हिरोशिमा र नागासाकीमा एटम बम बर्षँदा लाखौं मान्छे जिउँदै डढे !
सोमवार, ६ अगस्त १९४५ । पश्चिम जापानको सुन्दर शहर हिरोशिमा । साढे तीन लाख जनसंख्यालाई आफ्नो छातीमा बोकेर यो शहर गरम तर स्वच्छ आकाशसहित बिहानैदेखि मुस्कुराइरहेको थियो ।
त्यहाँ छाइरहेको शान्तिलाई एक्कासी बिहान ७:०९ बजेको खतराको साइरनले भंग गर्यो । आकाशमा मडराइरहेको अमेरिकी बमबर्षक विमान बी२९ ले कुनै पनि बेला बमबर्षा गर्न सक्ने सूचना जारी भयो । तर त्यो विमान आकाशमा चक्कर मारेर बम नखसालीकन उत्तिकै फर्क्यो । ७:३१ मा अब सब ठीक ठाक छ भन्ने सूचना जारी भयो । गएको ६ दिनदेखि दिनदिनै र रातिसमेत यस्तो क्रम लगातार व्यहोरिरहेका भयग्रस्त र अनिंदा हिरोशिमाबासीहरू फेरि एकचोटि ढुक्क भए । विहानको नास्ता गरेर उनीहरू आआफ्नो काममा लागे । साना बच्चाहरू खेल्न थाले । सडकमा मान्छेहरूको आवत-जावत बढ्न थाल्यो । ट्राममा भीड बढ्न थाल्यो ।
तर घण्टाभरमै त्यो बिमान फेरि हिरोशिमाको स्वच्छ प्रभातकालीन नीलो आकाशमा चक्कर मार्न थाल्यो । तर यसपटक विमान एउटा मात्र थिएन, तीन तीनवटा थियो । ठीक ८:१५ बजे 'एनोला गे' नामको त्यो विमानबाट एउटा पाराशूट फुत्त तल खस्यो । खेलिरहेका बच्चाहरूले आकाशको त्यो दृश्य देखे र कराए 'हेर, हेर प्याराशूट ! प्याराशूट !' तल खसिरहेको प्याराशूटमा लाम्चो गोलो कुनै बस्तु झुण्डिरहेको प्रष्टै देखिन्थ्यो । तर जापानीहरूलाई के थाहा त्यो सानो वस्तुले लाखौं जापानीहरूको मृत्यु र असह्य वेदनाको बीउलाई आफ्नो गर्भमा बोकेको छ भनेर ? मान्छेहरूलाई थाहै थिएन त्यो दुनियाँको सबैभन्दा पहिलो एटम बम थियो भनेर ।
लिटिल व्वाय सहितको एनोला गे वमवर्षक विमान, जसले हिरोशिमामा बम खसालेको थियो । तस्विर: https://assets.editorial.aetnd.com
त्यति नै बेला जापानी सैनिक मुख्यालयबाट हिरोशिमाको रेडियो स्टेशनमा उद्घोषक मसानाबु फुरूतालाई इमर्जेन्सी फोन आयो 'शत्रुका तीनवटा ठूला विमानहरू आज बिहान ८ बजेर १३ मिनेट जाँदा सेजो नगरमाथि उडेको देखियो ती सबै हिरोशिमातिरै अघि बढिरहेछन् पूर्ण सावधान हुनू !' खबर पाएपछि उद्घोषकले एकैछिनपछि रेडियोबाट फुके 'मिलीटरी कमाण्डले भनेको छ तीनवटा शत्रुका हवाइजहाजहरू... उद्घोषकको पूरा कुरो नै सकिन पाएको थिएन, रेडियो स्टेशन एटम बमको असरले धूलोपीठो भयो ।
जापानीहरूलाई के थाहा त्यो सानो वस्तुले लाखौं जापानीहरूको मृत्यु र असह्य वेदनाको बीउलाई आफ्नो गर्भमा बोकेको छ भनेर ?
