बाढी पहिरोको विध्वंश र सिक्न नसकेका पाठ

गत बिहीबारदेखि शनिबारसम्म जम्मा ३ दिनको समयभित्र आएको अविरल वर्षाले यस पटक निक्कै ठूलो क्षति गरेको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार लेख्दासम्म बाढी पहिरोमा परेर मृत्यु हुनेहरुको संख्या १९३ पुगिसकेको छ । ३१ भन्दा वेपत्ता छन् भने ९६ जना घाइते छन् । ३७०५ जनाको उद्धार गरिएको छ । सडक तथा अन्य भौतिक पूर्वाधारहरुमा भयानक क्षति पुगेको छ, जसको लेखाजोखा हुन बाँकी छ ।

अहिले धनजनको व्यापक क्षति गराएर विनाशको ताण्डव मच्याउने अनिष्टकारी वर्षाको पूर्वजानकारी सामान्यत: सबैलाई थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले एकाधहप्ताअघिदेखि नै असोज १० गते बिहीबारदेखि नै वर्षा शुरु भएर तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमान जारी गरिसकेको थियो । उपग्रहहरुले खिचेका तस्विरहरुमा पनि नेपाली भूभागमा पानी पार्ने बादल सोहोरिएर थुप्रिएको र भारी वर्षा हुने कुरा अलि अघिदेखि नै निक्कै व्यापक रुपमा चलेको हो ।  तर त्यसको सम्भावित जोखिमको आँकलन गरेर विपत व्यवस्थापनको आवश्यक तयारी गर्ने कुरामा राज्यपक्ष भयानक ढङ्गले उदासीन रहेको तथा नराम्ररी चुकेको देखियो । बाढी र पहिरोको ताण्डव चलिरहँदा राज्यको मूल जिम्मेवारी सम्हालेर बसेका प्रधानमन्त्रीले विदेश भ्रमण छोट्याएर देश फर्किनु आवश्यक ठानेन । सरकार प्रमुखका लागि मुलुकमा परेको राष्ट्रिय विपतभन्दा पनि विदेश भ्रमण र भेटघाट प्राथमिकताको विषय बन्यो । नेपालमा बाढी पहिरोले गरेको वितण्डाको खबर नेपालका प्रधानमन्त्रीले सरकारी संयन्त्रबाट हैन, मिडिया र सामाजिक सञ्जालबाट थाहा पाउने विडम्बनाजनक स्थिति देखिन्छ । उनको गैरहाजिरीमा मूल जिम्मेवारी सम्हालेकाहरु पनि किंकर्तव्यविमूढ भएर बसेको देखियो । बाढी र पहिरोले ठूलै विनाश गरिसक्दा बल्ल सर्वदलीय बैठक डाक्ने तरखरमा सरकार लागेको थियो । जबकि सम्भाव्य बाढी पहिरोको जोखिमबारेको चेतावनी मौसमविद् तथा सम्बन्धित विधाका विषयविज्ञहरुले बारम्बार दिइरहेकै थिए । त्यसलाई बेलैमा सुनेर बाढीपहिरोको जोखिमलाई कम गराउने तथा प्रभावकारी राहतको तयारी गर्ने कुरामा कुनै पहल गरिएन । बाढी र पहिरोले भयानक क्षति गरिरहँदा पनि उद्धार र राहतका कार्यहरुलाई प्रभावकारी ढङ्गले युद्धस्तरमा परिचालन गर्न सरकार नराम्ररी चुकेको देखियो । अन्यत्रको त कुरै छाडौं, राजधानीमै पनि उद्धारका कार्य समयमा र सही ढङ्गले परिचालन हुन नसक्दा कतिपयलाई बाढीले ग्रास बनाएको घटनाहरु सतहमा आए । धन्न केहीलाई आफ्नो ज्यान नै जोखिममा पारेर भए पनि स्थानीय साहसीहरुले बचाएर मानवीयताको प्रदर्शन गरेका थिए । त्यसमा नख्खु खोलामा दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङको नाम विशेष उल्लेखनीय छ ।

