अक्टोबर क्रान्तिको संक्षिप्त इतिहास
सन् १९१७ मा, रूसमा दुई वटा क्रान्तिहरू भए। पहिलो क्रान्ति फेब्रुअरीमा सुरु भयो, जसको मुख्य कारण रूसको पहिलो विश्वयुद्धमा भयानक सहभागिता र आसन्न आर्थिक पतन थियो। पेट्रोग्राडमा खाद्यान्नको अभाव र अत्यधिक महंगीको विरोधमा ठूला हडताल, प्रदर्शन, र विद्रोहहरूको श्रृंखला शुरू भयो। मजदुर र सैनिकहरूले पेट्रोग्राड सोभियत गठन गरे, जसले जारको अधिकारलाई मान्यता दिन अस्वीकार गर्यो। यथार्थको सामना गर्न असमर्थ र आफ्नो अधिकार गुमाइसकेपछि, जार निकोलस द्वितीयले मार्चमा पदत्याग गरे र अस्थायी सरकार सत्तामा आयो। यस बिन्दुमा, बोल्शेविकहरू अझै तुलनात्मक रूपमा कमजोर थिए, र अस्थायी सरकारमा मुख्यतः मध्यमार्गी मेन्शेविकहरू र समाजवादी क्रान्तिकारीहरूको प्रभुत्व थियो।
तर यो स्थिति चाँडै परिवर्तन भयो। अप्रिलमा, लेनिन र अन्य बोल्शेविकहरू स्विट्जरल्यान्डको निर्वासनबाट फर्के। लेनिनको निर्णयशक्ति र परिस्थिति बुझ्ने क्षमताले निर्णायक प्रभाव पार्यो। नयाँ बोल्शेविक नीति "शान्ति, रोटी, र जमीन" र "सारा शक्ति सोभियतलाई" ले मजदुर, किसान र सैनिकहरू माझ ठूलो मात्रामा समर्थन आकर्षित गर्यो। नयाँ सरकारले आर्थिक संकटको समाधान गर्न नसकेको वा युद्ध अन्त्य गर्न असफल भएको कारण विरोधहरू तीव्र रुपमा बढ्दै गयो।
जुलाईमा बोल्शेविकहरूले लोकप्रिय प्रदर्शनलाई समर्थन गर्न सहमत भए पछि, अस्थायी सरकारले फेरि परिस्थितीलाई आफ्नो नियन्त्रण लियो र लेनिन भूमिगत हुन् बाध्य भए । अगस्टमा, जनरल कोर्निलोभले सत्ता कब्जा गर्ने प्रयास गरे। कोर्निलोभबाट पेट्रोग्राडको रक्षा गर्न बोल्शेविकहरूले नेतृत्व गरे। ट्रोट्स्कीको निर्देशनमा रेड गार्डहरूले शहरको रक्षा गरे। केही दिन भित्रै कोर्निलोभको विद्रोह समाप्त भयो। यसले बोल्शेविकहरूको समर्थनमा ठूलो वृद्धि ल्यायो। सेप्टेम्बर सम्ममा, उनीहरूले पेट्रोग्राड सोभियतको नियन्त्रण लिन सफल भए।
अस्थायी सरकारभित्र विभाजनहरू बढ्दै जाँदा, लेनिनले यो सोभियतहरूको नाममा सत्ता कब्जा गर्ने उपयुक्त समय भएको महसुस गरे। २४ अक्टोबरमा, रेड गार्डहरूको युनिटहरूले शहरका रणनीतिक स्थानहरू कब्जा गरे। २५ अक्टोबरमा, बोल्शेविकहरूले शिशिर दरबारमा आक्रमण गरे र अस्थायी सरकारलाई गिरफ्तार गरे। लेनिनले क्रान्तिको विजय घोषणा गरे। नयाँ सोभियत सरकारले समाजवादी समाज निर्माण गर्ने यात्रा सुरु गर्यो, तर यसले धेरै चुनौतीहरूको सामना गर्नुपर्यो। जर्मनीले ब्रेस्ट-लिटोभ्स्कको शान्ति सन्धिमा (१९१८) स्वीकार गर्यो, तर पहिलो विश्वयुद्ध समाप्त हुने बित्तिकै मित्र राष्ट्रहरू (अमेरिका, बेलायत, फ्रान्स, जापान र अन्य) ले रूसमा सबै दिशाबाट आक्रमण गरे, जसले बोल्शेविकहरूको विरोध गर्ने र जर्मनीसँग युद्ध जारी राख्ने चाहना राख्ने स्वेत सेनाहरूलाई समर्थन गरेका थिए।
रूसी गृहयुद्धले गम्भीर अनिकाल र धेरै हताहतीहरू निम्त्यायो, र सरकार 'युद्ध साम्यवाद' अपनाउन बाध्य भयो। १९२१ सम्ममा स्वेत सेनाहरू पराजित भए, र रूसले 'नयाँ आर्थिक नीति' अन्तर्गत पुनर्निर्माण सुरु गर्यो। १९२२ मा रूसले रूसी साम्राज्यका अन्य क्षेत्रहरूसँग मिलेर सोभियत संघको स्थापना गर्यो ।
स्रोत: https://www.marx-memorial-library.org.uk
प्रस्तुति: केदार सिटौला
प्रतिक्रिया