पनि हालतमा देख्न सक्दैन। कदाचित सिरियामा कुर्द विद्रोहीहरुको प्रभुत्व बलियो हुने स्थिति पैदा भयो भने त्यसलाई नामेट पार्न उसले सैन्य हस्तक्षेप गर्ने प्रवल सम्भावना छ। त्यसैगरी, मूल्यवान तेल भण्डार र कृषियोग्य जमीन रहेको सिरियाको कुर्द क्षेत्रमा सिरियाका नयाँ शासकहरुले स्वशासन समाप्त गर्ने कोशिश गर्‍यो भने स्वभाविक रुपमा त्यसले कडा कुर्द प्रतिरोधको सामना गर्नुपर्ने निश्चित छ । त्यसले फेरि पनि सिरियाको भविष्यलाई प्रश्नचिन्हकै घेराभित्र राखिदिनेछ ।

इजरायलको चलखेल

 दक्षिण र पश्चिमी क्षेत्रहरूमा इजरायल, टर्की, र साउदी अरबले आफ्नो प्रभाव विस्तार गर्न खोज्नेछन्। रुसकै भरथेगमा टिक्दै आएको असदको शासनसत्ताको पतनले सिरियामा रूसको प्रभावलाई कमजोर बनाउनेछ। यसले पश्चिम एशियामा रूसको रणनीतिक स्थिति गुम्न सक्छ। इरानले असद शासनको पतनपछि सिरियामा आफ्नो प्रभाव गुमाउन सक्छ। इजरायलले यसलाई इरानको कमजोर क्षणको रूपमा उपयोग गर्न सक्छ।

असदको पतनले इजरायललाई आफ्नो सुरक्षा रणनीति पुनःनिर्धारण गर्न प्रेरित गर्नेछ। हायत तहरीर अल-शाम जस्तो समूहको उभारले इजरायलको सीमा क्षेत्रमा थप सुरक्षा खतरा निम्त्याउने नाममा इजरायलले हायत तहरीर अल-शामको प्रभाव र सैन्य क्षमतालाई रोक्न हवाई आक्रमण र विशेष सैन्य अभियान बढाउन सक्छ। स्मरणीय कुरा के छ भने सन् १९४८ मा यहुदी राज्यको स्थापना भएयतादेखि नै इजरायल र सिरियाबीच शत्रुतापूर्ण सम्बन्ध छ र ती दुईदेशबीच पटक पटक शत्रुतापूर्ण आक्रमण हुँदै आएको छ । त्यसैक्रममा सन् १९६७ को चर्चित ६ दिने युद्धयता इजरायलले सिरियाको गोलान हाइट्समा कब्जा गरेर अवैध रुपमा आफ्नो भूभागमा मिसाएको छ । सिरिया–इजरायलबीचको सम्बन्ध कस्तो रहला भन्ने कुरामा एउटा महत्त्वपूर्ण प्रश्न नै गोलानहाइट हुने निश्चित छ ।

सिरियामा इरानले असदको पतनपछि नयाँ रणनीति बनाउनेछ। यसअघि इरानले सिरियामा सैन्य अड्डाहरू स्थापना गरेर र सिरियालाई लेबनानको हिजबुल्लाहलाई हतियार र सहायता आपूर्ति गर्न प्रयोग गरेर आफ्नो क्षेत्रीय प्रभाव विस्तार गर्दै आएको अवस्था हो । इरालनले छद्म सशस्त्र समूहहरुको माध्यमबाट आफ्नो प्रभाव कायम राख्न खोज्नेछ। तर, हायत तहरीर अल-शाम जस्तो सुन्नी कट्टरपन्थी समूहले इरानको शिया प्रभावलाई स्वीकार्न कठीन हुने बरु त्यसलाई चुनौती दिने सम्भावना छ। इरानले इराक, लेबनान, र यमनमा आफ्नो प्रभाव बढाउन सक्छ, तर सिरियामा गुमेको शक्ति पुनःप्राप्ति गर्न निक्कै कठिन हुनेछ।सिरियामा असदको पतनले लेबनानी हिजबुल्लाहलाई पनि कमजोर बनाउनेछ । किनभने सिरिया यसका लागि एक महत्वपूर्ण आपूर्ति मार्ग हो। इरानको "Axis of Resistance" (सिरिया, हिजबुल्लाह, इराकका शिया समूह) कमजोर भई यस क्षेत्रमा इरानको प्रभाव घट्न सक्ने देखिन्छ। तर इजरायलसँग नयाँ सिरियाको सम्बन्ध शत्रुतापूर्ण रह्यो भने इरान–सिरियाबीच  नयाँ सम्बन्धको उदय हुन असम्भव भने छैन ।

