लोकेन्द्रको सम्झनामा

 

तिमी थियौ त उच्च लाग्थ्यो दुनिया

तिमी गयौ त तुच्छ लाग्न थाल्यो दुनिया

मित्र गुमाउनुको पीडा पितृ गुमाउनुभन्दा चर्को हुँदो रहेछ

जोश जाँगर र उद्देश्यसमेत मर्दो रहेछ ।

 

के बन्न खोजेको थिए, के भएँ

तिमी गयौं पूर्ण भयौ

म अधुरो अधुरै रहें ।

 

तिमी भन्थ्यौ मन एकान्तमा हराउँदैन

म त यहाँ हराइरहेको छु कुहिरोको काग जस्तै

तिम्रो बुढो करङमाथिको वृत्त जस्तै

थिचिएको थिचिएकै छु, आफन्तहरुबाट, पराइहरुबाट ।

 

तिमी भन्थ्यौ मेरो भन्नु यही देश हो

यस बाहेक अरु केही छैन

मेरो भन्नु पनि त यही देश नै हो नि ।

माटोका रखवालाहरु विदेशमा बसाई सरिसके

देशमा भविष्य नदेखी लाखौं जोडीले परिवार नियोजन गरिसके

भ्रष्ट शासकहरु स्वार्थले पराइका सामु लम्पसार परिसके

अब यही माटो पनि पराइलाई सुम्पने हुन् कि भन्ने डर छ

अब यो माटो छोडेर जान मलाई कसको भर छ ?

(कवि लोकेन्द्र शाहको तेत्तीसौं स्मृति दिवसको अवसरमा)