विमानबाट प्याराशूटमा खसालिएको 'लिटिल ब्वाय' (सानो केटो) नाम गरेको त्यो आणविक बम लक्ष्य गरिएको आइवोइ पुलमा खसेन, त्यसको झण्डै दुई सय गज पर शिमा अस्पतालको आँगनको ५८० मीटरमाथि बीच आकाशमै भयानक जोडसित पड्कियो । सारै ठूलो आवाजले गर्दा मान्छेहरू त्यसको स्वर नै सुन्न समर्थ भएनन् । हिरोशिमाबासीहरूले एक्कासी दुई तीन सेकेण्डसम्म सैयौं सूर्य किरण बराबरको नीलो सेतो प्रकाश आँखा नै चकाचौंध हुने गरी झिलिक्क बलेको महसुस गरे । तुरून्तै त्यो बिष्फोटबाट चारैतिर यति चर्को ताप फिंजिन थाल्यो, मानौं, आकाशको सूर्य पिण्ड नै पृथ्वीमा झरेको छ ।
एटम बम बिष्फोट भएको ठाउँको ठीक मुन्तिरको जमीनमा पाँच सय गज वरिपरि अहिलेसम्म नदेखिएको सारै अचम्मको दृश्य देखियो । त्यहाँ सबैथोक तुरून्तै डढेर भष्म भए । जिउँदा मान्छेहरू अत्यधिक तापले गर्दा बाफ र धुँवामा परिणत भए । कैयन मान्छेहरू डढेका साना काला ध्वाँसे मासुको डल्लामा परिणत भए । किनभने, त्यहाँको तापक्रम चढ्यो तीन हजारदेखि चार हजार डिग्री सेण्टीग्रेडसम्म । बिष्फोट बिन्दुको डेढ किलोमिटर वरपरको तापक्रम नै ५४० डिग्रीभन्दा माथि पुग्यो । दुई माइलभित्र परेका सबै घरहरू तुरून्तै भत्किए र तिनीहरूमा आगलागी फैलियो । तुरून्तै जमीनबाट बाक्लो बादलको धुँवाको मुस्लो माथि आकाशमा चालीस हजार फीटमाथिसम्म च्याउको आकारमा उम्लियो । विष्फोटको लगत्तैपछि अपूर्व तापको लहर चारैतिर फिंजियो । आधा माइलभित्रका सबै मान्छेहरू रेडियो विकीरण र अत्यधिक तापले गर्दा तुरून्तै मरे ।
जो तुरून्तै मरे, ती भाग्यमानी ठहरिए । सबैभन्दा दर्दनाक बिजोग त बिष्फोट केन्द्रबाट केही पर हुनेहरूको भयो, खासगरी दश वर्गकिलोमिटर परसम्म रहनेहरूको । त्यहाँ हजारौ मान्छेको अनुहार विकीरणयुक्त ताप लहरले गर्दा कुरूप हुने गरी डढ्यो । केही मान्छेहरू, जसले बम बष्फोटलाई नाँगो आँखाले हेरे, उनीहरूको आँखाका गेडीहरू नै पग्लिएर झरे । असंख्य मानिसका जिउभरिका छाला डढेर आलुका बोका झैँ उप्किए र शरीरमा तन्द्रंग झुण्डिए । सबैजसो घरका शिशा चकनाचूर भएर फुटे । धेरै मान्छेको शरीरमा फुटेका धारिला शिशाका टुक्राहरू गडेर घाउ हुने र नसाहरू फुटेर रगतको फोहोरा छुट्ने स्थिति भयो । चर्को तापले मान्छेका लुगाहरू तुरून्तै खरानी हुने र मान्छेहरू नांगै हुन जाने स्थिति सर्वत्र देखापयो । कतिपयको त डढेका लुगाको बुट्टाछाप नै ढाडको छालामा टाँसिने गरेको देखियो । शरीरका रौं र यौनांग डढ्नाले व्यक्ति लोग्नेमान्छे हो कि स्वास्नीमान्छे भनेर छुट्याउन गाह्रो हुने स्थिति यत्रतत्र देखापर्यो ।
आणविक बम प्रहारपछि खण्डहर बनेको हिरोशिमा
जो तुरून्तै मरे, ती भाग्यमानी ठहरिए । सबैभन्दा दर्दनाक बिजोग त बिष्फोट केन्द्रबाट केही पर हुनेहरूको भयो, खासगरी दश वर्गकिलोमिटर परसम्म रहनेहरूको । त्यहाँ हजारौ मान्छेको अनुहार विकीरणयुक्त ताप लहरले गर्दा कुरूप हुने गरी डढ्यो ।
