लुई बोनापार्टको अठारौँ ब्रुमेर
द्वन्द्वात्मक–ऐतिहासिक भौतिकवादलाई राजनीतिमा व्याख्या गरिएको अद्भूत एवं पढ्नै पर्ने पुस्तक– १
'लुइ बोनापार्टको अठारौं ब्रुमेर - फ्रान्समा सन् १८४८-१८५१ मा घटेका क्रान्तिकारी घटनाहरूको वास्तविक विश्लेषणका आधारमा लेखिएको मार्क्सको यो रचना मार्क्सवादको एक अति महत्त्वपूर्ण कृति हो । यस कृतिमा ऐतिहासिक भौतिकवादका प्रमुख अवधारणाहरू- वर्गसंघर्ष तथा सर्वहारा क्रान्तिको सिद्धान्त, राज्य र सर्वहारा अधिनायकवादसम्बन्धी शिक्षाको विकास गरिएको छ । बुर्जुवा राज्यप्रति सर्वहारावर्गको दृष्टिकोणसम्बन्धी प्रश्नमा मार्क्स जुन निष्कर्षमा पुग्नुभएको छ, त्यो पनि अति महत्त्वपूर्ण छ । उहाँ भन्नुहुन्छ- “सबै सत्ता परिवर्तनहरूले राज्ययन्त्रलाई नष्ट पार्नुको साटो यसलाई पुरस्कृत तुल्याएका छन् ।” लेनिनले यस निष्कर्षलाई राज्यसम्बन्धी मार्क्सवादी शिक्षाको एक प्रमुख एवम् आधारभूत निष्कर्ष भन्नुभएको छ ।
'लुइ बोनापार्टको अठारौं ब्रुमेर ' कृतिमा भावी क्रान्तिमा मजदुरवर्गको सहयोगीको रूपमा किसानवर्गको भूमिकासम्बन्धी प्रश्नको अझ विकास गरिएको छ, सामाजिक जीवनमा राजनीतिक पार्टीहरूको भूमिका स्पष्ट पारिएको छ र बोनापार्टवादको सारतत्त्वको गहन चित्रण गरिएको छ ।
–फ्रेडरिक एङ्गेल्सको भूमिकाबाट
१
हेगेलले आफ्नो एउटा कृतिमा लेख्नुभएको छ- विश्व इतिहासमा ती सबै महत्त्वपूर्ण घटनाहरू तथा व्यक्तिहरू दुईपल्ट आविर्भूत हुन्छन् भन्न सकिन्छ । उहाँले एउटै कुरा थप्न बिर्सनुभयो- पहिलोपल्ट दुःखान्त नाटकको रूपमा र अर्कोपल्ट प्रहसनको रूपमा । जस्तै दाँतोँको स्थानमा कोस्मीदेर, रोबेस्प्येरको स्थानमा लुइ ब्लाँ, सन् १७९३-१७९५ को पर्वत दलको स्थानमा सन् १८४८ - १८५१ को पर्वत दल[i], काकाको स्थानमा भतिजो । यस्तै किसिमले अठारौं ब्युमेर[ii] को द्वितीय संस्करण जुन परिस्थितिमा सम्पन्न भयो, यसको प्रथम संस्करणको व्यङ्ग्यचित्र मात्रै थियो ।
मानिसहरूले आफ्नो इतिहास स्वयम् निर्माण गर्दछन्, तर आफूले रोजेजस्तो होइन । उनीहरू त्यस परिस्थितिमा आफ्नो इतिहासको निर्माण गर्दछन्, जुन उनीहरूले अतीतबाट प्राप्त गर्दछन्, जुन अतीतद्वारा सम्प्रेषित हुन्छन् र जसको उनीहरूले प्रत्यक्ष रूपमा सामना गर्नुपर्दछ । सबै मृत पिंढीहरूको परम्परा जीवित मानवको मस्तिष्कमा एक दुःस्वप्न समान मडारिइरहेको हुन्छ । ठीक त्यसै बेला, जब उनीहरूलाई आफूलाई र आफ्ना वरिपरिका सबै कुराहरूलाई क्रान्तिकारी तरिकाले रूपान्तरण गरिरहेजस्तो लाग्दछ र कुनै त्यस्तो वस्तुको सिर्जना गरिरहेजस्तो लाग्दछ, जसको आजसम्म अस्तित्व थिएन, क्रान्तिकारी