त्यसैगरी, नयाँ सिरियाको अन्य अरब राष्ट्रहरुसँगको सम्बन्ध कस्तो रहनेछ? यो कुराले पनि धेरै कुरालाई निर्धारण गर्ने देखिन्छ । खासगरी,  हायत तहरीर अल-शामको अतिवादी इस्लिमक पृष्ठभूमिमा यो विद्रोहीहरुको आश्रयस्थल बन्न सक्ने सम्भावना अरु अरब राष्ट्रहरुको टाउको दुखाइको विषय बन्न पनि सक्छ ।

अमेरिकाको भूमिका

आफ्नै साथ र सहयोगका कारण सिरियामा हायत तहरीर अल-शामको उदय भए तापनि यसलाई अमेरिका र युरोपले वैश्विक आतंकवादको खतरा मान्नेछ। यसले सिरियामा सैन्य र आर्थिक दबाब सिर्जना गर्ने सम्भावना छ। अमेरिकाले सिरियामा कुर्दिश सेनालाई समर्थन बढाउन सक्छ। अमेरिकाले लामो समय देखी सिरियाको कुर्दिस क्षेत्रमा आफ्नो सैनिक अखडा राखेको छ। यो इलाकामा ठुलो मात्रामा पेट्रोलियम पदार्थ र गहुँको उत्पादन हुने गर्दछ। अमेरिकाले अहिलेसम्म यी उतापदनहरु अवैध रुपमा दोहन गरिरहेको छ। अमेरिकाले यो इलाकामाथिको आफ्नो पकड सहजै छोड्न सक्ने सम्भावना देखिदैन। अमेरिकाले हायत तहरीर अल-शाम विरुद्ध अन्तर्राष्ट्रिय गठबन्धन निर्माण गर्न खोज्न सक्नेछ । खासगरी, इजरायलसँग सिरियाको सम्बन्धले पनि यसलाई प्रभावित पार्नेछ ।

सबैभन्दा चाखलाग्दो प्रश्न भनेको नयाँ सिरियाको टर्कीसँग कस्तो सम्बन्ध विकसित होला भन्ने पनि हो । विगतमा अंकारा र दमास्कस बीचको सम्बन्ध लामो समयदेखि समस्याग्रस्त रहेको थियो।तर, गृहयुद्धको दौरान प्रमुख विद्रोही समूहहरुलाई टर्कीले समर्थन गरेको पृष्ठभूमिमा धेरैले टर्कीलाई पछिल्ला घटनाहरूमा मुख्य भू-राजनीतिक विजेता बन्ने सम्भावना देखेका छन्। खासगरी,  टर्कीले हायत तहरीर अल-शामलाई आफ्नो प्रभाव क्षेत्रको रूपमा प्रयोग गर्न खोज्न सक्छ। तर, टर्कीले कुर्दिश स्वायत्त क्षेत्रहरूको विरुद्ध आफ्नो सुरक्षा चासोलाई प्राथमिकतामा राख्नेछ।

