‘पारिवारिक टकराव’ले जन्माएको पहिलो विश्वयुद्ध, जसको परिणामले नाजीवादको गर्भाधान गरेको थियो !

२० हजार नेपालीले ज्यान गुमाएको पहिलो विश्वयुद्ध !

 

सेप्टेम्बर ११ इतिहासमा अंकित त्यो महत्वपूर्ण दिन हो, जसले पहिलो विश्वयुद्धको अन्त्य भएको ऐतिहासिक क्षणलाई प्रतिनिधित्व गर्दछ । आजभन्दा ठीक १३६ वर्षअगाडि अर्थात् नोभेम्बर ११, १९१८ मा पहिलो विश्वयुद्धको औपचारिक अन्त्य भएको थियो ।त्यसबेला युद्धमा नराम्ररी पराजित जर्मनीले मित्र राष्ट्रहरूसँग एक युद्धविराम सम्झौतामा हस्ताक्षर गर्‍यो। उक्त सम्झौतामा हस्ताक्षर नोभेम्बर ११ को बिहान ५:०० बजे भएको थियो, तर यो सम्झौता लागू भएर युद्ध समाप्त भएको समय बिहान ११:०० बजेबाट मात्र मान्य भयो। यही कारणले नोभेम्बर ११ लाई हरेक वर्ष आर्मिस्टिस डे (Armistice Day) वा रिमेम्ब्रेन्स डे (Remembrance Day) का रूपमा मनाइन्छ।

पहिलो विश्व युद्ध वास्तवमै अत्यन्त विनाशकारी थियो, जसले केवल युद्धमा होमिएका सैनिकहरूलाई मात्र होइन, विश्वव्यापी समाज र राजनीति संरचनामा गहिरो असर पारेको थियो। यो युद्धले लगभग चार वर्षसम्म युरोपियन शक्तिहरूलाई जुधाएर समग्र विश्व, अझ मुख्य गरेर युरोपलाई युद्धको भूमरीमा धकेलिदिएको थियो । सो युद्धको परिणामस्वरूप ठूलो मात्रामा जनधनको क्षति भयो र राजनीतिक, आर्थिक, सामाजिक ढाँचामा व्यापक परिवर्तन ल्यायो।

पहिलो विश्वयुद्ध वास्तवमै अत्यन्त विनाशकारी थियो, जसले केवल युद्धमा होमिएका सैनिकहरूलाई मात्र होइन, विश्वव्यापी समाज र राजनीति संरचनामा गहिरो असर पारेको थियो।

यस युद्धमा नेपाल जस्तो सानो मुलुकबाट पनि करिब दुई लाख नेपाली जवानहरूले भाग लिए, जसले युद्धको क्रूरतालाई झन् स्पष्ट बनाउँछ। तीमध्ये बीस हजारले आफ्नो ज्यान गुमाए, जसले त्यो समयको नेपाली समाजमा ठूलो शोक र क्षति पुर्‍यायो। नेपालबाट यति ठूलो संख्यामा युवाहरूको सहभागिता हुनु आफैंमा एक महत्वपूर्ण घटना हो, किनकि यो नेपालको कुल पुरुष जनसंख्याको झन्डै एक-चौथाई हिस्सा थियो।

युद्धकारी शक्तिहरुबीच नातागोताको अनौठो जालो !

दशकौँदेखि युरोपमा भयानक द्वन्द्वको अवस्था थियो । त्यो द्वन्द्व विस्फोटक अवस्थामा पुगिसकेको थियो र त्यो विस्फोटन हुन एउटा सानो निहुँ मात्रै चाहिएको थियो । र, त्यो निहुँ सन् १९१४ मा अस्ट्रिया-हंगेरीका युवराज आर्चड्युक फ्रान्ज फर्डिनान्डको हत्याले पैदा गरिदियो । त्यस घटनापछि शुरु भएको  श्रृंखलाबद्ध युद्धले नै अन्तत: पहिलो विश्वयुद्धको रुप लिएको थियो । पहिलो विश्वयुद्धलाई "विश्वयुद्ध" भनिए तापनि यो मूलतः यूरोपेली साम्राज्यवादीहरू बीचको वर्चस्व स्थापना गर्नको लागि चालिएको युद्ध थियो। खासमा भन्ने हो भने यो पहिलो विश्वयुद्ध बेलायतकी महारानी विक्टोरियाका तीन नातिहरू बीचको युद्ध थियो। जसलाई पारिवारिक नाता, कलह र द्वेषले द्वन्द्वको अनौठो रुप लिएको थियो।बेलायतका राजा जर्ज पाँचौं, जर्मनीका कैसर विल्हेल्म दोस्रो, र रुसका जार निकोलस दोस्रो, यी तीनै जनाले यस युद्धमा आफ्नो-आफ्नो देशको नेतृत्व गरेका थिए।

