अनगिन्ती बाटाहरु

चीनिया नीतिकथा

एक दिन प्रसिद्ध चिनियाँ सन्त याङचीको छिमेकीका खोरबाट एउटा भेडा हरायो । भेडा खोज्न त्यस छिमेकीले चारैतिर मानिस पठायो । उसले याङचीको नोकरसँग पनि भन्यो, “भाइ, तिमी पनि मेरो भेडा खोज्न गइदेऊ न !”

याङचीले छक्क पर्दै सोधे, “एउटा भेडा खोज्न यति धेरै मानिसहरु खटाउनु पर्छ र ?” छिमेकीले भन्यो, “पर्छ नि, किन पर्दैन ? जङ्गलमा बाटाहरु धेरै छन् मेरो भेडा कुनै पनि बाटोबाट गएको हुन सक्छ । अनि ? ”

भेडाको खोजीमा चारैतिर दौडधूप गर्दा पनि भेडा नभेटिएपछि मानिसहरु सबै त्यहीं फर्केर आए । “भेडा भेटियो त ?” याङचीले फेरि सोधे । “अहँ, भेटिएन !” खोज्न जानेहरुले थकाइको सास फेर्दै जवाफ दिए ।

“तिमीहरु यति धेरै छौ । हराएको भेडा एउटा हो । तै पनि खोजन सकेनौ ?” याङचीले भने ।

“जंगलमा बाटाहरु धेरै छन् । एउटा बाटो समातेर हिँड्यो । अलिपर गएपछि त्यसका पनि हाँगा फाट्छन् । दोबाटो चौबाटो आउँछ । फेरि अर्को बाटो आउँछ । कुन बाटो जाने ? त्यसरी गइरहने हो भने पछि आफू गएको बाटो पहिल्याउन  पनि गाह्रो हुन्छ । त्यसै भएर हामी फर्क्यौं !” तिनीहरुले आफ्नो कुरा राखे ।

त्यसपछि याङची गम्भीर भए । चूपचाप घोत्लिए । दिनभरिमा एकपटक मुसुक्क पनि हाँसेनन् । यो देखेर शिष्यहरुलाई बडो अचम्म लाग्यो ।

“गुरुजी, भेडा एउटा मामुली चिज हो । त्यो पनि तपाईंको भेडा होइन । तपाईं किन यति सारो गम्भीर हुनु भएको ? किन हाँस्न बोल्नै छोड्नु भएको ?”

शिष्यहरुको प्रश्न सुनेर याङचीले जवाफ दिए– “कुरा त्यसो होइन । भेडा हराएको र नभेटिएको घटनाबाट मेरो ध्यान पढाइको क्षेत्रतिर पुगेको छ । यदि कुनै विद्यार्थी छरियो, दशतिर मन डुलायो र एउटा विषयमा केन्द्रित भएर अध्ययन गर्न सकेन भने त्यसले ज्ञान भेट्ने कुरा पनि यही यो हराएको भेडा नभेटिनुजस्तै हुन्छ । हैन त ?”

याङचीको उत्तर सुनिसकेपछि अब गम्भीर हुने पालो विद्यार्थीको थियो ।

प्रस्तुति: शारदारमण नेपाल