असदको शासनको पतन र हायत तहरीर अल-शामको उदयले सिरियामा नयाँ खालको द्वन्द्व पैदा गराउन सक्छ । त्यसको परिणामस्वरुप सिरियाली नागरिकहरूलाई पुन: शरण खोज्न बाध्य पार्न सक्छ। त्यो अवस्थामा छिमेकी देशहरू जस्तै टर्की, जोर्डन, र लेबनानले ठूलो शरणार्थी लहर सामना गर्नुपर्नेछ। युरोपमा शरणार्थी संकट फेरि उचाइमा पुग्न सक्छ।

रुस र चीनको रणनीतिक कमजोरी

सिरियामा रूसको प्रभाव गुमेपछि चीन र रूसको मध्यपूर्व रणनीतिमा कमजोरी आउन सक्छ। चीनले वेल्ट एण्ड रोड इनिसिएटिभ (Belt and Road Initiative) अन्तर्गत सिरियामा आफ्नो योजनालाई विस्तार गर्ने सम्भावना कम हुनेछ। त्यहाँ सिर्जना हुने अमेरिका, रूस, र चीनबीचको शक्ति प्रतिस्पर्धाले पश्चिम एशियालाई नयाँ रणनीतिक खेलमैदान बनाउनेछ।

सिरियाको घटनाक्रमले पश्चिम एशियामा अस्थिरता पैदा भयो भने त्यसले वैश्विक रुपमा नै तेल र ग्यासको आपूर्ति प्रभावित पार्न सक्छ। इरान र खाडी देशहरूबीचको तनावले ऊर्जा बजारमा मूल्यवृद्धि निम्त्याउने सम्भावना छ।

सिरियाका केही विद्रोही समूहहरू इराक पसेको खबरहरु आइरहेका छन् । यो घटनाले इराकको सुरक्षा र स्थायित्वमा नकारात्मक प्रभाव पार्न सक्छ। इराक आफैं शिया-सुन्नी तनाव र कुर्दिश मुद्दाहरूबाट ग्रसित छ, जसले थप अस्थिरता निम्त्याउने सम्भावना छ। पश्चिम एशियामा सुन्नी र शिया शक्तिहरूबीचको द्वन्द्व (जस्तै, साउदी अरब र इरानबीच) अझ चर्किन सक्ने सम्भावना छ। यसले सिरिया, इराक, लेबनान, र यमनजस्ता देशहरूमा द्वन्द्वलाई गहिरो बनाउनेछ।

इजरायलले सिरियामा इरान समर्थित सैन्य संरचनाहरूमा बारम्बार आक्रमण गरिरहेको छ। यदि इरानले प्रत्यक्ष रूपमा प्रतिक्रिया दियो भने यो तनावले व्यापक क्षेत्रीय युद्धको रूप लिन सक्छ।

निष्कर्षमा भन्दा,  सिरियामा असदको शासन ढल्नु र हायत तहरीर अल-शामको नियन्त्रण स्थापना हुनुले पश्चिम एशियाको भूराजनीतिक परिदृश्यलाई थप जटिल बनाउनेछ। यसले क्षेत्रीय शक्ति सन्तुलनलाई अस्थिर बनाउँदै इरान, टर्की, र इजरायलबीचको तनावलाई चर्काउनेछ। साथै, अन्तर्राष्ट्रिय शक्तिहरू (जस्तै, अमेरिका, युरोप, रूस, र चीन) का लागि नयाँ रणनीतिक चुनौतीहरु सिर्जना गर्नेछ। यस अवस्थामा, पश्चिम एशिया झनै अस्थिर र द्वन्द्वग्रस्त बन्न सक्ने जोखिम छ। निश्चित रूपमा सिरियामा असद सरकारको पतन मध्यपूर्वको लागि एक महत्त्वपूर्ण मोड हो। त्यसैले आजको यक्ष प्रश्न भनेको, सिरिया कुन दिशामा जाला भन्ने नै हो ।

Main image: https://ichef.bbci.co.uk