जय भोलि !

पर्सिको हिजो र हिजोको पर्सिलाई 'भोलि' भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको भोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानिस अनेक थरी सपना तुन्दै भोलिको निम्ति निदाउँछ, तर भोलिपल्ट ब्यूंझँदा उसको भोलि आज बनेको हुन्छ, फेरि ऊ अर्को भोलिको निम्ति दगुर्छ । मानिस जतिजति दिनका पत्र पल्टाउँछ, उतिउति उसको भोलि सर्वैसर्दै पर जान्छ र आखिर भोलिलाई नभेट्दै मानिस मर्छ । त्यसैले भोलि साँच्ची एउटा ईश्वर हो, जसलाई मान्छे पछ्याउँदै जान्छ, ऊचाहिँ परपर तर्कदै जान्छ तर ऊ जतिसुकै पन्छिए पनि मानिस भोलिको भक्त छ । उसको मुखमा 'राम राम' झैं सधैं 'झुन्डिरहेको हुन्छ- भोलि । त्यसैले आजको काम भोलिलाई थाती राख्नु हाम्रो संस्कृति हो । आफ्नो संस्कृतिलाई उल्लङ्घन गर्न कसले सक्छ ?

साँच्ची भनूँ भने पूर्वीय दर्शनको सबभन्दा ठूलो विशेषता हो- भोलिवाद । हाम्रो दर्शन आज (बाचुन्जेल) दुःख गर, भोलि (मरेपछि) मुक्ति पाउँछौ भन्छ । तर दर्शनको भनाइ र मानिसको गराइमा कहाँनेर फरक पर्छ भने दर्शन भोलिको निम्ति आज गर भन्छ, मानिस डेढ अक्कल लगाइदिन्छ- भोलिको निम्ति गर्ने भएपछि आज किन गरिरहनु, भोलि नै गरे भैहाल्छ नि । अनि निस्कन्छ- आधुनिक भोलिवाद, जसका अनुयायी तपाई हामी सबै छौं ।

भोलिवादको श्रीगणेश कुन बेला, कसको पालादेखि कसले सुरु गयो, त्यो किट्न सकिन्न, तर हेरिल्याउँदा नेपाली समाजमा भानुभक्तभन्दा अघिदेखि नै यसले खुट्टो घुमाएको बुझिन्छ । उनले एक पटक साह्रै दिक्दारिएर भनेका थिए- "भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज भोली ।" कसो हामी भाग्यमानी रहेछौं र हाम्रा आदिकविलाई झोली बोकेर वनतिर पस्नु परेनछ । उनको यो घुर्कीबाट हामी बुझ्न सक्छौं भोलिवादी सिद्धान्तका प्रणेता कुनै महर्षि या आचार्य थिएनन् । यो त निसापको ठूलो घरमा बसेर बेहिसाप गर्न खोज्ने उहिलेका जरसाहेब, काजीसाहेब, हजुरियासाहेब यस्तै कुनै फर्सटाउकेसाहेब साहेबनीहरू हुँदाहुन्, हुन सक्छ, सरस्वतीको तानाबाना बोकेर दक्षिणा फर्काउँदै दुनियाँ छकाउने गुरुजी, पण्डितजी, वैद्यजी इत्यादि 'जी' हरूमध्ये नै कुनै थिए कि ?

दर्शन भोलिको निम्ति आज गर भन्छ, मानिस डेढ अक्कल लगाइदिन्छ- भोलिको निम्ति गर्ने भएपछि आज किन गरिरहनु, भोलि नै गरे भैहाल्छ नि । अनि निस्कन्छ- आधुनिक भोलिवाद, जसका अनुयायी तपाई हामी सबै छौं ।

