दुई पटक एटम बम विस्फोटमा परेर पनि बाँचेका मान्छे– सुतोमो यामागुची !
दुई दुई पटक एटम बम प्रहारमा पर्नु अनि बाँच्नु ! यो कुरा तपाई हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हुन सक्छ । अन्धविश्वासीहरुका लागि यो अलौकिक घटना नै हुन सक्छ । तर वास्तवमा, यो एउटा अनौठो संयोग नै हो । त्यस्तै अनौठो संयोगले बाँच्ने सीमित मानिसहरुमध्येका एक हुन्– सुतोमो यामागुची ।
इतिहासको कालखण्डमा मानिसले सिर्जना गरेको सबै भन्दा विध्वंसक हतियारमध्येका प्रमुख हतियार हो– एटम बम । आमविनाशको ताण्डव मच्चाउने र क्षणभन्दै विनाशको कहर सिर्जना गर्ने यो हतियारको प्रयोग मानव इतिहास अहिलेसम्म जम्मा दुई पटक मात्र भएको छ। अमेरिकाले जापानका दुई सहरहरु हिरोशिमा र नागासाकीमा सन् १९४५ को ६ र ९ अगस्टमा यी बमहरु प्रहार गरेको थियो। जसमा २ लाखभन्दा बढी मानिसको तत्कालै र त्यसका विकिरणको प्रभावका कारण त्यसपछि पनि निक्कै लामो समयसम्म हज्जारौं मानिसहरुको मृत्यु हुने क्रम जारी रहेको थियो ।
एटम बम प्रहारमा दुई दुई पटक परेर पनि बाँच्न सफल सुतोमो यामागुची मित्सुबिसी हेभी इन्डस्ट्रिज जहाज सम्बन्धी इन्जिनियर थिए। उनी आफ्नो कम्पनिको कामको सिलसिलामा ३ महिनादेखि हिरोसिमा शहरमा रहेका थिए। उनको काम नयाँ प्रकारको ट्यांकरको डिजाइन तयार पार्नु थियो। अगस्ट ६ सुतोमो यामागुचीक लागि हिरोसिमामा बस्नु पर्ने अन्तिम दिन थियो। त्यसको भोलिपल्ट उनि आफ्नो घर फर्किने वाला थिए।
‘के भएको थियो भनेर मलाई थाहा भएन। मलाई लाग्छ म केही बेरका लागि बेहोस भएको थिएँ। जब मैले आँखा खोलें, सबैतिर निष्पट्ट अँध्यारो थियो, मैले केही देख्न सकिनँ।’
बिहानको ८: १५ बजे उनी आफ्नो कार्यस्थल बन्दरगाह तर्फ जाँदै थिए। उनले आकाशमा एउटा अमेरिकी बमबर्षक बिमान बि- २९ उडिरहेको देखे। त्यो विमानले एउटा प्यारासुटमा बाधेको बम खसाल्यो। अचानक पुरै आकाशमा आगो बले जसरी उज्यालो चम्क्यो। बिस्फोटको आवाज आउनुअघि उनले आफुलाई नजिक रहेको नालामा हाम्फाले। दुवै कान थुने । बम बिस्फोटपछिको सक वेभले यामागुचीलाई कसिंगर जस्तै जमिनबाट हावामा उडाएर नजिकै आलुबारीमा मिल्काइदियो। उनी बम बिस्फोटको केन्द्र स्थलभन्दा करिब ३ माइल टाढा थिए।
त्यो क्षण बारे सम्झदै यामागुचीले भनेका छन्- ‘के भएको थियो भनेर मलाई थाहा भएन। मलाई लाग्छ म केही बेरका लागि बेहोस भएको थिएँ। जब मैले आँखा खोलें, सबैतिर निष्पट्ट अँध्यारो थियो, मैले केही देख्न सकिनँ। यो सिनेमामा सुरु हुनु अघि खाली फ्रेमहरू कुनै आवाज बिना चम्किरहेको जस्तो स्थिति थियो।’
यामागुचीले दिएका बयान अनुसार त्यसबेला हिरोशिमामा आकाशमा च्याउ आकारको आगोको बादल उठिरहेको थियो। उनको पाखुरा र अनुहार नराम्रो संग जलेको थियो। उनको कानको जाली च्यातिएको थियो।
हतप्रभ र आत्तिएका यामागुची जसोतसो मित्सुबिसी कम्पनीको कार्यस्थलमा फर्के। त्यहाँ उनले आफ्ना दुई जना साथीहरुलाई जीवित भेटे। उनीहरुसंगे उनले त्यो रात हवाई हमला बाट बच्ने सेल्टरमा बिताए। भोलि बिहानै उनी रेल स्टेसनतर्फ लागे। अनौठो कुरा के थियो भने त्यो महाविनाशको घटनापछि पनि हिरोसिमाको रेल प्रणाली अझै पनि चालु अवस्थामै रहेको थियो। घाइते र जलेका यात्रुहरुले भरिएको रेल चढेर यामागुची आफ्नो शहर नागासाकी पुगे। अगस्ट ८ मा बिहानै उनी नागासाकी अस्पतालमा आफ्नो उपचार गर्न गए। बम बिस्फोटको रापले जलेर उनको हात र अनुहार पुरै कालो भएको थियो। डाक्टरले उनको घाउमा मलहम पट्टि गरिदिए। घरमा पुग्दा उनलाई परिवारका सदस्यले समेत चिन्ह सकेनन्।
