प्रधानमन्त्री ओलीले पाए दुई तिहाई विश्वासको मत

नेकपा एमालेका अध्यक्ष एवं नेपाली कांग्रेससँगको गठबन्धनमा प्रधानमन्त्री बनेका केपी ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको प्रस्ताव दुई तिहाई मतले पारित भएको छ ।

साउन ६ गते प्रधानमन्त्री ओलीले राखेको प्रस्तावमा मतदान हुँदा प्रस्तावको पक्षमा १८८ मत परेको थियो भने विपक्षमा ७४ मत । एक भने तटस्थ रह्यो ।

प्रधानमन्त्री ओलीलाई उनका दल एमाले, कांग्रेस,। जसपा, जसपा नेपाल, जनमत, लोसपा नेपाल, नागरिक उन्मुक्तिलगायतका दलहरुले विश्वासको मत दिएका थिए । अघिल्लो सरकारका मुख्य घटकहरु नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टीले भने विपक्षमा मतदान दिएका थिए ।स्मरण रहोस, प्रतिनिधि सभामा कूल २७५ सदस्य संख्या रहेको छ । मतदानको बेलामा २६३ सांसदहरुको उपस्थिति थियो ।

विश्वासको मत प्राप्त गरेपछि प्रम ओलीले प्राप्त विश्वासको मतलाई बुद्धि, विवोक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने बताएका थिए ।

मतदानअघि प्रधानमन्त्री ओलीले विश्वासको पक्षमा मतदान गर्न आग्रह गर्दै लामो मन्तव्य दिएका थिए ।

मन्तव्यको क्रममा प्रम ओलीले पहिले झैं आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताएका थिए । त्यसैक्रममा उनले सहकारी ठगमाथि कारवाही हुने कुरा पनि बताएका थिए । 

मन्तव्यको क्रममा प्रम ओलीले संसदमा कांग्रेस र एमालेबीच सरकार बनाउने सिलसिलामा भएको भनिएको बहुचर्चित सात बुँदे सहमतिलाई पनि सार्वजनिक गरेका थिए । प्रम ओलीका अनुसार उक्त सात बुँदे सहमतिमा संविधानको धारा ७६(२)अनुसार राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधानमा आवश्यक संशोधन गर्ने, अर्थतन्त्रको विद्यमान शिथिलतालाई अन्त्य गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, सरकारलाई दुई वर्षसम्म नेकपा एमाले अध्यक्ष ओलीले र त्यपछि २०८४ को निर्वाचनसम्म कांग्रेस सभापति देउवाले नेतृत्व गर्ने, राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने, सरकार सञ्चालनमा दुई प्रमुख राजनीतिक दलको नेतृत्व दायी भूमिका रहने तथा समानताका आधारमा समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य दललाई पनि सरकारमा समावेश गराउने तथा राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरुप प्रदेश सरसकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीब्रता दिने रहेको छ ।