मुकाम रणमैदानः नेपाल-अंग्रेज युद्धको बखानको समीक्षा

परिचय

"मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखान" पुस्तक नेपाल र अंग्रेजबीच दुई सय दश वर्ष अघि भएको लडाइँको रणमैदानको ऐतिहासिक घटनाक्रम र तिनको सामाजिक, सांस्कृतिक, तथा राजनीतिक प्रभाव चित्रण गरी लेखिएको पुस्तक हो। सिद्धहस्त पत्रकारका रुपमा अनुभव प्राप्त मोहन मैनालीद्वारा लिखित यस पुस्तकमा नेपाल अंग्रेज युद्धमा नेपालीले गरेको संघर्ष, वीरता, र उत्सर्गलाई लेखकले रोचक ढंगले प्रस्तुत गरेका छन्। ऐतिहासिक तथ्य र विवरणलाई कथात्मक शैलीमा बुनेर लेखिएको यस पुस्तकले पाठकलाई तात्कालिक समयको परिप्रेक्ष्यमा पुर्याउँछ। नेपालीहरुले विकट पहाडी भौगोलिक अवस्थितिलाई सुरक्षाको रणनीतिक आधार किल्लाका रुपमा उपयोग गरी आफ्नो स्थानीय श्रम, सिप र वर्कतका आधारमा प्रागऐतिहासिककालदेखि अक्षुण्ण र स्वतन्त्र अस्तित्व रहेको देश र राष्ट्रियताको अस्तित्व जोगाउनका लागि ज्यान बाजी राखेर गरेको संघर्षलाई यस कृतिमा युद्धमोर्चामा अग्रपंक्तिमा लडेका योद्दाहरुको पत्रव्यवहारबाट सजीव ढंगले दृष्टिगोचर गर्ने प्रयत्न गरिएको छ ।

पुस्तकका सबल पक्षहरुः

युद्ध संस्कृति प्रस्तुतिमा संरचनात्मक कार्यमूलक सिद्धान्त अवलम्बन

राज्यको सुरक्षाका लागि सबै तह तप्काका रैती, झाराली, ढाक्र्यादेखि सैनिक, कमान्डर, भारदार, काजी, बडागुरुज्यूदेखि राजा समेतको सबैको सहकार्य र कार्यमूलक भूमिकाबाट नै देशको सीमाको सुरक्षा हुन सक्दछ भन्ने कुरालाई यस पुस्तकमा सजीव रुपमा वर्णन गरिएबाट संस्कृतिको कार्यमूलक सिद्धान्त एवं संरचनात्मक कार्यमूलक सिद्धान्तलाई लेखन शैलीमा अवलम्बन गरेको पाइन्छ। अतः नेपालको युद्ध संस्कृतिलाई बुझ्नका लागि पनि पुस्तक मह्त्वपूर्ण रहेको मान्न सकिन्छ। सीमित श्रोत साधन र भौतिक अभावका बीचमा पनि बेलायती व्यवसायिक सेनासँगको भीडन्तमा पछि नहटी नेपाली सिपाही एवं अनियमित सैनिकका रुपमा खटिएका 'ढाक्र्या' र 'झाराली'हरुले समेत दिलोज्यानले माटोप्रतिको प्रतिबद्धता र 'राजाको निमकको सोझो' चिताएर प्रदर्शन गरेको बफादारिता पुस्तकमा उजागर गरिएको छ। तत्कालीन समयमा राष्ट्रप्रेम र देशभक्तिको उच्च स्तरको सांस्कृतिक र सामाजिक चेतनाले युद्धमा आधारतत्वको काम गरेको यसबाट बुझ्न सकिन्छ।

सीमित श्रोत साधन र भौतिक अभावका बीचमा पनि बेलायती व्यवसायिक सेनासँगको भीडन्तमा पछि नहटी नेपाली सिपाही एवं अनियमित सैनिकका रुपमा खटिएका 'ढाक्र्या' र 'झाराली'हरुले समेत दिलोज्यानले माटोप्रतिको प्रतिबद्धता र 'राजाको निमकको सोझो' चिताएर प्रदर्शन गरेको बफादारिता पुस्तकमा उजागर गरिएको छ।

प्रक्रियागत झन्झट व्यहोरी गोप्य पत्रहरुको अध्ययन र प्रस्तुति

१८७१-७२ सालमा भएको नेपाल अंग्रेज युद्धको घटनाहरुसँग सम्बन्धित उपलब्ध भएका र हालसम्म सार्वजनिक नगरिएका कागजपत्रहरु समेत धेरै भन्दा धेरै ऐतिहासिक चिठी पत्र एवं कागजातको अध्ययन गरी त्यसको आधारमा पुस्तक लेखिएका हुनाले लेखक नेपाल अंग्रेज युद्धबारे सबैभन्दा धेरै कागज अध्ययन गर्ने व्यक्तिका रुपमा स्थापित हुन पुगेकोमा दुईमत छैन। नेपाली सिपाहीले लडाइँको मैदानबाट लेखेका धेरै चिठी अहिलेसम्म पनि "गोप्य" राखिएका छन्। एकै ठाउँमा यस्ता चिठी व्यवस्थित रुपमा राखिएका समेत छैनन्। धेरैवटा पोकामा बाँधिएका छन् (मैनाली, २०८०, पृ. आ)। थरीथरीका विषयमा कागजका खातमा चेपिएर बसेका पत्रहरुलाई निकै लामो समय मेहनत र धैर्य गरी निकै श्रोत साधन समेतको खर्च गरी लेखकले विभिन्न निकायमा धाएर हैरानी व्यहोरी अनुमिति लिएर त्यस्ता पत्र उजागर गरी सोका आधारमा पुस्तक तयार पार्ने जटिल कार्यको जति प्रशंसा गरेपनि कम हुन्छ। शासकको प्रशस्ति गाएर लेख्न लगाइएको इतिहास नभएर सर्वसाधारण सिपाही र मोर्चामै खटिएका सैनिक कमाण्डरहरुको दृष्टिकोण प्रस्तुत गरिएका पत्रव्यवहारमा आधारित इतिहास लेखन पनि यो पुस्तकको सबल पक्ष हो।

