‘बाख्रा गोठालो’ले पत्ता लगाएको कफी: कसरी फैलियो संसारभर ?

जनावरले नपचाएको कफी झनै महंगो !, स्वीडेनमा कफीमाथिको प्रतिबन्ध र अनौठो प्रयोग

आधुनिक रहनसहन र जीवनशैलीको अनिवार्य हिस्सा जस्तै बनेको पेय पदार्थको नाम हो कफी । व्यवसायिक बैठकहरु होस् या साथीभाइहरुमाझको छलफल, यो पेय पदार्थको माग भइहाल्छ । अझ आजभोलि त कलेज पढ्ने विद्यार्थीहरुले समेत धेरै होमवर्क वा प्रोजेक्ट वर्कहरु गर्नुपर्दा निद्रालाई भगाउनका लागि कफीको सेवन गर्ने गर्छन् । शहर बजारका मुख्य चोक–ठाउँहरुमा त थुप्रै कफी सपहरु नै पनि खुलेका हुन्छन्, जहाँ कफीका थरिथरि स्वरुप र स्वादहरु चाख्न पाइन्छ । त्यसबाहेक, सानादेखि ठूला करिब करिब सबै चियापसलहरुमा समेत सहजै कफी पाइन्छ । यसबाट पनि  कफीले आधुनिक शहरिया जीवनमा मुख्य पेय पदार्थको स्थान ओगटिसकेको स्वत: बुझ्न सकिन्छ ।

अहिले अत्यन्तै लोकप्रिय कफी मानिसले कसरी खान शुरु गर्‍यो भन्नेबारे पनि निक्कै रोचक किम्बदन्ती छ ।

 ‘बाख्राबाट सिकिएको थियो’ कफी खान !

कफीको उत्पत्ति र सेवन गर्ने प्रचलन इथियोपियाबाट भएको विश्वास गरिन्छ । त्यसबारे चर्चित किम्बदन्ती अनुसार, नवौं शताब्दीमा इथियोपियाका एक गाईगोठाला काल्दीले सधैं झै आफ्नो बाख्राहरूलाई चराउँदै गर्दा केही बाख्राहरुले दाना लाग्ने एउटा विरुवाको पात अनि बीउहरु समेत खाएको देखे । त्यो देख्दा उनलाई अचम्म चाहिँ के लाग्यो भने त्यो दाना खाने बाख्राहरु दाना नखाने भन्दा निक्कै फुर्तिलो र छरितो व्यवहार गरिरहेका थिए । उनीहरु निक्कै उर्जावान बनेका थिए ।

बाख्राले त्यसरी खाएको दाना र बोट कफीको थियो ।

काल्दीले त्यो कुरा स्थानीय मठका भिक्षुलाई सुनाए । शुरुमा त भिक्षुहरुलाई पत्यार नै लागेन । तर बाख्राले खाएको चीज खाँदा आफूहरुलाई असर नपर्ने विश्वासका साथ उनीहरुले त्यो बीउलाई धुलोपीठो पारेर पानीमा उमालेर पिए । अचम्मै त के भयो भने त्यो तीतो टर्रो झोल खाँदा उनीहरुले आफूहरुमा पनि उर्जा आएको महसूस गरे । अरु बेला प्रार्थना गर्दा निद्रा र थकानले उनीहरुलाई हैरान पार्ने गर्थ्यो तर त्यो झोल खाँदा भने उनीहरुलाई थकान पनि लागेन, निद्रा पनि झिम्किएन । उनीहरुले अफूलाई निक्कै जाँगरिलो महसूस गरे ।

त्यहीँबाट कफी खाने चलनको शुरुवात भएको विश्वास गरिन्छ । रमाइलो कुरा के छ भने मानव सभ्यताले पत्ता लगाएको/विकसित गरेको सबैभन्दा लोकप्रिय तीनवटा अल्कोहलरहित पेय पदार्थहरुमध्येका एक कफी बनेको छ । बाँकी दुईवटामा चियापत्ती (tea plant) र चकलेटको मुख्य पदार्थ कोको बीउ (cocoa bean) पर्दछ ।