सम्भावित जोखिमको आँकलन गरेर विपत व्यवस्थापनको आवश्यक तयारी गर्ने कुरामा राज्यपक्ष भयानक ढङ्गले उदासीन रहेको तथा नराम्ररी चुकेको देखियो । बाढी र पहिरोको ताण्डव चलिरहँदा राज्यको मूल जिम्मेवारी सम्हालेर बसेका प्रधानमन्त्रीले विदेश भ्रमण छोट्याएर देश फर्किनु आवश्यक ठानेन ।

बाढी पहिरोको सम्भाव्य जोखिमको पूर्वानुमान सबैलाई थियो । तर त्यसले गर्न सक्ने सम्भावित क्षतिको स्थान पहिचान गर्ने, जोखिममा परेकाहरुलाई समयपूर्वनै सुरक्षित स्थानमा सार्ने तथा सम्भावित खतराका स्थानहरुमा यातायातलाई रोक्ने काममा सरकारी संयन्त्रहरु नराम्ररी चुकेको पनि देखियो । कदाचित, वर्षा प्रभावित क्षेत्रमा जोखिमको मूल्याङ्कन गरेर यातायातलाई नियमन गर्न सकेको हुन्थ्यो भने राजधानी नजिक पर्ने धादिङको झ्याप्ले खोला क्षेत्रमा बस पहिरोमा पुरेर थुप्रै मानिसहरुको अकाल मृत्यु हुने थिएन होला । नागढुङ्गा चेकपोष्टबाट २.७ किलोमिटरको दूरीमा पहिरोका कारण जाममा परेका यातायातलाई बेलैमा नागढुङ्गा सुरुङलाई बेलैमा वैकल्पिक बाटोको रुपमा प्रयोग गर्न दिने उपाय थियो । राजधानी छिर्ने बैकल्पिक मार्गको रुपमा धार्के–सितापाइला सडकलाई उपयोग गर्न सकिन्थ्यो ? खै त तर त्यसतर्फ सोच्ने र बेलैमा पहल गर्ने काम भएन । बेलैमा त्यो उपाय अपनाएको भए राजधानी नजिकै आइपुगेका यातायातका साधानहरु त्यसरी जाममा पर्ने थिएन र त्यसरी जाममा रोकिएका बस, माइक्रोहरु पहिरोमा पुरिएर तीन दर्जनभन्दा बढीले ज्यान पनि गुमाउने थिएन । यो एउटा घटनाले मात्रै पनि विपत व्यवस्थापनको सवालमा राज्यको सोच र तयारी कति निम्छरो छ भन्ने कुरा छर्लङ्गै देखाएको छ ।

वर्षा प्रभावित क्षेत्रमा जोखिमको मूल्याङ्कन गरेर यातायातलाई नियमन गर्न सकेको हुन्थ्यो भने राजधानी नजिक पर्ने धादिङको झ्याप्ले खोला क्षेत्रमा बस पहिरोमा पुरेर थुप्रै मानिसहरुको अकाल मृत्यु हुने थिएन होला ।

अविरल वर्षाका कारण कुलेखानीमा पानीको सतह बढेर बाँधमा जोखिम बढेको जनाएर बाँधको ढोका खोल्ने निर्णय गरियो । त्यसअनुसार सम्बद्ध निकायले तल्लो तटीय क्षेत्रका वासिन्दाहरुलाई चेतावनी/सूचना जारी गरेर आफ्नो कर्तव्य पूरा भएको ठानियो । त्यसरी बाँधको ढोका खोलिँदा तल्लो तटीय क्षेत्रमा पर्ने असरको रुप र त्यसअनुसार मानिसहरुले सतर्कता–सुरक्षा अपनाए–नअपनाएको निरन्तर अनुगमन गर्ने र त्यसो गर्न लगाउने काम पटक्कै भएन । त्यसमाथि थप, बाँधको ढोका खोलिँदा कुन क्षेत्रमा के कस्तो किसिमले बाढी आउन सक्छ भन्ने कुरा अर्थात् बाढीको प्याटर्नलाई पछ्याएर निरन्तर अनुगमन गर्ने र त्यसअनुसार सम्भाव्य जोखिममा परेकाहरुलाई खबरदारी गर्ने काम हुन सकेन । त्यस कामका लागि स्थानीय निकायका स्रोत साधान र जनशक्तिलाई नै पनि परिचान गर्न सकिन्थ्यो होला तर त्यसतर्फपनि कुनै पहल भएको देखिएन । फलतः सही ढङ्गले सूचना सम्प्रेषण नुहँदा र सम्प्रेषण भएको सूचनाको गम्भीरतालाई मानिसले राम्ररी बुझ्न नसक्दा अनावश्यक धनजनको क्षति हुन पुग्यो ।