नखुलेका ऐतिहासिक तथ्य एवं युद्धका विविध पक्ष उजागर

पुस्तकले युद्धभन्दा अगाडि नेपाल राज्य एकीकरण एवं विस्तार अभियानका क्रममा १८६३ सालमा गोर्खाले महाकाली भन्दा पारिका आफू बाहेकका ६६ वटा समेत ८५ वटा राज्य र तिनका राज रजौटालाई आफूमा विलय गरिसकेको र काश्मिरका शासक समेत डराएर गोर्खालीसँग काबू भएको तथ्य फत्य खाँको भाइ काश्मिरका सुब्बा हाजी अमीर नजाकत खाँले काजी रणजोर थापालाई लेख्याका खतको नक्कलको तर्जुमा, डीएनए २⁄२७ का आधारमा खुलासा गरेको छ। उक्त पत्रमा काश्मिरी सुबाबाले ''जौना जग्गामा दुवै तिरको दोस्ती हुन्छ, लाल अक्षरले लेखी यही छाप लाग्छ'' भनी गोर्खालीले जहाँ भन्यो त्यही सीमा कायम गर्न स्वीकार गरेको नेपालीहरुको गर्विलो इतिहास देखिन्छ (मैनाली, २०८०, १०)।

नेपालको भूभाग जोगाउनका लागि युद्धमा बहादुरी साथ लडेर भूभाग विस्तार समेत गरेका बडाकाजी अमरसिंहलाई सुगौली सन्धि पछि अपमानित गर्ने गरी उनले १८६१ देखि १८७२ सम्म १२ वर्षमा सैनिक रसदपानी र अन्य व्यवस्थापन गर्दा ९० लाख रुपैंया हिनामिना गरेको भनी आरोप लगाइएको प्रसंग पनि पुस्तकमा लेखकले परराष्ट्र मन्त्रालयको सार्वजनिक नभएको एक पत्रका आधारमा खुलासा गरेका छन् (मैनाली, २०८०, पृ. २५६)। यस्तै अर्का बहादुर योद्धा बलभद्र कुँवर पनि रणजीत सिंहको पञ्जाब सेनामा भर्ती हुन गएको र पछि पञ्जाब र अफगानिस्तानको लडाइँमा पेशावरमा १८७९ चैत्र ३ मा उनको मृत्यु भएको प्रसंग पुस्तकमा पाइन्छ। यसरी सुगौली सन्धिपछि नेपाली बहादुर योद्धा र सिपाहीहरुको राजनीतिक, आर्थिक र मनोवैज्ञिनक रुपमा पनि दयनीय स्थिति र कन्तबिजोग हुन पुगेको लेखकले औंल्याएका छन् (मैनाली, २०८०, २६३)

युद्धका मानवीय कानूनका नियमहरुको पालनाको स्थिति

तत्कालीन समयमा युद्धरत पक्षले युद्धका परम्परागत नियमहरु एवं मानवीय कानूनको पालना के कसरी गरेका रहेछन् भन्ने पनि यस पुस्तकबाट अवगत हुन्छ। असमान शक्ति भएका अंग्रेज र नेपाली फौजबीचको युद्धमा पनि घाइते एवं मृतकहरु एक अर्कालाई बुझाइने र मानवीय कानूनको यथोचित पालना गर्ने प्रयत्न हुने गरेको रहेछ भन्ने पुस्तकमा उल्लेखित दुवै पक्षका सैनिक पत्राचारहरुबाट खुल्न आएको छ।"पैदल हमला खोलेको दुई घण्टापछि दिउँसोको ३ बजे तोप बन्द गरी किल्लामा मारिएका आफ्ना सैनिकका लाश माग्न अंग्रेजले मानिस पठायो। भित्र अडकिएका अंग्रेजका लाश नेपालीले किल्ला बाहिर झारिदिए। लाश लगेपछि अंग्रेजले फेरि बरोबर तोप चलायो" भनी पादटिप्पणी १३ मा मुकाम चमुवाबाट रणदीपसिंह बस्न्यात लगायतले संवत् १८७१ मार्गशीर्ष वदि १२ रोज ५ मा लेखेको पत्रबाट नेपाली सैनिकहरुले आफू मरिरहँदा र निरन्तर तोपको गोलाबारी भइरहँदा पनि आक्रमणकारीका मारिएका लाश उनीहरुलाई सुम्पिएर बडो संयमता र धैर्य साथ युद्ध लडेको तथ्य उजागर भएको छ (मैनाली, २०८०, पृ. ४०)।

असमान शक्ति भएका अंग्रेज र नेपाली फौजबीचको युद्धमा पनि घाइते एवं मृतकहरु एक अर्कालाई बुझाइने र मानवीय कानूनको यथोचित पालना गर्ने प्रयत्न हुने गरेको रहेछ भन्ने पुस्तकमा उल्लेखित दुवै पक्षका सैनिक पत्राचारहरुबाट खुल्न आएको छ।"

यस्तै पर्सा र समरपुरको भिडन्तको चौथो दिनमा पनि अंग्रेजले फेला परेका उसका घाइते र लाश बटुले र लग्दा नेपालीले कुनै बाधा नपारेको अंग्रेजहरुकै पत्रश्रोतलाई उद्धृत गरी उजागर गरिएबाट पुस्तकले नेपाली फौजबाट २०० वर्ष अघि पनि युद्धको परम्परागत नीतिनियम तथा मानवीय नैतिकता र कानूनको असाध्यै ख्याल राखेर लडाइँ लडिएको रहेछ भन्ने प्रमाणित हुन्छ (मैनाली, २०८०, पृ. ९३)। 

पुस्तकमा पृष्ठ २७७ मा अनुसूची २ मा राखिएको रिपुमर्दन थापाको पत्र पढ्दा ''. . .घायेत्या वसारदा घायेत्यासँग मानिस पठाउँदा नाहानबाट हान्न आउँछन् भन्या सोहराले --२ का घाटमा १ पलटन्, कालसीमा १ पलटन् पठाउँदा उसको लस्कर पातलो भएको भएको थियो'' भनी लेखिएको छ। यसबाट त्यतिबेला युद्दमा मानवीय व्यवहार गरी घाइतेलाई ओसार्ने पद्धति रहेको देखिन्छ। यस्तै सोही पत्रमा ''मुर्दा उ सले मांयो र दियाथ्यूँ । हांमि पनि घायेत्या मांगाउं, दियो भन्या संभार गरौंला भनि २ मानिस ह रीपछेउ पठाउँदा घायेल संभार हामै करैगे भनेछ।'' भनी नेपाली पक्षले चाहिँ शत्रुपक्षका घाइते बुझाइदिएको तर अंग्रेजले नेपाली फौजको घाइते नबुझाएको प्रसंग थाहा पाइन्छ। ''सुवेदार दयाराम खड्कालाई तोपका छरा तिघ्रामा लागी किलैमा रह्याका थिया।१८० घायेल कीलाका कठा गरी वषति गर्न लायो'' भनेबाट युद्धबन्दीहरुलाई उपचारको व्यवस्था सम्म गरिँदो रहेछ भन्ने जानकारी हुन्छ (मैनाली, २०८०, ५१, २७८)।  ''वैद छैन, घायेत्या सबैलाई श्रीनगर पठाउन्या हो भनि मसमेत सबै घाये त्या जमा ७५ लाई श्रीनगरलाई विदा गर्या र आञ्युं।...हांमिहरु जो घायेल भयाका जतिथ्यूं श्रीनगरमा आईपुगदा श्री का जी वषतवार सिंह वस्न्यातवाट वैद्य लगाई सबै वोषदी दी संभार गर्नु भयाको छ।'' भन्ने पत्र व्यवहारले नेपाल अंग्रेज युद्धमा घाइते सैनिकको उपचारका लागि आयुर्वेदिक उपचार पद्धति अवलम्बन गर्ने गरिएको समेत देखिन्छ (मैनाली, २०८०, ५१, २७९)।