७६ हजार घरहरू भएको हिरोशिमा शहरमा खालि ६ हजार घरहरू मात्र सग्लो बँचे, बाँकी सबै सत्तरी हजार घरहरू भत्केर वा डढेर स्वाहा भए । अठचालीस हजार घरहरू त पूरै पाताल भए । सबैभन्दा कन्तबिजोग त घर भत्किने र त्यसभित्र मान्छे च्यापिने, अनि त्यहाँ आगलागी पनि हुने घटनाबाट भयो । कैयन मान्छेहरू यस्तो भग्नावशेष र आगोमा परेर 'गुहार गुहार आत्था, आगोले पोल्यो' भनेर कराउँथे । तर बाहिर त्यो आर्तनाद सुन्ने र मद्दत गर्ने कोही हुँदैनथे । जो हुन्थे, तिनीहरू आफैं सहायता गर्न नसक्ने निरिह हालतमा हुन्थे । यसरी जिउँदै डढेर हज्जारौं हिरोशिमाबासीहरू स्वाहा भए । सिंगै हिरोशिमा शहर यसप्रकार इँटाभट्टाभित्रको आगोको सुरूङ देखियो ।
जो यो आगोबाट बचेर निक्ले, ती मिजु, मिजु (जापानी भाषामा पानी, पानी) भन्दै बाटामा लाशै लाशमाथि कुल्चदै नदीखोलातिर हामफाले । अतिशय ताप र घाउले गर्दा शरीरमा पानीको मात्रा कम भएका हिरोशिमाबासीहरू नदीको पानीमा राहतको निम्ति डुबे । तर नदीको पानी पहिले जस्तो चीसो र स्वच्छ थिएन । चर्को तापलहरले गर्दा नदीको पानी पनि भक्भकी उमालेको सरह थियो । घरहरू भत्केको र मरेका माछा र लाशहरूको थुप्रो लागेकोले गर्दा पानी निकै प्रदूषित पनि थियो । कतिपय मानिसहरू यही पानी खाएर नदीमै मरे । त्यो दिन हिरोशिमा शहरको इमर्जेन्सी स्वास्थ्य उपचार व्यवस्था र नगरपालिकाको राहत व्यवस्था पनि नराम्ररी तहसनहस थियो । अस्पताल र स्वास्थ्य उपचार केन्द्रहरूमा दशौं हजार घाइतेहरू थुप्रिए । तर अस्पताल र स्वास्थ्य केन्द्रहरू आफै भत्केर र आगो लागेर बिजोग स्थितिमा थिए । शहरका जम्मा १५० डाक्टरहरूमध्ये ६५ जना त एटम बम बिष्फोट हुनासाथ नै मरे । बाँकी धेरैजसो नराम्ररी घाइते थिए । नर्सहरूमध्ये ९० प्रतिशत या त मरे, या केही पनि गर्न असमर्थ हुने गरी घाइते थिए। तथापि, जो बाँकी बचेका थिए, तिनीहरूले बहादुरीपूर्वक घाइते बिरामीहरूको उपचार गरे । तर यसपल्ट उपचारको लागि आएका सबैजसो घाइतेहरूको समस्या उनीहरूको निम्ति बिल्कुलै नौला र अचम्मको थियो । उनीहरू एटम बमले पैदा गरेको नाभिकीय ताप र रेडियो विकीरणको समस्याले गर्दा ग्रस्त विरामी थिए । यस्तो रोग उनीहरूले न पहिले कहिल्यै देखेका थिए, न सुनेका । एक्स रे गर्न खोज्दा हिरोशिमाको रेडक्रस अस्पतालको भण्डारमा भएका सबै नयाँ एक्स रे प्लेटहरू एक्सपोज भएर काम नलाग्ने भइसकेको पाइयो ।
यसपल्ट उपचारको लागि आएका सबैजसो घाइतेहरूको समस्या उनीहरूको निम्ति बिल्कुलै नौला र अचम्मको थियो । उनीहरू एटम बमले पैदा गरेको नाभिकीय ताप र रेडियो विकीरणको समस्याले गर्दा ग्रस्त विरामी थिए । यस्तो रोग उनीहरूले न पहिले कहिल्यै देखेका थिए, न सुनेका ।
