एपेन्डिक्स साँच्चै नै काम नलाग्ने अङ्ग हो त ?
लामो समयदेखि हामीले पढ्दै र सुन्दै आएको कुरा हो–मानव शरीरमा एपेन्डिक्सको खासै काम छैन । यो एक यस्तो अंग हो, जसलाई लामो समयसम्म मानव शरीरमा ‘बेकार’ र ‘जीव विकासक्रमको अवशेष’ भनेर व्याख्या गरिएको थियो। तर पछिल्ला अनुसन्धानहरूले देखाएका छन् कि एपेन्डिक्सले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । विशेष गरेर यसले माइक्रोबायोम (आन्द्रामा बस्ने सूक्ष्मजीवहरूको समुह) को स्वास्थ्य र शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने काम गर्छ ।
एपेन्डिक्सको स्थान र संरचना
एपेन्डिक्स पेटको दायाँपट्टि तल्लो भागमा, ठूलो आन्द्रा (large intestine) को शुरुवाती भागमा रहेको हुन्छ। यो लगभग ४ देखि १० सेन्टिमिटर लामो ट्यूबजस्तो अंग हो। यसलाई vermiform appendix पनि भनिन्छ, जसको अर्थ हुन्छ "कीराको आकारको एपेन्डिक्स।" यो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्ने लिम्फोइड टिश्यु तथा सूक्ष्मजीवहरूको लागि अनुकूल वातावरण बनाउने म्युकस मेम्ब्रेन मिलेर बनेको हुन्छ ।
एपेन्डिक्सको ऐतिहासिक धारणाहरू
एपेन्डिक्स मानिसको शरीरका लागि काम नलाग्ने अङ्ग हो अर्थात् यो अवशेष अङ्ग हो भन्ने धारणा विशेषा गरे १९औं र २०औं शताब्दीतिर बहु प्रचलित थियो । यो शरीरमा बेकार अंग हो भन्ने धारणा चार्ल्स डार्विनको विकासक्रम सिद्धान्तबाट उत्पन्न भएको थियो। डार्विनका अनुसार हाम्रो पूर्वजहरूले मुख्य रूपमा पातजस्तो कठोर खाना खाइरहेको बेलामा एपेन्डिक्स महत्त्वपूर्ण अङ्गको रुपमा रहेको थियो । त्यसले घाँसपातहरुलाई पचाउनका लागि हाम्रो पाचन प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्थ्यो । तर, समयक्रमसँगै मानिसको आहारमा परिवर्तन भएपछि र घाँसपातहरु मुख्य आहार हुन छाडेपछि मानव शरीरमा यस अंगको आवश्यकता घट्दै गएको र यसको जैविक भूमिका हराएको मानिएको थियो।
जब एपेन्डिक्स अझै उपयोग नै रहेको तथ्य फेला पर्यो !
तर पछिल्ला चरणामा भएका केही अध्ययन–अनुसन्धानहरुले त्यस परम्परागत मान्यता र सोचहरुलाई खण्डन गरिदिएको छ । ती अध्ययन अनुसन्धानहरुले मानव शरीरमा एपेन्डिक्सले अझै उपयोग भूमिका खेल्ने गरेको तथ्यहरु पत्ता लगेको छ ।
सन् २०१२ मा गरिएको एक अध्ययनले एपेन्डिक्सले अझै मानिसको पाचन प्रणालीलाई सुदृढ गर्न मद्दत गर्ने गरेको देखिएको थियो । उक्त अध्ययनमा एपेन्डिक्स नभएका मानिसहरूमा कोलाइटिस (Clostridium difficile)को गम्भीर संक्रमण हुने सम्भावना चार गुणा बढी रहने देखियो।
अध्ययनहरुले देखाएअनुसार एपेन्डिक्सलाई "gut flora" अर्थात् लाभदायक ब्याक्टेरियाको भण्डार मानिन्छ। आन्द्रामा संक्रमण वा अन्य कारणले लाभदायक ब्याक्टेरिया नष्ट हुँदा एपेन्डिक्सले पुनः स्वस्थ ब्याक्टेरिया पुनःस्थापित गर्न मद्दत गर्न सक्छ।
एपेन्डिक्समा Gut-Associated Lymphoid Tissue (GALT) हुने गर्छ । यस प्रकारको तन्तुहरुले लाभदायक ब्याक्टेरियाको वृद्धि गर्न र हानिकारक ब्याक्टेरिया हटाउन सहयोग पुर्याउँछ। त्यसबाहेक, एपेन्डिक्सले इम्युनोग्लोबुलिन (IgA) उत्पादनमा पनि भूमिका खेल्छ, जसले पाचन प्रणालीलाई रोगबाट जोगाउँछ।
त्यसैगरी, प्रतिरक्षा प्रणालीमा पनि एपेन्डिक्सको महत्त्वपूर्ण भूमिका हुने गरेको पाइएको छ । एपेन्डिक्समा लिम्फोइड टिश्युको उपस्थिति हुने गर्छ । यो तन्तुले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।