तर नालापानीको पहिलो हमलामा असफलतापछि अंग्रेज पक्षले भने मानवीयताको पनि परवाह नगरी किल्लामा जाने खानेकुरा र पानीको आपूर्ति बन्द गर्ने कडीकडाउ गर्ने निधो मात्र गरेनन् मैनाली (२०८०, पृ. ४२) कि बाहिरबाट किल्लामा जाने पानी पनि बन्द गरिदिए (पृ. ४४)। त्यसरी निर्मम रुपमा रसदपानी समेत रोकेर नालापानी किल्लामा अत्याधिक बल प्रयोग गरी नेपाली पक्षलाई तड्पाई तड्पाई आक्रमण गरी किल्ला ध्वस्त पारेपछि अंग्रेज पक्षले लेखेका पत्रहरुमा सहानुभूति व्यक्त गरेको शैलीमा किल्लाको दर्दनाक अवस्था चित्रण गरिएको छ। मबीले सन् १८१४ नोभेम्बर ३० मा कर्णेल फागनलाई लेखेको पत्रमा नालापानी किल्ला कब्जा गरिसकेपछि पूरै उज्यालो नभई किल्ला भित्र जाँदा लाश अथवा घाइतेमाथि टेकिएला भन्ने डर किल्ला बाहिर ड्युटीमा रहेका सिपाही हिथकोटलाई लागेको, किल्ला भित्र जाँदा ८६ वटा लाश लडेका, घाइते पानी–पानी भनेर चिच्याइरहेका, घाइते बच्चा आमाको छातीमा टाँसिएर दूध चुसिरहेका, आमाबाबु मरिसकेका तर बच्चा रोइकराई चिच्चाइरहेका, सन्तान्नब्बेवटा लाश जलाइएका तथा किल्लाका चारैतिर जताततै अलिअलि खोस्रिएर लाश गाडिएका जस्ता कारुणिक दृश्यको वर्णन पाइन्छ। यसले बालबच्चा समेत परिवारै सहित भई किल्ला रक्षामा खटिइरहेका ढाक्र्या र झाराली समेतका नेपाली सैनिकहरुको किल्ला रक्षाका क्रममा दयनीय अवस्थामा मृत्यु भएको पुष्टि हुन्छ।निम्नस्तरको हतियार, धनुकाँड र ढुंगाका भरमा लडेका नेपालीहरुलाई जित्नका लागि चाहिने भन्दा अत्याधिक बल प्रयोग हुनुका साथै महिला र बालबालिका समेतका नेपाली सैनिकमाथि अंग्रेजले कुनै भिन्नता समेत नगरी तत्कालीन समयका अत्याधुनिक हतियारको अतिप्रयोग गरी गरेको आक्रमणको अनुपात मानवीय दृष्टिले आततीय र बर्बर रहेको भन्नु कुनै अत्युक्ति हुँदैन (मैनाली, २०८०, पृ. ४७–४८)।

यस्तै कीर्ति रानालाई आत्मसमर्पण गरिसकेपछि पनि अंग्रेजले मार्न लगाएको नृशंस हत्याको घटनाबाट अंग्रेजहरुबाट मानवीय कानूनको समेत गम्भीर उल्लंघन भएको थियो भन्ने पुष्टि हुन्छ (मैनाली, २०८०, पृ. १६५–१६६)। जर्नेल अमरसिंह थापालाई बुढाकाजी अमरसिंह थापा र रामदास थापाले १८७० सालमा मुकाम बगालबाट लेखेको पत्रमा दूत भएर गएका माइला गुरुज्यूलाई अपमान गरेर अंग्रेजले गोर्खासंगको मेलमिलापमा चोट पुर्‍यायो भनी लेखिएबाट अंग्रेजहरुबाट दूतलाई समेत अपमान गर्ने गरी कुटनीतिक एवं युद्ध कानूनको पर्याप्त पालना नभएको उजागर हुन्छ (मैनाली, २०८०, पृ. १८)। अनाज पनि अंग्रेजले गोरखपुर र लोटनमा खरीद गरी अरुलाई खरीद गर्न नदिएको प्रसंग पनि पुस्तकमा उल्लेख छ (पृ. ३०)

त्यस्तै त्यतिबेला अस्थायी नियुक्तिका भरमा सैनिक खटाउने चलन रहेको तथा पारिश्रमिकलाई जागिर भनिने एवं नियुक्ति नपाएका र पाउने आशामा ढाक्र्याहरुले लडाइँमा काम गर्ने तथा अंग्रेजसँग लडाइँ सुरु हुनु केही अघि नेपालले लडाईँ लड्न झारा लाउने आदेश गरी गाउँ गाउँमा झारा लाउन कमान्डरहरुले मानिस पठाउँदा पनि झाराली नपाइएको समेत पुस्तकमा उल्लेख रहेको छ। यसबाट सामान्य आम नागरिकलाई पनि विना कुनै पूर्व तयारी सिधै अंग्रेजसित युद्धमा परिचालन गरिएको भन्ने तथ्य देखिन्छ (मैनाली, २०८०, पृ. ३२)।

