धर्म, समाज र दशैँ

दशैँको लोकप्रियताका कारणहरू के के हुन्?

मानवजीवनका अन्य पक्षहरूलाई झैं धर्म रीति- रिवाज, चाडपर्व र संस्कृतिलाई पनि आर्थिक, राजनैतिक, सामाजिक र अन्य दृष्टिकोणहरूबाट केलाउन सकिन्छ । हरेक दृष्टिकोणले विषय वस्तुको भिन्न-भिन्न पक्षहरूलाई उद्घाटित गर्दछ र यस्ता विविध अध्ययन- दृष्टिकोणहरू समीप राखेर संश्लेषण गर्न सकेमा मानवजीवनका विभिन्न पक्षहरूको समष्टिगत समालोचना गर्न सघाउ पुग्दछ । यसै उद्देश्य अन्तर्गत यहाँ धर्मलाई अध्ययन गर्ने स्थापित वैज्ञानिक दृष्टिकोणहरूको प्रसंगमा अधिकांश हिन्दूहरूको मुख्य चाड दशैँको सामाजिक पक्ष बारे चर्चा गरिन्छ ।

नेपालमा अधिकांश हिन्दू धर्मावलम्वीहरूले दशैँलाई सनातन धर्मको मूल अंगको रूपमा लिने गरेको पाइन्छ । दशैँसंग सम्बन्धित मुख्य धर्मकार्यहरू शक्ति- देवीहरूको आराधना, पूजा-पाठ र प्रसाद ग्रहण एवं वितरण हुन् भने यी धर्मकार्यहरूको उद्देश्य विजय र वैभवको आकांक्षा सुनिश्चित तुल्याउन खोज्नु हो ।

ऐतिहासिक भौतिकवाद र यसैसंग संवद्ध सामाजिक वर्ग जात जाति विन्यासको सिद्धान्त अनुसार अलौकिक विचार कार्यपुञ्जहरू उपल्लो वर्ग- जात-जाति-लिङ्गद्वारा ऐतिहासिक रूपले खडा गरिएका मिथक हुन् ।

आराधना, पूजा-पाठ र प्रसाद ग्रहण एवं वितरण जस्ता अलौकिक प्रविधिहरूको उपयोगद्वारा विजय र वैभव प्राप्ति जस्तो लौकिक उद्देश्यको परिपूर्ति कसरी संभव होला र यस लौकिक उद्देश्य र अलौकिक प्रविधिहरू बीचको खाडल पुर्न चार किसिमका लौकिक-वैज्ञानिक सिद्धान्तहरू अघि सारिएका पाइन्छन् ।

पहिलो ऐतिहासिक भौतिकवाद र यसैसंग संवद्ध सामाजिक वर्ग जात जाति विन्यासको । यस सिद्धान्त अनुसार अलौकिक विचार कार्यपुञ्जहरू उपल्लो वर्ग- जात-जाति-लिङ्गद्वारा ऐतिहासिक रूपले खडा गरिएका मिथक हुन् । यस मिथकद्वारा तल्लो वर्ग जात जातिलाई अलौकिक फल प्राप्तिको अनन्त भ्रममा राखेर लौकिक फलमा एकाधिकार जमाउन सकिन्छ र यस अनन्त भ्रमको आडमा तल्लो वर्ग-जात-जातिको श्रममाथि पनि कब्जा जमाइरहन सकिन्छ । यसरी धर्म र यससंग सम्वद्ध देवी-देवताको अलौकिक वा पारलौकिक भ्रमजालको आडमा उपल्लो वर्ग-जात- जातिले तल्लो वर्ग-जात-जाति माथि आर्थिक, राजनैतिक प्रभूत्व कायम गर्नुको अलावा सांस्कृतिक-वैचारिक प्रभूत्व समेत कायम राख्दै तल्ला श्रेणीका व्यक्ति र समूहको "स्व" परिभाषित गरिरहेका हुन्छन् र यिनको श्रम र संगठनमाथि मालिकत्व जमाईरहेका हुन्छन् ।