यसरी भयो कफी सेवन र व्यापारको विश्वव्यापीकरण

कफी खाने गरेको बारे तथ्य प्रमाणहरु चाहिँ १५ औं शताब्दीतिर फेला पर्छ । त्यबेला यमनका सूफीहरूले कफीको उपयोग गर्न थालेका थिए । उनीहरुले धार्मिक ध्यान तथा प्रार्थना गर्दा जाँगरिलो बनिरहन  कफीको फलको बियाँलाई भुटेर र उमालेर पिउने गर्थे । 

कफीको फाइदाबारे मानिसहरुले जान्दै र थाहा पाउँदै गएपछि यसको व्यापार पनि शुरु भयो । सबैभन्दा पहिले यमनको मोका बन्दगाहामा कफीको व्यापार शुरु भएको थियो । त्यहाँबाट यसको लोकप्रियता मक्का, काहिरो हुँदै अन्य इस्लामिक शहरहरुमा फैलियो । स्वभाविक रुपमा यसको बीउको माग पनि बढ्ने र अन्यत्र यसको खेती गर्ने काम पनि फैलिँदै गयो ।

शुरुमा इस्लामिक शहरहरुमा सीमित कफी सेवनको चलन र यसको व्यापार सोह्रौं शताब्दीमा आएर पश्चिम एशिया, पर्सिया, टर्की हुँदै उत्तर अफ्रिकातिर पनि फैलियो । त्यहाँबाट विस्तारै यो युरोपतिर पनि फैलियो । भनिन्छ सबैभन्दा पहिले कफी इटालीको भेनिस शहरमा पुगेको थियो ।  सत्रौं शताब्दीमा त युरोपमा कफीहाउसहरू खुल्न थालिसकेका थिए ।

युरोपका कफीहाउसहरुलाई मिनिविश्वविद्यालय पनि भनिने गरिन्थ्यो । त्यस्ता स्थानहरुमा कफीको सेवन गर्दै विभिन्न व्यवसायिक, बौद्धिक तथा सामाजिक गतिविधिका कामहरु हुने गर्थे ।

जनावरले पचाउन नसकेको कफी गेडा झनै महंगो !

सामान्यत: कफीको दानाको बोक्रा र गुदी उपयोग हुन्न । त्यसलाई फ्याँकेर त्यसभित्रको गेडालाई सुकाइन्छ र त्यसलाई भुटेर पिसिन्छ । त्यसरी पिसिएको धूलोलाई नै हामी पानीमा उमालेर वा अन्य विभिन्न तरिकाले पेय पदार्थको रुपमा सेवन गर्ने गर्छौं ।

तर संसारका केही भागहरुमा कफी तयार गर्नका लागि जनावरहरुको पनि उपयोग गर्ने गरिन्छ । सुन्दा निक्कै विचित्र लागे पनि त्यसरी तयार गरिएको कफीको बजार मूल्य भने निक्कै उच्च हुने गर्छ ।

इण्डोनेशियामा एकथरि कफी पाइन्छ जसलाई कोपी लुवाक भनिन्छ । त्यो कफी सामान्य प्रक्रियाबाट तयार गरिन्न । त्यसका लागि पाम सिभेट विरालोहरु प्रयोग गर्ने गरिन्छ ।

https://media.urbanistnetwork.com

कफीका दानाहरु त्यस विरालोलाई खुवाइन्छ । त्यसले कफीको दानाको बोक्रा र गुदी त पचाउँछ तर भित्रको गेडा भने पचाउन सक्दैन । त्यसले दिसा गर्दा ती गेडाहरु जस्ताको त्यस्तै निकाल्छ ।

त्यो विरालोले दिसाबाट निस्कासन गरेको कफीको गेडाहरुलाई संकलन गरिन्छ र राम्ररी धोइन्छ । त्यसपछि बल्ल त्यसलाई अरु कफीलाई जस्तै प्रशोधन गरिन्छ ।

