कसको विश्वास गर्नुहुन्छ: गधाको कि मान्छेको ?

एकदिन एकजना छिमेकी नसरुद्दीन होजाको घरमा आए । उनलाई केही सामान बजारबाट ल्याउनको लागि गधा चाहिएको थियो । त्यसैले उनले होजासँग उनको गधा केहीछिनको लागि मागे ।

ती छिमेकी निक्कै कन्जुस थिए । आफ्ना सामान दिन भने मान्दैनथिए । अरुसँग भने माग्ने गर्थे । त्यसैले उनलाई गधा नदिने विचार गरेर होजाले भने, "गधा घरमा छैन ।"
रमाइलो के भयो भने त्यही बेला, छतमा रहेको गधा ठूलो ठूलो स्वरमा कराउन थाल्यो।
त्यो सुनेर छिमेकीले होजालाई भने, "ओहो ! तपाईं गधा घरमा छैन भन्नु हुन्छ तर गधा त छतबाट कराइरहेको छ त ! गधा घरमा छैन भने त्यो कराएको आवाज चाहिँ केको हो नि ?"
चतुर होजाले तुरुन्तै जवाफ दिए, "तपाईं पनि कस्तो अनौठो मानिस हुनुहुन्छ! मैले भनेको कुरा पत्याउनु हुन्छ कि त्यो गधाको कुरा पत्याउनुहुन्छ?"

होजाको कुरा सुनेर छिमेकी नाजवाफ बने ।