पछिल्ला तीन घटनाले देखाएको सोझो बाटो
के नेपाल चाहिँ मृतहरूको सहर हो ? बङ्गलादेशमा भएको राजनीतिक विद्रोह र सत्ता पलटपछि नेपालमा अग्रगामी सोच भएकाहरू बीच अत्याधिक सोधिएको प्रश्न हो, यो। भलै आन्दोलनपछिका परिदृश्यहरूमा बङ्गलादेश अब कुन बाटोबाट अगाडी बढ्ला भन्ने अन्यौलता धेरै बढेको छ। त्यो विद्रोहले एउटा लहर सिर्जना गर्न सक्थ्यो, दक्षिण एसियामा, तर त्यो हुन सकेन भन्ने चिन्ता पनि सचेत नागरिकहरू बीच उत्तिकै देखिन्छ।
यो पृष्ठभूमिमा हालै नेपालमा देखिएका तीन वटा घटना र ती घटनाहरूको प्रवृत्ति बारे यहाँ सानो टिप्पणी गर्न खोजिएको छ। पहिलो घटना हो, नेपालमा व्यापक रूपमा मानिसहरूमा भ्रष्टाचारविरोधी सचेतना रहिरहेको अवस्थामा समेत भ्रष्टाचारजन्य कसुरमा हदम्यादको व्यवस्थामा ‘चोर बाटाहरु खोलेर’ उन्मुक्ति दिन सकिने कानुनी प्रावधान विकास गर्ने प्रयास विरुद्ध नागरिकको खबरदारी। दोस्रो, गाईजात्राको अवसरमा भक्तपुरमा निकालिएको जात्रामा प्रमुख तीन दलका शीर्ष नेताहरूलाई भ्रष्टाचारी भन्दै हातमा सिक्रीले बाँधेर सहर परिक्रमा गराई रहेको झाँकीको प्रदर्शन। र, तेस्रो हो, गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा शेरबहादुर देउवा र केपी ओली विरुद्ध लागेको ‘देश छोड’को नाराबाजी।
उल्लेखित तीन वटा घटनाहरूको शृङ्खला र त्यसले कोरेको रेखा माथि मन्थन गर्ने हो भने अहिले आम मानिसमा भित्रभित्रै जम्मा भइरहेको उकुसमुकुस र गुम्फनको एउटा सपाट चित्र देख्न सकिन्छ। मुलुक आर्थिक उन्नतिको बाटोमा हिँड्न नसक्नु र दशकौँदेखि उस्तै अभाव र दुष्चक्र मा फसिरहनेको प्रमुख कारण यहाँ व्याप्त भ्रष्टाचार भन्ने आम नेपालीको ठम्याइ छ। भ्रष्टाचारीको रक्षा र दण्डहीनताले भ्रष्टाचार एउटा संस्कृतिकै रुपमा मौलाएको नेपाली परिपेक्षमा सत्य हो। कहिलेकाहीँ हुने गरेका भ्रष्टाचार विरोधी निर्णय र न्याय सम्पादनका विषयहरू समेत अनेकौँ आग्रह, पूर्वाग्रह वा नियोजित घटनाका रूपमा मात्रै देखापर्ने गरेका छन्। उस्तै प्रकृतिका मुद्दामा एउटालाई सफाइ दिएका र अर्कोलाई दोषी ठहर गरेका सयौँ उदाहरणहरू भेट्न सकिन्छन्। त्यति मात्र होइन, भ्रष्टाचारीलाई भ्रष्टाचारको प्रमाणसहित र घुसखोरीहरूलाई घुस लिंदालिंदैको अवस्थामा रकमसहित पक्राउ गर्ने ‘स्ट्रिङ अपरेसन’लाई अदालतद्वारा नै अमान्य घोषित गरिएको विषय अझै पनि आम नेपालीबिच संशयको घेरामा छ। आखिर किन घुस लिँदा लिँदै पक्राउ गरिएका व्यक्तिहरू निर्दोष ठहर गर्ने खालका निर्णय हाम्रा अदालतले गर्छन् ? यो प्रश्नको सिधा जवाफमा हाम्रा न्यायालयहरू आफै भ्रष्टाचार र घुसखोरीमा चुर्लुम्म डुबेका छन् भनेर ठान्ने जमात बढ्दो छ । फेरि यो कुनै आरोप होइन। न्यायालय भित्रै बढे हुर्केका वरिष्ठ वकिलहरूले नै पनि सार्वजनिक रुपमा बोलेको तथ्य सत्य हो।
