राति पनि देख्न सक्ने जीव बिरालो !

मानिसले कहिले र किन बिरालोलाई घरपालुवा बनाए ?

मानिसले घरेलु बनाएको अर्थात् घरपालुवा बनाएका जीवहरुमध्ये बिरालो पनि हो । धेरैले यसलाई आफ्नो घरमा राखी परिवारकै एक सदस्यको रुपमा माया गर्ने पनि गर्छन् ।

मानिसले बिरालोलाई घरपालुवा बनाउन थालेको इतिहास धेरै पुरानो छ।

प्राचीन इजिप्टमा आजभन्दा करिब ४ हजार वर्षअघि बिरालोलाई घरेलु जनावरका रूपमा पाल्न थालिएको थियो। इजिप्टमा बिरालो अत्यन्तै सम्मानित जीव रहेको थियो र यसलाई देवी-देवताको रूपमा पनि पुजा गरिन्थ्यो । खासगरी, त्यसबेला विरालोको स्वरुपलाई  बास्तेट (Bastet) देवीको रुप मानिइन्थ्यो । त्यसैगरी, प्राचीन मेसोपोटामिया  (आजको इराक) मा पनि बिरालोहरू पाल्तु बनाइएको तथ्यहरु फेला परेका छन् ।

मानिसले के कति कारणले र कसरी घरपालुवा बनाएभन्नेबार खासै भन्न सकिन्न । तर मानिसले कृषि युगमा अन्नलाई बचाउनको लागि बिरालोलाई पाल्तु बनाउन थालेको विश्वास गरिन्छ । खासगरी, मानिसहरूले कृषि कर्ममा हात हालेर अन्न भण्डार गर्न थालेपछि सबैभन्दा प्रमुख समस्या मुसा बन्यो । मुसाले भण्डारण गरी राखिएका अन्नको ठूलो हिस्साब बर्बाद गरिदिन्थ्यो । मुसाका प्राकृतिक शत्रुहरुमा लाटकोसेरो, सर्प, विरालो लगायतका जीवहरु रहेको मानिसले देखेका थिए । त्यस क्रममा घरमा पाल्न सकिने सजिलो जीवको रुपमा मानिसले बिरालोलाई अपनाए । उनीहरुले विरालोलाई संरक्षण गर्न थाले । बिरालोलाई पनि अरु जीवहरुबाट सुरक्षा प्राप्त हुने तथा सहज भोजनप्राप्ति हुन सक्ने अवस्थाका कारण मानिससँग बस्न रुचाए ।  फलत: जङ्गली अवस्थाबाट विरालो घरपालुवा जनावरमा परिणत भयो ।

यसरी बनेको थियो बिरालो पाल्ने चलन विश्वव्यापी !

प्राचीन इजिप्टबाट शुरु भएको बिरालोहरूलाई घरपालुवा बनाउने चलन त्यहाँबाट विस्तारै पश्चिम एशिया, युरोप र एशियामा फैलिएका थिए। त्यसबेला इजिप्टबाट व्यापारीहरूले बिरालोहरूलाई नयाँ ठाउँहरूमा लगेको र तिनीहरू क्रमशः संसारभरि फैलिएको अनुमान गरिएको छ।

त्यसैगरी, रोमन साम्राज्यको समयमा पनि बिरालोहरू युरोपमा फैलिएका थिए। त्यसबेला बिरालोहरूलाई खेतबारीमा पालेर मुसा र अन्य कीराहरू नियन्त्रण गर्न उपयोग गरिन्थ्यो।

आधुनिक समयमा बिरालोहरू घरेलु जनावरका रूपमा विश्वभरि निकै लोकप्रिय छन्। खासै हेरचाह गरिबस्नु नपर्ने, बस्नका लागि थोरै स्थान भए पनि पुग्ने र  यसको शान्त स्वभावले गर्दा बिरालो घरपालुवा जनावरहरुमध्येका  सबै प्रिय बनेका छन्।

रात्रिचर जीव

बिरालो बाघ, चितुवा आदिको परिवारभित्र पर्दछ । त्यसैले यसका धेरै व्यवहारहरु तिनीहरुसँग मेल खान्छन् । उदाहरणका लागि यसको शिकार पक्रने शैली बाघको शिकार गर्ने शैलीसँग मिल्दछ । जसरी बाघले पछाडिबाट झम्टेर शिकार गर्छ, बिरालोले पनि त्यसरी नै शिकार पक्रने गर्छ । बिरालोमा हावामा २ मिटर माथिसम्म उफ्रने क्षमता हुन्छ । यसको खुट्टाको बनावट यस्तो प्रकारको हुन्छ– यसले कुनै आवाजविना शिकार गर्न सक्छ । अझ पञ्जामा १८ भाग भएको कारणले गर्दा यसले एक पटक समातेको शिकारलाई उम्कन निकै गाह्रो हुन्छ । यसले विशेष गरेर रातमा शिकार गर्ने गर्छ ।

यसरी विरालोले रातमा बढी शिकार गर्ने गर्नुको कारण यसले रातको अन्धकारमा समेत देख्न सक्नुले गर्दा पनि हो ।

बिरालोले रातमा कसरी देख्छ ?