सङ्कटको ठीक यस्तै अवसरहरूमा उनीहरू उत्कन्ठापूर्वक मन्त्र पढ्न थाल्दछन्, अतीतका प्रेतात्माहरूलाई मद्दतको लागि डाक्दछन्, अतीतको नाम अतीतको रणनाद र अतीतको परिधान माग्दछन् र यस प्रकारले यस चिरप्रतिष्ठापित , भेष र सापटी लिएको भाषामा सजिएर विश्व इतिहासको नयाँ नाटक खेल्न तयार हुन्छन् । यस्तै किसिमले ल्युथरले देवइत पोलको भेषधारण गरे, सन् १७८९-१८१४ को
क्रान्तिले पालोपालो गरी रोमन गणराज्य र रोमन साम्राज्यको परिधान ग्रहण गर्यो र सन् १८४८ को क्रान्तिले, कहिले सन् १७८९ को क्रान्तिको त कहिले सन् १७९३- १७९५ को क्रान्तिकारी परम्पराको भद्दा नक्कल गर्ने सिवाय अरू कुनै काम गर्न सकेन । यो कुरा त्यस्तै हो, जस्तो भर्खरै कुनै नयाँ भाषा सिक्न थालेको मानिसले मनमनै त्यस भाषालाई आफ्नो मातृभाषामा उल्था गरिरहेको हुन्छ, नयाँ भाषाको आत्माचाहिं उसले त्यसैबेला मात्रै हृदयङ्गम गर्न सक्दछ, जब ऊ त्यस भाषामा कति दक्ष हुन्छ भने उसको लागि नयाँ भाषालाई मनमनै पुरानो भाषामा उल्था गरिरहने आवश्यकता पर्दैन, नयाँ भाषा प्रयोग गर्दा आफ्नो मातृभाषालाई बिर्सन्छ ।
मानिसहरूले आफ्नो इतिहास स्वयम् निर्माण गर्दछन्, तर आफूले रोजेजस्तो होइन ।
विश्व इतिहासका मृतात्माहरूलाई डाक्ने यस प्रक्रियामाथि विचार गर्दा हामी तत्काल एउटा प्रत्यक्ष अन्तर भेट्टाउँदछौ । कामील देमुलेन, दाँतों, रोबेस्प्येर, सेंझुस्त, नेपोलियन आदि पुराना क्रान्तिका वीरहरू तथा उनीहरूका पार्टीहरू एवम् जनसमुदायले आफ्नो युगको कार्यभार आधुनिक बुर्जुवा समाजलाई बन्धनमुक्त तुल्याउने र त्यस समाजलाई आफ्नो खुट्टामा उभ्याउने कार्यभार रोमन पहिरन लगाएर र रोमन नारा दिएर सम्पन्न गरेका थिए । उनीहरूमध्ये कसैले सामन्ती व्यवस्थाको जग चकनाचुर पारिदिए र यस आधारमा हुर्केका सामन्तहरूको शिरोच्छेदन गरे भने अरूले फ्रान्समा त्यस अवस्थाको सिर्जना गरे, जसमा मात्रै स्वतन्त्र प्रतिस्पर्धाको विकास हुन सक्दथ्यो, टुक्राटुक्रा पारिएको भूसम्पत्तिको प्रयोग गर्न सकिन्थ्यो र राष्ट्रको बन्धनमुक्त औद्योगिक उत्पादनशक्तिको उपयोग गर्न सकिन्थ्यो । फ्रान्सको सीमाबाहिर चाहिँ यसले यत्रतत्र त्यस हदसम्म सामन्ती संस्थाहरूलाई नष्ट पार्दै गयो, जुन हदसम्म युरोपेली महाद्वीपमा फ्रान्सको बुर्जुवा समाजको लागि अनुकूल, त्यस समयको लागि उपयुक्त परिवेश तयार गर्न यो कुरा आवश्यक थियो । नवीन सामाजिक ढाँचा स्थापित हुनासाथ पुरातनकालका दिग्गजहरू र उनीहरूका साथसाथै रोमन साम्राज्यका पुनरुज्जीवित विभूतिहरू ब्रुत र ग्राक्ख, पुब्लीकोला र ट्रिब्युन, सेनेटेर र स्वयम् सेजर गायब भए । संयमी तथा व्यवहारप्रेमी बुर्जुवा समाजले सेय, कुजेन, रुआये-कोलार, बेन्झमें कोस्तान र गिजोजस्ता व्यक्तिहरूको रूपमा आफ्नो वास्तविक व्याख्याता तथा प्रवक्ताहरू उत्पन्न गर्यो । यसका वास्तविक सेनानायकहरू नियन्त्रण मेचमा बसेका थिए । बोसोले ढाकिएको दिमाग भएको लुइ अठारौं त्यस पुँजीवादी समाजका राजनीतिक अगुवा थिए । धन- सिर्जना तथा शान्तिपूर्ण प्रतिस्पर्धाको सङ्घर्षमा पूर्णतः तल्लिन रहेको यस समाजले यसको जन्म रोमन मृतात्माहरूको संरक्षणमा भएको थियो भन्ने कुरा अब बिर्सिसकेको छ । परन्तु स्वयम् बुर्जुवा समाज जतिसुकै वीरताशून्य किन नहोस्, यसलाई अस्तित्वमा ल्याउन वीरता, त्याग, आतङ्क, गृहयुद्ध तथा जनसङ्घर्षको आवश्यकता परेको थियो । बुर्जुवा समाजका वीरपुरुषहरूले रोमन गणराज्यको प्राचीन प्रतिष्ठित कठोर परम्परामा ती आदर्शहरू एवम् कलात्मक रुपहरू, ती आत्मप्रवञ्चनाहरू भेट्टाए, जुन उनीहरूको लागि आफैँबाट आफ्नो सङ्घर्षको सङ्कीर्ण बुर्जुवा अन्तर्य लुकाउन र आफ्नो उत्साहलाई महान् ऐतिहासिक दुःखान्त नाटकको उच्च धरातलमा कायम राख्नको लागि आवश्यक थियो । यस्तै किसिमले, एक शताब्दी पहिले, विकासको एउटा अर्कै चरणमा क्रोमवेल र बेलायतका जनताले आफ्नो बुर्जुवा क्रान्तिको[iii] लागि ओल्ड टस्टामेन्टबाट भाषा, आवेग तथा प्रवञ्चनाहरू ग्रहण गरेका थिए । जब वास्तविक लक्ष्य प्राप्त भयो, जब बेलायती समाजको बुर्जुवा रूपान्तरण पूरा भयो, तब लोकले हब्बकुकको स्थान ग्रहण गरे ।
धन- सिर्जना तथा शान्तिपूर्ण प्रतिस्पर्धाको सङ्घर्षमा पूर्णतः तल्लिन रहेको यस समाजले यसको जन्म रोमन मृतात्माहरूको संरक्षणमा भएको थियो भन्ने कुरा अब बिर्सिसकेको छ । परन्तु स्वयम् बुर्जुवा समाज जतिसुकै वीरताशून्य किन नहोस्, यसलाई अस्तित्वमा ल्याउन वीरता, त्याग, आतङ्क, गृहयुद्ध तथा जनसङ्घर्षको आवश्यकता परेको थियो ।
यस प्रकारले पुरातनको व्यङ्ग्यचित्र प्रस्तुत गर्न होइन बरु नयाँ सङ्घर्षलाई गौरवान्वित तुल्याउन, प्रस्तुत कार्यभारलाई वास्तविक रूपमा समाधान गर्ने कार्यभारबाट पलायन गर्न होइन बरु त्यस कार्यभारलाई कल्पनालोकमा बृहद् रूप प्रदान गर्न, क्रान्तिको भूतलाई भौतारिन दिन होइन बरु त्यसको आत्मालाई फेरि एकपल्ट बिउँझाउन यी क्रान्तिहरूमा मृतात्माहरूलाई पुनर्जीवित तुल्याउन परेको थियो ।
