बूढो गिद्ध र छट्टु बिरालो: पञ्चतन्त्रको कथा

नदीको किनारमा एउटा पहाड थियो । त्यस पहाडमा एउटा ठूलो रूख थियो । त्यस रूखको टोड्कामा एउटा बूढो गिद्ध बस्दथ्यो । त्यो गिद्धको बूढो भएकाले नंग्रा झरिसकेको थियो, चुच्चो पनि भुत्ते भइसकेको थियो  र राम्ररी आँखा पनि देख्न सक्दैनथ्यो । त्यस रूखमा अरू पनि थुप्रै चराचुरूङ्गीहरू बस्थे । उनीहरूले आफूले ल्याएका केही खाना त्यस गिद्धलाई दिन्थे । त्यसको बदलामा गिद्धले उनीहरूका बच्चाहरूको रेखदेख गरिदिन्थ्यो ।

एकदिन एउटा बिरालो त्यहाँ आइपुग्यो । उसले त्यहाँ थुप्रै चराचुरूङ्गीहरू देख्यो । ऊभित्र ती चराचुरूङ्गीहरू खाने लोभ जाग्यो । र, ऊ रूखमा चढ्यो । बिरालोलाई देखेर त्यहाँ भएका चराचुरूङ्गीका बच्चाहरूले डरले हल्लाखल्ला मच्चाउन थाले । उनीहरूको हल्ला सुनेर गिद्ध टोड्काबाट बाहिर निक्ल्यो र जोडले करायो- 'यहाँ को आएको ?'

गिद्धलाई देखेर बिरालो डरायो र उसले सोच्न थाल्यो- 'लौ अब म मर्ने भएँ ।' फेरि उसले तुरून्तै विचार गयो- 'यसरी डराएर त कहाँ हुन्छ र ? अब में योसँग बचेर भाग्न त सक्दिनँ । जे होला होला, यसको अगाडि गएर मप्रति उसको विश्वास जगाउँछु ।'

यति सोचेर बिरालो गिद्धको अगाडि गयो र भन्यो- 'श्रीमान् । म हजुरलाई प्रणाम गर्छु ।'

'गिद्धले सोध्यो- 'तिमी को हौ ?'

बिरालोले जवाफ दियो- 'म बिरालो हुँ ।'

गिद्धले उसलाई हप्काएर भन्यो- 'तँ यहाँ किन आएको ? यहाँबाट तुरून्तै निक्लिहाल् । नभए म तँलाई मारिदिन्छु ।'

बिरालोले भन्यो- 'पहिला मेरो कुरा त सुन्नुस् । अनि जे गर्नुपर्छ गर्नुस् ।'
 

गिद्धले भन्यो- 'छिटो भन् ! के भन्न खोजेको ?'

बिरालोले भन्न थाल्यो- 'म यही गंगाको तीरमा बस्छु । म ब्रम्हचारी, धर्मकर्ममा लागेको बिरालो हुँ । मैले धर्मशास्त्रको कुरा सुनेर हिंसा र लोभ त्यागेको छु । र, अहिले कष्टसाध्य व्रत लिएको छु । यहाँका सबै चराचुरूङ्गीहरू तपाईंको गुणगान गर्छन् र तपाई साह्रै धर्मात्मा हुनुहुन्छ भन्छन् । त्यसैले म यहाँ तपाईंको उपदेश सुन्न आएको हुँ । तपाईं त कुरा नै नबुझी ममाथि खनिनु भयो ।’

बिरालोको कुरा सुनेर गिद्धले नरम स्वरमा भन्यो- 'भाइ तँ त बिरालो होस् । बिरालाहरू त स्वभावैले मांसाहारी हुन्छन् । यस रूखमा त थुप्रै चराचुरूङ्गीका बच्चाहरू बस्छन् । त्यसैले मैले तँलाई हप्काएको हुँ ।'

गिद्धको कुरा सुनेर बिरालोले पृथ्वीको स्पर्श गयो र कान समातेर भन्नथाल्यो- 'अहिंसा नै एउटा मात्र धर्म हो । धर्म मात्रै यस्तो वस्तु हो, जुन प्राणी मरेपछि पनि उसँगै जान्छ । अरू त सबै शरीरसँग नष्ट हुन्छ । जंगलमा आफैं उम्रिने खालका यतिका वनस्पतिहरू छन् । ती वनस्पति खाएर पेट भर्न सकिन्छ भने म यी बच्चाहरू मारेर किन महापाप गरुँ ?’

बिरालोको यो चिप्लो कुराले गिद्धलाई बराल्यो । उसलाई बिरालोप्रति विश्वास जाग्यो र उसलाई त्यस रुखमा बस्ने अनुमति दियो । बिरालो त्यहाँ केही दिन बसेपछि त्यहाँको स्थितिबारे उसलाई केही ज्ञान हुन थाल्यो । बिस्तारै बिस्तारै बिरालोले चराचुरूङ्गीका बच्चाहरू मार्दै टोड्कामा ल्याएर खान थाल्यो । उसले बँचेखुचेका हड्डीहरु चाहिँ गिद्ध बसेको टोड्का नजिक लुकाउन थाल्यो । गिद्धले आँखा नदेख्ने भएकोले उसले बिरालोले के बदमासी गरिररहेको छ भन्ने कुरा केही पनि थाहा पाउन सकेन ।

यसरी दिनहुँ चराचुरूङ्गीका बच्चाहरू हराउन थालेपछि बच्चा हराएका चराहरु  जोड जोडले कराउँदै आफ्ना बच्चाहरू खोज्न थाले । बिरालोले यो कुरा थाहा पाएपछि त्यहाँबाट टाप कस्यो । चराहरूको शंका गिद्धमाथि गयो । उनीहरुले गिद्ध बसेको टोड्कामा गएर खोजतलास गरे ।  त्यहाँ उनीहरूले एउटा कुनामा चराचुरूङ्गीका बच्चाहरूका हाडहरू देखे । अब उनीहरुको शंका विश्वासमा परिणत भयो ।उनीहरुलाई लाग्यो– पक्कै पनि यही बूढो गिद्धले नै चराका बच्चाहरू मारेर खाएको हुनुपर्छ ।

आफूले विश्वास गरेको गिद्धले विश्वासघात गरेको ठानेर चराहरुलाई निक्कै  रिस उठ्‌यो । उनीहरूले गिद्धलाई एकसाथ हमला गरे । उनीहरुले गिद्धसँग सोधपुछ गर्न र यथार्थ जान्न जरुरी नै ठानेनन् । रिसको झोकमा भए भरका चराहरु मिलेर गिद्धलाई ठुँगेरै मारिदिए ।