कवि केवलपुरे किसानका दुई कविताहरु

देउरे सलाम र दाहिने सलाम
यौटा गीत मैले नि ल्याको छु, सुनाउनलाई म आफैँ आको छु
सुनिदिनोस् है, तितो-मीठो कस्तो छ भनिदिनोस् है ।

सडकमा लाम लागेर यो जनता लड्यो
गाउँमा बस्ने गाउँलेले नि यस्तै कुरा पढ्यो

होनहारका केटा पनि यै क्रन्तिमा मरे
श्रद्धाञ्जलि चढाउँछु म अलि भरे भरे
यौटा गीत मैले नि ल्याको छु, त्यो भन्नलाई म आफैँ आको छु

सुनिदिनोस् है तितो टर्रो कस्तो छ भनिदिनोस् हैं ।


मेरो मनमा चिसो पस्यो भनिदिउँ है साँचो

सात सालको जस्तै जस्तै यो सम्झौता काँचों

बोल्नसम्म पाइयो भनौं अरू कुरा उही हो

भन्देउ साथी तेत्रो क्रान्ति के कारणले तुहियो ?

 

ऐले पनि सात सालै आइरनु, सात सालै आइरनु

ठूला बडा घिच्नु र खाइरनु, गरीब भोकै छन्

क्वाँ क्वाँ डाँको छोडेर छाप्रा रोकै छन् ।


आउदैन र १७ साल निश्चित टुङो क्यै छ ?

रक्सी चाहीं गयो भनौ बोतल बट्टा त्यै छ

माछो माछो भन्दा भन्दै भ्यागुतो पो आयो
शहीदको त्यत्रो रगत भन्नुस् कस्ले खायो ?

 

देउरे सलाम क्रान्तिमा मर्नेलाई, दाहिने सलाम सम्झौता गर्नेलाई २

यस्तो गीत मैले नि ल्याको छु, सो भन्नलाई म आफै आको छु

देखिहाल्नु भो, तेत्रो क्रान्ति को -को मिली कता फाल्नु भो ?
 

सात सालको त्यो सम्झौता दिल्लीतिरै भाथ्यो
नेपालको झिटी काम्टी उतैतिर गाथ्यो
ऐले चाहिँ यही भयो फरक यत्ती मात्रै
वाक्क लाग्दो यो सम्झौता, परपयउँदो कांच्चै !


धानको बालो कोदाको कपनी, २

पाल्सी कुरा के बुझ्नु म पनि

गाई भैंसीको दै, मेरा प्यारा शहीदलाई सलाम गर्छु है ।

यौटा गीत मैले नि ल्याको छु त्यो भन्नलाई म आफैँ आको छु

सुनिदिनोस् है, तितो-टर्रो कस्तो छ भनिदिनोस् है ।


कस्का छोरा कस्का नाति कताबाट आए

कठैबरा । बिचराले ड्याम ड्याम गोली खाए

कल्ले हाने तिनलाई गोली हान्न लायो कल्ले

आजसम्म यस्तो कुरा छानबिन गन्यो कल्ले ?


मेरो नेपाल अर्कैले तान्छकी, अर्कैले तान्छकी

खसीलाई नै डोयाउँदै लान्छकी, हेर्नोस् झगडा

त्यो झगडा गराइदिने कस्तो तगडा
बालुवाको घर, सात सालदेखि हेरिल्याउँदा छैन यसको भर ।


मर्ने जति मरे गए, घाइते चाहीं रून्छन्
जान्नेहरु भाषण गर्छन् नजान्ने चाहीं सुन्छन्

कैले कैले कता कता लाग्न थाल्यो शंका
मेरो देश बन्ने होकी लेवनान र लङ्का !


मनमा कुरा खेलाउँदा खेरीमा २

निन्द्रा पनि लाग्दैन तेरिमा

देउरे सलाम आजलाई भैगो,

दाहिने सलाम दोहऱ्याउँछु फेरि म ।


 

डङ्डङी हान्नुपर्छ
उद्घाटनका लहरहरुले आज नेपाल छायो

हेर्दा हेर्दै महँगि अब यो माथि माथी सुसायो

च्या च्या रून्छन् झुपडिहरुका ती हरीदा मुहार

जान्दा जान्दै अब नि नमिले हामि हुन्छौ अचार ।


थाहै होला मिलिजुलि न भै केहि मर्दैन माखो

हातै जोरी कसरि हुनु है देश राम्रो चनाखो

तेत्रा मान्छे पुक पुकु मरे सम्भंदा फुट्छ छाती

मान्छे मान्छे अब नि नमिले थुक्क कस्तो नजाती !


जिन्दावादै कति भनिरहूं सुक्छ जिब्रो र गाला

मूर्दावादै पनि कति भनौ वाक्क लाग्दो छ चाला

मेटिन्छन् ती अरू सब करा तिर्सना मेटिदैन

ज्यूंदा मान्छे किन-किन यहाँ भेटिदै भेटिदैन ।


कुर्लन्छन् यी पनि अब भयो यो पनि लौ हुने भो

भन्दा भन्दै अरू कति यहाँ देश हाम्रो रूने हो

तेत्रो क्रान्ति किन र कसरी रोकीयो जान्नुपर्छ

अर्को क्रान्ति अब शुरू हुँदा डङ्डङी हान्नुपर्छ ।

 

सोझा मान्छे जिन तिन बरा जिन्दगी यो गुजार्छन्

माथीका यी शकुनिहरुले गोली ठोकेर मार्छन्

देशै डुब्ला कि त अब कसो तथ्य यो जान्नु पर्छ
अर्को क्रान्ति अब शुरू हुँदा डङ्डङी हान्नुपर्छ ।

 

 

केवलपुरे किसान

लामो समयदेखि नेपाली प्रगतिवादी साहित्य सृजना एवं प्रचार-प्रसार दुवैमा संलग्न कवि केवलपुरे किसान लोकलय र छन्दमा एवं जन जिब्रोका भाषामा सरस कविता लेख्ने कविका रूपमा स्थापित हुनुहुन्छ ।