वयोवृद्ध बायीको छद्मभेषमा देखापरेका republicain en gants jaunes[iv] मार्रास्तदेखि लिएर त्यस दुस्साहसीसम्म, जसले आफ्नो कुरुप घृणित अनुहारलाई मृत नेपोलियनको फलामे मुखुन्डोभित्र लुकाएको थियो, सन् १८४८ - १८५१ मा पुरानो क्रान्तिको भूत मात्रै घुमाफिर गरिरहेको थियो । सम्पूर्ण जनताले नै, जसले क्रान्तिद्वारा आफ्नो क्रमिक विकासको प्रक्रियालाई तीव्रता प्रदान गरेको छ भन्ने ठानेको थियो, एक्कासी आफूलाई एक मृत युगमा फर्केको पाउँदछ । यस सम्बन्धमा कुनै पनि प्रकारको भ्रम उत्पन्न नहोस् भन्ने उद्देश्यले धेरैपहिले नै प्राचीन इतिहासका महापण्डितहरूको अनुसन्धान क्षेत्रमा परिणत भइसकेका पुरानो मिति, पुरानो इतिवृत्तिक्रम, पुराना नामहरू, पुराना राजाज्ञाहरू र कुन जमानामा बिलाइसकेका जस्तो लाग्ने कानुनका रखवालाहरू पुनर्जीवित हुन्छन् । राष्ट्र बेडलमको[v] त्यस पागल अङ्ग्रेजको स्थितिमा पुग्दछ, जसले आफूलाई फराउनहरूको समकालिक ठान्दथ्यो र आफूलाई इथोपियाका सुनखानीहरूमा कठोर परिश्रम गर्न बाध्य भएको व्यक्तिको रूपमा कल्पना गर्दथ्यो । ऊ कल्पना गर्दथ्यो ऊ यस भूमिगत जेलमा थुनिएको छ, उसको टाउकोमा एउटा टलपलाइरहेको लाल्टिन बाँधिएको छ, दासहरूको निरीक्षक एउटा लामो कोर्रा लिएर उसको पिछा गर्दै छ, बाहिर निस्कने सबै बाटाहरूमा बर्बर सैनिकहरूको भीड लागेको छ, जसले न खानीमा काम गर्ने दासहरूको कुरा बुझ्दछन्, न त एक अर्काको कुरा बुझ्दछन्, किनभने सबै बेग्लाबेग्लै भाषामा कुरा गर्दछन् । पागल अङ्ग्रेज हरेक दिन सुस्केरा हाल्दै गुनासो गर्दछ, “यी सम्पूर्ण काम प्राचीन फराउनहरूको सुनमा ढुकुटी भर्न म एक स्वतन्त्र जात अङ्ग्रेजबाट गराइँदै छन्” । फ्रान्सेली जनताले पनि यस्तै किसिमले सुस्केरा हाल्दै गुनासो गर्दछ, “बोनापार्ट परिवारको ऋण चुकाउन ।” दिमाग ठीक नहुन्जेलसम्म त्यस अङ्ग्रेजलाई सुनको भण्डार भेट्टाउने धुनले छोडेको थिएन । फ्रान्सेलीहरू पनि जबसम्म उनीहरू क्रान्तिमा व्यस्त रहे, नेपोलियनको स्मृतिबाट मुक्त हुन सकेका थिएनन् र यो कुरा १० डिसेम्बरको [vi] निर्वाचनले सावित गर्यो । क्रान्तिको खतराले उनीहरूलाई पछि हट्ने सपना देख्न बाध्य तुल्यायो र उनीहरू मिस्रको मासुको भाँडो सम्झेर पछुताउन थाले [vii]। २ डिसेम्बर १८५१ को घटनामा उनीहरूको यो सपना साकार भयो । उनीहरूले पुरानो नेपोलियनको एउटा व्यङ्ग्यचित्र मात्रै पाएनन्, अपितु स्वयम् पुरानो नेपोलियनलाई त्यस विकृत रूपमा प्राप्त गरे, जुन रूपमा उनी उन्नाइसौँ शताब्दीको मध्यावधिमा देखिनुपर्थ्यो ।
उन्नाइसौं शताब्दीको सामाजिक क्रान्तिले अतीतबाट होइन भविष्यबाट मात्रै प्रेरणा प्राप्त गर्न सक्दथ्यो । अतीतसम्बन्धी आफ्ना सम्पूर्ण अन्धविश्वासबाट मुक्त नभएसम्म क्रान्तिले आफ्नो कार्यभारको समारम्भ गर्न सक्दैनथ्यो । विगत क्रान्तिहरूलाई स्वयम् आफ्नो अन्तर्वस्तुको सम्बन्धमा ठगिनको लागि अतीतको विश्व इतिहासका स्मृतिहरू आवश्यक थिए । उन्नाइसौ शताब्दीको क्रान्तिलाई आफ्नो अन्तर्वस्तु आत्मसात गर्न अतीतलाई अतीतकै गर्भमा गाड्नु आवश्यक थियो । पहिलेका क्रान्तिहरूको लागि अन्तर्वस्तुभन्दा नारा महत्त्वपूर्ण थियो भने यहाँ नाराभन्दा अन्तर्वस्तु महत्त्वपूर्ण छ ।