अंग्रेजहरुले गरेको पत्राचारमा चाहिँ गोर्खालीहरुले पनि युद्धका परम्परागत कानूनको अवमूल्य गर्ने गरी काम गरेको भन्ने देखिने केही घटना पनि उजागर भएको छ। आत्मसमर्पण गरेपछि ठानेदारलाई मनिराज फौजदारले बर्बरतापूर्वक मारेको आरोप लगाई ठूलो रिसराग राख्दै आएको अंग्रेजले पछि सुगौली सन्धिको मस्यौदा गर्दा समेत प्रमुख मागका रुपमा अंग्रेजले हिन्दूस्तानी पुलिस अफिसर मार्ने फौजदारलाई सुपुर्दगी गर्नुपर्ने माग प्रमुखता साथ राखेको भएपनि अन्तिममा सन्धिमा हस्ताक्षर हुँदा उक्त माग हटाउन सहमत भएको थियो (मैनाली, २०८०, पृ. २००)। यस्तै बुढाकाजी अमरसिंहले पाल्पा हेर्ने अमरसिंहलाई लेखेको एउटा पत्र हेर्दा नेपाली पक्षले पनि लुट्ने, लुटेर दिक्क लगाई हानी हटाउने, बरेलीपूर्व बाँसी बलरामपूर पश्चिमको राज्य लुट्ने, पिट्ने उजाड बनाउने योजना बनाएको देखिन्छ (मैनाली, २०८०, पृ. २८)।

नेपालको कमजोर कुटनीतिक योजना र तयारी चित्रण

युद्धका क्रममा नेपाली फौजका कमान्डरहरुबीच नै परस्परमा एकताको अभाव, आन्तरिक फुटको स्थिति र मतान्तरकै बीच कुटनीतिक रुपमा सन्तुलन मिलाउनमा भन्दा पनि आक्रोशका आधारमा मात्र सैन्य कमान्डरहरुले एकोहोरो युद्ध लडिरहनाले पनि नेपालीहरुको पराजय हुन पुगेको तथ्यहरु पुस्तकमा उजागर गरिएको छ। ज्येष्ठतम सैनिक कमान्डर भक्ति थापाले १८७० सालमा मण्डलामा भएको लडाइँमा आफ्नो वीरताको झुटो खबर फैलाई बढी जस लिए भनी उनीसँग रिसाएका अन्य कमान्डरहरु चन्द्रवीर कुँवर तथा चामु बस्न्यात समेतले भक्ति थापाको चुक्ली लगाएर लेखेको पत्रहरु तथा भक्ति थापाले पाल्पा खटिएका जर्नेल अमरसिंह थापा अर्थात् भीमसेन थापाका बाबुलाई लेखेको बिन्तीपत्रले नेपाली सैन्य कमान्डरहरुबीचको मनमुटाव प्रष्ट देखाउँछ (मैनाली, २०८०, पृ. १२०–१२२)।

अब्बल ढंगको कुटनीतिका माध्यमबाट नेपाल विरुद्ध रणनीतिक कुटनीतिक दबाब सिर्जना गरी क्रमशः सन्धि गर्नका लागि अंग्रेजले बाध्य तुल्याउँदै अन्तिममा सुगौली सन्धिका लागि बाध्य पारेको घटनाहरु युद्ध मोर्चाहरुबाट भएको पत्राचारका आधारमा सविस्तारमा रोचक ढंगले पुस्तकमा उजागर गरिएको छ।

अंग्रेजले युद्धमा अत्याधिक बल प्रयोग गरी दबाबमा राख्नुको अतिरिक्त नेपालीले राज्य विस्तार र एकीकरण अभियानका क्रममा राजपाठ गुमाउन पुगेका विभिन्न राजा रजौटाहरुसँग अब्बल ढंगको कुटनीतिका माध्यमबाट नेपाल विरुद्ध रणनीतिक कुटनीतिक दबाब सिर्जना गरी क्रमशः सन्धि गर्नका लागि अंग्रेजले बाध्य तुल्याउँदै अन्तिममा सुगौली सन्धिका लागि बाध्य पारेको घटनाहरु युद्ध मोर्चाहरुबाट भएको पत्राचारका आधारमा सविस्तारमा रोचक ढंगले पुस्तकमा उजागर गरिएको छ। कुमाउँमा स्थानीयको जनविद्रोहले गर्दा त्यहाँ खटिएका चौतरिया बम शाहको आदेश चल्न छाडेको स्थितिमा यता सरकारसँग थप बल र पैसा माग्दा नपाई पर्याप्त हतियार समेत नभएको स्थितिमा अंग्रेज एडवार्ड गार्डनरले राखेको शर्त स्वीकारी नेपाली फौजले युद्धबन्दी बनाएको क्याप्टेन हियर्सेलाई सुम्पिने र कुमाउँ अल्मोडा किल्ला छाड्ने र निजी सम्पत्ति तथा फौज र हतियार लिई नेपाली फौज महाकाली तरेर पूर्व डोटी जाने गरी चौतरिया बम शाह, काजी चामु भण्डारी, क्याप्टेन अंगदसिंह र सरदार जसमुन्डनले सही गरी बाध्यात्मक सन्धि गरेको थिए (मैनाली, २०८०, पृ. १४६) यस्तै मलाऊँको किल्लामा रहेका बुढाकाजी अमरसिंह थापा र जैथकको किल्लामा रहेका रणजोर थापालाई पनि गलाएर अंग्रेजहरुले सन्धि गराई किल्ला छोडाएका थिए (मैनाली, २०८०, पृ. १५३)

चीनका बादशाहसँग युद्धमा सहयोग माग्दा ढङ्ग नपुर्याएकोमा पछि कुटनीतिक मर्यादा विपरीत हुने गरी चीनले नेपालका राजालाई 'बालक' राजा भनी 'बादशाहको गुलाम' जस्तो आपत्तिजनक र धम्कीपूर्ण पत्र पठाई दबाब दिएपछि उल्टै नेपालले माफी माग्नुपरेबाट कुटनीतिक चातुर्यको अभावमा नेपाल नराम्ररी चुकेको घटनावलीहरु पुस्तकमा सविस्तारमा उल्लेख छ (मैनाली, २०८०, पृ. २४६)। अंग्रेज नेपालसँग सन्धि गरी नेपाललाई कज्याएर आफ्नो प्रभुत्व कायम गर्न जुनस्तरमा पूर्वतयारी र योजनाका साथ काम गरिरहेको थियो, त्यो स्तरमा कुटनीतिक विषय र सन्धिको सम्बन्धमा नेपालीहरुको ध्यान र पर्याप्त योजना, तयारी र छलफल समेत हुन नसकेको तथ्य त्यतिबेलाका पत्रव्यवहारहरुबाट लेखकले उजागर गरेका छन् (मैनाली, २०८०, पृ. १९९, २१६)।

