हामी कसरी  आदर्शवादी भइरहेका हुन्छौं ?

हाम्रो कम्युनिष्ट आन्दोलनमा सबैले एक स्वरले आदर्शवादको विरोध गर्छन् । आदर्शवादको परिभाषा सोधियो भने कण्ठस्थ भन्न सक्नेहरु पनि धेरै छन् । तर आदर्शवादको शब्दमा विरोध गर्दैमा कोही आदर्शवादबाट मुक्त भई हाल्दैन । आदर्शवाद एउटा चिन्तन गर्ने ढंगको नाम हो । त्यस्तो चिन्तन गर्ने ढंग हामीसित छ भने हामी शब्दमा आदर्शवादको घोर विरोधी भएर पनि आदर्शवादी भइरहेका हुन्छौं ।

मनगढन्त ढंगले विचार बनाउने, धारणा निर्माण गर्ने ढंगको नाम नै आदर्शवाद हो । आदर्शवादलाई अर्को शब्दमा मनगढन्तवाद भने पनि हुन्छ ।

डाक्टरलाई थाहा नहुन सक्छ, आदर्शवाद के हो भनेर, तर उसको होंचपोचमै विचार बनाउने ढंगको नाम नै आदर्शवाद हो । वास्तवमा, आदर्शवाद भनेको हचुवावाद हो ।

हामीले बिरामी नै राम्रोसित नजाँचीकन, रोगीको विमारीबारे समग्र र सही सूचना नै प्राप्त नगरीकन होंचपोंचमै ओखती लेख्ने डाक्टर पटक पटक देखेका छौं । त्यो डाक्टरलाई थाहा नहुन सक्छ, आदर्शवाद के हो भनेर, तर उसको होंचपोचमै विचार बनाउने ढंगको नाम नै आदर्शवाद हो । वास्तवमा, आदर्शवाद भनेको हचुवावाद हो ।

देश र समाजबारे गहिरोमा र समग्रतामा खोजीनीति नै नगरीकन हचुवामै समाज परिवर्तनको नीति र कार्यक्रम बनाउनु पनि बिरामी नै राम्रोसित नजाँचीकन प्रेस्क्रिप्सन लेख्नु जस्तै कुरो हो ।

विरामी नै राम्रोसित नजाँचीकन हचुवामै प्रेस्क्रिप्सन लेख्दा गलत ओखती परेर अनाहकमा रोगीको ज्यान जान्छ वा उसको रोग र दुःख कष्ट अरु ज्यादा जटील बन्छ । त्यस्तै, समाज र देशबारे राम्रोसित खोजवीन नगरीकन हचुवामै संघर्ष वा क्रान्तिको नीति, कार्यक्रम अघि सार्दा क्रान्ति खोज्ने वर्गहरुको संघर्ष बीचैमा तुहिन्छ वा जनताले अनावश्यक रुपमा धेरै दुःख कष्ट झेल्नुपर्ने हुन जान्छ। खती ज्यादा, उपलब्धि शून्य वा नगण्य हुन जान्छ ।

नेपाली क्रान्तिको प्रेस्क्रिप्सन लेख्ने काम नेपाली समाजका समस्या र रोगहरुको सर्वाङ्ग र राम्रो जाँचपरख नगरीकन नै हने गरिरहेको छ । हचुवामै मनगढन्त विचारका आधारमा हाम्रा संघर्षका नीति र कार्यक्रम बन्ने गरिरहेछन् ।

नेपाली कम्युनिष्ट आन्दोलनमा अहिले यही भइरहेछ । आधा शताब्दी बितिसकेको छ, नेपालको कम्युनिष्ट आन्दोलन प्रारम्भ भएको । तर यसबीच नेपाली क्रान्तिको प्रेस्क्रिप्सन लेख्ने काम नेपाली समाजका समस्या र रोगहरुको सर्वाङ्ग र राम्रो जाँचपरख नगरीकन नै हने गरिरहेको छ । हचुवामै मनगढन्त विचारका आधारमा हाम्रा संघर्षका नीति र कार्यक्रम बन्ने गरिरहेछन् । यसले गर्दा नेपाली समाजका समस्याहरु हल हुने दिशातिर होइन, जटिल वन्ने दिशातिर गइरहेछन् । रोगहरु निको हुनेतिर होइन, क्रोनिक बन्ने दिशातिर गइरहेछन् ।