हाम्रो जीबा भन्नुहुन्थ्यो- उहिल्यै राजर्षि महाराजको पालामा कुन्नि कता हो आगो लाग्यो रे । लाग्नासाथ घरपेटीले थरीलाई पुकारेछ । थरी ससुरालीमा श्राद्ध खान निस्किसकेकोले थरिनीले भनिछन्- “भोलि उहाँ आउनेबित्तिकै म भनिदिउँला ।" भोलिपल्ट बिहान एक चिलिम तमाखु पनि राम्रो ननिखारीकन थरीजी पुलिसचौकीमा पुगेछन् । तर चौकीका हवलदार छुट्टी लिएर हिँडिसकेछन् । घरतिर सिपाहीले सोही बेहोरा बताई थरीलाई भोलि आउने आज्ञा दियो । भोलिपल्ट चौकीले खबर दियो र त्यसको भोलिपल्ट ठानामा खबर पुग्यो । ठानाले गोस्वारालाई गोस्वाराले हजुरियालाई खबर गर्दागर्दै श्री ३ महाराजकहाँ तीन महिना तीन दिनपछि तात्तातो बिन्ती चढ्यो कि फलाना ठाउँमा आगो लाग्यो । तेह्रओटी नानीहरूसँग जिस्किरहेका श्री ३ ज्यूले "लौ भोलि सम्झाउनू” भन्ने हुकुम दिए। भोलिपल्ट मुखारीको मौका पारी हजुरियाले डराईडराई बिन्ती बिसायो- "सरकार फलाना ठाउँमा आगोले सिद्ध्याएछ । काखीमा अत्तर छिट्न लगाउँदै श्री ३ बाट तात्तातो हुकुम बक्स्यो- “लौ भोलि नै निभाउन लगाइदिनू ।"

तेह्रओटी नानीहरूसँग जिस्किरहेका श्री ३ ज्यूले "लौ भोलि सम्झाउनू” भन्ने हुकुम दिए। भोलिपल्ट मुखारीको मौका पारी हजुरियाले डराईडराई बिन्ती बिसायो- "सरकार फलाना ठाउँमा आगोले सिद्ध्याएछ । काखीमा अत्तर छिट्न लगाउँदै श्री ३ बाट तात्तातो हुकुम बक्स्यो- “लौ भोलि नै निभाउन लगाइदिनू ।"

हिजोआजजस्तो टेलिफोनको व्यवस्था त्यतिखेर पनि भएको भए त्यस्तो हुँदैनथ्यो कि भन्नुहोला, तर मानिसलाई भोलिवादले छोएपछि टेलिफोनका बाबुको पनि केही लाग्दो रहेनछ। अस्ति मात्रको एउटा कुरा सुन्नोस्, मेरी एउटी नातेदार महिलाज्यूलाई प्रजा बढाउने व्यथाले अँठ्याएछ । तपाईंलाई थाहा होला नि अघिअघिका जस्ता हिंड्दाहिँड्दै ब्याउने दह्रा आइमाई कहाँ छन् र अचेल ! पाउने दुई महिनाअघिदेखि भुँडी छाम्दै डाँको छोड्दै कन्न थाल्छन् ! त्यसमाथि पनि यिनी त थिइन् पहिला बेते । त्यसैले, अस्पताल नपुयाई त कुरै थिएन । हत्त न पत्त छिमेकीको टेलिफोनमा गएर हलो हलो गरेको त कोहीबाट रिसिभरको तार मात्र तन्द्रङतुन्द्रुङ हल्लियो, कतैबाट कोही बोलेन ! फोनधनीले भने- "लाइन बिग्रेको तीन दिन भयो, भोलि भन्दाभन्दै बनिसकेको छैन, कृपया एक पटक पाल्नुहोस् न ।" लौ लौ भन्दै कुदें अस्पतालतिर ।

