बुढा किसानको करामत

मरिससको लोककथा

वर्षौंअगाडिको कुरा हो । एकादेशमा एउटा गाउँ थियो । त्यहाँ एकजना बुढा किसान पनि बस्थ्यो । उसले दूध खान एउटा गाई किनेको थियो । एक दिन साँझ गाई बिरामी पर्‍यो । बुढाले औषधिमूलो गर्‍यो । औषधि लागेन । गाई मर्‍यो । बुढा किसानलाई पर्नु पिर पर्‍यो । मनमनै विचार गर्‍यो, गाईको छाला बेचेर भएपनि अलिकति पैसा त उपर गर्नैपर्‍यो । किसानले मरेको गाईको छाला काढ्यो र सुकायो ।

सुकेर तयार भएपछि छाला पट्याएर गुण्टा पार्‍यो । गुण्टा काँधमा राखेर शहरतिर लाग्यो । शहरमा दिनभरि घुमायो, बिकेन । अर्को शहरमा पुगेर घुमायो, बिकेन । चारै शहर घुमाउँदा पनि नबिकेपछि किसान निराश भयो । भैगो अब फर्कन्छु भन्दै गुण्टा बोकेर घरको बाटो लाग्यो ।

बाटो जंगलबाट पर्थ्यो । हिँड्दाहिँड्दै थकाइलाग्यो । हेर्दा एउटा अजङको रुख देखियो । फेदमा सुन्दर चौर थियो । बुढा किसान त्यहीं चउरमा थचक्क बस्यो । १० मिनटजति भएको हुँदो हो । थुप्रैथुप्रै घोडाका टापको आवाज सुनियो । यी चोर–डाँकाहरु नै हुनुपर्छ ! बित्यास पर्‍यो । अब के गर्ने ? बुढा किसान डरायो । अरु उपाय देखेन । त्यसै रुखमा चढ्यो । टुप्पामा पुग्यो र झ्याम्म स्याउलाले छेलिएर बस्यो ।

केही क्षणपछि एक हुल चोरहरु त्यहाँ आए । चउरमा घेरा बनाएर उभिए र पोको च्याप्दै घोडाबाट ओर्लिए । एक एक पोका फुकाएर चउरमा खन्याए । त्यहाँ सुन–चाँदीका सिक्का र हिरामोतीको थुप्रो लाग्यो । यत्तिकैमा चोरको नाइके अघिसर्‍यो र भागबण्डा लाउनथाल्यो । रुखका हाँगाबाट बुढा किसान यो सबै हेरिरहेको थियो । उसले यसअघि यत्रो सम्पत्तिको थुप्रो कहिल्यै देखेको थिएन । हेर्दाहेर्दै मन चञ्चल भयो र हात काँप्न थाल्यो । काँप्दाकाँप्दै त्यो छालाको गुन्टा हातबाट खुस्क्यो । बिचित्रको आवाजसित हाँगाहरुमा ठोक्किँदै तल झर्नथाल्यो । ‘लौ आयो ! आयो ! आयो !’ चोरहरु एकै आवाजमा झस्केर जर्‍याक–जुरुक्क उठेर बर्‍याक–बुत्रुक घोडा चढ्यो र चारैतिर भागे ।

चारैतिर चकमन्द भएपछि बुढो किसान रुखबाट ओर्लियो । सुन–चाँदीका सिक्का र हिरामोती उठाएर बोरामा राख्यो । बोरोको मुख बाँध्यो । काँधमा राखेर घरतिर लाग्यो ।

त्यस दिनबाट बुढा किसान अचानक करोडपति भयो । कसरी करोडपति भयो कसैले पत्तो पाएन । एकपटक किसान बुढो एउटा महँगो बग्गी चढेर शहरतिर लाग्यो । उसको यो च्याण्टे घोडा, चिटिक्क बग्गी र आनन्दमय यात्रा देखेर बटुवाहरु टक्क अडिन्थे र हेर्थे ।

शहर पुगेर हेर्दै घुम्दै किसान एउटा तरकारी बजारमा पुग्यो । त्यस भेगमा राजाका गुप्तचरहरु र सिपाहीहरु पनि घुमिरहेका थिए । राजा सवारीमा निस्केजस्तै रवाफ थियो उसको । उसले एउटा पसलबाट पाँच रुपियाँको तरकारी किन्यो र पचास रुपियाँको सिक्का दियो । पसलेले बाँकी रुपियाँ फिर्ता दिन लाग्दा भन्यो, “भैगो तपाईं नै राख्नुस् ।”

यो देखेर राजाका गुप्तचर र सिपाहीहरु छक्क परे र राजाकहाँ यो कुरा पुर्‍याए । पाँच रुपियाँको किनेर ४५ रुपियाँ छोड्नसक्ने कति पैसावाला होला त्यो ? राजाले भन्यो– ल त्यसलाई तुरुन्त पक्रेर मकहाँ लिएर आओ ।

सिपाहीहरुले किसान बुढालाई समातेर राजाका अगाडि उभ्याए । राजाले सोध्यो, ए ! बुढा, तैले जथाभावी बाँड्नपुग्ने यत्रो सम्पत्ति कहाँबाट जम्मा गरिस् भन् त !