बिरामी सर्वांग जाँचे जस्तो नेपाली समाजलाई समग्रतामा र राम्ररी नजाँचीकन नै जथाभावी र होंचपोंचमा कार्यक्रमको ओखती सिफारिश गर्ने गर्नाले नेपाली समाजले संघर्षमा खती ज्यादा व्यहोर्नु परिरहेछ । उपलब्धि निकै कम मात्र हात लागिरहेछ । क्रान्ति दिशाविहीन भइरहेछ ।

"न्याउरी मारी पछुतो" भन्ने कथा कथा आदर्शवाद कसरी हाम्रो घरघरमा हावी छ र आदर्शवादले हाम्रो दैनिक व्यवहारमा र जीवनमा के फरक पार्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो ।

यसको मतलब के हो भने, नेपालको कम्युनिष्ट आन्दोलन शव्दमा आदर्शवादको विरोधी त छ, तर व्यवहारमा यो आदर्शवादले लफ्रक्क भिजेको छ, किनकि मनगढन्त ढंगले विचार र धारणा बनाउने र हचुवामै कदम उठाउने प्रवृत्ति हाम्रो आन्दोलनमा व्याप्त छ । हचुवापन हाम्रो कम्युनिष्ट आन्दोलनको एउटा मुख्य रोग हो ।

"न्याउरी मारी पछुतो" भन्ने कथा हाम्रो समाजमा निकै चल्तीमा छ । वास्तवमा यो कथा आदर्शवाद कसरी हाम्रो घरघरमा हावी छ र आदर्शवादले हाम्रो दैनिक व्यवहारमा र जीवनमा के फरक पार्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो ।

एउटा किसान हुन्छ । उसले आफ्नो घरमा न्याउरीमुसा पालिरहेको हुन्छ । न्याउरीमुसा मालिकप्रति निकै इमान्दार र भरोसिलो हुन्छ । एक दिन किसान खेत जानैपर्ने स्थितिमा हुन्छ, तर घरमा आफ्नो वच्चा हेर्ने मान्छे कोही हुन्न । श्रीमती पनि वन गएकी हुन्छे । किसानले न्याउरीमुसाको जिम्मामा बच्चालाई छोडेर खेत जान्छ । खेतबाट फर्कंदा मुखमा रगतै रगत लागेको न्याउरी मुसो बाटैमा भेटिन्छ । किसानलाई शंका हुन्छ कि, न्याउरीमुसोले उसको बच्चालाई त कतै मारेन ? यो शंका सत्य हो कि होइन भन्ने कुरामा राम्ररी खोजवीन नै नगरिकन किसान के टुंगोमा पुग्छ भने, पक्कै पनि न्याउरीमुसाले उसको छोरालाई मारेकै हुनुपर्छ, नत्र न्याउरी मूसो किन रगताम्मे हुन्छ ? किन ऊ बाटोमा भेटिन्छ ? यही धारणा बनाएर उसले न्याउरीमुसालाई एउटा ढुंगाले हिर्काएर ठहरै पारीदिन्छ । तर घरमा आएर हेर्दा के भेटिन्छ भने, वच्चा त सग्लै छ, बस एउटा अत्यन्त विषालु सर्प बच्चाको छेवैमा मारिराखेको छ । वास्तवमा न्याउरीमुसाको मुखको रगत त्यही सर्प मार्दाको रगत रहेछ भन्ने पक्का हुन्छ । किसानलाई अब भारी पछुतो हुन्छ । आफ्नो बच्चालाई बचाउन सर्पलाई मार्ने न्याउरीमुसो आफूले मारेकोमा ऊ पछुताउको आगोमा जल्छ । हाम्रो समाजमा धेरैले भन्दै र सुन्दै आएको यो कथा यति हो ।

शंका र अनुमानकै भरमा विचार बनाउने र त्यही हचुवा विचारका आधारमा निर्णायक र जोखिमपूर्ण कदम उठाउने प्रवृतिको नाम आदर्शवाद हो ।