फेब्रुअरी क्रान्ति पुरानो समाजमाथि एक आकस्मिक प्रहार थियो, क्रान्तिको आगमन त्यस समाजको लागि अप्रत्याशित घटना थियो र जनताले यस आकस्मिक प्रहारलाई एक नयाँ युगको सूत्रपात गर्ने विश्वव्यापी महत्त्वपूर्ण घटना घोषित गर्यो । २ डिसेम्बरको दिन कुनै धूर्त चटकीले छुमन्तर गरेजस्तो फेब्रुअरी क्रान्ति गायब हुन्छ र फलत: स्पष्ट हुन्छ- राजतन्त्र नभएर ती उदारवादी छुटहरू समाप्त भएका रहेछन्, जुन सयौं वर्ष लामो सङ्घर्षको फलस्वरुप त्यसै राजतन्त्रबाट प्राप्त भएका थिए । समाजले आफ्नो लागि एक नयाँ अन्तर्वस्तु प्राप्त गर्नुको साटो राज्य आफ्नो त्यस प्राचीनतम अवस्थामा फर्केको मात्रै रहेछ, जुन बेला तरबार र जङ्गीपोशाकको निर्लज्ज तथा नग्न बोलबाला थियो । फेब्रुअरी १८४८ को coup de main[viii] लाई डिसेम्बर १८५१ को coup de tete[ix] ले जवाफ दियो । जसरी आयो, त्यसरी नै गयो पनि । तर यी दुई घटनाहरूबीचको समय त्यतिकै खेर गएन । सन् १८४८ देखि १८५१ सम्मको अवधिमा फ्रान्सेली समाजले त्यस्तो शिक्षा तथा अनुभव प्राप्त गयो र त्यो पनि अति शीघ्र, किनभने त्यो क्रान्तिकारी तरिका थियो, जुन शिक्षा तथा अनुभव फेब्रुअरी क्रान्ति एक सामान्य सतही लहर मात्रै नभएर कुनै गम्भीर घटना भइदिएको भए बिकासको नियमित प्रक्रममा अथवा अझ पाठ्यपुस्तकको निरुपित प्रक्रममा पूर्वापेक्षित हुने थियो । अब यस्तो लाग्दछ, मानौं समाज आफ्नो प्रस्थानबिन्दुबाट समेत पछि हटेको छ, वास्तवमा चाहिँ यसले आफ्नो लागि सबैभन्दा पहिले क्रान्तिकारी प्रस्थानबिन्दुको सिर्जना गर्नु पर्नेछ, ती सम्बन्धहरू तथा ती अवस्थाहरूको सिर्जना गर्नु पर्नेछ, जसअन्तर्गत मात्रै आधुनिक क्रान्तिले गम्भीर रूप लिन सक्दछ ।
सन् १८४८ देखि १८५१ सम्मको अवधिमा फ्रान्सेली समाजले त्यस्तो शिक्षा तथा अनुभव प्राप्त गयो र त्यो पनि अति शीघ्र, किनभने त्यो क्रान्तिकारी तरिका थियो, जुन शिक्षा तथा अनुभव फेब्रुअरी क्रान्ति एक सामान्य सतही लहर मात्रै नभएर कुनै गम्भीर घटना भइदिएको भए बिकासको नियमित प्रक्रममा अथवा अझ पाठ्यपुस्तकको निरुपित प्रक्रममा पूर्वापेक्षित हुने थियो ।