लौकिक उद्देश्य र धर्म, देवी, देवतासँग सम्बन्धित अलौकिक प्रविधिको प्रयोगको असामंजस्यतालाई चिर्न दोश्रो व्याख्या अघिल्लो व्याख्याभन्दा निकै फरक छ । यस व्याख्या अनुसार धर्म आफै, कुनै अलौकिक वस्तु होइन । धर्म पारलौकिक वस्तु पनि होइन र ईश्वर धर्मको केन्द्र विन्दु पनि होइन । धर्म व्यक्ति र व्यक्तिवादलाई नियन्त्रण गर्ने लोक रीति हो, जसले व्यक्ति र व्यक्तिबादबाट पैदा हुन सक्ने स्वच्छन्दता र उच्छृंखलतालाई मन्द तुल्याएर राख्दछ । व्यक्ति र व्यक्तिवादबाट निःसृत हुनसक्ने अराजकतालाई रोकथाम गर्न धर्मले महत्वपूर्ण भूमिका खेल्छ । यस व्याख्या अनुसार धर्म र ईश्वर स्वयम् मानव समाजद्वारा निर्माण गरिएका मिथक हुन् । व्यक्ति र व्यक्तिवादलाई वशमा राख्न तथा सामूहिकता र सामाजिकताको प्रधानता अविच्छिन्न रूपमा कायम राखी राख्न धर्म, ईश्वर र अन्य आदि भौतिक मिथकहरूलाई जन्म दिईराख्न र संभरण गरीराख्न अत्यन्त आवश्यक हुन्छ । यसो नगरिएमा समाज नियम र रीतिविहिन हुँदै जान्छ । नियम र रीतिविहिन समाजमा उपज भएका व्यक्तिहरू सामाजिकता गुमाएर सामाजिक लेनदेन गर्न असक्षम हुन्छन् । यसै गरी नियम र रीतिविहिन समाजका व्यक्तिहरूको "स्व" को सामाजिक आधारशीला अत्यन्त दुर्बल हुने हुँदा त्यस समाज र त्यस समाज अन्तर्गतका व्यक्तिहरूमा विकृतिले विकराल रूप लिँदै जान्छ । यसरी यस व्याख्या अनुसार धर्म, ईश्वर, रीति सबै मानव समाजद्वारा निर्माण गरिएका हुन्छन् किनकि यिनको विना समाज र सामाजिकता दिगो रहन सक्दैन । धर्म सामाजिकतालाई पुनर्नवीकरण गरिरहने बहाना मात्र हो । यसकारण ईश्वर नै समाजको प्रतीक हो, वा समाज नै ईश्वर हो। धर्मपालन गर्दा मानिसहरूले आफू र आफ्ना स्वधर्मीहरूको र उनीहरूले जीवन व्यतित गर्ने समाजको स्थायित्व र उन्नतिको वाटो प्रशस्त गरिरहेको हुन्छ ।

धर्म र यससंग सम्वद्ध देवी-देवताको अलौकिक वा पारलौकिक भ्रमजालको आडमा उपल्लो वर्ग-जात- जातिले तल्लो वर्ग-जात-जाति माथि आर्थिक, राजनैतिक प्रभूत्व कायम गर्नुको अलावा सांस्कृतिक-वैचारिक प्रभूत्व समेत कायम राख्दै तल्ला श्रेणीका व्यक्ति र समूहको "स्व" परिभाषित गरिरहेका हुन्छन् र यिनको श्रम र संगठनमाथि मालिकत्व जमाईरहेका हुन्छन् ।