एटम बमको आगोको पोलाइ र घाउले गर्दा आहत हिरोशिमाबासीहरूलाई थप समस्या चर्को आँधी भुमरी र कालो वर्षाले पार्यो । अरू बमहरूमा देखा नपर्ने अचम्मको र डरलाग्दो 'शक वेभ' ताप-लहर अणुबमको विष्फोटमा देखा पर्यो । वम विष्फोट हुने बित्तिकै विष्फोट बिन्दुबाट पहिला प्रथम अति चर्को तापको लहर बाहिर प्रवाहित भयो । पहिले यो लहर भुमरीझैँ चक्कर लाउँदै अघि बढ्यो । तर पछि फेरि फर्केर केन्द्रतर्फ नै आउन थाल्यो । यो भयनाक ताप लहर यसरी अघि बढ्ने र पछि हट्ने प्रक्रियाले गर्दा एक किसिमको चक्रवात जस्तो डरलाग्दो आँधी-बेहरी सिर्जना गर्यो । यो आँधीले विष्फोट केन्द्रको करीब एक माइलभित्रका सबैजसो बड़े बड़े घरहरूलाई ढड्याम्म ढड्याम्म ढाल्यो, गह्रौं गह्रौं वस्तुहरूलाई र मान्छेलाई समेत उडाएर र हुर्याएर कता कता पुऱ्यायो । थोरै कंक्रिटका घरहरू छाडेर बाँकी सबै भवनहरू धूलोमा मिले। कहीं कहीं त पाँच माइल उतासम्मका घरका छानाहरू समेत यो चक्रवातले उडायो ।
एटम बम पड्कँदा मेजर जनरल म्यात्सुमारा आफ्नो क्वार्टरमा बसिरहेका थिए, जुन विष्फोट बिन्दुबाट तीन हजार फीट टाढा थियो । बम बिष्फोट हुनासाथ उनी उडेर हावामा तैरिन पुगे । जब उनी भुँईमा झरे, उनको बगैंचानेर निकै ठूलो आगोको डल्ला बलेको देखियो । हारूवो मासुमोटोलाई यो आँधीले तीस गज पर हुऱ्याइदियो । आँधीले आगोलाई शहरको चारैतिर फैलायो । तुरून्तै अचम्मको मुसलधारे वर्षा हुन थाल्यो । यो वर्षा कालो र चिल्लो थियो, पानीको थोपा गुच्चाका गेडा जत्रा ठूला थिए र थोपाहरू सारै नै चीसा थिए । यो वर्षा दुई घण्टासम्म भइरहयो । यो रेडियो विकीरणले भरिभराउ अति चीसो वर्षाले हिरोशिमाबासीको घाउलाई अरू बेसी चर्कायो, असंख्य घरबारविहीनहरूलाई ठिहिर्याएर समस्याग्रस्त पायो ।
हिरोशिमा शहरमा अब ठूलठूला काला झिँगाहरू देखापरे । ती झिंगाहरूले छाला उप्केर भित्रको मासु समेत देखिएका हिरोशिमाबासीहरूको घाउ नै घाउले भरिएको शरीरमा फूल पार्ने प्रयत्न गरे ।
बम काण्डमा बँचेका मिचिको वातानावे भन्छिन्- 'घाइतेहरू यति कमजोर थिए कि उनीहरूसित आफ्नो शरीरमा लागेका काला झिंगाहरू धपाउने तागत समेत थिएन । केहीका शरीरमा त ब्लाङ्केटले छोपे झैं गरी काला झिंगा भन्किरहेका देखिन्थे ।'
हिरोशिमा शहरमा अब ठूलठूला काला झिँगाहरू देखापरे । ती झिंगाहरूले छाला उप्केर भित्रको मासु समेत देखिएका हिरोशिमाबासीहरूको घाउ नै घाउले भरिएको शरीरमा फूल पार्ने प्रयत्न गरे ।
यी सबको कुल जोडबाट रमणीय हिरोशिमा शहर खरानी नै खरानी, भग्नावशेष र लाशै-लाशको शहरमा परिणत भयो । एटम बम विष्फोटको पहिलो दिनमै त्यहाँ लगभग एक लाख मान्छेको मृत्यु भयो । घाउ र विकीरणले गर्दा वर्षको अन्तसम्म मर्नेहरूको संख्या एक लाख चालीस हजार पुग्यो । एउटै बमले यति छिटो यति धेरै नागरिकहरू एकै चिहान भएको घटना यो विश्वमै पहिलो थियो ।
बाँकी बचेका हिरोशिमाका आधा जनसंख्याको बाँकी जीवन पनि सारै पीडादायी र दुःखदायी रह्यो । रेडियो विकीरणले गर्दा गर्भवती आमाहरूले या त अन्धा, कुरूप र विकलांग बच्चा जन्माए, या मरेका । असंख्य अंगभंग भएका घाइते नागरिकहरू न त छिटै मर्न सके, न बाँचेरै केही गर्ने उनीहरूको सामर्थ्य रह्यो । एउटै बमले व्यापारिक शहर हिरोशिमा उजाड मरुभूमिमा बदलियो । न त त्यहाँ तुरून्तै केही उम्रने स्थिति रह्यो, न त कुनै बन्द व्यापार कल-कारखाना खडा हुने नै । लाखौं जनसंख्या असह्य घाउबाट तड्पिँदै अर्काको दयामा परजीवी जिन्दगी बाँच्नु पर्ने स्थिति त्यहाँ रह्यो ।