यसरी तयार गरिएको कफी बढी स्वादिलो हुने र कम तीतो हुन्छ । यसो हुनुको कारण उक्त विरालोको पाचन प्रणालीबाट निस्केको इन्जामहरुले भूमिका खेल्ने गर्छ । यसरी तयार गरिको कफी प्रतिकेजी २०० डलरसम्ममा बिक्री हुने गर्छ ।

त्यही तरिकाले भियतनाममा पनि वेसल (weasel)  नाम गरेको जनावरको प्रयोग गरेर कफी तयार गरिन्छ त्यसका लागि वेसललाई कफीको दानाहरु खुवाइन्छ । सिभेट विरालोले जस्तै वेसलले पनि बोक्रा र गुदी त पचाउँछ तर गेडा पचाउन सक्दैन  । दिसामा निस्केका कफीका गेडाहरुलाई संकलन गरेर धोइपखाली प्रशोधन गर्ने गरिन्छ । यसरी तयार गरिएको कफीलाई ‘कफी लुवाक’ भनिन्छ र यो निक्कै सुगन्धित हुने तथा यसको स्वाद चकलेटको जस्तो हुने दावी गरिन्छ । तर आलोचकहरु भने खासै कफीको स्वाद फरक नहुने खाली त्यो बजारमा कफी महंगो दाममा बेच्ने दाउपेच मात्रै भएको बताउँछन् । जे होस्, यसरी तयार गरिएको कफी पनि अन्तर्राष्ट्रिय बजारमा निक्कै महंगो दाममा बिक्ने गर्छ ।

 उता  ब्राजिलमा पनि जाकु नाम गरेको चरा (Jacu bird) ले खाएर पचाउन नसकेको गेडाहरु प्रशोधन गरेर कफी बनाइन्छ ।

यसरी तयार गरिएका कफीहरुको पनि अन्तर्राष्ट्रिय बजारमा धेरै माग हुने गर्छ र त्यसको मूल्य पनि निक्कै महंगो हुने गर्छ । तर पशु अधिकारकर्मीहरु यस कार्यको विरोध गर्ने गर्छन् । पैसाको लोभमा जनावरलाई उनीहरुको क्षमताभन्दा बढी कफी दाना जबरजस्ती खुवाउने तथा अहिले विभिन्न रसायनहरु हालिएका कफी दाना समेत खुवाइदा उनीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने तर्क दिँदै आएका छन् । उनीहरु यस किसिमले कफी उत्पादन गर्ने प्रक्रियालाई जनावरहरुविरुद्धको क्रुरताको रुपमा लिने गर्छन् ।

उता अमेरिकामा चाहिँ कफी १८ ‌ शताब्दीतिर युरोपबाट पुगेको थियो । त्यसबेला अमेरिकामा व्रिटिश उपनिवेश थियो । छोटो समयमा नै अमेरिकामा पनि कफी लोकप्रिय भयो ।

 

सन् १७७३ को डिसेम्बर १६ मा अमेरिकामा एउटा गज्जबको घटना भयो । बोस्टन टी पार्टीको नामले चर्चित उक्त घटनालाई अमेरिकी क्रान्तिको शुरुवात पनि मान्ने गरिन्छ । त्यसबेला ब्रिटिश शासकहरुले चियामा कर लगाएको थियो र सन् १७७३ को टी एक्टले ब्रिटिश इस्ट इण्डया कम्पनीलाई चाहिँ करबिनाको चिया बिक्री गर्न दिएको थियो । त्यसले अमेरिकी व्यापारीहरुलाई सोझै घाटा थियो । फलत: व्रिटिशविरुद्ध विद्रोह गर्दै बोस्टनका सन्स अफ लिबर्टी भनिने ६० जना जित अमेरिकीहरुले भारतीय पोशाक लगाएर रातको समयमा बोस्टन बन्दरगाहमा अडाइएको जहाजबाट ३४२ बक्सा चिया समुद्रमा फ्याँकिदिएका थिए । त्यो घटनापछि अमेरिकामा व्रिटिश विरुद्ध विद्रोहको भावना झनै प्रवल बन्दै त गयो नै त्यसले कफी सेवन पनि ह्वात्तै बढाइदियो । त्यस घटनापछि   धेरै अमेरिकीहरूले चियाको सट्टा कफी पिउन थाले।