लौकिक उद्देश्य र अलौकिक प्रविधिवीच सामञ्जस्य स्थापना गर्न खोज्ने तेश्रो व्याख्याले अपौरूष्य, अलौकिक ईश्वर छन् वा छैनन् भन्ने कुरालाई वा ईश्वरको श्रोतबारेको प्रश्नलाई सान्दर्भिक ठान्दैन । यस दृष्टिकोण अनुसार सान्दर्भिक सवाल त यो हो कि अलौकिक धर्म वा ईश्वरले व्यक्तिगत वा सामूहिक आचार विचारमा महत्वपूर्ण प्रभाव पार्छ कि पार्दैन? यस दृष्टिकोणबाट प्राप्त हुने व्याख्या अनुसार अलौकिक जगतको बारेको धारणा र व्यवहारले लौकिक धारणा र व्यवहारमा महत्वपूर्ण असर पार्दछ। आर्थिक, सामाजिक र राजनैतिक कारोवारमा समेत अलौकिक जगत बारेका धारणाहरूले महत्वपूर्ण असर पार्ने गरेको तथ्य संसारका विभिन्न धर्म र सम्प्रदायहरूको तुलनात्मक अध्ययनहरूद्वारा दर्शाइएको छ । यस व्याख्या अनुसार र साधारणतया अनुमान गर्न सकिए झैं लौकिक प्राप्तिमा जोड दिने र लौकिक प्राप्तिको आधारमा पनि धर्म पालन गरेको ठहरिने र लौकिक प्राप्तिको आधारमा पनि ईश्वर प्रतिको आस्था प्रमाणित गर्न सकिने धर्महरूका अनुयायी समूहहरूले नै आर्थिक र राजनैतिक रूपले बढी सफलता हासिल गर्दै आएका छन् ।

अन्य क्षेत्रका आचार-विचार जस्तै धार्मिक क्षेत्रका आचार-विचार पनि अपौरूष्य उद्भवका होइनन् भन्ने धारणा राख्ने यस दृष्टिकोणले आर्थिक, राजनैतिक, सांस्कृतिक परिवर्तनले धार्मिक ज्ञान आचारको विन्यासमा के कस्तो परिवर्तन ल्याएको वा ल्याउन सक्छ भन्ने प्रश्न हल गर्न खोज्दछ ।

धर्मलाई हेर्ने चौथो लौकिक-वैज्ञानिक दृष्टिकोण अघिल्ला तीन दृष्टिकोणहरू भन्दा निकै फरक छ । यस चौथो दृष्टिकोण धर्मको आर्थिक राजनैतिक सांस्कृतिक प्रभावतिर भन्दा धर्मको उदभव, धर्मकार्यको आन्तरिक विन्यास र धर्ममा आन्तरिक परिवर्तनलाई स्थानान्तर र समयान्तर एवं यी अन्तरहरूभित्र लुकेका भौतिक-सामाजिक प्रकृतिका आर्थिक, राजनैतिक, सांस्कृतिक परिवर्तनहरूसँग जोडेर हेर्ने र यसकै आधारमा व्याख्या र समालोचना गर्ने गर्दछ । अन्य क्षेत्रका आचार-विचार जस्तै धार्मिक क्षेत्रका आचार-विचार पनि अपौरूष्य उद्भवका होइनन् भन्ने धारणा राख्ने यस दृष्टिकोणले आर्थिक, राजनैतिक, सांस्कृतिक परिवर्तनले धार्मिक ज्ञान आचारको विन्यासमा के कस्तो परिवर्तन ल्याएको वा ल्याउन सक्छ भन्ने प्रश्न हल गर्न खोज्दछ ।