हिरोशिमाको यो दर्दनाक नियतिको कारक थियो- अमेरिका ।
तर दोस्रो विश्वयुद्धमा हिरोशिमा शहरलाई ध्वस्त पारेर मात्र अमेरिका सन्तुष्ट भएन । अमेरिका युद्धमा जापानलाई घुँडा टेकाउन अर्को नागरिक शहरलाई पनि एटम बमले ध्वस्त पार्न तम्सियो ।
उसको दोस्रो निशाना थियो- हिरोशिमाकै नजिकैको कोकुरा शहर, जहाँ जापानको विशाल हतियार भण्डार थियो । तर कोकुरामा 'फ्याट म्यान' नामक पहिलेभन्दा दोब्बर बिष्फोटक क्षमता भएको अर्को एटम बम खसाल्न हिँडेको अमेरिकी बी२९ बमवर्षक विमानले घना बादल र कम तेलको कारणले त्यो बम त्यहाँ खसाल्न सकेन । त्यसपछि त्यस कामका लागि जिम्मेवार मेजर डब्ल्यू स्वीनेले निर्णय गरे- 'अब दोस्रो होइन, तेस्रो निशाना- नागासाकीमा एटम बम खसाल्ने ।'
उसको दोस्रो निशाना थियो- हिरोशिमाकै नजिकैको कोकुरा शहर, जहाँ जापानको विशाल हतियार भण्डार थियो । तर कोकुरामा 'फ्याट म्यान' नामक पहिलेभन्दा दोब्बर बिष्फोटक क्षमता भएको अर्को एटम बम खसाल्न हिँडेको अमेरिकी बी२९ बमवर्षक विमानले घना बादल र कम तेलको कारणले त्यो बम त्यहाँ खसाल्न सकेन ।
खण्डहर बनेको नागासाकी शहर
अगस्त ९ को बिहान ११.०२ बजे पश्चिम जापानको नागासाकी शहरको ५०० मिटरमाथि बीच आकाशमा 'फ्याट म्यान' त्यत्तिकै भयानक तवरले पड्कियो । हिरोशिमामा जे जे भयो, ठीक त्यस्तै कुराहरू दुई लाख जनसंख्या भएको नागासाकीमा पनि कार्बन कपी झैं दोहरिए । उस्तै नीलो सेतो बिजुलीको आँखा नै अन्धो पार्ने झिल्का, उस्तै ताप लहर, उस्तै बिष्फोट, उत्तिकै दोब्बर शक्तिको बम बिष्फोट भएर पनि नोक्सानी चाहिँ हिरोशिमा जति भएन । नागासाकी शहरको भौगोलिक अवस्थितिको कारणले नै त्यहाँको ध्वंश पहिलेको भन्दा थोरै र सीमित
भयो । एटम बम यूराकामी उपत्यकाको आकाशमा विष्फोट भयो । सबैभन्दा बेसी नोक्सानी त्यही उपत्यकामा भयो, यद्यपि विकीरण दुई वटा उपत्यकामा फैलियो ।
किन एटम बमको प्रयोग ?
हामीले यसरी देख्यौं कि, हिरोशिमा र नागासाकीमा एटम बम खसालिनाले दुई तीन लाख मानिसको ज्यान गयो, त्यो पनि निर्दोष नागरिकहरूको । त्यति नै मान्छे जिन्दगीभर तड्पिएर असह्य पीडामा बाँच्नु पर्यो । अरबौंको धनजनको क्षति भयो । मानव सभ्यता क्षणभरमै खरानी भयो ।
तर आखिर अमेरिकाले यस्तो नरसंहारकारी हतियार किन प्रयोग गर्यो त ? किन उसले यति धेरै नागरिकहरूको ज्यान लिने र जीवनमा दुःख र पीडा निम्त्याउने काम गर्यो ?
अमेरिका भनिरहेको छ- दोस्रो विश्वयुद्धमा जापानलाई घुँडा टेकाउन नै उसले यस्तो विनाशकारी हतियारको प्रयोग गर्नु परेको हो । उसको उद्देश्य जापानलाई छिटै आत्मसमर्पण गर्न बाध्य पार्नु हो । र, विश्वयुद्ध अन्त्य गर्नु हो ।
आखिर अमेरिकाले यस्तो नरसंहारकारी हतियार किन प्रयोग गर्यो त ? किन उसले यति धेरै नागरिकहरूको ज्यान लिने र जीवनमा दुःख र पीडा निम्त्याउने काम गर्यो ?