त्यसो त अमेरिकामा कफी पुग्नुभन्दा पहिल्यै भारतमा कफी पुगिसकेको थियो । १७ औं शताब्दीमा भारतमा उपनिवेश चलाइरहेका पोर्चुगिजहरुले कफी लगेका थिए । त्यसबेला भारतको दक्षिणी राज्यहरूमा कफीको व्यापक खेती हुने गर्दथ्यो।

भारतबाहेक दक्षिणपूर्वी एशियाका मुलुकहरु इन्डोनेसिया, भियतनाम, फिलिपिन्स पनि कफीको खेती १७ औँ र १८ औँ शताब्दीमा हुन थालिसकेको थियो । दक्षिणपूर्वी मुलुकहरुमा कफी पुर्‍याउने श्रेय डच र फ्रान्सेली उपनिवेशवादीहरूलाई जान्छ ।

चीनमा पनि कफी १६ औँ शताब्दीको अन्त्यतिर पुगेको मानिन्छ। चीनमा  पोर्चुगिज व्यापारीहरूले कफी पुर्‍याएका थिए ।

चीनमा चियाको तुलनामा कफी कम लोकप्रिय रहँदै आएको छ । शुरुवाती कालमा कफीको सेवन विदेशीहरु र धनी वर्गमा मात्रै सीमित थियो । कालान्तरमा यसको सेवन सर्वसाधारणको पहुँचमा त पुग्यो तर यो चियाजत्तिकै लोकप्रिय भने भएन । किनभने चीनमा चियाको परम्परा धेरै पुरानो र गहिरो रहेको छ । चियाले चीनमा संस्कृतिको अनिवार्य र अभिन्न अङ्गको रुप ग्रहण गरिसकेको छ । फेरि परम्परागत रुपमा नै चीनमा स्वास्थ्यबर्द्धक पेयको रुपमा मानिन्थ्यो भने चियाको तुलनामा धेरै पछि चीनमा बाहिरबाट आएको कफीलाई अज्ञात र विदेशी पेयको रूपमा हेरिन्थ्यो।

अहिले आएर चीनमा कफी धेरै नै लोकप्रिय पेय बनिसकेको छ । चीनको साङ्घाइ शहर संसारकै सबैभन्दा धेरै कफी सपहरु भएका शहरहरुमध्येको एक बनिसकेको छ । कतिसम्म भनिन्छ भने रोम तथा पेरिस जस्ता कफीको लागि चर्चित शहरहरुलाई पछाडि पार्दै चीनको साङ्घाइ कफीको विश्व राजधानी बनिसकेको छ ।

उता जापानमा चाहिँ कफी १७ औँ शताब्दीको अन्त्यतिर पुगेको मानिन्छ। त्यहाँ पनि कफी पुर्‍याउने श्रेय पोर्चुगिज व्यापारीहरूलाई दिइन्थ्यो । चीनमा जस्तै जापानमा पनि शुरुवाती समयमा कफीको लोकप्रियता कम थियो र यसलाई मुख्यतया विदेशीहरू र उच्च वर्गहरुको पेयको रुपमा लिइन्थ्यो । जापानमा पनि चीनमा जस्तै चियाको सेवन संस्कृति र परम्पराको हिस्सा बनिसकेको पृष्ठभूमिमा कफीले चियालाई प्रतिस्थापन गर्न सकेन।तर पछि १९ औँ शताब्दीको अन्त्यतिर पश्चिमी संस्कृतिको प्रभाव बढ्दै जाँदा जापानमा कफीको लोकप्रियता बढ्न थाल्यो।

जे होस्, अफ्रिका उत्पत्ति थलो भएको कफी अहिले संसारभरिकै सबैभन्दा लोकप्रिय पेयहरुमध्येका एक हुन् । अहिलेसम्म कफीको १३० प्रजातिहरु पहिचान भइसकेका छन् ।

चिया र कफीमा कुन बढी लोकप्रिय?