अठारौं शताब्दीका क्रान्तिहरूजस्ता बुर्जुवा क्रान्तिहरूले अति तीव्र गतिले एकपछि अर्को सफलता प्राप्त गर्दै जान्छन्, तिनको प्रत्येक नाटकीय निष्पत्ति एउटाभन्दा अर्को बढी चमत्कारपूर्ण हुन्छन्, मानिसहरू र वस्तुहरू जगमगाइरहेका हुन्छन्, उल्लासको भावना एक स्वाभाविक कुरा बन्न जान्छ, किन्तु ती सबै कुरा अल्पजीवी हुन्छन्, अति छिटो आफ्नो शिरोविन्दुमा पुग्दछन्, आँधीबेरीले भरिपूर्ण आफ्नो यस इतिहासका नतिजाहरू समाजले गम्भीरतापूर्वक आत्मसात् गर्न सिक्नुभन्दा पहिले नै अवसादको एक लामो अवधि सुरु भइहाल्दछ । यसको विपरीत, सर्वहारा क्रान्तिहरूले, उन्नाइसौं शताब्दीका यी क्रान्तिहरूले निरन्तर आफ्नो आलोचना गर्दछन्, आफ्नो अग्रगतिमा बारम्बार थामिन्छन्, पार गरिसकेको बिन्दुमा फेरि-फेरि फर्कन्छन् र फेरि माथिदेखि सुरु गर्दछन्, आफ्ना प्रथम प्रयासहरूको अपर्याप्तता, कमजोरी तथा अयोग्यताको निर्मम अद्यन्ततापूर्वक निन्दा गर्दछन्, आफ्नो शत्रुलाई मानौं मात्र कुन कारणले भुइँमा पछार्दछन् भने उसले जमिनबाट नयाँ बल प्राप्त गर्न सकोस् र पहिलेभन्दा पनि बढी शक्तिशाली भएको आफ्नो शत्रुको सामुन्ने उभिन सकियोस्, त्यो त्यतिञ्जेल स्वयम् आफ्ना लक्ष्यहरूको अस्पष्ट विराट आकारको सामुन्ने बारम्बार फर्किरहन्छ, जबसम्म त्यस्तो स्थिति उत्पन्न हुँदैन, जहाँ पछि हट्नु पूर्णतः असम्भव हुन जान्छ र स्वयम् जीवनले कठोर स्वरमा आव्हान गर्दैन-
Hic Rhodus, hic salta !
यहीं छ तिम्रो रोदस, यहीं हाम फाल ![x]
यसको अतिरिक्त, कुनै पनि धेरथोर सूक्ष्मदर्शी मानिसले, यदि उसले फ्रान्सेली घटनाक्रमको प्रत्येक चरणको अनुसरण गरेको छैन भने पनि, यस क्रान्तिले अभूतपूर्व अपमान सहनु पर्नेछ भन्ने पूर्वाभास गर्नुपर्छ । मे १८५२ को दोस्रो आइतबारको दिन[xi] घटेको घटनाका प्रत्याशित सुखद परिणामहरूको लागि आत्मसन्तोषपूर्वक एक अर्कालाई बधाइ दिने जनवादी महानुभावहरूको उल्लासपूर्ण कोलाहल सुन्नु नै यसको लागि पर्याप्त छ । जसरी इसाको द्वितीय अवतरणपश्चात् एक सहस्राब्दीको सुख-शान्तिकाल सुरु हुनेछ भन्ने अन्धविश्वास किलिआसवादीहरूको [xii] मस्तिष्कमा गाडिएको थियो, त्यसैगरी यी मानिसहरूको दिमागमा पनि मे १८५२ को विचारले जरा गाडेको थियो ।
दुर्बलताले सधैँ चमत्कारको शरण लिने गरेको छ । मन्त्र पढेर शत्रुलाई कल्पनामा पराजित गरेपछि यसले वास्तवमा नै शत्रुलाई पराजित भयो भन्ने कुरामा विश्वास गर्यो र भविष्य तथा ती पराक्रमहरूको निष्क्रिय गौरवान्वयनमा, जसको यसले आफ्नो मनमा योजना तयार पारेको थियो, तर जुन योजना कार्यान्वयन गर्न त्यो तयार थिएन, वर्तमानको सम्पूर्ण अवबोध बिर्सिदियो ।