तर वास्तविकता भने त्यस्तो देखिँदैन । दोस्रो विश्वयुद्धमा विश्व बजार कब्जा गर्नका लागि फ्रान्स, बेलायत, सोभियतसंघ र अमेरिका विरूद्ध एकैसाथ मिलेर लडेका जर्मनी, इटाली र जापान- यी तीन शक्तिमध्ये दुई शक्ति विश्वयुद्धमा पहिले नै हारिसकेका थिए । जर्मनीले मे ७, १९४५ मै आत्मसमर्पण गरिसकेको थियो । इटाली १९४३ को अक्टोबर १२ सम्ममा अमेरिकी र बेलायती सेनाबाट नराम्ररी पराजित भइसकेको थियो । र, बाँकी थियो- एक्लो जापान । ऊ पनि विश्वयुद्धमा चारैतिरबाट हारिरहेको थियो । १९४५ को अन्तसम्ममा जापानको सर्वत्र हार र आत्मसमर्पण पक्का भइसकेको थियो । जापान खालि इज्जतदार आत्मसमर्पणको वाटो मात्रै खोज्दै थियो । जापानको मुख्य चिन्ता थियो- 'जापानको सम्राटले युद्धको हारबाट सिंहासन गुमाउनु नपरोस् र जापानमा राजा फेर्नु परे पनि राजतन्त्रको अन्त्य नहोस् ।' यो कुरा हुन सकेमा जापान कुनै पनि बेला घुँडा टेक्न तयार भइसकेको थियो ।
जापान घुँडा टेक्न त चाहन्थ्यो, तर सोभियत संघको मध्यस्थतामा । यसो गर्दा नै जापानमा सम्राटको इज्जत र भूमिकालाई बढी आँच नपुर्याइकन नै विश्वयुद्ध रोक्न सकिएला भन्ने जापानी सरकारको विश्लेषण थियो । त्यतिखेरसम्म सोभियत संघ जापानसितको युद्धमा तटस्थ भएको र रूस र जापानबीच तटस्थताको सन्धि कायम भएकोले पनि जापानले यस काममा सोभियतसंघको मध्यस्थता चाहेको थियो । सोभियत संघस्थित जापानी राजदूतमार्फत् यो प्रस्ताव सोभियतसंघसमक्ष जुलाई ३० मै राखिसकिएको पनि थियो । अर्थात हिरोशिमामा एटम बम खसाल्नु एक हप्ताअघि नै ।
यी सबै कुरा जापानमा बम खसाल्नुअघि नै अमेरिकी राष्ट्रपति ट्रूम्यान र उनका विदेशमन्त्री वायरनेस दुबैलाई जानकारी भएको कुरा उनीहरूको डायरीबाट देखिएको छ ।
अमेरिकाका दुई वटा स्वार्थ थिए- एउटा सोभियत संघलाई जापानमाथि प्रभुत्व कायम गर्न नदिनु र त्यहाँ आफ्नो प्रभुत्व कायम गर्नु । अर्को, विश्वमा एटम बमको प्रयोगबाट हतियार र सैन्य शक्तिमा आफू १ नं हो भन्ने कुरा साबित गर्नु ।
त्यसैले, जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्न एटम बम प्रयोग गरेको भन्ने अमेरिकाको तर्कमा कुनै तूक देखिन्न । अमेरिकालाई राम्ररी थाहा थियो कि, एटमबम प्रयोग नगरेपनि जापानको हार र आत्मसमर्पण दुबै निश्चित थियो ।
त्यसो भए एटमबमको प्रयोग किन भयो त ?
यसका पछाडि अमेरिकाका दुई वटा स्वार्थ थिए- एउटा सोभियत संघलाई जापानमाथि प्रभुत्व कायम गर्न नदिनु र त्यहाँ आफ्नो प्रभुत्व कायम गर्नु । अर्को, विश्वमा एटम बमको प्रयोगबाट हतियार र सैन्य शक्तिमा आफू १ नं हो भन्ने कुरा साबित गर्नु ।
बस, यही स्वार्थ पूरा गर्न अमेरिकाले बेलायतको समर्थनसहित जापानमा एटम बम खसाल्ने काम गरेको थियो ।
सोभियत संघ, बेलायत र अमेरिकाबीच १९४५ फरबरीमा याल्टामा सम्पन्न सम्झौताअनुसार, सोभियतसंघ जापानमाथि आक्रमण गर्न तयार भएको थियो । त्यतिखेर जापानलाई हराउन सोभियतसंघको सख्त जरुरी थियो- अमेरिका र बेलायत दुबैलाई । किनभने, त्यतिखेरसम्म जर्मनीले आत्मसमर्पण गरिसकेको थिएन र अमेरिकासित एटम बम पनि थिएन । तर जुलाई १९४५ मा आइपुग्दा स्थिति धेरै बदलिसकेको थियो । अब अमेरिकासित एटम बम पनि पनि थियो र युद्धमा जापान एक्लै परिसकेको थियो । अब अमेरिकालाई एक्लै जापानमाथि विजय पाउने साहस पैदा भएको थियो । त्यसैले, ऊ अब कुनै पनि तरहले सोभियतसंघलाई जापान पस्नबाट छेक्न चाहन्थ्यो । तर बाधा थियो- याल्टामा भएको पहिलेको समझदारी ।