“हजूर महाराज !”

किसानले भन्यो, “मेरो घरमा एउटा बुढो गाई थियो । मर्‍यो । छाला काढें । सुकाएँ । बजारमा लगेर बेचें । यसैबाट मेरो भाग्य चम्क्यो ।”

“हँ ?” राजाले सोध्यो, “गाईको छाला त्यस्तो ?! ल ठीक छ । मलाई संसारको सबैभन्दा धनी राजा हुन मन छ । अरु उपाय गरें । यो उपाय पनि गर्छु ।”

यसरी मनमनै अठोट गरेपछि उसले आफ्ना व्यापारीहरु बोलायो र गोठका गाईहरुको छाला काढेर सुकाउन र बजारमा लगेर बेच्न हुकुम दियो ।

हुकुमबमोजिम हतार–हतार गाईका छाल काढिए र राम्ररी सुक्न नपाउँदै बैलागाडामा लादेर बजारमा पुर्‍याइयो । यताउता जताततै घुमाइयो । कसैले छाला किनेन । अर्को शहर, फेरि अर्को शहर क्रमशः सात शहर घुमाउँदा पनि छाला बिकेन । महिनौं बित्यो । छाला बिकेन । अधकल्चो सुकेको छाला कुहिएर डुङ्डुङती गनाउनथाल्यो । केही नलागेपछि राजाका व्यापारीहरुले छाला लगेर गंगामा बगाइदिए र थर्कमान हुँदै आफू दरवार फर्के ।

छालाको व्यापारमा भयानक घाटा लाग्यो । राजा, बुढा किसानसित रिसले आगो भयो । ‘अब छाड्दिनँ ।’ सिपाहीहरु लिएर राजा आफैं किसान बुढाको गाउँतिर लाग्यो । किसान बुढालाई पक्रन राजा आफैं आउँदैछ भन्ने हल्ला राजाभन्दा अघिअघि उडेर किसानको कानमा पुग्यो । किसान पहिले त डरायो पछि आँट बटुल्यो र एउटा नयाँ उपाय थाल्यो । घरमा श्रीमती, छोरा, बुहारी सबैलाई तुरुन्त ४/५ पाथी स्वादिलो सुप तयार गर्न लगायो र माटोको एउटा विशाल खड्कुलो बीच सडकमा बसालेर त्यसमा उम्लँदा–उम्लँदैको सुप खन्यायो र दाविलाले घोट्न थाल्यो । राजा आइपुग्दा किसान बुढो बाटैमा सुप घोटिरहेको थियो ।

“यहाँ, यो के गर्‍या हो भन त ?” राजाले सोध्यो ।

“म यहाँ सुप पकाउँदैछु महाराजा !” बुढो किसानले भन्यो ।

“यही हो त तरिका सुप पकाउने ?” राजा कड्क्यो ।

“हो महाराज ! यो सजिलो तारिका हो । दाउरा काट्ने–सुकाउने आगो बाल्ने क्यै झन्झट गर्नै नपर्ने । सडकमा राखेर दाविलाले मज्जासित घोटेपछि सुप पाक्छ, यसरी पकाएको सुप बास्नादार र स्वादिलो पनि हुन्छ । सुँघी हेर्नुस् न ! इच्छा लाग्छ भने चाखेर पनि हेर्नुस् ।”

राजा एक कदम अघिबढ्यो, सुँघी हेर्‍यो । “बास्नै कति स्वादिलो क्या गजब ! यस्तो सिपवाला बुढालाई किन पक्रने ? यसरी बिनाआगो यति मिठो सुप पकाउन अरु कसले सक्छ ? राजाले मनमनै सोच्यो । भैगो पक्रन्नँ ।”

राजा सिपाहीहरु लिएर चुपचाप त्यहाँबाट फर्कियो।

दरवार फर्केपछि उसलाई पनि त्यस्तै सुप बनाउन र खान मनलाग्यो । दरवारका कुकहरुलाई बोलाएर अर्डर दियो, “ल सडकबीचमा माटाको खड्कुलो बसालेर आगो नलाइकन दाविलाले घोटी–घोटी स्वादिलो सुप तयार गर त !”