अंग्रेजले नेपालसँग घनघोर युद्धकै समयमा पनि सन्धिको मस्यौदा र शर्तहरु तयार पारिसकेको र वार्ता गर्दा नेपालले चाहिँ अलमल ढिलासुस्ती गर्नुका अतिरिक्त राजा, काजी र सेनाका कमान्डरहरुबीच मतैक्य हुन नसक्दा पटक पटक अन्यौलताका कारण ठोस कुरा राख्न नसकेको त्यतिबेलाको वार्ता प्रक्रियासम्बन्धित बडाकाजी अमरसिंह, वार्तामा सरिक गजराज मिश्र तथा चन्द्रशेखर पाध्याहरुले लेखेका पत्र व्यवहारहरुले उजागर गरेका छन्।नेपाली भारदारहरुको अडान पछि अंग्रेजहरुले केही शर्तहरुमा खुकुलो गरेजस्तो गरेपछि १८७२ साल मंसिर १९ गते गजराज मिश्र र चन्द्रशेखर पाध्याले अंग्रेज ब्रयाडशकहाँ गएर सन्धिमा दुवै पक्षले हस्ताक्षर गरेका थिए। तर बडाकाजी अमरसिंह थापा लगायतको चर्को विरोध पछि उक्त सन्धिमा लालमोहर लाग्न नसकेपछि नेपाल फेरि अर्को निर्णायक लडाइँका लागि तयार भई अंग्रेजसँग पूनः लडाइँ भएको लेखकले पुस्तकमा औंल्याएका छन् (मैनाली, २०८०, पृ. २१६)

यसरी सन्धिको मामलामा नेपाल पक्षको ठोस तयारी नहुनु र खेलाँची शैलीले गर्दा मकवानपुरगढी र हरिहरपुरगढीमा भीषण युद्ध भई नेपाल पराजित हुन पुगेको थियो। यसरी १८७१ साल कात्तिक १० गतेदेखि नालापानीबाट सुरु भएको नेपाल अंग्रेज युद्ध १८७२ फाल्गुन २५ गते नेपाली पक्षले अंग्रेजसँग हारगुहार गरी सन्धि गर्न तयार भएपछि मकवानपुरमा टुंगिएको थियो जसको परिणामस्वरुप मेची पूर्व र महाकाली पश्चिमको सबै भूभाग तथा बुटवल छाडेर कोशीदेखि महाकारीसम्मको मैदानी भूभाग नेपालले गुमाउनुपरेको थियो (मैनाली, २०८०, पृ. २४१)। लडाइँ सकिएको एक वर्ष पछि मात्रै अंग्रेजले कोशीदेखि राप्तीसम्मको मैदानी भूभाग नेपाललाई फिर्ता दिएको थियो भने लखनउमा सैन्य विद्रोह दबाउन जंगबहादुर राणाले सहयोग गरेपछि बाँके, बर्दिया, कैलाली, कञ्चरपुर फिर्ता गरिदिएको थियो (मैनाली, २०८०, पृ.२५७)। 

पुस्तकका दुर्बल पक्षहरु

तथ्यपूर्ण इतिहासलाई नाटकीयकरण

लेखकले पुस्तकमा आफ्नो लेखकीयमा परिस्थिति अनुसारको भूमिका निर्वाह गर्न सबै पात्र स्वतन्त्र हुन्छन् भन्दै युद्धलाई नाटकीय रुपमा प्रस्तुति गर्ने चेष्ट गरेको पाइन्छ। नाटकको मञ्च, नाटकको अवधि, नेपाल तिरका पात्र, हिन्दूस्थानमा राज गरिरहेको अंग्रेजतर्फको पात्र भन्ने उल्लेख गरी यसरी ऐतिहासिक तथ्यपरक घटनालाई नाटकीय स्वरुप दिन खोज्नुको ‍औचित्य भने लेखकले पुष्टि गर्न सकेको पाइँदैन (मैनाली, २०८०,पृ. अ)। यो समग्र नाटकबारे अंग्रेज लेखकहरुले धेरै किताब लेखिसकेका छन् भनेर यसरी लेखकले पटक पटक नेपालको हकमा इतिहासको एउटा दुःखान्त युद्ध एवं वीरताको गाथा रहेको युद्धको इतिहासलाई नाटक शब्द प्रयोग गर्दा इतिहास लेखनको गाम्भीर्य र प्राज्ञिक शैली भन्दा पनि सनसनीमूलक अखबारी लेखन शैलीमा अलिक हलुका रुपमा प्रस्तुति भएको देखिएको छ ।

लेखकले पटक पटक नेपालको हकमा इतिहासको एउटा दुःखान्त युद्ध एवं वीरताको गाथा रहेको युद्धको इतिहासलाई नाटक शब्द प्रयोग गर्दा इतिहास लेखनको गाम्भीर्य र प्राज्ञिक शैली भन्दा पनि सनसनीमूलक अखबारी लेखन शैलीमा अलिक हलुका रुपमा प्रस्तुति भएको देखिएको छ ।

पुस्तकमा लेखकीय निष्कर्षको अभाव

लडाइँका विवरणहरु विवरणात्मक शैलीमा उनिएतापनि अन्तिममा पुस्तक निष्कर्षविहिन रुपमा टुंगिएको प्रतीत हुन्छ। नेपाल अंग्रेज युद्ध एवं यसको परिणाम स्वरुप नेपालको विस्तारित भूभागलाई संकुचन गर्ने गरी बाध्यात्मक रुपमा गरिएको सुगौली सन्धिको सम्बन्धमा लामो अवधिसम्म पूराना सैनिक पत्र व्यवहारको लिखत अभिलेखको अध्ययन गरेका लेखकले ती पत्रहरुको आलोकमा बहुआयामिक दृष्टिकोणबाट विश्लेषण समेत गरी निष्कर्ष दिन सकेको भए पाठक थप लाभान्वित हुने थिए।