स्वभाविक रुपमा प्रश्न उठ्न सक्छ: बिरालोले किन र कसरी रातिको अन्धकारमा पनि आँखा देख्न सक्छ?

बिरालोहरू रातिको अन्धकारमा पनि राम्रोसँग देख्न सक्षम हुनुको मुख्य कारण आँखा संरचना र विशेष अनुकूलन हुन्।  बिरालोको आँखामा विशेष संरचना हुन्छ जसलाई ट्यापेटम लुसिडम (Tapetum Lucidum) भनिन्छ। यो आँखामा प्रवेश गर्ने उज्यालोलाई फेरी रेटिनामा परावर्तित गरिदिने आँखाभित्रको एक परावर्तक तह हो । यसले कम प्रकाशमा पनि दृश्य स्पष्ट बनाउन मद्दत पुर्‍याउँछ। यही कारणले बिरालोको आँखा रातको समयमा चम्केको देखिन्छ।

विरालोले रातको समयमा पनि राम्ररी देख्न सक्नुमा त्यसको आँखामा हुने दुई किसिमका  फोटोरेसेप्टर कोषिका (Photoreceptor Cells) हरुले मद्दत पुर्‍याउने गर्छ । त्यसमध्येका एक रड कोषिका (Rod cells) कम प्रकाशमा पनि संवेदनशील हुन्छन् । फलत: रातको कम प्रकाशमा पनि  बिरालोहरूलाई देख्न मद्दत गर्छ। त्यसै गरी अर्को कोन कोषिका (Cone cells) पनि यसमा सहयोग गरिरहेको हुन्छ । कोन कोषिकाको मुख्य काम रंगहरू पहिचान गर्न मद्दत गर्नु हो । त्यसका लागि प्रकाशको जरुरत त पर्छ तर बिराला आँखामा यस्ता रड कोषिकाहरु सामान्यत: धेरै हुन्छन् । जसले गर्दा उनीहरू कम उज्यालोमा पनि राम्रो देख्न सक्छन्।

बिरालोले रातको अँध्यारोमा पनि राम्ररी देख्न सक्नुको कारण उसको आँखाको  पुतलीको आकारमा हुने परिवर्तन (Pupil Size Adjustment) पनि एक हो । बिरालोको आँखाको पुतली (pupil) अत्यन्तै लचिलो हुन्छ। यसले आफ्नोे आँखाको नानीको परिधि आवश्यकता अनुसार घटबढ गर्न सक्छ । यसले उज्यालो प्रकाश भएको बेला आँखाको नानी सानो पार्छ र अँध्यारोमा नानीलाई ठूलो बनाउँछ । यसरी यसले हरेक कोणबाट प्रकाश बटुल्न सक्छ र देख्न सक्छ । यो उज्यालोमा सानो र तिखो आकारमा खुम्चन्छ भने अन्धकारमा ठूलो र गोलो हुन्छ। यसले आँखामा धेरै उज्यालो प्रवेश गर्न मद्दत गर्छ, जसले अन्धकारमा देख्न सक्ने क्षमता बढाउँछ।

त्यसैगरी, बिरालोको आँखा अगाडितिर केन्द्रित हुने भएकाले उनीहरूको दृष्टिकोण क्षेत्र फराकिलो हुन्छ। यो गहिराइको धारणा (depth perception) बढाउँछ, जसले गर्दा उनीहरू रातिमा सजिलै चल्न र सिकार गर्न सक्षम हुन्छन्।

बिरालोहरू स्वभावैले निशाचर जनावर हुन्। जीव विकासक्रममा यसले लामो समयदेखि अपनाउँदै आएको रात्री जीवनशैली (Nocturnal Adaptation) का कारण उनीहरूको आँखा र शारीरिक संरचना कम प्रकाशको वातावरणमा सिकार गर्न र बाँच्न अनुकूलित भएको हुन्छ ।

यसरी बिरालोको आँखा संरचनामा भएको विशेष अनुकूलनले उनीहरूलाई अन्धकारमा पनि सजिलै देख्न सक्षम बनाउँछ। यसले गर्दा उनीहरू रातमा सिकार गर्न र आफ्नो वरपरको वातावरण सजिलै बुझ्न सक्षम हुन्छन्।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।