के जनावरले पनि औजार प्रयोग गर्छ ?

हामी दिनहुँ विभिन्न कामहरु गर्ने गर्छौं । ती कामहरुलाई सजिलोसंग संपन्न गर्नका लागि हामी विभिन्न औजारहरुको प्रयोग पनि गर्र्छौ । आज भोलि त विज्ञानको मद्दतले गर्दा थुप्रैखाले औजारहरुको आविष्कार भइसकेका छन्, जसले हाम्रो हरेक काम सजिलो र चाँडो गर्नका लागि निकै ठूलो मद्दत पुर्‍याउँछ । तर हामी मानिस मात्र यस्ता औजारहरुको प्रायोग गर्दैनौं । यस संसारका अन्य प्राणीहरु पनि हामीजस्तै आफ्नो काम गर्नका लागि विभिन्न औजारहरु प्रयोग गर्छन् ।

यसरी औजार प्रयोग गर्ने  प्राणीमा चिम्पाञ्जी पनि पर्छ । चिम्पाञ्जीलाई त हाम्रो पुर्खा पनि मानिन्छ । उनीहरुलाई मानिसपछिको सबैभन्दा विद्वान प्राणी पनि मानिन्छ । त्यही भएर उनीहरु पनि केही हदसम्म हामीजस्तै कामहरु गर्ने गर्छन् ।

https://cv-images.clickhole.com

चिम्पान्जीले ढुङ्गाको  प्रयोग गरेर कडा बोक्रा हुने फलको बोक्रा फुटाउँछन् र भित्रको गुदी खान्छ । त्यसैगरी यसले स–साना हाँगाहरूलाई प्रयोग गरेर माटोभित्र लुकेर बसेका किराहरू खानका लागि कोट्याएर बाहिर निकाल्ने गर्छ । यसका साथै, उनीहरूले साना दाँत वा काँटी जस्ता वस्तुहरू प्रयोग गरेर रूखका कापहरूबाट खाना निकाल्छन्।

औजारको प्रयोग गर्ने अर्को प्राणी गोरिल्ला पनि हो । यसले हाँगा र पातलाई हिलो वा पानीको छाल काट्न प्रयोग गर्छन्। गोरिल्लाले हाँगालाई प्रतिद्वन्द्वी तथा शत्रुका विरुद्ध हतियारको रूपमा पनि प्रयोग गर्छ । त्यसैगरी, गोरिल्लाले पातलाई वर्षातमा पानी छेक्न तथा आफूलाई ओभानो राख्नका लागि  समेत उपयोग गर्ने गरेको पाइन्छ ।

बुद्धमान प्राणीहरुको सूचीमा पर्ने अर्को जीव डल्फिन पनि हो । यस जीवले पनि आफ्नो थुतुनोलाई रक्षा गर्नका लागि समुद्री स्पञ्जको प्रयोग गर्छन्। खासगरी, समुद्री भित्ता तथा भुइँमा खानेकुराहरु खोज्ने क्रममा यसले आफ्नो थुतुनोमा समुद्री झारलाई बेर्ने गर्छ ।

समुद्री ऊटर (Sea Otter) ले पनि खानेकुराहरु खानका लागि औजारको प्रयोग गर्ने गर्छ । यस प्राणीले पानीमा पाइने शंखका खोलहरू फुटाउन ढुङ्गाको प्रयोग गर्ने गर्छ । यसक्रममा ऊटरले शंखेकीराको शंखलाई आफ्नो पेटमा राखेर ढुङ्गाले फुटाउँछ र भित्रको कीरालाई खाने गर्छ ।

https://cdn.mos.cms.futurecdn.net

अफ्रिकाका हात्तीले हाँगा प्रयोग गरेर आफ्नो शरीरको कतिपय भागलाई कन्याउने गर्छ । त्यसैगरी र माटो वा बालुवाले आफ्नो शरीरलाई ढाक्ने गर्छ ताकि हानिकारक किराको टोकाइ तथा सूर्यको पोलाइबाट छाला सुरक्षित हुन सकोस् । अफ्रिकाका हात्तीले पात र हाँगा समेतले आफ्नो शरीरमा रहेका वा बसेका किराहरुलाई हटाउने गर्छ ।

इजिप्सियन गिद्ध (Egyptian Vulture) ले आफ्नो चुच्चोले फुटाउन नसकेका अण्डाका खोलहरु फुटाउन ढुङ्गाको प्रयोग गर्ने गर्छ । यसले  चुच्चोमा ढुङ्गा च्यापेर तथा माथि उचाइमा अण्डालाई लगेर ढुङ्गामा खसालेर अण्डाभित्रको झोल तथा रानी खाने गर्छ ।

https://scx2.b-cdn.net

औजारको प्रयोग गर्ने कुरामा काग पनि अत्यन्तै चर्चित जीव हो । यसको चतुरताका बारेमा हितोपदेशका कथाहरु तथा इसपका कथाहरुमा पनि पढ्न पाइन्छ । वास्तविक रुपमा पनि कागले खानेकुराहरु खानको लागि औजारको प्रयोग गर्ने गर्छ । यसले साना हाँगा वा तार प्रयोग गरेर प्वालहरुबाट खानेकुरा बाहिर निकाल्छन्। कागमा साना हाँगा वा पातलाई आकार दिने क्षमता पनि हुने गरेको प्रयोगहरुमा देखिएको छ ।