“आगो नलाई कसरी पाक्छ र महाराज ?” एउटा बुढो कुकले भन्यो ।

“पाक्छ मैले देखिसकें पाक्छ । छिटो पकाओ । एक घण्टापछि म आउँदा पाकेर तयार हुनुपर्छ । बुझ्यौं !” राजाले भन्यो ।

दरवारिया बिचरा कुकहरु राजाको हुकुमबमोजिम सुप पकाउन थाले । जति घोटे पनि सुप तातो भएन । घण्टा बित्यो । भएन ।

राजा आयो । हेरे र करायो । “अझ बल गरेर घोट न । घोट ! सिल्ली हो, घोट !!!”

कुकहरुले भएभरको बल लगाएर घोटे । घोट्दा–घोट्दै खड्कुलो फुटेर टुक्रा–टुक्रा भयो । सुप छताछुल्ल पोखियो ।

राजा फेरि मुर्मुरियो । यसपटक किसान बुढालाई समात्न आफू जाने विचार गरेन । सोच्यो, “यसपटक त त्यसलाई जिउँदै छोड्दिँन । कहाँ जाला त्यो !” ल ! त्यो किसान बुढालाई समातेर मेरो अगाडि दाखिला गर ! भाग्ला नि ! हिंडाएर पनि हैन बोकेरै ल्याऊनू ।” राजाले चारजना जखमले सिपाही खटायो ।

रात साँझ गर्दै सिपाहीहरु गाउँमा पुगे । बिहान ओछ्यानमै किसान बुढालाई समाते । एउटा बोरामा हालेर बोराको मुख बन्द गरे । पालैपालो बोक्दै राजधानीतिर लगे ।

बुढो मोटै थियो । बोक्न हलुको थिएन । एकछिन बोकेपछि त्यो सिपाही थाक्थ्यो र अर्कोले बोक्थ्यो । यसरी बोक्दै जाँदा सिपाहीहरु थकाइले लेट्नु भए । एउटा सानो जंगल भेटियो । जंगल सकिएर गाउँ नभेटिँदै त्यहाँ बाटैमुनि धाराअगाडि एउटा भट्टी थियो ।

सिपाहीमध्येको बुढो सिपाहीले भन्यो, “जाऔं, अलिकति खानपीन गरौं । यसरी रित्तोपेटले यस्तो भारी मान्छे बोक्दा त मरिन्छ ।”

बाँकी सिपाहीले पनि जाउँजाउँ भने । बुढो बाँधेको बोरा त्यही बाटोको कुनामा बिसाए र सिपाहीहरु भट्टीमा ओर्ले । सिपाहीहरु देखेपछि भट्टी पसले डरायो । सिपाही बुढाले भन्यो, “हामी खाना खान आएको ।” पसलेले भन्यो, “हुन्छ, हजुरहरुकै हो, खानूस् ।”

सिपाहीहरु सित्तै पाएको स्वादिलो परिकार र पेयहरु जमेर खान–पिउँनतिर लागे ।

बोराभित्र बुढो उकुसमुकुसमा थियो । के गर्ने होला ? सोच्दै थियो । संजोगबस भेडाको बथान अघि लगाएर एउटा गोठालो ठिटो त्यही बाटो आयो । आवाजबाट बुढाले थाहा पायो । बुढो बोराभित्रबाट धुक्क–धुक्क गर्दै बिलाप गर्नथाल्यो ।

हे भगवान ! म बुढालाई त्यस्ती राम्री भर्खरकी राजकुमारीसित विहा गराएर तिमीले के पाउँछौं यी मूर्ख सिपाहीहरुले त हुकुम बजाउने हो । जाँदाजाँदै जो भेटिन्छ भन्ने आदेश थियो मलाई भेटे । नाईंनाईं भन्दाभन्दै पनि मलाई यसरी दरवार लाँदैछन् । मलाई राजकुमारीसँग विहा गर्न मनै छैन । मेरो ठाउँमा एउटा राम्रो ठिटो भइदिएको भए उसले राजकुमारीसित विहा गरेर रमाइलो जीवन जिउँन पाउँथ्यो । म बुढाले के गरुँ ?

गोठाले ठिटाले सबै कुरा सुन्यो । राजकुमारीसित विहा ! ऊ कल्पनामा डुब्नपुग्यो । बुढाका ठाउँमा आफू जाऊँजाऊँ लाग्यो र बोराको नजिकै मुख लगेर भन्यो, “बुढाबा कुरा साँचो हो र तपाईं त्यस्तै चाहेको हो भने म मद्दत गर्छु नि त ! कहाँ छन् ती सिपाहीहरु ?”

