राष्ट्रिय रोग
लेनिनले श्रमिकहरुको शिक्षा सम्वन्धि दोश्रो अखिल रुस कंग्रेसमा बोल्दै भनेका थिए :
"सबभन्दा चर्का शत्रु भनेका :"पहिलो, कम्युनिष्ट रवाफ (communist conceit) दोश्रो, अविद्या (illiteracy); र तेश्रो, घुसखोरी (bribery) हुन् ।" शत्रु भनेका रोग हुन् ।
पहिलो रोग 'कम्युनिष्ट रवाफ' हो । यसको आफ्नै किसिमको लाक्षणिकता हुन्छ । लेनिनले भनेको 'कम्युनिष्ट रवाफ'मा अरुका विचार र अडानमा असहिष्णुता राख्नु हो– पुरानो पीडीले नयाँ पिडीका वा नयाँले पुरानोका, विभिन्न पेशामा रहेका विशेषज्ञले अन्य पेशामा रहेकाहरुको विचारमा र अडानलाई सुन्ने धैर्यता नराख्नु, तिनको अस्वीकार गर्ने खालको प्रवृत्ति हो । यसका पछिल्तिरका कारणमा उनीहरु आफ्ना इच्छा अरुमाथि थोपर्ने विशेष अधिकार रहेको ठान्ने गर्दछन् ; माने मान, न माने मै तेरो मेहमान । किन पनि भने उनीहरुमा मैले माथिल्लो दर्ज्यानी तक्मा लगाको छु, म धनीमानी हुँ भन्ने जस्ता आडम्बर देखा पर्दछन् । यस्ता खाले मानिसहरु सादा जीवनमा होइन, अक्सर गरेर अभिजात वर्गको सिको गर्दै आफूलाई विशिष्ट देखाउन बडो झिल्के बनेर देखा पर्दछन् । यो सामन्ती रवाफको नयाँ संस्करण हो ।
'कम्युनिष्ट रवाफ' जन समुदायको हितमा सम्वेदनशीलताको अभाव हो र त्यो कहिलेकाहीँ मानतावादविरोधी बावुसाहेवी रवाफमा पनि रुपान्तरित हुन्छ ।
'कम्युनिष्ट रवाफ' जन समुदायको हितमा सम्वेदनशीलताको अभाव हो र त्यो कहिलेकाहीँ मानतावादविरोधी बावुसाहेवी रवाफमा पनि रुपान्तरित हुन्छ । उनीहरु व्यक्तिको जीवन र सुखमा उदासिन रहन्छन् । उनीहरु मलामी जाँदा अट्टाहास हाँसो छोड्न र जन्तिमा रुन धक मान्दैनन् ।
आवश्यकता चाहिँ के हो भने जनसमुदायको सेवामा बीच रहेर उनीहरुका अल्पकालिन र दीर्घकालीन मुद्दा र हितमा 'सोझो गोरु झै भएर लुरु लुरु काम गर्ने गर्नु’ जस्तो कि चिनियाँ महान साहित्यकार लु सुन भन्ने गर्थे । उनीहरुबीचमा विचारधारात्मक काम गर्नु, उनीहरुलाई आफ्नो पेशा व्यवसायलाई सम्हाल्दासम्हाल्दै पनि स्थानीय र राष्ट्रिय मुद्दामा सहभागिताको महत्त्व बुझाउन, उनीहरुको विचार र प्राथमिकता सुन्न, उनीहरुलाई सुल्झेको अल्पकालीन तथा दीर्घकालीन उपाय सिक्न र पर्घेल्न सहजीकरण गर्नु पो हो त ! उनीहरुलाई संझाइ बुझाइ गर्नु, उनीहरुबाट सिक्नु, बोसिज्मको आधारमा होइन, विधिसम्मत कमिटीगत सामुहिक निर्णय प्रकृयाको सख्त अनुशरण गरेर फैसला गर्नु, जसले गर्दा निर्णयको स्वामित्व लिन प्रोत्साहित गर्दछ, र सामुहिक रुपमा एकढिक्को भएर कार्यन्वयन गर्नु, जसले गर्दा सहकृयाका अतिरिक्त लाभ (synergic effect) सहज हुन सकोस् । व्यक्तिको कृत्रिम करिश्मालाई होइन, आन्दोलनको श्रीवृद्धिमा लाग्नु, नेता होइन, सामुहिक नेतृत्व र सामुहिक संज्ञान, सामुहिक संकल्प, नीति र विचारलाई प्राथमिकता दिनु अनि बाबुसाहेब होइन, सामाजिक वारिसको रुपमा नेता बन्नु जरुरी छ । हाम्रो आन्दोलनमा देखापरेको 'कम्युनिष्ट रवाफ'को अजीर्ण रोगबाट छुटकारा पाउने यो एउटा राम्रो उपाय हुन सक्दछ ।
