संसारले प्रजनन संकटको सामना गर्दैछ !

खलनायकमा एन्डोक्राइन डिसरप्टिंग केमिकल्स पनि !

यतिखेर मानिसहरुले खासै चर्चा गर्न नचाहिरहेको वा नगरिरहेको एउटा गम्भीर जैविक समस्या– घट्दो जन्मदर हो । यतिखेर विश्वव्यापी रुपमा नै जन्मदर घटदै गइरहेको छ ।

पुरुष र महिलामा प्रजनन समस्याहरू खतरनाक ढङ्गले बढिरहेको छ । अर्को भाषामा भन्दा अहिले गर्भाधान गराउन नसक्ने तथा बाँझोपनको समस्या तीब्र रुपमा बढिरहेका छन्।

कारणहरु

यी समस्याहरू उत्पन्न हुनुको सबैभन्दा मुख्य जिम्मेवार एन्डोक्राइन डिसरप्टिंग केमिकल्स (EDCs) लाई ठहराइने गरिन्छ । यी रसायनहरुले मानिसको सेक्स हार्मोनहरूको नियमित कार्यमा हस्तक्षेप गर्दछ, शुक्राणु र अण्डाको गुणस्तर घटाउँछ र अन्ततः महिलाको गर्भवती हुने सम्भावनामा असर पुर्याउँछ। यस्ता रसायनहरू प्लास्टिकको पानीको बोतलहरू, खाद्य प्याकेजिङ, प्रशोधित खाद्य पदार्थहरू, इलेक्ट्रोनिक उपकरणहरू, मल, व्यक्तिगत हेरचाह उत्पादनहरू जस्तै सौन्दर्य प्रसाधन र डियोडोरन्ट, सरसफाइका सामानहरू, कपडा र हाम्रो दैनिक जीवनको हिस्सा बनेका अन्य धेरै सामग्रीहरूमा छरपस्ट पाइन्छ।

यो त भयो जन्मदर घट्नुको पर्यावरणीय र रासायनिक कारणहरु । तर जन्मदर घट्नुका यही मात्र कारण होइन । अरु कारणहरु पनि छन्, जसले विश्वव्यापी रुपमा नै जन्मदरलाई घटाउने काम गरिरहेको छ ।

प्रजनन क्रियामा एन्डोक्राइन डिसरप्टिंग केमिकल्स (EDCs) को प्रभावहरू

एन्डोक्राइन डिसरप्टिंग केमिकल्स (EDCs) ले प्रजनन क्रियामा विभिन्न तरिकाले प्रभावित तुल्याउन सक्छ । विशेष गरी  यी केमिकल्सले मानिसको हार्मोनहरूको कार्यमा हस्तक्षेप गरेर प्रजनन समस्याहरू निम्त्याउन सक्छन्।

रोचक कुरा के छ भने  एन्डोक्राइन डिसरप्टिंग केमिकल्स प्रायः प्राकृतिक हार्मोनहरूको संरचनासँग मिल्दोजुल्दो हुन्छन्। यसले गर्दा यी केमिकल्सले शरीरमा हार्मोनहरूको कामलाई अनुकरण गर्न सक्छन्। उदाहरणका लागि, फ्थालेट्स र बिस्फेनोल ए (BPA) जस्ता केमिकल्सले एस्ट्रोजन जस्तै कार्य गर्न सक्छन्, जसले शरीरमा हार्मोन असन्तुलन ल्याउन सक्छ ।

त्यसैगरी एन्डोक्राइन डिसरप्टिंग केमिकल्स हार्मोन रिसेप्टरहरूसँग जोडिएर प्राकृतिक हार्मोनहरूको कार्यलाई अवरोध गर्न सक्छन्। यसले गर्दा हार्मोनहरूको सामान्य कार्यमा हस्तक्षेप हुन्छ, जसले शुक्राणु गुणस्तर र अण्डाको स्वास्थ्यमा असर पुर्याउन सक्छ ।

त्यसबाहेक एन्डोक्राइन डिसरप्टिंग केमिकल्सले हार्मोन ग्रन्थिहरूको स्रावलाई प्रभावित तुल्याइ शरीरमा हार्मोनको स्तरमा असन्तुलन ल्याउँछ। फलत: त्यसले शुक्राणु उत्पादनमा कमी वा मासिक धर्म चक्रमा असमानता ल्याई प्रजनन क्रियामा प्रतिकूल असर पार्न सक्छ  ।

एन्डोक्राइन डिसरप्टिंग केमिकल्सले जीनको संरचनामा पनि परिवर्तन ल्याउन सक्छ, जसलाई एपिजेनेटिक परिवर्तन भनिन्छ । यस परिवर्तनले मानिसको प्रजनन क्षमतामा दीर्घकालिक असर पार्न सक्छ। यसले हार्मोन प्रतिक्रिया प्रणालीमा दुष्परिणाम ल्याउन सक्छ र प्रजनन समस्याहरू निम्त्याउन सक्छ ।