यसरी अनेकौँ घटनाक्रम प्रमाण र नाङ्गो आँखाले देखिने भ्रष्टाचारीहरूको जगजगीका बीच हालै सरकारले एउटा प्रयत्न अघि बढाएको छ। त्यो हो, भ्रष्टाचार गर्ने विरुद्ध मुद्दा चल्ने हद म्याद। कसैले भ्रष्टाचारजन्य कसुर गरेको भए र सो घटना भएको पाँच वर्षसम्म पनि कसैले उजुरबाजुर नगरेमा त्यसमाथि थप कारबाही नहुने या कहीँ कतै अदालतमा उजुरी गर्न नपाइने प्रावधान कानुनमै ल्याउन खोज्नुको अन्तर्य के हुनसक्छ? अनि साविकको भ्रष्टाचार निवारण ऐन, २०५९ मा रहेको राष्ट्रिय सतर्कता केन्द्रले ‘३८ (क) नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय र सार्वजनिक संस्थाबाट सम्पादन हुनु पने कार्यहरु नियमित रुपमा भए नभएको विषयमा सूचना सङ्कलन गर्ने र ३८ (ख) नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थाबाट नियमित रुपमा हुनुपर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो विषयमा सतर्क गर्ने’ भनी कायम व्यवस्थालाई प्रस्तावित संशोधन ऐनमा ‘‘नेपाल सरकारका मन्त्रालय, विभाग र कार्यालय’ हटाइएको छ । यसरी ‘नेपाल सरकारका मन्त्रालय, विभाग र कार्यालय’लाई सतर्कता केन्द्रको निगरानी र खबरदारीबाट उन्मुक्ति दिन खोज्नुको अन्तर्य के हुन सक्छ ? जवाफ प्रस्ट छ, नेपालमा भ्रष्टाचारलाई संस्थागत गर्ने र कानुनी रुपमा नै भ्रष्टाचारीलाई उन्मुक्ति दिने सिधा प्रयत्न हो, यी चलखलेहरु । त्यसका विरुद्ध खबरदारी गर्दै सडकमा पुगेका नागरिकहरू विरुद्ध अहिले प्रशासन निर्मम दमनमा उत्रिएको छ। जसले गर्दा विद्रोह अपरिहार्य बन्दैछ । आम आक्रोश बढेको छ । नागरिकहरू भ्रष्टाचारीहरूलाई यो मुलुकबाटै लखेट्नुपर्छ भन्ने निष्कर्षमा पुग्न थालेका छन्।
अहिले आम नागरिकहरूको अर्को एउटा इच्छा छ। त्यो हो, भ्रष्टाचारीहरूलाई सिक्रीले बाँधेर सहरका चोक गल्ली र सडकमा घिसारिएको हेर्ने रहर। त्यो रहर गाईजात्राको अवसरमा निकालिएको झाँकीमार्फत भक्तपुरका स्थानीयहरूले ‘पूरा गरेका’ छन्। कुनै सिनेमाको ट्रेलर झैँ त्यसले सही र यथार्थतामा भ्रष्टाचारीहरूलाई त्यसैगरी सडकमा साङ्ली बाँधेर डोर्याइएको हेर्ने प्रबल इच्छा आम नेपालीहरूमा बढाएको छ। यहाँ दोहोराइराख्नु आवश्यक छैन कि नेपालमा भएका तमाम भ्रष्टाचार र अनियमितताको मूलजरो हाम्रा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसम्म पुगेको छ। भ्रष्टाचारीका खास नाइकेहरू तिनै राजनीतिक दलका उपल्लो तहका नेताहरू नै हुन् भन्ने बुझाई आम नेपालीहरूबिच रहेको छ। त्यसैले अहिलेसम्म विभिन्न पद, ओहदा र जिम्मेवारीमा रहेर यो मुलुकलाई खोक्रो पार्ने र नेपाल र नेपालीको भविष्यलाई अन्धकारमा धकेल्ने यी कुपात्रहरूलाई साङ्लीले बाँधेर सडकमा घिसार्ने त्यो रहर अब पूरा गर्ने बाटोमा नेपालीहरू लागेको लक्षणको रुपमा पछिल्लो गाईजात्रै झाँकीलाई बुझ्नु पर्ने हुन्छ।