अविद्याको सबभन्दा भद्दा अभिव्यक्ति भनेको उच्च पदासिन हाकिमहरुको असक्षमता हो । तिनिहरु आफूले जानेको छैन भनेर स्वीकार्नु र विशेषज्ञहरुको राय सल्लाह लिनु भनेको आफ्नो मर्यदा विपरीत ठान्दछन् ।
दोश्रो रोग अविद्या हो । अविद्या भन्नाले वरिपरिका समसामयिक, जल्दाबल्दा या सांसारिक धेरैजसो मामिलामा सुस्पष्ट सामागृक धारणाको अभाव देखिनु हो । यो सैद्धान्तिक तथा विचारधारात्मक कामको अभाव वा न्युनताको सह उत्पादन पनि हो । त्यसो भएपछि, त्यसले आफूसंग भिन्न मत राख्नेका विचार, धारणा र अडानलाई अनुभूत गर्न सक्दैन । सामुहिक छलफल त्यतिबेला उपयोगी हुन्छ, जब त्यसका सहभागीहरु सक्षम र सुसुचित हुन्छन् । यसैकारण छलफल गरिने विषयमा खुलापन र पर्याप्त सुचना हुनु भनेको सामुहिक कार्यकुशलताको कखरा हो ।
छलफलको संस्कृति न हुनु, अर्काको कुरा सुन्ने धैर्यता र क्षमता न हुनु, अझ त्यसलाई निषेध गर्ने परिपञ्च मिलाउनु र अर्काको कुरा बुझ्ने र सकरात्मक कुरालाई आत्मसात गर्ने कुरा न हुनु भनेको अविद्याकै लाक्षणिकता हो र त्यसले खती गर्दछ ।
अविद्याको सबभन्दा भद्दा अभिव्यक्ति भनेको उच्च पदासिन हाकिमहरुको असक्षमता पनि हो । तिनिहरु आफूले जानेको छैन भनेर स्वीकार्नु र विशेषज्ञहरुको राय सल्लाह लिनु भनेको आफ्नो मर्यादा विपरीत ठान्दछन् ।
स-साना देखि बडे-बडेमाका 'डिल' हुन्छन् ; भित्रकासंग पनि बाहिरकासंग पनि । रक्षा कवजको निम्ति प्रभावकारी तहको एक सघन सिन्डिकेट बनेको हुन्छ र तिनको रुद्र घण्टीबाट आवाज न निस्कियोस् भन्नको निमित्त सबैको मुखमा बुझो लगाइन्छ ।
तेश्रो रोग हो घुसखोरी/भ्रष्टाचार । यसको व्यापकताले सामाजिक रुप पनि ग्रहण गर्न सक्दछ । यसले विधिको आँखा छलेर 'छ्याकन' खान्छ ; अँध्यारो कोठामा बसेर सबै तारतम्य मिलाउँछ । तिनीहरुको निम्ति सुशासन घोषणा हो, कर्म होइन । राज्यमा स-साना देखि बडे-बडेमाका 'डिल' हुन्छन् ; भित्रकासंग पनि बाहिरकासंग पनि । त्यस सिलसिलामा रक्षा कवजको निम्ति प्रभावकारी तहको एक सघन सिन्डिकेट बनेको हुन्छ र तिनको रुद्र घण्टीबाट आवाज न निस्कियोस् भन्नको निमित्त सबैको मुखमा बुझो लगाइन्छ । न्यायकी देवीको आँखामा पट्टि बाँधिएको हुन्छ, उनीकहाँ फिराद पुग्दैन । घुसखोरी/भ्रष्टाचार अधम हो, यो सामाजिक न्यायको विरुद्धमा पनि छ र विकासको बाधक हो – त्यो तिनको ब्रह्ममा घुस्दै घुस्दैन, घुसिहाले पनि लिपापोती गरेर झारो टार्छन् । अनि भने लाग्छ, त्यसले सामाजिक स्वीकृति पाएको छ र समाज महामारीमा फस्न पुग्दछ ।
त्यस्तो राष्ट्रिय रोगको निदान चाहने हो भने, पहिले त त्यसको राम्रो चिरफार गर्नु पर्दछ र तितै किन नहोस औषधि खानु पर्दछ । हेल्चेकर्याइ होइन, चिन्तन र व्यवहारमा आमूल सुधार गर्नु पर्दछ ।
प्रतिक्रिया