सिपाहीहरु तल भट्टीमा खानपिन गर्दैछन् । मद्दत गर्नु नै हो भने छिटो गर्नोस् । तिनीहरुले थाहा पाए भने दिँदैनन् । मूर्ख न हुन् । ल छिटो यो बोराको मुख खोल्नूस् म निस्कन्छु, तपाईं पस्नुस् ।”

गोठालाले बोराको मुख बाँधेको डोरी फुकायो । बुढो निस्क्यो । गोठालो बोरामा पस्यो । मुख बाँधिदिएर बुढो ३०० वटा भेडाको बथान धपाउँदै बाटो लाग्यो ।

राजकुमारीसित विहा गरेर दरवारमा सुखसयल गर्ने कल्पनामा गोठालो ठिटो बोराभित्र बसेर उडिरहेको थियो । खानपिन सकेर सिपाहीहरु आए । पालैपालो बोक्ने काम शुरु भयो । अघिभन्दा गह्रौं छ नि बुढो मोटाएछ क्यार ! पहिले बोक्नेले ठट्टामा कुरा शुरु गर्‍यो । हामीलाई खानपानले ताकत थपेर हो कि अर्को सिपाहीले ठट्टा थप्यो । ठट्टा गर्दै पालैपालो बोक्दै साँझतिर सिपाहीहरु दरवारमा दाखिला भए ।

बोरा देख्नेबित्तिकै राजाले हुकुम दियो “गहुँगो ढुंगा बोकेर यसलाई पोखरीमा जाकिदेऊ ।” यसरी राजकुमारीसित विहा गर्ने कल्पनामा उड्दै त्यहाँ पुगेको गोठालो ठिटो पोखरीको पानीको गहिराइमा डुब्न पुग्यो । रहस्य कसैलाई थाहा भएन ।

घटनाको दुई दिनपछि किसान बुढो ३०० भेडा हाँक्दै बजारतिर लागेको देखियो । दुगुर्दै गएर सिपाहीले जाहेर गर्‍यो– “महाराज, अस्ति पोखरीमा डुवाएको बुढो त ३०० भेडा हाँकेर बजारतिर जाँदैछ त ! मैले देखेको ।”

“हँ, समातेर ले ! ” राजाले हुकुम दियो ।

सिपाहीले भेडासितै किसानलाई दरवार लिएर आयो ।

“धन्यधन्य महाराज !” बडो खुसी जनाउँदै किसान बुढाले भन्यो,” यो हजुरकै कृपा हो । मैले यो भेडा पोखरीभित्र पाएको हुँ । यी सबै बेचेपछि पोखरीमा फेरि आफैं डुब्न जान्छु । अर्को ३०० को बथान ल्याउँछु ।”

“हँ ! किसान बुढाको कुरा सुनेर राजा छक्क पर्‍यो । धन कमाउनकै लागि जिन्दगीमा के गरियो के गरिएन । धन त यही पोखरीभित्र रहेछ त । राजा यसरी सोच्दै थियो भेडा धपाउँदै किसान बुढो बाटो लाग्यो । राजाले सोच्यो, पोखरीमा डुब्दा यत्रा भेडा पाइन्छन् भने म किन नडुब्ने ? दश पटकजति डुबें भने त तीन हजार भेडा हुन्छ ।

राजाको मन चौ चौ भएर आयो । तुरुन्त सिपाहीहरुलाई बोलाएर हुकुम दियो, ल यहीं अहिल्यै तुरुन्तै मलाई एउटा बोरामा बन्द गर र ठूल्ठूला ढुंगा बाँधेर त्यो पोखरीमा हालिदेऊ ! अब म त्यस बुढालाई अरु भेडा जम्मा गर्ने मौका दिन्नँ !”

हाकिम सिपाहीहरु हिचकिचाए ! राजा झोक्कियो । उसले कडा आवाजमा भन्यो, “मेरो हुकुम नमान्ने हो भने म तिमीहरुलाई यहीं काटिदिन्छु ।

अब हाकिमहरुको सातो गयो । तिनीहरुले हतार–हतार राजालाई बोरामा बन्द गरे र गहुँगो ढुंगामा बाँधेर बीच पोखरीमा खसालिदिए ।

भेडा लिन पोखरीमा डुबेको राजा साँझसम्म पनि दरवार फर्केन ।

साँझतिर बरु त्यही बुढो यो पोखरीमा किनारमा बाँसुरी बजाएर नाचिरहेको देखियो । 

अनु. अस्मिता नेपाल