उद्धार कार्यमा खटिँदै नेपाल प्रहरी

असंवेदनशील र अटेर मानसिकता

सदा झैं यस पटकको यस महाविपत्तिमा पनि नेपालीहरुमा हुँर्कदो असंवेदनशीलता एवं अटेर मानसिकता छताछुल्ल भएर पोखियो । करिब २०० जना नजिक मानिसको अकाल मृत्यु कुनै चानचुने घटना होइन । यो घटनाले सम्पूर्ण नेपालीहरुको मनमस्तिष्क हल्लिनु पर्ने हो । तर यो शोकको घडीमा पनि सामान्य रुपमा चलिरहेको जनजीवन, मनोरञ्जनात्मक क्रियाकलापहरुले नेपालीहरुमा अरुको दुःखविपतमा संवेदनशील बन्ने, दुःख प्रकट गर्ने र भरथेग गर्ने संस्कृति मर्दै गइरहेको देखिन्छ । खासगरी, विपतमा परेकाहरुको दुःखमा सघाउने भन्दा तमासा हेर्ने, भिडियो खिचेर बस्ने तथा भौतिक क्षतिमा दुःखी बन्नुको सट्टा अट्टहास गरेर क्षणिक खुसी लिने मनुवाहरु पनि देखिए । स्वयं सरकार पनि यस मामिलामा उदासीन र पछौटे देखियो । हवाइ दुर्घटनामा दुःखद मृत्यु वरण गरेकोहरुको भन्दा कम शोकको घटना हैन– बाढी पहिरोमा परी अकाल मृत्यु वरण गरेकाहरु । तर हवाइ दुर्घटनामा हत्तनपत्त राष्ट्रिय शोकको घोषणा गर्ने, राष्ट्रिय झण्डा आधा झुकाउन तत्परता देखाउने नेपालका सत्तासीनहरुले यस महाविपत्तिको घटनालाई राष्ट्रिय शोकको रुपमा लिन सकेका छैनन् । योभन्दा दुःखद र विडम्बनाको कुरा नै के हुन सक्छ ?

हवाइ दुर्घटनामा दुःखद मृत्यु वरण गरेकोहरुको भन्दा कम शोकको घटना हैन– बाढी पहिरोमा परी अकाल मृत्यु वरण गरेकाहरु । तर हवाइ दुर्घटनामा हत्तनपत्त राष्ट्रिय शोकको घोषणा गर्ने, राष्ट्रिय झण्डा आधा झुकाउन तत्परता देखाउने नेपालका सत्तासीनहरुले यस महाविपत्तिको घटनालाई राष्ट्रिय शोकको रुपमा लिन सकेका छैनन् ।

वर्षेनी जाने बाढी पहिरो र त्यसले गर्ने धनजनको क्षति नेपालीहरुको मात्र हैन, विश्वभरिकै मानव जातिको लागि पन्छाउनै नसकिने नियति हो । यो कुरालाई हामीले स्वीकार्नु पर्छ । बस्ती खोलामा पस्यो कि खोला बस्तीमा पस्यो? यो बहस थोत्रो भइसक्यो । अब बहसको मुद्दा त बाढी पहिरोको जोखिम र त्यसो हुनुको कारण पहिल्याएर त्यसको उपचार खोज्ने हुनुपर्छ । यसो भनिरहँदा सत्तासञ्चालकहरु तथा आम नागरिकले पनि अघिल्ला घटनाक्रमहरुबाट पाठ सिक्नु जरुरी छ, जुन कुरामा सबैले सदैव आँखा चिम्लिन खोजेको प्रतीत हुन्छ ।

