पैसाको लोभ (चिनिया नीतिकथा)

युङचओको बासिन्दाहरु पौडी खेल्न खप्पिस थिए ।

एकदिन खोलामा बाढी आयो । वरिपरिका ५÷६ गाउँबस्तीका बासिन्दाले जुटेर सल्लाह गरे र नाउँहरुबाट खोलापार सुरक्षित ठाउँमा जाने कुरा मिलाए । चर्को बाढीको मुकाबिला गर्दै एउटा नाउ खोलामा अघि बढिरहेको थियो । बीच धारमा पुगेपछि नाउ भत्कियो र डुब्यो । मानिसहरु बाढीसित जुध्दै किनारतिर पौडिन थाले । तीमध्ये एकजनाको पौडाइ अति नै मन्द थियो । ऊ राम्ररी बाँकटे हान्न सकिरहेको थिएन ।

साथीहरुले सोधे ः “ए भाइ, तिमी त खप्पीस पौडीबाज हौ, किन आज पछि परेका छौ नि ?”

उसले भन्यो, “मेरो कम्मरमा एकहजार तामाको सिक्का छ । त्यसैको भारले गर्दा मैले राम्ररी बाँको हान्न नसकेको हुँ !”

“ए ए त्यो पैसा तुरुन्त खसाली देऊ

त !” साथीहरुले भने ।

लोभले गर्दा धेरैपटकभन्दा पनि उसले त्यो पैसा खसाल्न मानेन ।

सबै गाउँले किनारमा पुगे । बाढी झनझन बढ्दै गयो । । सबैले किनारबाट चिच्याए, “कम्मरको पैसा गाँठो खोलेर खसालिदेऊ ! ज्यानै नरहे त्यो पैसा किन चाहियो ? तुरुन्त खसालिदेऊ !”

जति कराए पनि त्यस मान्छेले कम्मरको पैसा पानीमा खसाल्न मानेन । त्यो मान्छे धनलाई ज्यानभन्दा पनि प्यारो मान्थ्यो । पैसा फ्याँक्न नमान्नुकै कारण उसले तैरेर खोला पार गर्न सकेन । बाढीले उसलाई बगाएर लग्यो ।

प्रस्तुति: शारदारमण नेपाल