युरोपकी "हजुरआमा" महारानी भिक्टोरिया, काइजर विल्हेल्म दोस्रो, जार निकोलस दोस्रो र भविष्यका राजा एडवर्ड सातौंसँग। Image: https://www.reddit.com

बेलायतका राजा जर्ज पाँचौं, जर्मनीका कैसर विल्हेल्म दोस्रो, र रुसका जार निकोलस दोस्रोका बीचको नातेदारीको सम्बन्ध युरोपका शाही परिवारहरूको विवाह सम्बन्धको जालोबाट जन्मेको हो। यी सबै महारानी भिक्टोरियाको सन्तान वा तिनका नातिहरू थिए, जसले तिनलाई पारिवारिक सम्बन्धले जोडेको थियो।

बेलायती महारानी भिक्टोरिया (१८१९–१९०१) र उनका पति प्रिन्स अल्बर्टका नौ सन्तान थिए, जसलाई उनले युरोपका विभिन्न शाही परिवारहरूमा विवाह गराइन्। यसले गर्दा युरोपका धेरै शाही परिवारहरू बीच पारिवारिक सम्बन्ध विकसित भयो, जसका कारण महारानी भिक्टोरियालाई "युरोपकी हजुरआमा" भनिन्थ्यो।

बेलायतका राजा जर्ज पाँचौं महारानी भिक्टोरियाका छोराहरू मध्ये एक, प्रिन्स अफ वेल्स (पछि राजा एडवर्ड सातौं) का छोरा थिए। त्यसैले उनी महारानी भिक्टोरियाका नाति थिए।

उता जर्मनीका कैसर विल्हेल्म दोस्रो महारानी भिक्टोरियाकी छोरी, प्रिन्सेस भिक्टोरिया (जसलाई "विकी" भनिन्थ्यो) र जर्मनीका राजा फ्रेडरिक तेस्रोका छोरा थिए। त्यसैले, विल्हेल्म दोस्रो पनि महारानी भिक्टोरियाका नाति थिए।

‘यदि जनताले वास्तविक कारण थाहा पाए भने युद्ध भोलि नै रोकिन्छ, तर उनीहरूलाई थाहा छैन र थाहा पाउने वाला पनि छैनन् !’

त्यसै गरी,  रुसका जार निकोलस दोस्रो महारानी भिक्टोरियाकी नातिनी ज्वाइँ थिए। उनको पत्नी जर्मनीकी प्रिन्सेस एलेक्सान्ड्रा (जसलाई "अलिक्स अफ हेस" भनिन्थ्यो) थिइन्, जो महारानी भिक्टोरियाकी कान्छी छोरी एलिसकी छोरी थिइन्। यस हिसाबले निकोलस दोस्रो महारानी भिक्टोरियाका नातिनीका श्रीमान् थिए।

यसै क्रममा, तत्कालीन बेलायती प्रधानमन्त्री डेभिड लोयड जोर्जका निम्न भनाइ निक्कै मार्मिक छ । उनले भनेका थिए - ‘यदि जनताले वास्तविक कारण थाहा पाए भने युद्ध भोलि नै रोकिन्छ, तर उनीहरूलाई थाहा छैन र थाहा पाउने वाला पनि छैनन् !’ (If people really knew, the war would be stopped tomorrow. But of course they don't know, and can't know)!!!