अब दशैँको विषय वस्तुतिर फर्कौं। हजारौ वर्ष अघि सायद मध्य-दक्षिण एशियाको समशीतोष्ण पहाडी भूखण्डका सुख्खा कृषि र पशुपालनमा आधारित, फिरन्ते जीवनशैली पूर्णतया नछोडिसकेको कूल कुटुम्वमा सम्पत्तिको अधिकार निहित रहेको, मूल रूपमा कूल- कुटुम्बमा आधारित सशक्त सैनिक संगठन रहेको र लामो कालसम्म युद्ध र विजय उन्मुख जाति विशेषबाट दशैँको प्रारूप शुरू भएको हुँदो हो । मध्य-दक्षिण एशियाका समुहको लडाकुपन र यस भेग पट्टिको उनीहरूका विजय र आगमनको लामो इतिहास, पहाड पुत्री पार्वती (दुर्गा) द्वारा समथलको शत्रु जीव महिषासुरको वधको सांकेतिक अर्थ, पहाडी भूभागमा साना चौपायाको प्रचुरता र दशैँको लागि यिनीहरूको महत्व, समथल क्षेत्रका वासिन्दामा भन्दा पहाडी क्षेत्रका वासिन्दामा दशैँप्रतिको लगाव, पहाडी क्षेत्रमा स्त्री र ईश्वरीको तुलनात्मक महत्व, जौ - जमराको प्रयोग, कुटुम्व केन्द्रितपना आदिले यिनै उद्भव लक्षणतिर इंगित गर्दछन्। यसबारे गहन सोध र खोजको आवश्यकता त छ नै ।

हजारौ वर्ष अघि सायद मध्य-दक्षिण एशियाको समशीतोष्ण पहाडी भूखण्डका सुख्खा कृषि र पशुपालनमा आधारित, फिरन्ते जीवनशैली पूर्णतया नछोडिसकेको कूल कुटुम्वमा सम्पत्तिको अधिकार निहित रहेको, मूल रूपमा कूल- कुटुम्बमा आधारित सशक्त सैनिक संगठन रहेको र लामो कालसम्म युद्ध र विजय उन्मुख जाति विशेषबाट दशैँको प्रारूप शुरू भएको हुँदो हो ।

दशैँको उद्भव स्थल र स्थितिको साथसाथै यसमा आएका परिवर्तनहरू अधिकांश रूपमा अनुमानकै विषय रहेको भए तापनि नेपालमा हिन्दू धर्मावलम्वीहरूका वीच लगायत कैयन गैर-हिन्दूहरू बीच पनि दशैँ सबै भन्दा लोकप्रिय चाडको रूपमा मानिदै आएको छ । यस लोकप्रियताका विभिन्न कारणहरू हुनसक्छन् । पहिलो कारण, दशैँको लौकिकता र भौतिकता नै हो। दशैँ प्रशस्त मीठो खाने र राम्रो लाउने चाड हो। मीठो खाने र राम्रो लाउने पर्व भएको हुँदा वर्ष भरीनै यसले आर्जन र संचय गर्ने प्रेरणा दिन्छ । दोश्रो, अन्य कतिपय धर्मकर्म, चाड जस्तो गरी दशैँ कुनै लिङ्ग विशेष, उमेर विशेष, क्षेत्र विशेष वा जात विशेष मात्रले मनाउने चाड नभएर सबै हिन्दूहरू- दुवै लिङ्ग, सबै उमेर क्षेत्र र जातले मनाउने चाड हो। वुद्धमार्गीहरूमा दशैँ मान्ने रीत निकै फरक भएतापनि विजय र वैभव प्राप्ति नै यसको उद्देश्य रहेको छ । तेश्रो, दशैँ मूलरूपमा कष्टकर उपवास बस्नु पर्ने र पाठपूजाकेन्द्रित चाड नभएर, हर्षोल्लास मनाउने चाड हो। चौथो, दशैँ ऋतु फसल काटी अन्न भण्डारन गर्ने, दूध-दही पाइने, वर्षाकालीन हरियो घाँसपात खाई तन्दुरूस्त भएका बोका- खसी पाइने हुनुको साथै वार्षिक कृषि श्रम-चक्रबाट केही फुर्सद पाइने ऋतु पनि रह्यो। पांचौं र सायद सबै भन्दा महत्वपूर्ण, अन्य कतिपय व्यक्तिगत वा पारिवारिक लाभको उद्देश्य राखी गरिने धर्मकार्य भन्दा फरक रूपले दशैँ समस्त कुल-कुटुम्बको विजय र वैभव लागि सम्पन्न गरिने र यसैकारणले कुटुम्ब आधारित सामाजिकता पुनर्नवीकरण र सबलीकरण संभव वनाई दिईरहने चाड पनि रह्यो । कुटुम्वभित्र रहेका पारिवारिक र व्यक्तिगत द्वेषहरूको गहिराई घटाउने वा पुर्ने मौका पनि दशैँले प्रदान गर्ने भयो ।