यामागुचीले हिरोसिमामा भएको घटनाबारे बताएपछि उनका डाइरेक्टरले उनको कुरामा विश्वास नै गर्न सकेनन् । एउटा बमले पुरै शहरलाई कसरी ध्वस्त पार्न सक्छ भन्दै डाइरेक्टरले उनलाई पागल भने।
अगस्ट ९ मा उनी घाइते अवस्थामै आफ्नो शरीरलाई जसोतसो घिर्सार्दै अफिसमा पुगे। उनका डाइरेक्टरले उनीसंग हिरोसिमाको अवस्थाबारे रिपोर्ट मागे। यामागुचीले हिरोसिमामा भएको घटनाबारे बताएपछि उनका डाइरेक्टरले उनको कुरामा विश्वास नै गर्न सकेनन् । एउटा बमले पुरै शहरलाई कसरी ध्वस्त पार्न सक्छ भन्दै डाइरेक्टरले उनलाई पागल भने।
यामागुची आफ्ना हाकिमलाई त्यसबेला भएको घटना बारे बताउँदै थिए । त्यसै बेला फेरी सेतो चम्किलो उज्यालो कोठामा फैलियो। अमेरिकाले नागासाकीमाथि फेरि एटम बम प्रहार गरेको थियो । बमको सक वेभ आउनु भन्दा केही सेकेन्ड अगाडि मात्र उनी भुइँमा सुत्न भ्याए। उनको शरीरमा बाँधिएका ब्यान्डेजहरु बिस्फोटको सक वेभले उडाएर लग्यो। त्यसबेला यामागुचीलाई लाग्यो– उनलाई हिरोसिमादेखि नै च्याउ बादलले पछ्याईरहेको छ। बिस्फोट मत्थर भएपछि यामागुची आफ्नो परिवारको अवस्था बुझ्न घरतर्फ दौडे। उनको घर बमले पुरै ध्वस्त भएको रहेछ। तर उनकी श्रीमती र बच्चा उनको घाउमा लगाउनको लागि मल्हम किन्न बजार तिर गएका हुनाले बचेका रहेछन्।
हिरोशिमा र नागासाकीमा तीन दिनको अन्तरमा अर्थात् १९९५ को अगस्त ६ र ९ मा एकपछि अर्को गरी भएको एटम बमको महाविनाशकारी आक्रमणले जापानी साम्राज्य डगमगायो । त्यसको ६ दिन पछि जापानले आत्मसमर्पण गर्यो।
एटम बमको दोहोरो विकिरणको मारमा परेका यामागुचीको कपाल सबै झर्न थाल्यो। उनलाई निरन्तर उल्टी लाग्न थाल्यो र उनको हातको घाउ बल्झेर ग्यान्ग्रिन भयो। तर निरन्तरको उपचारपश्चात बिस्तारै उनका घाउ चोटपटकहरु निको हुँदै जान थाले। बाँकी बचेका जीवन सुतोमो यामागुचीले सामान्य रुपमा बिताए।
आफ्नो जीवनको पछिल्लो चरणमा उनी आणविक हतियारविरोधी आन्दोलनमा सक्रिय रुपमा लागे। उनले भन्ने गर्थे- ‘म ती घटनाहरुमध्ये कुनै पनि दिनमा मर्न सक्थे। त्यसपछिका दिनहरु मेरा लागि बोनस दिन हुन् ।’
उनलाई मात्र जापान सरकारले उनको मृत्यु हुनु भन्दा अगाडि सन् २००९ मा दुई पटक बम प्रहारमा परेर बाँचेका व्यक्ति भनेर मान्यता प्रदान गरेको थियो।
तर दु:खको कुरा, उनकी श्रीमती र बच्चा सबैलाई नै एटम बमको दुस्प्रभाव देखापर्यो। उनका छोरा ५९ बर्षको उमेरमा क्यान्सर बाट बिते। श्रीमती पनि ८८ बर्षको उमेरमा कलेजो र मृगौला सम्बन्धी क्यान्सरबाट बितिन्। उनी पनि ९३ वर्षको उमेरमा २०१० मा पेटको क्यान्सरबाट बिते।
हिरोसिमा र नागासाकीमा अमेरिकाले प्रहार गरेको एटम बममा लाखौंको मृत्यु भयो। हजारौ मानिसहरु एटम बम आक्रमणका बाबजुद पनि बाच्न सफल भए। अझ दुवै आक्रमणमा परेर पनि करिब १६० जना बाच्न सफल भएका थिए। तीनै भाग्यशाली व्यक्तिहरु मध्ये एक थिए सुतोमो यामागुची। उनलाई मात्र जापान सरकारले उनको मृत्यु हुनु भन्दा अगाडि सन् २००९ मा दुई पटक बम प्रहारमा परेर बाँचेका व्यक्ति भनेर मान्यता प्रदान गरेको थियो।
image source: https://media.npr.org/
प्रतिक्रिया