यो कथामा किसानको विचार गर्ने ढंग बिल्कुलै हचुवा र मनगढन्त देखिन्छ । उसमा शंका र अनुमानकै भरमा विचार बनाउने र त्यही हचुवा विचारका आधारमा निर्णायक र जोखिमपूर्ण कदम उठाउने प्रवृत्ति देखिन्छ । यही हचुवा प्रवृतिको नाम आदर्शवाद हो ।

हाम्रा घर घरमा आदर्शवाद निकै चर्को मात्रामा हावी छ । अरुसित वोलेको शंकाकै भरमा श्रीमतीलाई नाठो खेलाएको भनेर कुटने, छाड्ने र घरबाट निकाल्ने श्रीमानहरु हाम्रो समाजमा छ्यास्छ्यास्ती भेटिन्छन् । छोराछोरीले किन पैसा चोयो वा किन पढ्नमा मन लाएन भन्ने कारण नै राम्ररी नखोजीकन
छोराछोरीलाई पूरै बदमास भएको ठहयाएर निर्दयतापूर्वक कुट्ने बावुआमाहरु पनि समाजमा थुप्रै छन् । वालकले वारम्वार गृहकार्य किन गरेर ल्याएन, पढ्नमा किन मन दिएन भन्ने कुराको वास्तविकता नखोतलीकन हचुवामै बालकलाई बेस्सरी पिटेर तह लाउन खोज्ने शिक्षकहरु पनि हाम्रो समाजमा अनगिन्ती छन् । यी सबै विचार बनाउने आदर्शवादी ढंगको एक से एक उदाहरणहरु हुन् ।

आदर्शवादको दोष नै यही हो कि, यसले कुनै पनि समस्या र घटनामा त्यसको वास्तविक कारण पत्तो लाउन सिकाउँदैन । यसले सत्यको गहिराइमा जान सिकाउँदैन ।

हरेक समस्याको वास्तविक कारण थाहा पाउन खोज्नु र कारण थाहा पाएर मात्र कदम चाल्नु भौतिकवादी ढंग हो । यो नै हामीले अप्नाउनु पर्ने वैज्ञानिक ढंग हो । तर आदर्शवादी ढंग यसको ठीक उल्टो हुन्छ । आदर्शवादको दोष नै यही हो कि, यसले कुनै पनि समस्या र घटनामा त्यसको वास्तविक कारण पत्तो लाउन सिकाउँदैन । यसले सत्यको गहिराइमा जान सिकाउँदैन ।

आदर्शवादले यस्तो किन गर्छ भने आदर्शवादले चेतना, विचार, आत्मा, भाव, जस्ता आत्मिक कुरालाई माउ र प्राथमिक मान्दछ । आदर्शवादका अनुसार मान्छेको विचार आत्मामा आफसे आफ उत्पन्न हुन्छ, त्यसैले यो बाहिरी दुनियांसित मिल्दोजुल्दो हुनुपर्ने जरुरी नै छैन । वाहिरको भौतिक संसारले आत्मा र विचार पैदा गरेको होइन, वरु आत्मा र विचारले चाहिँ बाहिरी संसार पैदा गरेको हो त्यसैले कुनै पनि समस्याको वा घटनाको वास्तविक भौतिक कारण खोज्नु जरुरी नै छैन । आत्मा वा विचार स्वतन्त्र रुपमा आफै अस्तित्वमा रहन्छ । यो बाहिरी दुनियाँको उपज पनि होइन, प्रतिविम्ब पनि होइन । वाहिरी संसार अपरंपार छ, त्यो वुझीनसक्नुको छ, त्यसैले बुझीनसक्नुको कुरो खोजवीन गर्नमा किन समय फाल्ने ?

आदर्शवादको विचार गर्ने ढंग यस्तो हुने हुनाले विचार वनाउनुअघि सत्यको गहिराई खोज्नु, वास्तविक कारण खोज्नु भनेको आदर्शवादको निम्ति वाहियात कुरो हो । यो सम्भव र जरुरी कुरा नै होइन । संसारमा विचार र आत्मा नै जेठो र माउ हो भन्ने विचारको पनि कारण र माउ किन खोज्ने ? कुनै पनि घटना र समस्याको भौतिक कारण किन खोज्ने ? संसार नै कीनसक्नुको छ अपरंपार छ वा अज्ञेय छ भने कुनै पनि घटनाको वा समस्याको वास्तविक कारण वुझ्न, थाहा पाउन किन टण्टा गर्ने ?