त्यसैले बेलायत र अमेरिकाले दोहोरो, तेहेरो नीति अपनाए । एकातिर, सोभियतसंघलाई जापानमाथि आक्रमण गर्न भन्ने र आक्रमणको सटीक मिति पत्ता लगाउने । अर्कोतिर, सोभियतसंघले आक्रमण गर्नुभन्दा अघि जापानमा एटम बम खसालिसक्ने र जापानलाई घुँडा टेकाइसक्ने । तेस्रो, जापानको सोभियतसंघको मध्यस्थतामा आत्मसमर्पण गर्ने प्रयत्न विफल पारिदिने । बिनाशर्त आत्मसमर्पण गर्न वा पूरापूर ध्वंश बेहोर्न जापानलाई चेतावनी दिने, जुन जापानले राजतन्त्रको बारे ठोस बचन नपाएसम्म तत्कालै मान्न सम्भव थिएन । र, यही कुरालाई एटम बम खसाल्ने निहुँ बनाउने ।
यही नीति र योजनाअनुसार, अमेरिका र बेलायतले जापानमा एटम बम खसाल्ने गोप्य निर्णय जुलाई ४ मै गरे । उता जर्मनीको पोष्टड्याममा सोभियतसंघ, बेलायत र अमेरिकाको शीर्षस्थ सम्मेलन गरेर सोभियतसंघलाई जापानमाथि आक्रमण गर्न उल्क्याए र आक्रमणको सटिक मिति पत्ता लगाए । त्यहीं सोभियत संघको आक्रमणअघि नै जापानमाथि एटम बम प्रहार गर्ने निर्णय पनि दुईथरि बीच गरे । र, जुलाई २६ मा जापानलाई या त बिनाशर्त आत्मसमर्पण गर, अन्यथा तुरून्तै पूरापूर विध्वंश व्यहोर भन्ने अल्टिमेटम पनि दिए ।
अमेरिकाले त्यही योजनामुताबिक अगस्त ६ मा हिरोशिमा र अगस्त ९ मा नागासाकीमाथि एटम बम प्रहार गरेको हो ।
आफ्नो प्रभुत्वको स्वार्थ पूरा गर्न अमेरिकाका शासकहरू लाखौं निर्दोष नागरिकहरूको ज्यान लिन र लाखौं मान्छेलाई दुर्दशामा धकेल्नसमेत कुनै बेर मान्दा रहेनछन् । आफ्नो तुच्छ स्वार्थका खातिर उनीहरू कतिसम्म क्रूर र अमानवीय हुँदा रहेछन् भन्ने कुरा यो घटनाले प्रष्टै देखाएको छ ।
यस कोणबाट हेर्दा जापानलाई र पूरै पूरै एशियालाई सोभियतसंघको मुठीमा पर्न नदिएर आफ्नो मुठीमा पार्न नै अमेरिकाले हिरोशिमा र नागासाकीमा एटम बम खसालेको देखिन्छ । 'विश्वमा सबैभन्दा शक्तिशाली देश मै हुँ' भन्ने प्रभाव पार्न नै उसले त्यहाँ एटम बम खसालेको देखिन्छ ।
यो घटनाले के देखाएको छ भने, आफ्नो प्रभुत्वको स्वार्थ पूरा गर्न
अमेरिकाका शासकहरू लाखौं निर्दोष नागरिकहरूको ज्यान लिन र लाखौं मान्छेलाई दुर्दशामा धकेल्नसमेत कुनै बेर मान्दा रहेनछन् । आफ्नो तुच्छ स्वार्थका खातिर उनीहरू कतिसम्म क्रूर र अमानवीय हुँदा रहेछन् भन्ने कुरा यो घटनाले प्रष्टै देखाएको छ ।
हिरोशिमा र नागासाकीको नरसंहारले के देखाएको छ भने, यो संसारमा त्यस्ता सरकारहरू छन्, जो आफ्नो नाफा र बजारको स्वार्थ पूरा गर्नुपर्यो भने लाखौं मानिसहरूको ज्यान लिन समेत केही अप्ठ्यारो मान्दैनन् । उनीहरूको स्वार्थको सामुन्ने मान्छेको ज्यान र मुलुकको अस्मिता भन्ने कुरा चान्चुने कुरा मात्रै हो ।
अहिलेको बिडम्बना के हो भने, विश्वका भएभरका आणविक हतियारहरू त्यस्तै त्यस्ता सरकारहरूको मुठ्ठीमा छन् । भनिन्छ, उनीहरूको शस्त्रागारमा अहिले सिंगै विश्वलाई सात पटकसम्म ध्वस्त पार्न पुग्ने आणविक हातहतियार थुप्रिएको छ । अमेरिका, बेलायत, रूस, फ्रान्स र चीनसित मात्रै बीस हजार थानभन्दा बढी आणविक हतियारहरू भएको अनुमान छ ।
