तिहारका विशेष फूलहरू सयपत्री र मखमली

यस्तो छ यी फूलका इतिहास र सांस्कृतिक मान्यताहरु !

सयपत्री फूललाई देख्नासाथ हामीलाई 'तिहार' 'भाइटीका' को सम्झना आउँछ। सयपत्री फूलबिनाको त हामी तिहारको कल्पना पनि गर्न सक्दैनौं । यस अर्थमा भन्दा हिन्दू संस्कृतिको महत्त्वपूर्ण चाड तिहारको अभिन्न हिस्सा जस्तै बनिसकेको छ सयपत्री फूल ।

रमाइलो कुरा के छ भने सयपत्री फूलको इतिहास खोतल्दै जाने हो भने यो नेपालको वा दक्षिण एशियाको रैथाने पूल भने होइन । अर्थात् यो फूल नेपालको स्वदेशी बिरुवा होइन; यसको उत्पत्ति वास्तवमा दक्षिण अमेरिकी क्षेत्र मेक्सिको र ग्वाटेमालाबाट शुरु भएको मानिन्छ । त्यसरी दक्षिण एशियाको सुदुरमा पर्ने भूभाग उत्पत्ति थलो भएको यो फूल गज्जबैसँग नेपाली सँस्कृतिमा मिसिइसकेको छ ।

नेपालमा सयपत्रीको इतिहास धेरै पुरानो छैन; यो यहाँ करिब एक शताब्दीभन्दा बढी समयअगाडि मात्र आएको हो। तर यसले चाँडै हाम्रो संस्कृति र चाडपर्वहरूमा जरा गाड्यो, विशेष गरी तिहारमा, जहाँ यसले पवित्रताको प्रतीकको रूपमा पहिचान पायो।

सयपत्री फूललाई अङ्ग्रेजीमा म्यारिगोल्ड भनिन्छ । यो फूलको इतिहास र उत्पत्ति धेरै पुरानो छ र यो मुख्य रूपमा (मेक्सिको र ग्वाटेमाला) बाट सुरु भएको मानिन्छ। म्यारिगोल्डको वैज्ञानिक नाम Tagetes हो र यो Asteraceae परिवारअन्तर्गत पर्छ। पुरातात्त्विक अध्ययनहरूका आधारमा मेसोअमेरिकाका प्राचीन सभ्यतामा यसको विशेष धार्मिक र सांस्कृतिक महत्त्व रहेको पाइन्छ। मेसोअमेरिकामा यसको प्रयोग धार्मिक अनुष्ठान, आराधना, र औषधीय उद्देश्यमा व्यापक थियो।

मेसोअमेरिका भन्नाले केन्द्रीय अमेरिका र दक्षिणी मेक्सिकोको त्यो क्षेत्रलाई बुझिन्छ, जहाँ प्राचीन सभ्यताहरूको उन्नति भएको थियो। यस क्षेत्रमा माया, अज्टेक, ओल्मेक, टोटोनाक, र ज्यापोटेकजस्ता प्राचीन सभ्यताहरू विगतमा उदाएका थिए र तिनले मानव इतिहासमा आफ्नो छुट्टै विशिष्ट पहिचान बनाएका थिए। यी सभ्यताहरूले उन्नत कृषि प्रणाली, लेखन, कलाकौशल, गणित, खगोलशास्त्र, र धार्मिक परम्परामा विशेष प्रगति गरेका थिए भनेर मानिन्छ।

मेक्सिकोको संस्कृतिमा सयपत्री अर्थात ‘म्यारिगोल्ड’ ले धेरै गहिरो धार्मिक र सांस्कृतिक महत्त्व राख्छ। यसलाई त्यहाँ "मृतकहरूको फूल" को रूपमा आदर गरिन्छ र 'डिया डे लस मुर्टोस' (Día de los Muertos)  अर्थात् मृत आत्माहरुको दिवसमा व्यापक रूपमा प्रयोग गरिन्छ । त्यसमा पनि सयपत्रीको ‘अज्टेक (Tagetes erecta) प्रजातिको फूललाई विशेष मानिन्छ । त्यस दिवसमा मेक्सिकोका वासिन्दाहरुले आफ्ना दिवंगत प्रियजनलाई सम्मान र सम्झना गर्छन् र उनीहरुको  सम्झनामा म्यारिगोल्डको फूलले सजाइएको वेदी (altar) निर्माण गर्दछन्।

सयपत्रीको उज्यालो सुन्तले र पहेंलो रङहरूले मृत आत्माहरूलाई सही मार्गदर्शन गर्छ । त्यसैगरी, त्यहाँको परम्परागत विश्वास अनुसार, म्यारिगोल्डको चम्किलो पहेँलो–सुन्तला रङ र यसको गन्धले दिवंगत आत्माहरूलाई आफन्तहरूको नजिक ल्याउँछ, र उनीहरूको आत्मालाई मार्गदर्शन गर्छ भन्ने विश्वास गरिन्छ । यो रङलाई सूर्यको प्रतीक मानेर जीवन र मृत्युबीचको सन्तुलनको रूपमा पनि बुझ्ने गरिन्छ।

सयपत्री फूलको उत्पत्ति र यससँग जोडिएको माथिको सांस्कृतिक मान्यताले यो फूल नेपालमा कहिले आयो र हाम्रो पर्व र संस्कृतिमा यो किन यति महत्वपूर्ण बन्यो भनेर हामीलाई सोच्न बाध्य बनाउँछ ।