कतिपय विवरण र तथ्यको आधिकारिकतामा प्रश्न

लेखकले कतिपय तिथि मिति नखुलेका कागज र साँचा हुन् कि होइनन् भनी यकीन गर्न नसकिने खालका हस्तलिखित सामाग्रीबाट पनि सूचना संकलन गरी जानकारी राखेको स्वीकारोक्ति गरेबाट यस पुस्तकमा आएका सम्पूर्ण तथ्यलाई अकाट्य रुपमा लिन सकिने अवस्था देखिएन (पृ. इ)। कर्णेल मबीले लेफ्टिनेन्ट कर्णेल फागनलाई सन् १८१४ को अक्टोबर ३१ तारिख र भोलिपल्ट नोभेम्बर १ तारिखमा पठाएको दुई पत्रलाई उद्धृत गरी अंग्रेजले हार व्यहोरेको नालापानीको पहिलो मुठभेडमा त्यस लडाइँमा मारिएको सैनिकको संख्याको अंग्रेजले गरेको अनुमानबारे उल्लेख गर्दा एउटै पृष्ठमा दुईवटा अनुच्छेदमा फरक फरक तथ्याङ्क र विवरण '५०० सैनिक मारिएको' र 'घाइते भएका र मारिएका हाम्रो फौजका मानिसको संख्या जोड्दा ४०० जति पुग्ला' उल्लेख भएपनि ती विवरणबारे लेखकले स्पष्ट पार्नसकेको देखिएन (मैनाली, २०८०, पृ. ५)।

तिथि मिति तथा एकाइहरुको लेखकीय स्वेच्छामा परिवर्तन

तिथि मितिलाई हालको चलनचल्तीको गते लेख्ने गरी सौरमास अनुरुपको पात्रोमा परिवर्तन गरिएको भनिएपनि के कसरी परिवर्तन गरिएको भन्ने स्पष्ट विधि लेखकले खुलाएको पाइँदैन।अतः धेरैजसो मूल पत्रमा भएका तिथिमिति यथारुपमा पाठकले अध्ययन गर्न पाउने अवसर पाएका छैनन्। तर कतिपय पत्रहरु चाहिँ अंग्रेजले लेखेको पत्रमा चाहिँ ग्रेगोरियन पात्रो अनुसार मिति राखेको हुँदा एउटै प्रसंगमा नेपाली पक्षका पत्र व्यवहार र अंग्रेज पक्षको पत्र व्यवहार पढ्दा दुई फरक फरक पात्रो बमोजिमका मिति खुट्याउनु पर्नाले पाठकलाई केही असहज भएको छ। पात्रो र मितिमा एकरुपता कायम गर्नै पनि सबै तिथि मितिलाई रुपान्तरण गर्दाको विधि स्पष्ट खुलाई ग्रन्थमा सुरुदेखि अन्त्यसम्म एउटै पात्रो बमोजिमको मिति उल्लेख गरिएको भए एकरुपता हुनेमा त्यसो हुन पनि सकेको पाइँदैन। यस्तै माइललाई किमी बनाउनुको औचित्य पनि प्रष्ट हुन सकेको छैन। संख्या लेख्दा पनि कतै कतै अंकका रुपमा त कतै अक्षरात्मक रुपमा लेख्दा एकरुपता हुन सकेको छैन (हे. मैनाली, २०८०, पृ. ८६, ९२)। पूराना प्रयुक्त भाषाका क्रियापदहरुलाई पनि रुपान्तरण गरेको भनिएको छ। यसरी लेखकलाई मनमा लागे जसरी ऐतिहासिक सामाग्रीहरुका कतिपय विषयलाई आफूखुशी सम्पादन गर्नु अनुसन्धानको स्थापित मान्यता विपरीत हुन गएको देखिन्छ।पुस्तकमा लेखकले तत्कालीन समयको युद्धस्थलहरुको जानकारी दिन विभिन्न बाह्र थान नक्सा बनाउन लगाई प्रयोग गरेतापनि ती नक्सा वैज्ञानिक ढंगले स्केलिङ प्रयोग गरी बनाइएका देखिँदैनन्। साथै विषयसूची पछि नक्साहरुको छुट्टै सूची समेत दिइएको पाइँदैन।

सम्पादनका क्रममा अनुसन्धान विधि एवं प्राज्ञिक लेखन शैलीमा सम्झौतातु भएको पुष्टि हुन्छ। ्इरहेका ९

लेखिएका पत्रहरु उद्दरण भित्र जस्ताको तस्तै नराखी सम्पादन गरिएको सामाग्रीलाई नै उद्दरण चिन्हमा राखिएको भनेपछि फेरि ती सामाग्री जस्ताको तस्तै यथारुपमा अध्ययन गर्न चाहनेले त अभिलेखालयमा रहेका उक्त युद्धमैदानबाट लेखिएका पत्रहरुको पोकाहरु फेरि अनुमति लिई खोल्नुपर्ने बाध्यता हुने भयो।अतः उतार गरिएका पत्रहरुको जस्ताको तस्तै दुरुस्त आधिकारिक दस्तावेज यो पुस्तक आफैं बन्न नसकेको देखिन्छ। सम्पादित पत्रहरुको व्यहोरा संग्रहका रुपमा मात्रै पुस्तक सीमित हुन पुगेको छ। अनुसन्धानकर्मीका लागि पूनः मूल श्रोतमा पहुँच आवश्यक नपर्ने गरी मूल पत्र नै जस्ताको तस्तै राख्न सकिएको भए पुस्तक बढी उपयोगी हुने थियो। फुटनोटका लागि स्थापित नियम तोडिएको भनिएपनि सोको औचित्य र कारण पुष्टि हुन नसकेको अवस्था देखिन्छ। लेखकले इतिहास जस्तो गम्भीर विषयलाई फिक्सन जसरी प्रस्तुति गर्न खोजिएको हो कि भन्ने देखिन्छ। पहिलो पृष्ठमै देहरादून भारत लेखेर भारत शब्दलाई काटिएको देखाई त्यस माथि नेपाल लेखिएको पाइन्छ।अंग्रेजसँग नालापानी युद्धमा पराजय हुनु पूर्व देहरादून नेपालकै भूभाग हुनाले भारत लेखेर काटेर अनि नेपाल लेखिरहनु पर्थेन। तत्कालीन अवस्थामा नेपालकै आधिपत्यको क्षेत्र हुँदा सीधै देहरादून, नेपाल लेख्दा नै उपयुक्त र बुझिने देखिन्छ। 

लेखकले इतिहास जस्तो गम्भीर विषयलाई फिक्सन जसरी प्रस्तुति गर्न खोजिएको हो कि भन्ने देखिन्छ। पहिलो पृष्ठमै देहरादून भारत लेखेर भारत शब्दलाई काटिएको देखाई त्यस माथि नेपाल लेखिएको पाइन्छ। 

अंग्रेजका पत्रहरु जस्ताको तस्तै ग्रहण गर्दा असन्तुलित अंग्रेज दृष्टिकोण र भाष्यको प्रस्तुति