अस्पतालमा एउटी युवती नर्सले सबै बेलीविस्तार सुनिन् र मधुर मुस्कानसाथ भनिन्- "आज सिट पनि खाली छैन, सुपरिटेन्डेन्टसाहेब बाहिर जानुभा' छ, कृपया भोलि पाल्नुहोस् न, आम्बुलेन्स कारको ब्रेक पनि भोलि बनिसक्छ ।" हुन्न भनेर पो के गर्नु र भला भोलिको तारिख दिए पनि छिमेकीको टेलिफोन मात्रै बनेको भए पनि 'हलो हलो' भनेर कनिरहेको महिलाज्यूलाई कृपया भोलिसम्म पर्खनोस् है भन्दो हुँ तर त्यो पनि थिएन ! लुत्रे कान लगाएर दुई-तीन घण्टापछि उनकहाँ पुगें, तै बिचरीले अटोमेटिक मेथडबाटै काम सिद्धयाइछन् र मात्र, नत्र... ।

अब तपाईं नै भन्नोस्, भोलिवाद हटाउन फोनका बाबुको तागत चल्दो रहेछ त ! काम छिटो होस् भनेर दिनप्रतिदिन वैज्ञानिक चमत्कारहरू बढ्दै छन् । न्युयोर्कमा बोलेको कुरा न्युरोडमा सुनिने भयो, पेरिसमा हात चलाए काठमाडौंमा टेलिप्रिन्ट हुने भयो, तर भोलिबादमा कुनै प्रभाव परेको देखिदैन । राजर्षि महाराजका पालादेखि झन्डै आजसम्म मैले हाम्रो सिंहदरबारलाई 'भोलिदरबार' भन्ने नाम राखेको छु । किनभने त्यहाँका एक-एक तला, एक- एक कोठा, एक-एक कुना, एक-एक टेबुल, तपाई जहाँ जस्तो काम लिएर पुग्नुहोस्, भोलिको निम्तो नपाई छाड्नुहुन्न । जागिर माग्नेदेखि लिएर तारिख माग्नेसम्म सबै भोलि ! सिंहदरबारबाट होस् कि स्यालदरबार भोलिवादलाई शिरोधार्य नगर्ने अड्डाअदालत पाउनु प्याज नखाने बाहुन भेट्टाउनुजस्तै गाह्रो भइसक्यो अब ।

लुत्रे कान लगाएर दुई-तीन घण्टापछि उनकहाँ पुगें, तै बिचरीले अटोमेटिक मेथडबाटै काम सिद्धयाइछन् र मात्र, नत्र... ।

सरकारी क्षेत्रको मात्रै हो र, असरकारी क्षेत्रको पनि गति उही हो । भोलि दिउँला भनी पैंचो लगेको पैसाले ५०० भोलि भत्त्याइदिन्छ । पसलेहरू 'आज नगद भोलि उधारो' भनिरहून्, उधारो नदिई उनीहरूले सुखै पाउँदैनन् । ग्राहकलाई उधारो तिर्नेचाहिँ भोलि आउदैआउदैन । कुनै मालिकले नोकरलाई ५०/- रुपियाँ तलबका निम्ति ५० भोलि कुदाउँछन् । कुनै हितैषीले तीन मिनेटको कुरालाई तीन वर्षसम्म भोलिभोलि भनी गन्हाउने चोक कुराउँछन् । ऋण लिन जांदा साहू भन्छ- भोलि लेख लिन जाँदा लेखक भन्छ- भोलि, तारिख लिन जादा बहिदार भन्छ- भोलि तलव लिन जाँदा तहविलदार भन्छ- भोलि । लुगा सिइसकियो भन्दा सूचीकार भन्छ- भोलि, चोक बढारिदे न भन्दा कूचीकार भन्छ- भोलि हुँदाहुँदा लोग्नेस्वास्नीमा पनि भोलिवादी भाकाले एकअर्कालाई पखांउने बानी बसिसकेको छ अचेल । लोग्नेले टोपी धोइदेऊ न भन्यो भने स्वास्नी भोलि धोइदिउँला भन्दाभन्दै सात दिन बिताइदिन्छे । स्वास्नीले नून खाचै छ भनी भने भोलि ल्याइदिउला भन्दाभन्दै लोग्नेले पखांइदिन्छ छ सात दिन ।