ट्रिटी अफ भर्सेलिज र नाजीवादको गर्भाधान

भर्सेलिजको सन्धि । https://upload.wikimedia.org/

नोभेम्बर ११ को बिहान ५:०० बजे भएको युद्धविरामको सम्झौताले युद्धको अन्त्य त गर्‍यो, तर कानुनी र औपचारिक रूपमा पहिलो विश्वयुद्धको अन्त्य भने भर्सेलिजको सन्धि (Treaty of Versailles) मार्फत भएको थियो । उक्त सन्धिमा २८ जुन १९१९ मा मित्र राष्ट्रहरू र जर्मनीबीच औपचारिक सहमति भई हस्ताक्षर गरिएको थियो उक्त  यस सन्धिले युद्धको औपचारिक समाप्तिको घोषणा गर्दै युद्धपछिको शक्ति सन्तुलन र नयाँ सीमाहरू निर्धारण गर्‍यो।

पहिलो विश्वयुद्धपछिको ट्रिटी अफ भर्सेलिजले पहिलो विश्वयुद्धको औपचारिक अन्त्य मात्र गरेन, वास्तवमा त्यसले जर्मनीमा हिटलर र नाजीवादलाई समेत गर्भाधान गरेको थियो । इतिहासकारहरूको बहुमतले यस सन्धिलाई हिटलरको चमत्कारी एवं लोकप्रिय उदय तथा जर्मन जनतालाई सम्मोहित गर्ने हदसम्म विकसित नाजीवादको प्रसारको लागि महत्त्वपूर्ण कारक मान्छन्।

पहिलो विश्वयुद्धपछिको ट्रिटी अफ भर्सेलिजले पहिलो विश्वयुद्धको औपचारिक अन्त्य मात्र गरेन, वास्तवमा त्यसले जर्मनीमा हिटलर र नाजीवादलाई समेत गर्भाधान गरेको थियो ।

वास्तवमा,  भर्सेलिज सन्धिका प्रावधानहरु अत्यन्तै अपमानजनक थिए, जसले जर्मनीलाई आर्थिक, राजनीतिक र सैन्य रूपमा ठूलो दबाबमा राख्यो। उक्त सन्धिले जर्मनीलाई प्रथम विश्वयुद्धको सम्पूर्ण जिम्मेवारीको दोषी ठहर्याउँदै यसलाई क्षतिपूर्तिको ठूलो रकम तिर्न बाध्य बनाइएको थियो। उक्त क्षतिपूर्तिको रकम तिर्न जर्मनीको लागि असम्भवप्रायः थियो । उक्त प्रावधानले जर्मनीको अर्थतन्त्रलाई ध्वस्त बनायो।

त्यसबाहेक, सन्धिका प्रावधानले जर्मनीको सेना घटाएर केवल एक लाख सैनिकसम्म सीमित गरेको थियो ।जर्मनीलाई आफ्नो सुरक्षा र रक्षाको मामिलामा अत्यन्त निर्बल बनाउने उक्त प्रावधानले जर्मन नागरिकहरूमा राष्ट्रिय अपमानको भावनालाई जन्म दिएको थियो, जुन निक्कै तीब्र रुपमा  फैलियो ।

सोही सन्धिका प्रावधानअनुसार जर्मनीले फ्रान्सलाई एल्सेस-लोरेन क्षेत्र तथा उसका अधीनमा रहेका अन्य क्षेत्रहरू पनि युरोपका विभिन्न राष्ट्रहरूलाई सुम्पनु परेको थियो । त्यस कुराले जर्मनीलाई क्षेत्रीय, सांस्कृतिक र आर्थिक दृष्टिकोणबाट कमजोर बनायो।

वास्तवमा, भर्सेलिज सन्धिमार्फत् जर्मनीमाथि लादिएको कठोरता र अपमानजनक व्यवहारले जर्मन जनमानसमा गहिरो असन्तोष र आक्रोश जन्मायो। जर्मनीका नागरिकहरूले यो सन्धिलाई आफ्नो सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको प्रहारको रूपमा लिएका थिए।

भर्सेलिज सन्धिमार्फत् जर्मनीमाथि लादिएको कठोरता र अपमानजनक व्यवहारले जर्मन जनमानसमा गहिरो असन्तोष र आक्रोश जन्मायो।

यो आक्रोश हिटलर र नाजी पार्टीले आफ्नो राजनीतिक अस्त्रको रूपमा प्रयोग गर्‍यो। हिटलरले "भर्सेलिज सन्धिको अपमान" को कुरा गर्दै राष्ट्रवादी भावनालाई प्रज्वलित गरे। उनले जर्मनीको पुनर्निर्माण, गुमेको गौरवशाली प्रतिष्ठाको पुनर्स्थापना र भर्सेलिज सन्धिको समाप्तिलाई आफ्नो राजनीतिक उद्देश्य बनाएका थिए । स्वभाविक रुपमा त्यसले बहुसंख्यक जर्मन जनताको भावनालाई प्रतिनिधित्व गर्‍यो र हिटलर तथा उनको पार्टीको पक्षमा धेरै जनताको समर्थन जुटायो।