चिया र कफी दुवै विश्वभरका मानिसहरूले रुचाउने लोकप्रिय पेय पदार्थ हुन्। तर कफीको तुलनामा चिया धेरै पहिलेदेखि सेवन गरिँदै आइएको कुरा हो । यस अर्थमा तुलनात्मक रुपमा कफीभन्दा चिया बढी लोकप्रिय छ ।  विश्वव्यापी रूपमा नै चियाको उपभोग कफीको तुलनामा बढी छ।

विशेषगरी एशिया, अफ्रिका र मध्य पूर्वका देशहरूमा चियालाई मुख्य पेय पदार्थको रूपमा मानिन्छ। एशियाका भारत, चीन, पाकिस्तान, बंगलादेश जस्ता देशहरूमा चियाको उपभोग धेरै हुन्छ। खासगरी चीन र भारतमा चियाले धेरै पुरानो र परम्परागत पेयको रुपमा स्थान जमाइसकेको छ । त्यबाहेक चियाको खेती र उपभोगको इतिहास पनि कफीको तुलनामा निक्कै लामो छ ।

कुन पेय पदार्थ बढी लोकप्रिय छ भन्ने कुरा व्यक्तिगत रुचि, सांस्कृतिक पछाडि, उपलब्धता र स्वास्थ्यसम्बन्धी विश्वासमा निर्भर गर्दछ। विश्वव्यापी रूपमा हेर्दा चियाको उपभोग बढी छ । तर कफी पनि विश्वभरका मानिसहरूले रुचाउने लोकप्रिय पेय पदार्थहरुमध्येको एक हो।

आज, कफीले संसारभरि नै चियाले जस्तै एक लोकप्रिय पेय पदार्थको स्थान हासिल गरिसकेको छ । त्यही भएर आजभोलि  यसको खेती र उपभोग लगभग सबै देशहरूमा हुन्छ।

स्वीडेनका राजा गुस्ताभ तेस्रोको चियाकफीमाथिको चर्चित प्रयोग

https://images.interactives.dk/

कफीको विश्वव्यापीकरण हुँदै जाँदा विगतमा यो मानिसहरुले व्यापक रुपमा मन मात्रै पराएनन् कतै कतै त यो स्वास्थ्यको लागि हानिकारक हुने आशंका समेत गरिएको थियो र त्यसको प्रयोगमा प्रतिबन्ध समेत लगाइएको थियो । यस बारेमा सबैभन्दा चर्चित घटना स्वीडेनमा १८ औं शताब्दीमा घटेको थियो ।

स्वीडेनमा कफी १६७४ तिरै पुगेको थियो । शुरुमा खासै लोकप्रिय थिएन । तर केही दशकपछि कफीको सेवन धनीहरुमाझ निक्कै लोकप्रिय बन्यो । कतिसम्म भने १७४६ मा  त चिया र कफी धेरै पिउन थालिएपछि यसलाई दुर्व्यसनकै रुपमा राज्यले लियो र यसको प्रयोगलाई कडाइ गर्न धेरै करहरु थोपरियो । कर नितिर्नेहरुको सामान नै जफत गर्न थालियो । हुँदा हुँदा त पछि यसको सेवनमाथि पूर्ण प्रतिबन्ध नै लगाइयो ।  स्विडेनमा १७५० र १८२० को तीन फरक शासनकालमा शाही आदेशद्वारा पाँच पटक (१७५६-६१, १७६६-६९, १७९४-६, १७९९-१८०२ र १८१७-१८२३)  कफीमा प्रतिबन्ध लगाइएको थियो ।