कालेडोनियन कागमाथिको अनुसन्धान प्रयोग

प्राणीहरुको औजार प्रयोग गर्ने क्षमताबारे कुरा गर्दा अक्सफर्ड विश्वविद्यालयको एक समूहले वेट्टी नामक न्यू कालेडोनियन काग (वैज्ञानिक नाम: Corvus moneduloides) मा गरेको अध्ययन निक्कै चर्चित छ । उक्त अध्ययनले मानिसबाहेक अरु प्राणीहरु, विशेषत: कागमा पनि औजार प्रयोग गर्ने क्षमता हुन्छ भन्नेबारे महत्वपूर्ण जानकारी प्रदान गरेको थियो ।

सन् २००२ मा अक्सफर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले विशेष गरेर प्रशान्त महासागरको न्यु क्यालेडोनिया नामक टापुमा पाइने वेट्टी नाम गरेको एउटा पोथी न्यू कालेडोनियन कागको व्यवहारबारे अध्ययन गरेका थिए । उक्त प्रजातिको कागले प्राकृतिक रूपमा विभिन्न औजारहरूको प्रयोग गर्छ भन्ने कुरा पहिले नै थाहा भइसकेको कुरा थियो, तर त्यस अध्ययनमा वेट्टीको विशेष क्षमता देखिएको थियो ।

वेट्टीमाथि गरिएको प्रयोग

वेट्टीलाई एक विशेष प्रकारको प्रयोगअन्तर्गत एउटा सिधा तार र एउटा बाक्लो घेराभित्र राखिएको खाना दिइयो। त्यो सिधा तारले घेराभित्रको खानेकुरा निकाल्न सम्भव थिएन । तर अचम्मको कुरा, वेट्टीले सिधा तारलाई आफ्नो चुच्चोले मोडेर  "U" आकार दिइन् र त्यो घेराभित्र रहेको खाना निकाल्न सफल भइन्। वेट्टीले यस अघि यस्ता किसिमका औजारहरू प्रयोग गरेको अनुभव थिएन, न त कसैले उसलाई यसबारे सिकाएको थियो।तर उसले स्वस्फूर्त रुपमा त्यो कार्य गरेर देखाइन् ।

उक्त अध्ययनमा वेट्टीले देखाएको क्षमताले  कागमा समस्याको समाधान गर्ने क्षमता हुन्छ भन्ने देखाएको थियो । त्यसमा उसले आफैँले औजार बनाउन र प्रयोग गर्न सक्ने क्षमताको विकास गरेको थियो।

रमाइलो कुरा त के भने वेट्टीले सिधा तारलाई आवश्यकता अनुसार मोडेर "U" आकारको बनाइन् ताकि घेराभित्रको खानेकुरा निकाल्न सकियोस् । त्यो कुराले कागमा औजारको प्रयोगको आधारभूत ज्ञान मात्र नभएर, त्यसलाई स्थिति अनुसार परिवर्तन गर्ने क्षमता पनि हुन्छ भन्ने देखायो ।साथै, मानिसमा मात्र हैन, अन्य जीवहरुमा पनि बुद्धमत्ता हुन्छ भन्ने कुरालाई यस अध्ययनले व्यवहारिक रुपमै प्रमाणित गरेर देखायो ।

वेट्टीको यो प्रयोगले वैज्ञानिक समुदायमा ठूलो प्रभाव पारेको थियो, किनकि यो जनावरहरूले औजार प्रयोग गर्ने क्षमताको प्रमाण प्रस्तुत गर्ने महत्वपूर्ण अध्ययन साबित भएको थियो । त्यसले अन्य प्राणीहरुमा पनि औजारको प्रयोग गर्ने क्षमता हुन्छ भन्ने कुरा मात्र हैन, उनीहरुले  त्यसको सिर्जनात्मक प्रयोग पनि गर्न सक्दो रहेछ भन्ने देखाएको थियो । उक्त अध्ययनले जनावरहरूको व्यवहार, सोच्ने क्षमता, र उनीहरूको वातावरणसँगको अन्तर्क्रिया सम्बन्धी अनुसन्धानमा नयाँ बुझाइलाई स्थापित गर्न र त्यसदिशामा थप अध्ययन–अनुसन्धानको ढोका खोलिदिएको थियो ।

अक्सफर्ड विश्वविद्यालयकै जनवारसम्बन्धी विशेषज्ञ एलेक्स वेयरले यसै सम्बन्धमा त्यसबेला प्रोसिडिङ्गस् अफ द रोयल सोसाइटी अफ लण्डन नामक किताबमा एउटा लेख प्रकाशित गरेका थिए ।

यस लेखमा उनले कागले चिम्पाञ्जीभन्दा पनि राम्रोसंग औजारको प्रयोग गर्छ भन्ने बताएका थिए । उनले कागलाई जनवारहरुमध्येकै सबैभन्दा राम्रो औजार प्रयोगकर्ता प्राणीको दर्जा दिएका थिए ।

Main image source: https://poknok.art

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।