जवाफ (​​​​​​​रुसी नीतिकथा )

एकपल्ट एउटा सानो चल्ला ठूलो भालेकहाँ गयो।

‘सारसको लामो चुच्चो र ठूला लामा खुट्टाहरू छन्। मेरा चुच्चो र खुट्टाहरू किन छोटा भएका?’

‘जा, भाग!’

‘खरायोका लामो कान छन्, तर मेरा कान साना छन्। किन?’

‘मलाई कचकच नगर, जा!’

‘विरालोको बच्चाको राम्रो भुवा छ, तर मेरो मात्र डरलाग्दो पहेंलो भुवा किन भएको?’

‘जा, जा!’

‘छाउरोले आफ्नो पुच्छर हल्लाउन सक्छ, तर म पुच्छर हल्लाउन सक्दिनँ। किन यसो भएको?’

‘चुप लाग!’

‘पाठाको सिङ छन्, तर मेरो सिङ किन नभएको?’

‘चुप लाग! मलाई शान्ति दे!’ भाले साँच्चिकै रिसायो।

‘तपाईं ‘जा’ भन्नुहुन्छ। अरू सबै ठूलाबडाहरूले सोधिएको प्रश्नको जवाफ दिन्छन्, तर तपाईं किन दिनुहुन्न?’

‘किनभने तँ प्रश्न सोध्दैनस्, सबैको इर्ष्या मात्र गर्छस्,’ भालेले गम्भीरतापूर्वक जवाफ दियो।

र, त्यो निरपेक्ष सत्य थियो।

अनुवाद: संजीवदास श्रेष्ठ