टाढाको कुरा छाडौं, यसै वर्षको मात्र कुरा गर्दा पनि बाढीपहिरोले अहिले गरेको क्षति पहिलो हैन । गत असारमा पनि यो भन्दा अलि कम स्तरकै बाढीपहिरोले पनि क्षतिको ताण्डव मच्चाएकै हो । खै त्यसबाट सिकेको ? उदाहरण नै दिने हो भने पनि, त्यसबेलाको बाढीले बल्खु क्षेत्र, ग्वार्को क्षेत्रका तरकारी बजारहरुमा विनाश गरेको थियो हैन र ? त्यसबेलामा पनि उपत्यकाका थुप्रै ठाउँहरुमा पानी पसेर डुबान गरेकै थियो नि हैन र ? खै त त्यसबाट पाठ सिकेको ? झन यस पटक त निक्कै ठूलो वर्षा हुँदैछ भनेर पूर्व जानकारीहरु पनि बारम्बार सार्वजनिक भएकै हो । खै त त्यसबाट पाठ सिकेर आवश्यक सावधानी र सतर्कताहरु अपाउनेतिर लागेको ?

अहिले पहिरोले धनजनको ठूलो क्षति गरेको नागढुङ्गा आसपासको क्षेत्रमा पनि भरखरै मात्र त पहिरो जान थालेको होइन नि ! बाटो मर्मत र विस्तारका लागि त्यसलाई चलाइदा अघिल्लो पटक पनि त्यहाँ साना ठूला पहिरोहरु त बारम्बार गइरहेकै हो नि । खै त त्यसबाट पाठ सिकेर वैकल्पिक उपायहरु अपनाउनेतर्फ सोचेको ? पहिरोको जोखिमलाई आँकलन गरेर यातायात चलाउन रोक लगाउने, वैकल्पिक मार्गको रुपमा ससाना सवारी साधनहरुका लागि करिब करिब निर्माण सम्पन्न भइसकेको सुरुङमार्ग प्रयोग गर्नेतिर बेलैमा सोचेको भए यो तहको क्षति हुन पाउँथ्यो ? प्रशासनले दिएको यातायात सञ्चालनमा रोक लगाउने चेतावनीलाई कडाइका साथ लागू गर्ने तथा यातायात व्यवसायीहरुले पनि त्यसलाई गम्भीरतापूर्वक लिन सकेको भए सम्भवत: मृतकको संख्या घट्ने थियो । त्यसमाथि थप, राजधानी छिर्ने बैकल्पिक मार्गको रुपमा धार्के–सितापाइला सडकलाई पनि त उपयोग गर्न सकिन्थ्यो होला कि ? खै त यसतर्फ नीतिनिर्माताहरुले सोचेको, योजना बनाएको र पहल गरेको ?

हाम्रा विकास निर्माणका तौरतरिकाहरु आउटडेटेड छन्, जलवायु परिवर्तनका असरहरुलाई झेल्ने वा पन्छाउन सक्ने खालका छैनन् भन्ने कुरा प्रष्ट भइसकेको छ ।

हाम्रा विकास निर्माणका तौरतरिकाहरु आउटडेटेड छन्, जलवायु परिवर्तनका असरहरुलाई झेल्ने वा पन्छाउन सक्ने खालका छैनन् भन्ने कुरा प्रष्ट भइसकेको छ । त्यसमा पुनरावलोकन गर्ने, समयसापेक्ष परिमार्जन गर्ने र निरन्तर बाढी पहिरो गइरहने क्षेत्रका सडक वस्तीहरुको विकल्प सोच्नुपर्ने देखिएको छ ।

यस तालिकाले वर्षाको ‘प्याटर्न’मा कसरी परिवर्तन आइरहेको छ भन्ने कुराको सानो झल्को दिन्छ