कतिपय व्यक्तिगत वा पारिवारिक लाभको उद्देश्य राखी गरिने धर्मकार्य भन्दा फरक रूपले दशैँ समस्त कुल-कुटुम्बको विजय र वैभव लागि सम्पन्न गरिने र यसैकारणले कुटुम्ब आधारित सामाजिकता पुनर्नवीकरण र सबलीकरण संभव वनाई दिइरहने चाड पनि रह्यो ।

दशैँका अन्य पक्षहरू पनि उत्तिकै विचारणीय छन् । दशैँ सम्पन्न गर्न प्रयोग गरिने कतिपय प्रविधि विज्ञान- सम्मत छैनन् अथवा दशैँका सहभागीहरू यिनका प्रयोगको व्याख्याबाट वञ्चित र तसर्थ भ्रमित रहन्छन् । अलौकिक प्रविधिहरू आफैंमा भ्रमात्मक मात्र नभएर असत्य हुन्छन् । दशैँमा राखिने विजय र वैभवको अभिलाषा सामन्ती प्रथा अन्तर्गत पनि कुटुम्बमित्रको आत्मीयताको गहिराइ र द्वेषहीनताबाट प्राप्त हुनसक्ला न कि पूजा-पाठ र प्रसाद ग्रहणबाट । दशैँले हाम्रो समाजमा सामन्ती संस्कार गहिर्याउने अवसर पनि दिएको छ । जग्गा धनीहरू यही मौकामा कृषकहरूबाट सौगात थाप्न कुर्छन् भने माथिल्ला श्रोणीका नोकरशाहहरू तल्ला श्रेणीका कामदारहरूबाट त्यही मौकामा अभिवादन र चाकरी खोजिरहेका हुन्छन् । आडम्बर र अनावश्यक खर्चको साथै नाफाखोरीको लागि पनि दशैँले उपयुक्त मौका प्रदान गरेकै छ। कैयन परिवारलाई ऋण बोकाउने माध्यम पनि बनेकै छ दशैँ।

नेपालमा दशैँको तेश्रो प्रवल पक्ष हिन्दू राज्यको संवैधानिकता र यस अन्तर्गत परिचालन गरिने शक्तिशाली सांस्कृतिक साम्राज्यवाद हो ।

नेपालमा दशैँको तेश्रो प्रवल पक्ष हिन्दू राज्यको संवैधानिकता र यस अन्तर्गत परिचालन गरिने शक्तिशाली सांस्कृतिक साम्राज्यवाद हो । राजाको वडा दशैँको सन्देशदेखि लिएर कार्यालय विद्यालयको लामो छुट्टी, राज्य संरक्षित बली र बढाई, दरवारदेखि मन्त्रीसम्मको टीकाको लामो टि.भी. प्रसारण आदि अन्य धर्म र धर्मावलम्वी माथि साधिएका शक्तिशाली अस्त्र हुन् । दशैँको नाममा राज्यले चलाउने यो धर्म-अस्त्र समस्त देशवासी हिन्दूहरूको विजय र वैभवको लागि नभएर शासन चलाउने पाखण्डको रूपमा पनि विकसित हुँदै आएको छ । यी दुवै वास्तविकतातर्फ, हिन्दू, गैरहिन्दू सवैले ध्यान पुयाउनु र विरोध गर्नु अत्यन्तै आवश्यक छ ।

–मूल्याङ्कन मासिक,२०४९ कात्तिकमा प्रकाशित यस लेखमा उल्लिखित कतिपय प्रसङ्गहरुले तत्कालीन सन्दर्भलाई समेट्ने भए पनि समग्रमा यसले दशैँको समग्र समाजशास्त्रलाई बुझ्न सहयोग पुग्छ भन्ने हामीलाई लाग्छ ।

–दायित्वबोध