जडसूत्रवाद भनेको के हो ?

संसार हमेशा परिवर्तनशील छ । समय र परिस्थिति लगातार बदलिरहन्छ । एक समयमा उपयुक्त ठहरिएको कुरो अर्को समयमा अनुपयुक्त भइसकेको हुन्छ । एउटा परिस्थितिमा सही भएको कुरो अर्को परिस्थिति सिर्जना हुनासाथ गलत हुन जान्छ । संसारलाई यसरी हमेशा गतिमा हेर्नु नै द्वन्दवादको एउटा मुख्य सार हो ।

तर जडसूत्रवाद भनेको अद्वन्दवादी चिन्तन प्रक्रिया हो । यसको मुख्य दोष र विशेषता नै के हो भने, गतिशील संसारलाई यसले स्थिरतामा हेर्छ । यसले समय र परिस्थितिको गति र भिन्नतालाई हमेशा हेर्न बिर्सन्छ । कुनै एक समयको सत्यलाई यसले हरेक समयको सत्य भन्ठान्छ । कुनै एक खास परिस्थितिमा सही ठहरिएको विचार र अनुभवलाई यसले सबै परिस्थितिको लागि सही भन्ठान्छ । नामै जडसूत्रवाद । सत्यलाई र ज्ञानलाई जडसूत्र अर्थात स्थिर फर्मुलाको रुपमा लिने सोचलाई नै जडसूत्रवाद भनिन्छ ।

रामले आँप खाँदा उसलाई फाइदा गयो भने त्यसले श्यामलाई पनि अवश्य फाइदा गर्छ भन्ठान्नु जडसूत्रवाद हो । फाइदा गर्न पनि सक्छ नगर्न पनि सक्छ । दुवैको
शरीरभित्रको समय परिस्थिति उही र उस्तै छ भने फाइदा गर्छ, नत्र विषको काम पनि गर्न सक्छ । राम स्वयम्लाई एउटा खास परिस्थितिमा आँपले फाइदा गयो भन्दैमा संधैभरि आँपले फाइदा गर्छ भन्ठान्नु पनि जडसूत्रवाद हो । यथार्थ यस्तो हुँदैन । उही रामलाई पेट ठीक भएको वेलामा आँपले फाइदा गयो भने पेट गडवड भएको समयमा त्यो विष पनि हुन सक्छ । त्यसैले आँप भिटामिनयुक्त फल हुँदैमा त्यसले सबै समय र परिस्थितिमा फाइदा गर्छ भनेर सोच्नु त्यो कुरोलाई जड वा स्थिर सूत्र बनाउनु जडसूत्रवाद हो ।

जडसूत्रवादको दोष नै यही हो कि, त्यसले व्यक्ति, समाज, प्रकृति र विश्वमा लगातार आइरहेको परिवर्तन र भिन्नतालाई हेर्न जरुरी ठान्दैन, त्यसले एकपाखे ढंगले समानतालाई मात्र जोड दिन्छ । त्यसले समय र परिस्थितिको गतिले गर्दा पैदा भएको विशेषलाई ध्यान दिँदैन । त्यसले एकतर्फी रुपमा सामान्यलाई मात्र जोड दिन्छ । त्यसले शरीर अनुसार लुगा काट्ने होइन, हरेक शरीरलाई उही खालका लुगा फीट हुने कुरा गर्छ ।

मूल्याङ्कन, २०५५ माघ–फागुनमा प्रकाशित

प्रज्ञानरत्न

दर्शनका सवालमा कलम चलाउँदै आउनुभएका प्रज्ञानरत्नका 'मूल्याङ्कन मासिक एवं नवयुवा मासिक'मा प्रकाशित लेखरचनाहरु हामीले दर्शन स्तम्भअन्तर्गत नियमित रुपमा पुन:प्रकाशन गर्दै जानेछौं । यसका लागि हामीले लेखकबाट सम्मति लिएको समेत जानकारी गराउँदछौं ।