एपेन्डिक्सको विकासक्रम
एपेन्डिक्सको विकासक्रम मानव सभ्यता र अन्य स्तनधारीहरूको इतिहाससँग जोडिएको छ। मिडवेस्टर्न युनिभर्सिटीको अध्ययन (२०१७) ले देखायो कि एपेन्डिक्स कम्तीमा २९ पटक स्वतन्त्र रूपमा विभिन्न स्तनधारीहरूमा विकसित भएको छ।यो अध्ययनले विगत ११ करोड वर्षदेखि स्तनधारी प्राणीहरुमा एपेन्डिक्सको उपस्थिति रहँदै आएको देखायो । सोही अध्ययनले एपेन्डिक्स भएको प्रजातिमा रोग प्रतिरोधी क्षमता बढी हुने र उनीहरुको आयु लामो हुने गरेको देखियो।
यसरी स्तनधारीमा एपेन्डिक्सको बारम्बार विकासले यसले निश्चित जैविक लाभ हुन्छ भन्ने कुरालाई बलियोसँग संकेत गर्छ । खासगरी, एपेन्डिक्सको उपस्थिति भएका स्तनधारीहरूको पाचन प्रणाली र प्रतिरक्षा प्रणाली बलियो देखिन्छ।यसले संकेत गर्दछ कि एपेन्डिक्स केवल विकासक्रमको अवशेष मात्र होइन, बरु यसले स्वास्थ्य रक्षाको सवालमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
मानव पूर्वज र एपेन्डिक्स
डार्विनले भनेझैं, मानव जातिका पूर्वजहरूमा पाचन प्रणाली कठोर सेलुलोज (पात र काठजस्ता पदार्थ) पचाउन सक्षम थियो। त्यस समयमा मानव जातिमा एपेन्डिक्सको आकार ठूलो थियो।समयक्रमसँगै, मानिसले घाँसपातमाथिको निर्भरता घटाउँदै लगेर आफ्नो आहारमा मासु, फलफूल, र पकाएको खाना समावेश गर्दै जाँदा कालान्तरमा एपेन्डिक्सका आकार पनि सानो हुँदै गएको मानिन्छ।
एपेन्डिक्स नहुँदा के हुन्छ ?
एपेन्डिक्समा संक्रमण हुँदा त्यो निक्कै खतरनाक हुने गर्छ । त्यसले मानिसको ज्यानै पनि जान सक्छ । त्यस्तो अवस्थामा सामान्यत: शल्यक्रिया गरेर एपेन्डिक्स हटाइन्छ ।
त्यसरी एपेन्डिक्स हटाउँदा पनि मानिस सामान्य रूपमा बाँच्न सक्छन् ।
तर एपेन्डिक्स हुँदा र नहुँदा मानव स्वास्थ्यमा केही फरक पर्न सक्छ । विशेष गरेर एपेन्डिक्स नभएका मानिसहरूमा गम्भीर आन्द्रा संक्रमणको जोखिम बढी हुन्छ। त्यसैगरी, एपेन्डिक्स हटाइएका व्यक्तिहरूको आन्द्राको लाभदायक ब्याक्टेरियाको स्तरमा कमी हुन सक्छ। यो भनेको उसको पाचन क्षमता कमजोर हुने वा पाचनमा गडबडी हुने हुन सक्छ ।
एपेन्डिक्स हटाइएका व्यक्तिहरूको प्रतिरक्षा प्रणाली कमजोर हुन सक्ने सम्भावना हुन्छ। पछिल्ला अध्ययनहरुले देखाएअनुसार एपेन्डिक्सले प्रतिरक्षाको लागि आवश्यक लाभदायक ब्याक्टेरियालाई स्थिर राख्छ। त्यसैगरी, एपेन्डिक्स आन्द्राका रोगहरूको प्रारम्भिक निदानको पनि माध्यम बन्न सक्छ।
सम्भावित चिकित्सा अनुसन्धान
एपेन्डिक्सलाई प्रयोग गरेर भविष्यमा मानव स्वास्थ्य सुधार्न विभिन्न अध्ययनहरू भइरहेका छन्। खासगरी, आन्द्राको रोगहरूको उपचार, इम्युनोलोजिकल थेरापी तथा पाचन प्रणालीलाई बलियो बनाउने माइक्रोबायोम पुनःस्थापनामा एपेन्डिक्सलाई कसरी प्रभावकारी रुपमा उपयोग गर्न सकिन्छ भन्नेबारे अध्ययनहरु भइरहेका छन् ।
निष्कर्षमा भन्दा, कुनै बेला "बेकार अंग" ठानिएको एपेन्डिक्सले महत्त्वपूर्ण जैविक भूमिका खेल्ने देखिएको छ । यो अंगले हाम्रो माइक्रोबायोम, प्रतिरक्षा प्रणाली, र पाचन स्वास्थ्यलाई समर्थन गर्न महत्वपूर्ण भूमिका खेल्छ।
यद्यपि अधिकांश मानिस एपेन्डिक्स बिना नै बाँच्न सक्छन्, तर अध्ययनहरुले स्थापित गरेको तथ्य के हो भने यस अंगले मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण योगदान पुर्याउँछ। विकासक्रमको दौरानमा यस अङ्गको आकार घटेको भए पनि एपेन्डिक्सको भूमिका अझै समाप्त भएको छैन।
प्रतिक्रिया