वातावरण सबै भोलिवादी भएपछि मान्छेको मनोवृत्ति ससाना कुरामा पनि भोलिवादी नभई छाड्दो रहेनछ । इमानजमान नछाडीकन भनिदिऊँ भने भोलिभोलि भनेर मानिसले अरूलाई मात्र होइन, आफूलाई पनि झुलाइरहेको हुन्छ । अर्को शब्दमा भोलिको घोचो लिएर मान्छेले समाजलाई मात्र होइन, आफूलाई समेत निष्क्रियतातिर घचेटिरहेको हुन्छ । पढ्नु थियो- भोलि पढ्ला, जानु थियो भोलि जाउँला, गर्नु थियो भोलि गरुला भन्दाभन्दै कहिलेकाहीँ राति दिसा लाग्यो भने पनि निस्कनाको गाढोले भोलि गरौंला भनी सुतिदिन्छन् कैयौं ठिटाठिटीहरू । भोलिवादको अपवाद के छ भने खानलाई चाहिँ मान्छे सकेसम्म भोलिको भाका राख्तैन । भोलि दुःख परे 'रात रहे अग्राख पलाउँछ’ भन्दै भएभरको आजै बुत्याउन परे पनि ऊ तम्सन्छ । उदाहरणको निम्ति एउटा छोटो कुरा सुनाइहालूँ ।
एक पटक काठमाडौंको ठूलो होटलमा बफे डिनर थियो । त्यहां कहिल्यै कतै नहिँड्ने एक जना जरसाहेब पनि आएका रहेछन् । उनले खाएपिएको देख्ता म छक्कै परेँ, झन्डै आधा दर्जन पाहुनालाई पुग्ने भाग उनी एकै जनाले बुत्याइदिए । आखिरी पटक खसखस थाम्न नसकेर मैले सोधे “होइन, जरसाहेबलाई आराम नहोला नि ।" उनले सजिलैसित भने- "आराम नभए भोलि औषधि खाउँला ।" उनको यस भनाइबाट यही निष्कर्ष निस्कन्छ- मान्छे सबै कुरामा भोलिवादको अनुसरण गरे पनि खान भने भोलिलाई पर्खदैन, यो उसको ठूलो गुन हो ।

इमानजमान नछाडीकन भनिदिऊँ भने भोलिभोलि भनेर मानिसले अरूलाई मात्र होइन, आफूलाई पनि झुलाइरहेको हुन्छ । अर्को शब्दमा भोलिको घोचो लिएर मान्छेले समाजलाई मात्र होइन, आफूलाई समेत निष्क्रियतातिर घचेटिरहेको हुन्छ ।

यसवाहेक अरू सबै क्रियाकलापहरू हाम्रा भोलिवादी छन् । भोलिवाद हाम्रो संस्कृति हो, दर्शन हो, राजनीति हो, प्रशासन हो, सामाजिक व्यवहार हो । तैपनि मेरो थोत्रो मगज यही शङ्कामा सधै जेलिइरहन्छ । हरेक कामकुरोमा भोलि भन्दाभन्दै भानुभक्तले भनेकै पनि हामी सबैले झोली बोकेर 'बम् भोलानाथकी जय' भन्दै डांडैडांडा कदन त परोइन के बेर ! आज गरे हुने कामलाई भोलि पर्खेपछि त्यही हिसावले यसपालिका सारा काम आधौंलाई पन्छन के बेर यस दशकका काम अर्को दशकलाई थन्कन के बेर अनि बीसौं शताब्दीका सम्पूर्ण जिम्मेदारी र कर्तव्यहरू एक्काइसौ शताब्दीका लागि डिपोजिट रहन के बेर: यसो हुँदाहुदै कता पृथ्वी भोलि घुमौँला भनेर आराम नगरिदेओस्, हावाले भोलि इलौंला भनेर विश्राम नगरिदेओस्, जय भोलि ।