के सर्पले बदला लिन्छ?

धेरैजनाले के ठान्छन् भने सर्पले आफूलाई दु:ख दिने, आफ्नो जोडीलाई मारिदिने मानिसलाई चिन्छ, याद गरेर राख्छ र उचित मौका पाएपछि कुनै न कुनै दिन बदला लिन्छ ।  अझ विशेष गरेर गोमन सर्प (King Cobra) को बारेमा यो विश्वास बढी व्याप्त छ । यो विश्वासअनुसार के मानिन्छ भने गोमन सर्पले  आफूलाई दु:ख दिने मानिसलाई चिन्छ र मौका पाएपछि बदला लिन्छ। अझ प्रजनन क्रियामा रहेको सर्पका जोडीमध्ये कुनै एकलाई मारिदियो भने त्यसले अवश्य पनि बदला लिइछाड्नेछ । यो धारणा विशेष गरी दक्षिण एसियाली समाजमा धेरै प्रचलित छ। यस्तो विश्वास–धारणा सर्वसाधारणहरुमा मात्रै हैन, पढेलेखेकै मानिसहरुमा पनि रहेको पाइन्छ ।

के साँच्चै नै सर्पले त्यसरी बदला लिन्छ त ?

वास्तवमा यसरी सर्पले बदला लिने भन्ने धारणा पुरानो लोककथा र मान्यता हो, तर यो वैज्ञानिक रूपमा सत्य होइन। बदला लिने क्षमताको कथा मुख्यतया डर र भ्रमका कारण उत्पन्न भएको हो। यो असत्य र अवैज्ञानिक धारणालाई हिन्दी चलचित्र, टेलिफिल्महरुमा बढी देखाइने हुनाले पनि त्यसले बढी फैलिने मौका पाएको हो । यथार्थमा चाहिँ वैज्ञानिकहरूले सर्पहरूमा यस्तो भावनात्मक वा मानसिक क्षमता हुने कुराको कुनै प्रमाण फेला पारेका छैनन्।

सर्पहरूमा मानिसमा जस्तो स्मरणशक्ति वा बदला लिने भावना हुँदैन। सर्पले अत्यन्तै खतरा महसुस भएमा मात्र आक्रमण गर्छ। वास्तवमा हामी जति सर्पसँग डराउने गर्छौं, त्योभन्दा बढी स्वय सर्प मानिससँग डराउने गर्छ । त्यसैले स्वभाविक रुपमा सर्प मानिससँग आमनेसामने हुनबाट बच्न चाहन्छ र सामना गर्नुभन्दा पनि भाग्न चाहन्छ।

 सर्प एकदमै स्वभाविक प्राणीहरू हुन्, र तिनीहरू मानिसलाई जानाजान आक्रमण गर्दैनन्। सामान्यतया, सर्प आफैँलाई खतरा महसुस भएमा मात्र आक्रमण गर्छन्।

त्यसैले सर्पले बदला लिने भन्ने मान्यता सर्पहरूको स्वभावलाई गलत रूपमा बुझिएको कारणले उत्पन्न भएको हो।यो मिथक वा लोककथाका कुरा हुन् ।

मिथकको फाइदा !

त्यसो त सर्पले बदला लिन्छ भन्ने कुरा मिथक नै भए पनि अप्रत्यक्ष रुपमा यसले  सर्पहरूको संरक्षणमा फाइदा पुर्‍याएको छ भनेर मान्न सकिन्छ। धेरै संस्कृतिहरूमा सर्पलाई विशेष सम्मान र डरको साथ हेर्ने गरिन्छ, जसले गर्दा मानिसहरूले तिनीहरूलाई मार्न डराउने गर्छन् ।

कतिपय संस्कार संस्कृतिमा सर्पहरूलाई मार्नाले दुर्भाग्य आउँछ भन्ने मान्यता प्रचलित छ । त्यसैले सर्पलाई मार्ने कुरालाई निरुत्साहित गरेको हुन्छ ।  वास्तवमा यस्ता मिथकले यसले सर्पहरूको संरक्षणमा अप्रत्यक्ष रुपमा फाइदा पुर्‍याइ रहेको हुन्छ ।

तर, ख्याल गर्नुपर्ने कुरा के हो भने अवैज्ञानिक तथ्य र अन्धविश्वासमा आधारित धारणाहरुलाइ बढावा दिएर हैन, सर्पहरूका बारेमा सही जानकारी र शिक्षा फैलाएर उनीहरूको महत्व बुझाउनुपर्छ। हामीले के कुरा बुझाउनु जरुरी छ भने सर्पहरू पारिस्थितिकीय प्रणालीका एउटा प्रमुख हिस्सा हुन् र तिनले बालीनाली नोक्सान गर्ने मुसा, कीराहरु खाएर मानिसलाई सहयोग गरिरहेका हुन्छन् । त्यसैले हामीले सर्पलाई मार्ने, नोक्सानी पुर्‍याउने हैन,  तिनीहरूलाई संरक्षण गर्नुपरंछ । निश्चय पनि मिथकहरूले अप्रत्यक्ष रुपमा सर्पको संरक्षणमा मद्दत पुर्‍याएको हुन सक्छ, तर सर्पजस्ता मानवमित्र जीवहरुको दीर्घकालीन संरक्षणका लागि वैज्ञानिक दृष्टिकोण र जागरूकता बढाउनु जरुरी छ ।

image source: https://4.bp.blogspot.com/

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।