विशेष गरी अंग्रेजहरुले नेपाली विरुद्ध सुनियोजित ढंगले आक्रमण गरी नेपालीलाई सक्दो क्षति पुर्‍याउने, गलाउने र आश्रित तुल्याउने योजनामा आक्रमण गरेको देखिन्छ। श्रोत साधनको दृष्टिले भर्खरै मात्र आन्तरिक रुपमा राज्य एकीकरणका क्रममा धन खर्चेर विपन्न अवस्था रहेको अन्न उत्पादनका दृष्टिले पनि भारत जति मजबुत अवस्थामा नरहेको पहाडी मुलुक नेपालको परिस्थिति बुझेर नै अंग्रेजले योजनाबद्ध आक्रमण गरेकोमा आंशका छैन। नेपालको श्रोत साधनको तुलनामा अति बल प्रयोग गरी अंग्रेजले कज्याउन खोजेको तथ्य एकसाथ पूर्वदेखि पश्चिमसम्म गरिएका सैन्य लाभको तुलनामा आम जनधनको अति नै धेरै खति गर्ने गरी गरेको समानुपातिकताको सिद्धान्त विपरीतको बल प्रयोगले पुष्टि गर्दछ। तर यो तथ्यलाई ढाकछोप गर्ने गरी अंग्रेजहरुले उक्त युद्घ समाप्ति पछि उनीहरुका सैनिकले गरेको पत्र व्यवहार र सञ्चारलाई पेपर्ज् रेस्पेक्ट्इङ् द नेपाउल् वार्  नाम दिई प्रकाशन गर्दा अंग्रेजहरुले युद्धका मानवीय नियमको उच्च पालना गरेको प्रदर्शन गर्ने तर नेपालीलाई बर्बर सैनिकका रुपमा प्रस्तुति गर्ने गरी ‌औपनिवेशिक मानसिकताको पूर्वाग्रह समेतबाट सम्पादित पत्रहरुको प्रस्तुतिकरण गरेको तर्फ लेखकले पर्याप्त ध्यान दिनुपर्नेमा दिन सकेको देखिँदैन।

राज्य एकीकरणका क्रममा धन खर्चेर विपन्न अवस्था रहेको अन्न उत्पादनका दृष्टिले पनि भारत जति मजबुत अवस्थामा नरहेको पहाडी मुलुक नेपालको परिस्थिति बुझेर नै अंग्रेजले योजनाबद्ध आक्रमण गरेकोमा आंशका छैन।

लेखकले पेपर्ज् रेस्पेक्ट्इङ् द नेपाउल् वार्मा  प्रकाशित अंग्रेजका पत्र व्यवहारका मूल श्रोत र ती पत्रको जसरी नेपाली सैनिकको पत्र पोका खोलेर हेरियो त्यसरी बेलायती फौजको पत्रहरु पोका खोलेर हेरेको स्थिति होइन। अतः ईस्ट इन्डिया कम्पनीले नालापानी युद्ध समाप्तिको आठ वर्ष नबित्दै विश्वभर आफ्नो प्रभुत्व कायम गर्ने उद्देश्यले रणनीतिक प्रचारबाजी वा प्रोपागान्डा समेतका उद्देश्यले त्यतिबेला सम्पादित रुपमा छापेका बेलायती कमान्डरले लेखेका भनिएका पत्रसित नेपाली सैनिकको कुनै तोड मरोड र सम्पादन नगरिएको प्रथम प्रति अवलोकनको अवसर प्राप्त भएको पाण्डुलिपिबीच तुलना गर्ने काम भएको छ। यसले गर्दा किताबका धेरैजसो ठाउँ र प्रसङ्गमा नेपाली चाहिँ ज्यादा बर्बर र अन्तर्राष्ट्रिय मानवीय कानूनलाई बेवास्ता गर्नेहरु पो थिए कि भन्ने भ्रम र द्विविधाको स्थिति पैदा हुन पुगेको छ।

तर सामान्य समझमा पनि बुझ्न सकिने कुरा यो हो कि जुन सैनिकले बाँसका घोचा तिखारेर, ढुंगा र खुकुरीका भरमा युद्घ लडिरहेको छ त्यो सेनाले बर्बरता गर्ने र जसले १८ पाउन्डका गोला लाग्ने तोपले महिला, बालबच्चा समेतको भिन्नता नगरी अनवरत प्रहार गरी लाशको बिस्कुन तुल्याएको छ, त्यो फौजले चाहिँ युद्धका सम्पूर्ण नियम पालना गर्ने भन्ने अंग्रेज भाष्यलाई नै लेखकको पेपर्ज् रेस्पेक्ट्इङ् द नेपाउल् वार्   प्रतिको अति निर्भरताले गर्दा जानी नजानी सहयोग पुग्न गएको छ। यो यस पुस्तकको तुलनात्मक अनुसन्धानको दृष्टिले गम्भीर त्रुटी हो।

नेपालको अभिलेखालयमा रहेको हालसम्म अप्रकाशित पत्रको मूल श्रोतसँग बेलायती सैनिकहरुले लेखेको पत्रहरुको मूल श्रोतबीच तुलना हुँदा मात्रै युद्धको यथार्थ इतिहास जस्ताको तस्तै दुईतर्फका सैनिकको असम्पादित दृष्टिकोण यथारुपमा प्रस्तुतिकरण हुन सक्दछ। बेलायती शासकले युद्ध समाप्ति पछि उसको औपनिवेशिक प्रभावलाई विश्वभर फैलाउने र मनोवैज्ञानिक रुपमा समेत दबाब कायम राख्ने समेत दृष्टिकोणले श्वेत सर्वोच्चताको मानसिकताबाट आफ्नो भाष्य स्थापित गर्ने गरी अंग्रेज सेनाका कमान्डरहरुले गरेको रिपोर्टिङ, ब्रफिङ र अन्य सञ्चार एवं नेपाली सैनिक र शासकहरुबीचका पत्र एक ठाउँबाट अर्को ठाउँमा लुकाएर आदान प्रदान गर्न लैजाने क्रममा नेपालीहरुबाट अंग्रेजले गुप्तचरी प्रयोग गरेर सन्देशवहाकबाट बीचैमा खोसिएका भनिएका पत्रहरुको अंग्रेजले उसको अनुकूल गरेको सम्पादित अंशसित नेपाली सिपाहीहरुले युद्घस्थलबाट पीडा, आवेग र मनमा जे छ त्यही भावना व्यक्त गरेको पत्र तुलना गरेर घटनाक्रमबारे निर्क्यौल गरेर विवरण राख्दा नेपाल अंग्रेज युद्धको रणमैदानको वास्तविक अवस्थाबारे अंग्रेज र नेपाली सिपाही तथा सैन्य कमान्डरहरुको दृष्टिकोण एवं सोको व्याख्या सन्तुलित हुन सकेको छैन।ता गर्नेहरु पो थिए कीथिए की भन्

