लामो समय पानीले भिज्दा हातखुट्टाका छाला किन चाउरिन्छ ?
हात त धुँदा पनि भिज्छ, नुहाउँदा पनि भिज्छ । तर ती दुई कार्यमा हात भिजाइको रुप भने फरक देखिन्छ । अलि लामो समय लगाएर नुहाउँदा हातको छाला चाउरिएको देखिन्छ । हात धुँदा त्यस्तो रुप देखिँदैन । यस्तो किन भयो ?
हाम्रो शरीरमा छाला तन्किने (elastic) अवस्थामा रहेको हुन्छ । त्यसले शरीरमा सुरक्षाकवचको काम गर्दछ । त्यस सुरक्षा कवचमा तीनवटा तहहरु हुन्छन् – मृत कोषहरुको माथिल्लो तह, मध्यम तह जो जीवित कोषहरुको हुन्छ र तल्लो तह जो मांसपेशी र बोसोसँग सम्बन्धित हुन्छ ।
लामो समयसम्म पानीमा भिज्दा छालामा चाउरी पर्नु ((wrinkling) एक स्वाभाविक प्रतिक्रिया हो। यो खालको स्थिति मुख्यतया हाम्रा औँला र पैतालाका छालामा देखिन्छ। यसरी छालामा चाउरी परिने प्रक्रिया हाम्रो स्वायत्त स्नायुतन्त्र (autonomic nervous system) को नियन्त्रणमा हुन्छ। जब छाला लामो समयसम्म पानीको सम्पर्कमा आउँछ वा भिज्छ, उक्त स्नायुतन्त्रले रक्तनलीहरूलाई खुम्चिन संकेत गर्छ । त्यसले गर्दा छालाको मुनि रहेका कोषहरुमा रक्तप्रवाह कम हुन्छ। यसले छालाको माथिल्लो तहलाई खुम्च्याइदिन्छ र त्यसमा चाउरीहरू देखा पर्छन्।
आखिर यसरी चाउरी पर्छ चाहिँ किन ?
यस प्रश्नको उत्तर खोज्ने क्रममा वैज्ञानिकहरुले यसरी पानीमा भिज्दा छालामा चाउरी पर्ने प्रक्रिया विकासवादी अनुकूलनसँग सम्बन्धित हुनसक्ने विश्वास गर्छन्। त्यसअनुसार, प्राचीनकालमा मानिसहरूले शिकार वा खानेकुराको खोजीमा गहिरो पानीमा थुप्रै समय बिताउने गर्थे । त्यस अवस्थामा पानीभित्रको बस्तुहरुलाई राम्ररी पक्रन चाउरी परेको छालाले मद्दत गर्थ्यो। त्यही कारण नै एउटा लामो कालखण्डमा पानीभित्रका बस्तुहरु सजिलै पक्रनका लागि प्रकृतिले अनुकूलनका लागि त्यस किसिमको अवस्था विकसित गरेको हुन सक्छ ।
यसको जैविक वा वैज्ञानिक कारण खोज्दा ओसमोसिस (Osmosis) प्रक्रिया जिम्मेवार देखिन्छ । लामो समयसम्म पानीमा रहँदा छालाको बाहिरी तहमा रहेको केराटिन (keratin) नामक प्रोटिनले पानी सोस्छ। यो प्रक्रियालाई ओसमोसिस (Osmosis) भनिन्छ । त्यस दौरानमा पानी छालाको कोशिकाहरूमा प्रवेश गर्छ। यसले छालाको उपरी तहलाई फुल्लाइदिन्छ, तर छालाको आन्तरिक तहहरूमा यो फुल्निने प्रक्रिया हुँदैन। यसरी बाहिर तह फुल्लिने र भित्री तह नफुल्लिने प्रक्रियाका कारण हाम्रो छालामा चाउरी देखिन्छ।
छालामा चाउरी पर्नु एउटा बायोमेकानिकल (Biomechanical Process) प्रक्रिया पनि हो । यस प्रक्रियाले छालाको सतहलाई तनावको कारण उत्पन्न हुने तन्किने तहहरूमा बदल्छ। यो प्रक्रिया मुख्य गरेर औंलाहरू र पैतालामा प्रष्टसँग देखिन्छ, किनकि त्यहाँका छाला बाक्लो हुन्छ र यसले पानीमा लामो समयसम्म रहँदा तीव्र प्रतिक्रिया देखाउँछ।
अर्को एक मान्यताअनुसार यसरी पानीले भिज्दा छालामा चाउरी पर्नु आवश्यकता अनुसार प्रक्रिया (Physiological Necessity) पनि हो । खासगरी पानीले भिज्दा यसरी चाउरी पर्ने प्रक्रिया विशेष गरेर हातका औंलाहरू र पैतालामा बढी मात्रामा देखापर्छ । खासगरी, लामो समयसम्म हात र खुट्टाका छालाहरु पानीमा डुब्दा वा सम्पर्कमा आउँदा त्यस क्षेत्रका रक्तनलीहरूमा संकुचन (vasoconstriction) आउँछ । यस दौरानमा त्यस क्षेत्रमा रगतको सञ्चार कम हुन्छ । फलत: त्यस क्षेत्रका छालाहरु खुम्चिन पुग्छ र चाउरी पर्छ । के मानिन्छ भने, शरीरका अन्य भागको तुलनामा सबैभन्दा बढी रक्तनली संकुचन औंलाहरू र खुट्टामा हुन्छ । त्यसैले लामो समय पानीको सम्पर्कमा आउँदा सबैभन्दा प्रष्ट चाउरी हात खुट्टामा देखापर्ने गर्छ ।
अर्को एक मान्यता अनुसार त्यसरी छालामा चाउरी पर्नुको कारण त्यस क्षेत्रमा हुने अक्सिजनको कमीको असरलाई न्यून गर्न वा त्यसअनुसार अनुकूलन गर्नु पनि हो । यसलाई म्यामलियन डाइविङ रिफ्लेक्स भनिन्छ । त्यसबाहेक, हामीले लामो समयसम्म हातखुट्टालाई पानीमा डुबाउँदा शरीरले तातो पनि गुमाउन पुग्छ । यस्तो अवस्थामा सम्भवत: भिजेको हात खुट्टामा देखापर्ने चाउरीले शरीरलाई आफ्नो महत्वपूर्ण अङ्गहरुलाई तातो गुमाउँदै गइरहेको स्थितिबाट सुरक्षित हुन संकेत गरेको पनि हुन सक्छ ।
Image: https://www.divescotty.com
प्रतिक्रिया