स्वीडेनमा राजा गुस्ताभ तेस्रो (१७४६-१७९२) को शासनकालमा कफीबारे एउटा रोचक प्रयोग गरिएको थियो । कफीले स्वास्थ्यमा पार्ने प्रभावबारे विभिन्न शंका उपशंकाहरु उठिरहँदा उनले त्यसबारे एउटा प्रयोगात्मक अध्यनन नै गर्न लगाएका थिए । स्वयं राजालाई पनि कफीको नकारात्मक स्वास्थ्य प्रभावहरू हुन्छ भन्ने लाग्थ्यो र उनी यो कुरा प्रमाणित गरेर देखाउन चाहन्थे ।

गुस्ताभका बुबा एडोल्फ फ्रेडरिक पनि कफी, चिया जस्ता उत्तेजना दिने पेय पदार्थका विरोधी थिए । उनले त  १७६० मा चिया र कफीको दुरुपयोग र त्यसको सेवनविरुद्धको आदेशमा हस्ताक्षर गरेका थिए। वास्तवमा, चिया र कफीमा पाइने क्याफिनको बेफाइदाबारे एक फ्रान्सेली चिकित्सकलेआफ्नो ग्रन्थमा लेखेको कुराले गुस्ताभ तेस्रो र उनका पिता दुवैलाई प्रभाव पारेको थियो । उनीहरु चिया र कफीले स्वास्थ्यमा खराब असर गर्छ भन्ने ठान्थे ।  त्यो कुरालाई उनी साबित गरेर देखाउन चाहन्थे ।

गुस्ताभ तेस्रो राजा बनिसकेपछि उनको आदेशअनुसार कफी र चियाको खराब असर कस्ते हुन्छ भन्ने थाहा पाउन एक  जुम्ल्याहा जोडीमा  प्रयोग गरियो। दुवै मृत्युदण्डको फैसला सुनाइएका ती जोडीको सजायलाई आजीवन कारावासमा परिवर्तन गरियो । अनि ती जुम्ल्याहाहरुमध्ये एकजनाले  प्रत्येक दिन तीन भाँडा कफी र अर्कोले पनि उत्तिकै मात्रामा चिया पिउनुपर्ने भनियो ।

रमाइलो के भयो भने चिया र कफी खानेहरु राजाले सोचेजस्तो खराब असर गरेर मरिहालेनन् । बरु राजा गुस्ताभ उनीहरुभन्दा पहिल्यै सन् १७९२ मा मारिए । उनी मारिएको निक्कैपछि चिया पिउने सजाय पाएका जुम्ल्याहा ८३ वर्षको उमेरमा मरे । कफी पिउनेको मृत्युबारे यकीन तथ्याङ्क छैन किनभने उनी मर्नुपूर्व नै उनलाई निगरानी गर्ने जिम्मेवारी दिइएका दुइजना नै डाक्टरहरु मरेर गए ।

यस प्रयोगले के देखायो भने त्यसबेलाका शासकहरुले सोचेजस्तो र समाजमा प्रचलित आशंकाहरु जस्तो कफी र चिया पिउनु खतरनाक थिएन ।

त्यसपछि पनि १७९४, १७९९ र १८१७ मा कफीमाथि प्रतिबन्ध लगाउने प्रयासहरु भएका थिए तर त्यो सफल हुन सकेन । १८२३ मा आएर कफीमाथिको प्रतिबन्ध हटाइयो । अब विस्तारै कफीले स्वीडेनको प्रमुख पेय पदार्थको स्थान हासिल गर्ये ।

अहिले त स्वीडेन  कफी खपत गर्ने मुलुकहरुमा अग्रपंक्तिमा पर्छ ।

 

तथ्यस्रोत:

पुस्तकहरु:

Coffee Culture (Catherine M. tucker),

Coffee: a Global History (Jonathan Morris)

All About Coffee (William Harrison Ukers)

Coffee A Dark History (Antony Wild)

The Social Life of Coffee (Brian William Cowan)

The World Atlas of Coffee (Mitchell Beazley)

Coffee isn't Rocket Science

अनलाइन लिङ्कहरु

https://en.m.wikipedia.org

https://www.youtube.com/

https://www.datapandas.org