भर्सेलिज सन्धिमार्फत लादिएको क्षतिपूर्तिको भारी बोझले जर्मनीको अर्थतन्त्रमा गम्भीर संकट ल्याएको थियो । त्यसको परिणामस्वरूप १९२० को दशकमा जर्मनीमा तीव्र मुद्रास्फीति र ठूलो बेरोजगारीको समस्या उत्पन्न भयो। यस अवस्थामा हिटलरले "अर्थतन्त्रको पुनर्निर्माण" र "रोजगारीको अवसर" जस्ता आश्वासन दिएर सर्वसाधारणको समर्थन प्राप्त गरे।

सन् १९२९ को विश्वव्यापी आर्थिक मन्दीले जर्मनीको संकटलाई झन् गहिरो बनायो । त्यसले गर्दा जर्मनीमा राजनीतिक अस्थिरता बढ्यो। यही राजनीतिक र आर्थिक अस्थिरताको फाइदा उठाउँदै हिटलरले नाजी पार्टीलाई जनतामाझ स्थापित गर्न सफल भए।

https://static.independent.co.uk

पहिलो विश्वयुद्धमार्फत् जर्मनीमाथि थोपरिएको भर्सेलिज सन्धि र त्यसका कठोर प्रावधानहरुका कारण जर्मनीमा राष्ट्रिय अपमान, आक्रोश, र आर्थिक संकट उत्पन्न भयो । त्यसैमा खेल्दै  हिटलरको उदय भयो र  नाजी पार्टीलाई अत्यन्तै बलियो आधार प्रदान गर्‍यो।

भर्सेलिज सन्धिको परिणामस्वरूप, जर्मनीमा उदारवादी वाइमर गणराज्यप्रति जनताको विश्वास हराउँदै गयो, किनभने यो सरकार सन्धिको शर्तहरू पालन गर्नैपर्ने बाध्यतामा थियो। स्वभाविक रुपमा जनता उक्त सरकारप्रति आक्रोशित भए र हिटलरले यो असन्तोषलाई "राष्ट्रवादी सुधार" को नाममा आफ्नो पक्षमा मोड्न सफल भए।हिटलरले आफूलाई राष्ट्रप्रेमी, राष्ट्रको पुनर्निर्माणकर्ता र भर्सेलिज सन्धिको अपमानबाट मुक्ति दिलाउने नेताको रुपमा उभ्याए । फलत: नाजी पार्टीले अपार लोकप्रियता हासिल गर्न सफल भयो।

सारमा भन्दा, पहिलो विश्वयुद्धमार्फत् जर्मनीमाथि थोपरिएको भर्सेलिज सन्धि र त्यसका कठोर प्रावधानहरुका कारण जर्मनीमा राष्ट्रिय अपमान, आक्रोश, र आर्थिक संकट उत्पन्न भयो । त्यसैमा खेल्दै  हिटलरको उदय भयो र  नाजी पार्टीलाई अत्यन्तै बलियो आधार प्रदान गर्‍यो। सन्धिको कठिन शर्तले जर्मनीमा अस्थिरता त बढायो तर त्यही अस्थिरताको भावभूमिमा नाजीवादले अघिसारेको राष्ट्रवादी आन्दोलनलाई सशक्त बनायो। यसको परिणामस्वरूप जर्मनीमा हिटलर र नाजीवादको उदय भयो, जसले दोस्रो विश्वयुद्धको नयाँ चक्र शुरु गर्‍यो।

धेरै इतिहासकारहरू पहिलो विश्वयुद्धमा जर्मनीमाथि लादिएको अपमानजनक भर्सेलिज सन्धिलाई द्वितीय विश्वयुद्धको मुख्य उत्प्रेरक कारण मान्छन् । त्यो सन्धिले नै एक अस्थिर, अपमानित र आक्रोशित जर्मन समाजलाई हिटलरको राष्ट्रवादी एजेन्डातर्फ जबरजस्त रुपमा धकेलिदिएको थियो ।