तेस्रो घटना हो टुँडिखेलमा आइतबार देखिएको, जन आक्रोश। उल्लास र हर्षको वातावरण (फेस्टिभ मुड) का बीच किन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्तारूढ सर्वाधिक ठूलो राजनीतिक दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध ‘देश छोड’को नारा लाग्यो? यसको जवाफका लागि धेरै घोत्लिनु आवश्यक नै छैन। अब साँच्चै नेपालीहरूले भनेका हुन्, ‘अब पुग्यो, इनफ इज इनफ’। मुलुकको कार्यकारी प्रमुखका रूपमा केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका व्यक्तिहरूलाई अझै पनि सहने, स्विकार्ने, हेरिराख्ने र मानिराख्ने अवस्थामा अब नेपाली युवा छैनन्। एउटा सिङ्गै पुस्तालाई दुर्दशामा पुर्याएका यी पात्रहरूलाई अझै पनि नेपाली जनताको भाग्यमाथि गिर खेलिराख्न दिनु हुँदैन, भन्ने युवाहरूको निष्कर्ष हो। त्यसैले उनीहरूले भने ‘......... चोर देश छोड’।
टुँडिखेलकामा युवाहरूले गरेको आह्वान बङ्गलादेशको हालैको घटनासँग मेल खान्छ। त्यसैले अब नेपाली समाजलाई मृतहरूको समाज भन्न मिल्दैन। हुनपनि हाम्रो सामाजिक/राजनीतिका चेतना मरिसकेको छैन । हाम्रो सचेत समाज अब सचेततापूर्वक विद्रोह बोल्न सक्ने अवस्थामा छ। र, त्यस्तो विद्रोह बोल्न थालिसकेको छ। जसरी बङ्गलादेश छाडेर शेख हसिना हिँड्नुपर्यो त्यसैगरी नेपाल छाडेर यी शीर्ष भनिएका नेताहरू पनि भाग्ने अवस्था बनाउनुपर्छ भन्ने युवाहरूको निष्कर्षमा कुनै दोष छैन। त्यो माग जायज छ । जायज यस अर्थमा छ कि जबसम्म यिनीहरू नेपाली भूमिमा रहन्छन् यिनीहरूले यो वा त्यो वातावरण निर्माण गरेर आफ्नो सत्तालाई अकण्टक रुपमा चलाइराख्नेछन्।
यी राजनीतिक दलका नेता भनिएका पात्रहरू कुन हदसम्मका अराजनीतिक हुन् भन्ने विषय त अहिले भएको नेकपा एमाले र नेपाली काँग्रेस बिचको गठबन्धनले नै पुष्टि गरिसकेको छ। संसदीय राजनीतिमा मुलुकका प्रमुख प्रतिस्पर्धी दुई ठूला दलबिच संयुक्त सरकार बनाउने गरी गठबन्धनको सम्भावना बिरलै हुन्छ। तर, त्यस्तो गठबन्धन हाम्रोमा सहजै निर्माण भएको छ। यो किन र कसरी सम्भव भयो ? दुई ठूला दलहरूले आफ्नो विकल्पको खोजी नहोस् भन्ने उद्देश्यले सम्भावित विद्रोह र नयाँ शक्तिको उदयलाई नियोजन गर्ने उद्देश्यले यस्तो अप्राकृतिक गठबन्धन गरेको हुन्। त्यही अनुरूप निर्वाचन कानुन संशोधन गर्ने तयारी भइरहेको छ। संविधानलाई त्यसै अनुसार संशोधन गर्ने र अकण्टक आफ्नो राज सुनिश्चित गर्ने ध्यानमा उनीहरू लागि परेका छन्।
यी सबै अँध्यारा कुराहरूको बीच एउटा चाँदीको घेरा देखा परिसकेको छ। भक्तपुरको गाईजात्रा र टुँडिखेलमा देखिएको युवाहरूको आक्रोश यसका ज्वलन्त र आशावादी किरणहरू हुन् । नेपाललाई न्याय, समानता र साँचो अर्थको लोकतान्त्रिक मुलुकमा परिणत गर्न र यो मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउन अब एउटा अन्तिम विद्रोहको जरुरी छ। त्यो कसले कसरी उद्घोष गर्ने र त्यसलाई कसरी योजनाबद्ध र विवेकशील ढङ्गले नेतृत्व गर्ने भन्ने कुराको निर्धारण हुन मात्र बाँकी छ। आशा गरौँ, आम नेपालीको विशेषगरी युवाहरूको मनोकाङ्क्षालाई सही नेतृत्व प्रदान गर्ने एउटा नयाँ समुह अब चाँडै सतहमा देखा पर्नेछ।
प्रतिक्रिया