‘इजरायली सैनिकले युद्ध अपराध हुने कार्य अस्वीकार गर्नुपर्छ’

एरान एट्जयोन

गाजा क्षेत्र र लेवनानमा इजरायलले निरन्तर गरिरहेको आक्रमणमा युद्धको सामान्य मर्यादाको समेत पालना नभएको इजरायलले युद्ध अपराधको हदमा नृशंश जातीय नरसंहार मच्चाइरहेको आरोप विश्व रङ्गमञ्चमा लाग्दै आएको छ । इजरायलको संरक्षक अमेरिका र उनका समर्थक केही राष्ट्रहरुलाई छाडेर विश्वका अधिकांश देशहरुले इजरायललाई नरसंहार रोक्न तथा राष्ट्रसंघको प्रस्तावअनुसार प्यालेष्टाइनको अस्तित्वलाई स्वीकारेर उक्त क्षेत्रमा दुइ राष्ट्रको सिद्धान्त लागू गर्न तथा त्यसको पालना गर्न माग गरिरहेका छन् । तर विश्वजनमतलाई लत्याउँदै इजरायलले यतिखेर त्यस क्षेत्रमा युद्धको बर्बरता मच्चाइरहेको छ र आफ्नो सिमानालाई विस्तार गर्ने तथा समग्र पश्चिम एशियालाई युद्धको भयानक भुँवरीमा झोक्ने दाउपेचमा लागिरहेको प्रतीत हुन्छ ।

त्यसो त इजरायलले अहिले युद्ध अपराध गरिरहेको कुरा इजरायल इतर राष्ट्रहरुमा मात्र हैन, स्वयं इजरायलभित्र नै पनि उठ्न थालेको छ ।

यसै मेसोमा इजरायलको सैनिक सेवामा काम गरिसकेका, चारजना इजरायली प्रधानमन्त्रीको मातहतमा काम गरिसकेका तथा इजरायलको राष्ट्रिय सुरक्षा परिषद्को उपप्रमुखको रुपमा समेत काम गरिसकेका एरान एट्जयोनले ‘इजरायली सेना तथा इजरायल रक्षा बल (IDF) ले उत्तरी गाजामा युद्ध अपराध गरिरहेको हुनसक्ने’ चेतावनी दिँदै ‘अधिकृत र सैनिकहरूलाई गैरकानुनी आदेश अस्वीकार गर्न’ सल्लाह दिएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका दीर्घकालीन आलोचकको रूपमा परिचित एट्जियोनले भनेका छन्, ‘कुनै सैनिक वा अधिकृतले युद्ध अपराधको रूपमा आशंका गर्न सकिने कुनै कार्य गर्न अस्वीकार गर्नुपर्छ। म सैनिक भएको भए म त्यही गर्थें। मलाई लाग्छ कुनै पनि इजरायली सैनिकले त्यही गर्नुपर्छ ।’ बीवीसीका प्रतिनिधिसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।

एट्जियोनका बुझाइमा अहिले मान्यताहरुमा खतरनाक ह्रास भइरहेको छ र मानिसहरुमा  बदला र क्रोधको भावना अत्यन्त व्यापक छ ।
उनको भनाइमा  यो अवस्था इजरायल ७ अक्टोबर २०२३ को हमास आक्रमणको आघातमा परेको कारणले हो, जसमा करिब १,२०० इजरायलीहरूको मृत्यु भयो र २०० भन्दा बढीलाई गाजामा बन्धक बनाइएको थियो।

‘बदला लिन चाहने भावना मानवीय रहेको’ बताउँदै उनले भनेका छन् ‘हामी कुनै समूह होइनौं, हामी आतंकवादी संगठन होइनौं, र हामी कुनै मिलिसिया पनि होइनौं। हामी एक सार्वभौम राष्ट्र हौं। हाम्रो इतिहास छ, हाम्रो नैतिकता छ, हाम्रो मूल्यहरू छन्, र हामी अन्तर्राष्ट्रिय समुदायको सदस्य रहन हामीले अन्तर्राष्ट्रिय कानुन र मापदण्डहरूको पालना गर्दै काम गर्नुपर्छ ।’

आफू पूर्वसैनिकको रूपमा बोलिरहेका उल्लेख गर्दै उनले भनेका छन्, "म केवल एक चिन्तित नागरिक हुँ, आफ्नो आवाज उठाउने प्रयास गर्दैछु। म यो सुनिश्चित गर्न चाहन्छु कि कुनै पनि सैनिक युद्ध अपराधको रूपमा परिभाषित हुनसक्ने कार्यमा संलग्न नहोस्।"

युद्धका क्रममा इजरायलले आफ्नो आचरणको विषयमा बढ्दो अन्तर्राष्ट्रिय आलोचना सामना गरिरहेको छ। संयुक्त राज्य अमेरिकाले इजरायलले गाजामा सहयोग वृद्धि नगरेको खण्डमा हतियार आपूर्तिमा कटौती गर्ने धम्की दिएको छ।
संयुक्त राष्ट्रसंघले इजरायलमाथि बारम्बार सहायता हस्तान्तरण अवरुद्ध गरेको आरोप लगाएको छ।

बेलायतका एक प्रमुख युद्ध अपराध कानुन व्यवसायी, प्रा. फिलिप सान्ड्स केसीले ७ अक्टोबरको हमलापछि इजरायललाई आत्मरक्षाको अधिकार रहेको भए पनि अहिले उसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरिरहेको बताएका छन्।
‘नागरिक र सैनिक लक्ष्यहरूबीच भिन्नता गर्नुपर्ने’ उल्लेख गर्दै उनले भनेका छन्, ‘युद्धको हतियारको रूपमा भोकमरीको प्रयोग गर्न अनुमति छैन। धेरै संख्यामा मानिसहरूलाई जबरजस्ती निर्वासन वा स्थानान्तरण गर्न अनुमति छैन।
"त्यसैले अहिले गाजामा भइरहेको घटनालाई, जस्तै ७ अक्टोबरमा भएको घटनालाई नदेखी, अपराधहरू प्रष्ट रूपमा देखिन्छन् भन्न नसक्ने अवस्था छैन।"

प्रा. सान्ड्सले म्यानमारविरुद्धको नरसंहार मुद्दा र हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा प्यालेस्टिनी राष्ट्रको पक्षमा मुद्दा अघि बढाएका छन्।उनको पुस्तक East West Street: On the Origins of Genocide and Crimes Against Humanity ले बेली गिफोर्ड पुरस्कार जितेको थियो। पुस्तकमा उनले आफ्नो यहूदी परिवारको होलोकस्ट अनुभवको पनि वर्णन गरेका छन्।

बिबिसीको रिपोर्टका आधारमा