एन्डोक्राइन डिसरप्टिंग केमिकल्सको प्रभावले गर्भावस्थामा भ्रूणको विकासमा समस्या उत्पन्न गर्न सक्छ। यो जस्ता समस्याहरू, प्युबर्टी पूर्वको समस्याहरू, र जन्म पछि प्रजनन समस्याहरूको कारण बन्न सक्छ ।

एन्डोक्राइन डिसरप्टिंग केमिकल्स मुख्य गरेर प्लास्टिक र खाद्य प्याकेजिङहरुमार्फत मानिसमा पुग्ने गर्छ । BPA जस्ता रसायनहरू प्लास्टिकका वस्तुहरूमा पाइन्छ। BPA एस्ट्रोजन जस्तै कार्य गरेर प्रजनन स्वास्थ्यमा असर पार्न सक्छ ।

त्यसै गरी सौन्दर्य प्रसाधन र व्यक्तिगत हेरचाह उत्पादनहरूमा पनि यी रसायनहरु पाइने गर्छ । विशेष गरी फ्थालेट्स भनिने एन्डोक्राइन डिसरप्टिंग केमिकल्स प्राय: सौन्दर्य प्रसाधनहरूमा पाइन्छ, जसले मानिसको हार्मोन प्रणालीलाई प्रभावित गर्न सक्छ ।

त्यसबाहेक,  केही वातावरणीय प्रदूषकहरूले पनि एन्डोक्राइन डिसरप्टिंग केमिकल्सको रूपमा कार्य गर्न सक्छन्, जसले अन्ततोगत्वा प्रजनन समस्याहरू सिर्जना गर्न सक्छ ।

 

सामाजिक र आर्थिक परिवर्तनहरू:

बदलिँदो विश्वको सामाजिक संरचनामा परिवारका पारम्परिक मान्यता र अवधारणाहरुमा व्यापक हेरफेर आएको छ । कुनैबेला महिलालाई घरको कामकाज तथा सन्तानोत्पत्तिको क्रियाभित्र मात्र सीमित गरिइन्थ्यो भने अहिले त्यो मान्यता पूरै भत्किइसकेको छ । खासगरी, महिला शिक्षाको स्तर बढ्दा र उनीहरुले करियर निर्माणमा ध्यान केन्द्रित गर्दा, बच्चा जन्माउने निर्णयमा ढिलाइ हुने गरेको देखिन्छ। खासगरी शिक्षित र करियर उन्मुख महिलाहरू परिवार योजना गर्न अधिक समय लिन्छन्। यसले जन्मदरमा कमी ल्याउँछ। विकसित राष्ट्रहरूमा जन्मदर घटाउने कारकहरूमा उच्च शिक्षा र महिलाको कार्यबलमा संलग्नतालाई मुख्य मानिएको छ।

अहिलेको पूँजीकृत विश्वमा जीवनस्तर धान्नुपर्ने बाध्यता, खर्चको वृद्धि र बढ्दो महँगाईले परिवार पाल्नको लागि आवश्यक वित्तीय संसाधनहरूको व्यापक अभाव हुने गर्छ । त्यसमाथि थप, उच्च शिक्षा र स्वास्थ्य सेवाका लागतहरूले पनि बच्चा जन्माउने निर्णयलाई प्रभावित पार्न सक्छ । यस्तो अवस्थामा स्वभाविक रुपमा मानिसहरु बच्चा जन्माउनका लागि राम्ररी सोचविचार गर्ने तथा उचित समयको प्रतीक्षा गर्ने गर्छन् भने उनीहरु एक वा दुई भन्दा बढी बच्चा जन्माउनेतिर सोच्दै सोच्दैनन् ।

सामाजिक संरचनात्मक परिवर्तनहरूले पनि कम जन्मदरमा योगदान पुर्‍याइरहेका हुन्छ । खासगरी पछिल्ला चरणमा परम्परागत परिवारको अवधारणामा परिवर्तन आएको छ र धेरै युवा व्यक्तिहरू सिंगल लिविङ र करियरलाई प्राथमिकता दिन थालेका छन् । यसले पनि जन्मदरको घट्दो दरमा केहीहदसम्म भूमिका खेलेको छ  