उदाहरणका लागि मैनाली (२०८०, पृ. ७३) द्वारा उद्धृत उजिरसिंह थापाले १८७१ को मंसिरमा राजालाई लेखेको पत्रमा पाल्पामा रहेका ढाक्र्याहरुलाई दरमाह खर्च ठेगान गरी पुग्नेसम्मलाई बन्दुक र बन्दुक नपुग्नेलाई धनुष दिई काजमा लगाउने हो कि उसै राख्ने हो भनी सोधी पठाएबाटै नेपाली फौजले चरम स्रोतसाधनको अभावमा समेत देशको रक्षा खातिर लडेको देखिन्छ। सोही पत्रको जवाफमा राजा र भीमसेन थापा र रणध्वज थापाले चाहिँ वैरी छली उसको मुलुक लुट्ने, पोल्ने र झार जंगलमा उसलाई अप्ठ्यारो पारी हान्ने काम गर्नू भनी लुटपाटको आदेश दिएको भनिएपनि सो आदेशको स्रोत भने खुलाइएको छैन। पुस्तकको पृष्ठ ७६ मा नेपाली फौजले लोटनबाट दश किलोमिटर जति पर लुटपाट र आगजनी गरेको भनी अंग्रेज कमान्डर उडले लेफ्टिनेन्ट कर्णेल फागनलाई लेखेको पत्र उद्धृत गरी लेखिएको छ । उडलाई उक्त नेपाली फौजबारेको जानकारी क्याप्टेन हिथकोटले दिएको भनी (पृ.७५) उल्लेख गरिएको छ जबकि तिनै हिथकोटलाई लेखकले अघिल्लो परिच्छेदमा अंग्रेज सिपाही भएको र उनले नालापानी किल्लामा जितेपछि घाइते नेपालीलाई पानी पिलाएको प्रसंग समेत अंग्रेजहरुको पत्रका आधारमा नै लेखेको पाइन्छ (पृ. ४७, ४८)। यसरी एउटै व्यक्तिलाई कतै सिपाही कतै क्पाप्टेन लेखिएका अंग्रेजका चिठीपत्रका आधारमा नेपाली फौजले गाउँ गाउँमा लुटपाट र आगजानी गर्थ्यो भन्ने खालको सूचना सन्देहरहित ढंगले स्वतन्त्र पुष्टि नगरी लेखकले पुस्तकमा लेख्नाले नेपाली फौजलाई लुटेराका रुपमा प्रस्तुत गर्ने काम हुन पुगेको छ।

पुस्तकको पृष्ठ ८२ मा पनि अंग्रेजले छापेको उडको सम्पादित पत्रमा भर पर्दै नेपाली फौजले कम्पनीको भूभागमा पसेर दश घर भएको एउटा गाउँमा गएर जमीनदारका चारवटा घरमा आगो लगाइदियो, १५६ रुपैंया बराबरको धनमाल पोलिदियो, १७ रुपैंया बराबरको गाउँलेको धनमान लुटेर लग्यो भनी लेखिएको भएपनि अंग्रेजको पत्रको मात्र आधारमा लेखिएको उक्त व्यहोरा पनि विश्वसनीय छैन। यस्तै लर्ड मोइराले सन् १८१५ जुन ३० तारिखमा बेलायतको सेक्रेट कमिटीलाई लेखेको पत्रमा 'दम्भी र हिंस्रक नेपाल सरकार' लेखिएबाट पनि अंग्रेजहरुले नेपाल र नेपाली फौजलाई असभ्य र जंगली फौजका रुपमा चित्रण गर्ने पूर्वाग्रह रहेको थियो भन्ने पनि पुष्टि हुन्छ (मैनाली, २०८०, पृ. १६१)।

यसरी अंग्रेजले प्रोपागान्डा सामाग्रीका रुपमा ईस्ट इन्डिया कम्पनी आफैंले सम्पादन गर्न लगाई छापेका पत्रमा मात्र भर परी हुबुहु तिनैलाई अनुवाद गरी उद्धृत गर्दा यस पुस्तकमा नेपाली फौजलाई ठाउँठाउँमा निकै बर्बर र अमानुषिक कार्य गर्ने फौजका रुपमा अंग्रेजको नजरियाबाट चित्रण हुन पुगेको छ। त्यस्ता संवेदनशील विषयमा लेखकले ईस्ट इन्डिया कम्पनीको प्रकाशनका अतिरिक्त अन्य स्वतन्त्र इतिहासकारको मत वा तिनबाट उजागर भएका तथ्य समेतका आधारमा वस्तुनिष्ठ रुपमा दुवैतर्फको सैन्य दृष्टिकोणको विश्लेषण हुन सकेको भए बेस हुन्थ्यो।

निष्कर्ष

मोहन मैनालीद्वारा लिखित ''मुकाम रणमैदानः नेपाल अंग्रेज युद्धको बखान'' नेपाली इतिहास लेखनको क्षेत्रमा वर्ष २०८० मा प्रकाशित भएको एक महत्वपूर्ण ग्रन्थ मान्न सकिन्छ। लेखकले आगामी संस्करणहरुमा यस पुस्तकमा रहेका कतिपय अनुसन्धानात्मक त्रुटीपूर्ण पक्षहरुलाई सुधार गर्न सकेको खण्डमा यो कृति नेपाल अंग्रेज युद्धको सन्दर्भमा नेपालको महत्वपूर्ण आधिकारिक दस्तावेज बन्न सक्ने देखिन्छ।

 

पुस्तकको विवरण

पुस्तकको नामः मुकाम रणमैदानः नेपाल अंग्रेज युद्धको बखान

लेखकः मोहन मैनाली

प्रकाशन वर्षः २०८० असोज

संस्करणः प्रथम

प्रकाशकः बुकहिल पब्लिकेसन प्रा.लि., काठमाडौं।

 

 

अमृत खरेल

त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाली इतिहास, संस्कृति र पुरात्तव विभागमा दर्शनाचार्य विद्यावारिधि तहमा अध्ययनरत पुस्तक समीक्षक पेशाले अधिवक्ता समेत हुन् । उनलाई [email protected]  मा सम्पर्क गर्न सकिन्छ।