अझ गम्भीर कुरा त के हो भने जलवायु परिवर्तनको असरबारे हाम्रो बुझाइ र चिन्तन हिमताल फुट्ने सम्भावना र हिमालका हिउँ पग्लेको चिन्ताभन्दा खासै अघि बढ्न सकेको छैन । त्यो कुराको रोदन गरेर विदेशीहरुसँग भीख माग्ने मानिसकताभन्दा माथि उठ्न सकेकै छैन । जलवायु परिवर्तनका कारण मौसमको ‘प्याटर्न’ र स्वभावमा आएका परिवर्तनहरु, तिनले पार्न सक्ने सम्भावित जोखिमहरुबारे खासै चर्चा नै हुँदैन । उदाहरणको लागि, गत असारको तेस्रो हप्ता कञ्चनपुरमा अचानक परेको आरीघोप्टे पानी (२४ घण्टामा ६२४ एमएम) काठमाडौं खाल्डोमा बर्सियो भने त्यसले गर्ने क्षतिको तह कुन होला ? धन्नय यस पटकको पानी काठमाडाैं खाल्डोको उत्तरीभेगको तुलनामा दक्षिणी भेगमा बढी पर्‍यो । कदाचित पानीको संकेन्द्रण उत्तरी भेगतिर बढी हुन्थ्यो भने अहिले भोगिएको डुबान र क्षति पक्कै पनि योभन्दा भयावह हुनेथियो । जलवायु परिवर्तनले संसारकै सबैभन्दा उजाड सहारा मरुभूमिमा हरियाली देखापर्न थालेको बारे वैश्विक विमर्श चलिरहँदा त्यसले नेपालको मौसमको ‘प्याटर्न’लाई कतातिर मोडिदिएको छ र त्यसले पार्ने सम्भावित असरहरु के कस्तो हुन सक्छ भन्नेबारे सोच्ने फुर्सद कसैलाई छ ?

गम्भीर कुरा त के हो भने, जलवायु परिवर्तनका असरमा हाम्रो हिस्सेदारी नगण्य नै भएपनि त्यसको असर भोग्न संसारभरिकै मानिसहरु जस्तै हामी पनि अभिशप्त छौं । त्यसैले यतिखेरको मुख्य कुरा भनेकै जलवायु परिवर्तनका असरहरुबारे रोदन गरेर त्यसलाई विश्वमञ्चमा भीख माग्ने अवसर ठान्ने होइन, त्यसका असरहरुलाई न्यून गर्दै त्यससँग लय मिलाएर कसरी बाँच्ने (अनुकूलन तुल्याउने) भन्ने कुरा सिक्ने नै हो । विडम्बनाको कुरा, यसबारे हाम्रा शासकहरु एवं नीतिनिर्माताहरुलाई सोच्नु फुर्सद निक्कै कम छ ।

अहिलेसम्मको घटनाक्रमहरुलाई हेर्दा बाढी–पहिरोले गर्ने विध्वंशबारे नेपालका शासक, नीतिनिर्माता र आमजनताले पटक्कै पाठ सिक्न सकेको र चाहेको पनि देखिँदैन । जबकि यतिखेरको खाँचो भनेको बाढी पहिरोको प्रकोप बढ्यो भनेर रोइलो गर्ने हैन, त्यसको कारण पत्ता लगाएर समाधान खोज्ने नै हो ।

तस्विर स्रोत: नेपाल प्रहरीको फेसबुक पेज

सम्बन्धित सामग्रीहरु

बाढी पहिरोको प्रकोपः रोइलो मात्रै गर्ने कि कारण पत्ता लगाएर समाधान पनि खोज्ने ?

जलवायु परिवर्तनः लय मिलाएर बाँच्नुको विकल्प छैन: मधुकर उपाध्या

जलवायु परिवर्तनबाट सिर्जित बाढी पहिरोलाई कसरी बुझ्ने– त्यस समस्यासँग कसरी जुध्ने ? (पुस्तकाकार रुपमा पिडिएफ)

मौसममा भएको असामान्य परिवर्तनले सहारा मरुभूमिलाई पनि हरियाली बनाउँदैछ !