भनिन्छ, सयपत्री फूललाई स्पेनिसहरूले १६औँ शताब्दीमा युरोपमा पुर्‍याएका थिए । यसको आकर्षक रङ, विशेष सुगन्ध, औषधीय गुणहरु र लामो समयसम्म टिक्ने खुबीका कारण यो  युरोपमा विछट्टै लोकप्रिय बन्यो। युरोपेली देशहरूले यसलाई सजावट र औषधीय प्रयोजनमा पनि प्रयोग गर्न थाले। युरोपबाट नै फैलिँदै यो पूद्य चीन, भारत, नेपाल लगायतका एसियाली देशहरूमा पनि फैलियो ।

अनुसन्धानकर्ताहरूका अनुसार नेपालमा सयपत्रीको इतिहास धेरै पुरानो छैन; यो यहाँ करिब एक शताब्दीभन्दा बढी समयअगाडि मात्र आएको हो। तर यसले चाँडै हाम्रो संस्कृति र चाडपर्वहरूमा जरा गाड्यो, विशेष गरी तिहारमा, जहाँ यसले पवित्रताको प्रतीकको रूपमा पहिचान पायो।

बेलायतमा भिक्टोरियन युगमा मखमली फूललाई "मेरो प्रेम कहिल्यै मर्न पनि सक्दैन र धमिलो पनि हुनेछैन" भन्ने भावना व्यक्त गर्ने प्रतीकको रूपमा उपहार दिइन्थ्यो।

यसैगरी, तिहारसँग सम्बन्धित अर्को फूल मखमली हो, जसलाई अंग्रेजीमा ‘ग्लोब अमरनाथ’ वा ‘ब्याचलर बटन’ पनि भनिन्छ। यो फूल पनि मध्य अमेरिकाबाटै आएको हो। त्यो क्षेत्रको पनामा र ग्वाटेमालामा यो फूलको सांस्कृतिक महत्त्व छ । त्यहाँ यस फूललाई अमरत्व र स्थायी सौन्दर्यको प्रतीक मानिन्छ। यसलाई यसको सहनशीलताका लागि प्रशंसा गरिन्छ, किनभने कठोर अवस्थाहरूमा पनि यो फक्रन्छ। वास्तवमा, यो फूललाई टिपेर फूलदानीमा राख्दा ३ हप्ता सम्म टिक्छ भने सुकाएर राख्दा वर्षौँ टिक्ने गर्दछ। बेलायतमा भिक्टोरियन युगमा यो फूललाई "मेरो प्रेम कहिल्यै मर्न पनि सक्दैन र धमिलो पनि हुनेछैन" भन्ने भावना व्यक्त गर्ने प्रतीकको रूपमा उपहार दिइन्थ्यो। यसको दीर्घायुको मिथक नेपाली धार्मिक र सांस्कृतिक विश्वाससँग मेल खान्छ। तिहारमा यसलाई लामो जीवन र सुरक्षाको प्रतीकको रूपमा प्रयोग गरिन्छ। भाइटिका बारे प्रचलित हिन्दू मिथक अनुसार एउटा रमाइलो कथा प्रचलित छ । त्यस कथाअनुसार, यमराजले काल हर्न आएको आफ्नो भाइलाई बचाउन दिदीले भाइको घाँटीमा मखमलीको माला लगाइदिएर त्यो माला नओइलाएसम्म भाइको ज्यान नलिन बचन लिएकी थिइन् । त्यसैले उक्त मखमली फूलको माला लगाएरपछि मृत्युदेवता यमराजले समेत केही गर्न सक्दैन । दिदीबहिनीले दाजुभाइको दीर्घ जीवन र कल्याणको कामना गर्ने परम्परालाई स्थापित गर्ने यो कथा धार्मिक मान्यता र विश्वास हो, यसको कुनै वैज्ञानिक सत्यता त छैन तर यसले प्रतीकात्मक रुपमा मखमली फूलको दीगोपनालाई भने उजागर गर्छ ।

यी मिथकहरू सुन्दा यस्तो लाग्छ कि तिहारमा मखमली फूलको माला लगाउने परम्परा अनन्तकालदेखि चल्दै आएको छ। तर मखमली फूल नेपाल वा हिमाली क्षेत्रको मौलिक फूल होइन। यसको उत्पत्ति नेपालभन्दा धेरै टाढा मध्य अमेरिकामा भएको थियो। नेपालमा यो फूल सम्भवतः भारतमा अंग्रेजको शासन शुरु भएपछि आएको हुनुपर्छ। अर्थात्, यो फूल नेपालमा आएको दुई अढाई सय वर्ष मात्र भयो।
अचम्मको कुरा यो छ कि कसरी यी दुई मध्य अमेरिकी फूलहरू, सयपत्री र मखमली, नेपाल आए र हाम्रो संस्कृतिमा यति छिट्टै गहिरोसँग जरा गाडे। धेरै टाढाबाट आएका यी फूलहरूले नेपाली धार्मिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेका छन्। अहिले त यी फूलहरू नेपाली जनमानसमा यसरी जोडिएका छन् कि सयपत्री र मखमली बिना तिहारको कल्पना समेत गर्न सकिदैन।