हिरोशिमामा खसालिएको एटम बम खालि ०.०५ मेगाटन विस्फोटक क्षमता (TNT) को थियो । अहिलेका आणविक हतियारहरूसित तुलना गर्दा त्यो अणुवमलाई खेलौना अणुबम मात्र भन्न सकिन्छ । आधुनिक अणुबमहरू ६० मेगाटनसम्मका बनेका छन् । दश मेगाटनको आणविक हतियारलाई हिजोआज मझौला भनिन्छ ।
हिजो अणुबम खसाल्न त्यही मुलुकमा हवाइजहाज चढेर जानु पर्थ्यो । अहिले त्यस्तो गर्नै नपर्ने भएको छ । वाशिंगटनमा स्वीच थिचेर विश्वको कुनै पनि कुनामा ताकिएको निशानामा मिसाइलद्वारा अणुबम खसाल्ने प्रविधि विकसित भएको छ ।
संसारका सबैभन्दा बेसी आणविक हतियारहरू र त्यो ओसार्ने मिसाइलहरू रुसपछि अहिले पनि अमेरिकासितै थुप्रिएका छन्, जसले हिजो हिरोशिमा र नागासाकीलाई क्षुद्र स्वार्थवश ध्वस्त पार्ने काम गरेको थियो। उसले अन्तरिक्षभरि जासूसी क्यामेरा लगाएको छ, जसबाट कुनै पनि देशको आणविक हतियारको स्थिति सजिलै थाहा लाउन सम्भव छ ।
हिजो पहिलो र दोस्रो विश्वयुद्ध दुबै विश्वभरि एकछत्र प्रभुत्व कायम गरेर त्यहाँको बजार र सस्ता कच्चा पदार्थ र स्रोत साधनहरू हात पार्न कै लागि भएको थियो । अहिले पनि अमेरिका, रूस, फ्रान्स, जापान, जर्मनी, बेलायत लगायत सबै पूँजीवादी मुलुकहरू त्यही स्वार्थका निम्ति एक- आपसमा हानाथाप गरिरहेछन् । यो हानाथापले कुनै पनि बेला तेस्रो विश्वयुद्ध निम्त्याउन सम्भव छ । स्वार्थको टक्करले गर्दा स-साना युद्ध र क्षेत्रीय युद्धहरू त लगातार नै भइरहेका छन् ।
विश्वमा फेरि पनि हिरोशिमा र नागासाकीमा भएजस्तो नरसंहार रोक्ने हो भने एउटै उपाय, जनताहरू एक हुनु र तुच्छ स्वार्थका लागि जे जस्तो नरसंहार गर्न परेपनि तयार हुने सरकारलाई ठेगान लाउनु हो । जनताहरू प्रत्येकले अरू देशका
जनतासित सम्पर्क र सम्बन्ध बढाएर आणविक हतियार भएका मुलुकका सरकारहरूलाई ती हतियारहरू नष्ट गर्न लगाउनु हो र त्यो नभएसम्म कुनै पनि हालतमा ती हतियार पहिलो प्रयोग गर्ने राष्ट्र नहुने प्रतिज्ञा सार्वजनिक रूपमा गर्न लगाउनु हो । यो क्षेत्रमा सचेत युवाहरूले निकै ठूलो भूमिका खेल्न सक्छन् ।
यी कदमहरू दरोसित चाल्नु अनिवार्य भइसकेको छ । किनभने, अब संसारमा तेस्रो विश्वयुद्ध भयो भने त्यो साह्रै भयानक र आणविक युद्ध हुनेछ । र त्यसबाट कोही पनि बच्न सम्भव हुनेछैन ।
'तेस्रो विश्वयुद्धको हतियार बारेमा त म यसै भन्न सक्तिनँ । तर चौथो विश्वयुद्धमा प्रयोग हुने हतियारको बारेमा भन्न सकिन्छ, त्यसयुद्धमा हामी फेरि पूरानै ढुंगे-हतियार प्रयोग गरिरहेका हुनेछौं ।'
अल्बर्ट आइन्स्टाइनलाई एकचोटी प्रश्न सोधियो रे ‘तपाईं अणुबमका पिता मानिनुहुन्छ, अब तेस्रो विश्वयुद्ध भयो भने त्यसमा के कस्ता हतियारहरू प्रयोग हुनेछन् ?'
आइन्स्टाइनले तुरून्तै जवाफ दिएछन्- 'तेस्रो विश्वयुद्धको हतियार बारेमा त म यसै भन्न सक्तिनँ । तर चौथो विश्वयुद्धमा प्रयोग हुने हतियारको बारेमा भन्न सकिन्छ, त्यसयुद्धमा हामी फेरि पूरानै ढुंगे-हतियार प्रयोग गरिरहेका हुनेछौं ।'
आइन्स्टाइनको यो भनाइ निकै घतलाग्दो छ । विश्वलाई पुनः ढुंगेयुगमा नफर्काउने हो भने, आणविक हतियारहरूलाई समूल नष्ट गर्नैपर्छ । त्यो नष्ट गर्न, जरूरत परे आफ्नै देशको अमानवीय र क्रूर सरकार पनि नष्ट गर्नुपर्छ ।
नवयुवा वर्ष २ अङ्क १४ मा प्रकाशित
प्रतिक्रिया