जन्मदर घट्नुको अर्को मुख्य समस्या भनेको महिला तथा पुरुषहरुमा हुने स्वास्थ्य समस्याहरु पनि जिम्मेवार देखिन्छ । खासगरी, महिलामा पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम (PCOS) र अण्डाशयको समस्याहरू, पुरुषमा शुक्राणुको कमी जस्ता समस्याहरू पछिल्ला समयमा निक्कै बढेर गएको छ । त्यसले पनि  प्रजननमा समस्याहरू ल्याई बच्चा जन्माउने क्षमता प्रभावित गर्ने गरेको देखिएको छ । पछिल्लो समयमा यो पनि कम जन्मदरको एउटा कारक पक्षको रुपमा देखापरेको छ ।त्यसैगरी, हर्मोनल उपचार र केही चिकित्सा प्रक्रियाहरूले पनि प्रजनन स्वास्थ्यमा असर पुर्‍याइ प्रजनन समस्याहरूलाई थप जटिल बनाउन सक्छ ।  

वायु र पानी प्रदूषणले प्रजनन स्वास्थ्यमा असर पुर्याउन सक्छ। उच्च स्तरको प्रदूषणले शुक्राणु गुणस्तर घटाउने र प्रजनन समस्याहरू निम्त्याउने गरेको पाइएको छ ।

जन्मदर घट्नुको असर:

यतिखेर संसारको जनसंख्या विस्फोटक बनेको छ । यस हिसाबले हेर्दा जनसंख्या नियन्त्रणको हिसाबले जन्मदर घट्नुलाई सकारात्मक ठान्न सकिएला । तर वास्तवमा, जन्मदर घटनु भनेको सकारात्मक कुरा पटक्कै होइन । त्यसको बहुआयामिक असरहरु पर्ने गर्छ ।

आर्थिक असर:

जन्मदर घट्दा काम गर्न सक्ने जनसंख्या कम हुन्छ, जसले उत्पादन र आर्थिक वृद्धि प्रभावित गर्न सक्छ। उदाहरणस्वरूप, जापान र दक्षिण कोरियामा जन्मदर घट्नाले कार्यशक्ति संकट ल्याएको छ ।

घट्दो जन्मदरको खराब असर स्वरुप युद्धको बेलामा हुने ठूलो मानवीय हताहतीले पनि सुरक्षा संकट सिर्जना गर्न सक्छ । अहिले रुस–युक्रेनबीच भइरहेको लडाइको सन्दर्भमा रुसले आफ्ना नागरिकहरुलाई बच्चा जन्माउनका लागि प्रोत्साहित गर्न विभिन्न खालका कार्यक्रमहरु ल्याएको खबरहरु यस सन्दर्भमा विचारणीय छ ।

वृद्ध जनसंख्या बढ्दा, सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा दबाव बढ्न सक्छ। युवा जनसंख्या कम हुँदा वृद्ध जनसंख्याको हेरचाहमा चुनौतीहरू उत्पन्न हुन्छन्  ।

सामाजिक असर:

कम जन्मदरले पारिवारिक संरचनामा परिवर्तन ल्याउन सक्छ। त्यसले परम्परागत परिवारको अवधारणामा असर पार्ने सम्भावना हुन्छ, जसले सामाजिक सम्बन्ध र मूल्यहरूमा प्रभाव पार्न सक्छ  ।

वृद्ध जनसंख्या बढी हुँदा, वृद्धावस्थामा स्वास्थ्य सेवा र सामाजिक सुरक्षा आवश्यकता बढ्न सक्छ। यसको परिणामस्वरूप, वृद्ध व्यक्तिहरूको हेरचाहमा समस्या आउन सक्छ ।

सबैभन्दा कम जन्मदरको संकट भोगिरहेका केही मुलुकहरु

संसारमा सबैभन्दा कम जन्मदर भएको मुलुकको नाम दक्षिण कोरिया हो। दक्षिण कोरिया हालको समयमा जन्मदरको दृष्टिकोणबाट सबैभन्दा कम दर भएका देशहरूको सूचीमा प्रमुख स्थानमा छ।

दक्षिण कोरियामा जन्मदर विशेष गरी २०२० को दशकमा अत्यन्तै कम रहेको छ। २०२२ मा  दक्षिण कोरियाको जन्मदर प्रति १००० जनसंख्या ०.८ को आसपास थियो, जुन विश्वको सबैभन्दा कम जन्मदर हो ।

विश्वमा सबैभन्दा कम जन्मदर भएका मुलुकमा जापान पनि पर्दछ । सन् २०२२ मा प्रति १००० जनसंख्यामा  जापानको जन्मदर १.२,  सिंगापुरको १.१, हंगेरीको १.३ र इटालीको १.२ को आसपास रहेको थियो ।

यी मुलुकहरूले जन्मदर बढाउन विभिन्न उपायहरू अपनाउन थालेका छन्, जस्तै पारिवारिक सब्सिडी, मातृत्व र पितृत्व छुट्टै भत्ता, र परिवारलाई प्रोत्साहन गर्ने नीतिहरू। यद्यपि, यी उपायहरूको प्रभाव दीर्घकालिक रूपमा मात्र देख्न सकिन्छ।