एक अर्काप्रति सहानुभूति प्रकट गर्दै र एक विशिष्ट समूहमा ऐक्यबद्ध हुँदै आफ्नो वास्तविक अयोग्यता स्वीकार गर्न नचाहने यी वीरपुरुषहरू, जसले आफ्नो डेराडन्डा उठाइसकेका थिए र पहिलेबाटै आफ्नो कीर्तिको फूलमाला लगाइसकेका थिए, तल्काल सराफीसँग in partidus[xiii] आफ्ना ती गणतन्त्रहरू जुनसुकै मूल्यमा भए पनि साट्ने प्रयास गर्दै थिए, जसका सरकारी पदहरूको बन्दोबस्त उनीहरूले आफ्नो सरल चित्तवृत्तिको सम्पूर्ण निश्चिन्ततासहित धेरै पहिले नै मिलाइसकेका थिए । २ डिसेम्बरको घटनाले उनीहरूलाई निर्मल आकाशमा बिजुली चम्केजस्तो स्तम्भित तुल्यायो र ती मानिसहरूले, जो कायरताको अवस्थामा आफ्नो आन्तरिक त्रासलाई खुशीसाथ चर्को कोलाहलमा डुबाउन तयार हुन्छन्, यसपल्ट सम्भवतः बुझे- त्यो जमाना कुन बेला बितिसकेको छ । जब हाँसहरूको क्या-क्याँ आवाजले क्यापिटोलियसलाई शत्रुबाट बचाएको थियो [xiv] ।
संविधान, संसद्, राजवंशीय पार्टीहरू, नीला र राता गणतन्त्रवादीहरू, अफ्रिकी वीरपुरुषहरू[xv], सभामञ्चहरूबाट आउने वक्ताहरूको चर्को आवाज, समाचारपत्रहरूको चकचकी, सम्पूर्ण साहित्य, राजनीतिक नामहरू तथा बौद्धिक ख्याति, देवानी कानुन दण्डसंहिता, liberte, egalite, fraternite [xvi] र मे १८५२ को दोस्रो आइतबार- यी सबै कुरालाई कुनै मायाजालजस्तो एक त्यस्तो व्यक्तिको जादुले छुमन्तर पारिदियो, जसलाई उसको शत्रुले पनि जादुगर ठान्दैनथ्यो । यस्तो लाग्दथ्यो मानौं सार्विक मताधिकार केवल त्यस क्षणको लागि मात्र सुरक्षित राखिएको थियो, जब यसले सम्पूर्ण विश्वसमक्ष आफ्नै हातले आफ्नो अन्तिम मृत्युपत्र र इच्छापत्र तयार गरोस् र स्वयम् जनताको नामबाट घोषणा गर्न सकोस्- जे जति अस्तित्वमान् छन्, सबै विनाशयोग्य छन् ![xvii]
फ्रान्सेलीहरूका दृष्टान्तअनुसार उनीहरूलाई छकाइयो भन्नु नै पर्याप्त छैन ।
कुनै राष्ट्रको लागि, आइमाईको लागि जस्तै त्यस असजगताको घडी कदापि क्षम्य हुन सक्दैन, जब कुनै पनि दुस्साहसीले त्यसमाथि बलात्कार गर्न सक्दछ । यस्ता उक्तिहरूले प्रहेलिका हल गर्दैन, केवल अर्कै तरिकाले त्यसको निरुपण मात्रै गर्दछ । कसरी तीन जना ठगले तीन करोड साठी लाख जनताको राष्ट्रलाई छकाउन सक्दछ र विनाकुनै प्रतिरोध कब्जा गर्न सक्दछ भन्ने कुरा अझ व्याख्या गर्नु नै छ ।
कुनै राष्ट्रको लागि, आइमाईको लागि जस्तै त्यस असजगताको घडी कदापि क्षम्य हुन सक्दैन, जब कुनै पनि दुस्साहसीले त्यसमाथि बलात्कार गर्न सक्दछ ।
आउनोस्, अब ती चरणहरूको संक्षिप्त विश्लेषण गरौं, जुन फ्रान्सेली क्रान्तिले २४ फेब्रुअरी १८४८ देखि डिसेम्बर १८५१ सम्ममा पार गरेको थियो ।
तीन मुख्य चरणहरू छन्, जसबारे कुनै गल्ती हुन सक्दैन- फेब्रुअरी काल, ४ मे १८४८ देखि २८ मे १८४९ सम्म- गणतन्त्रको गठन अथवा राष्ट्रिय संविधानसभाको गठनकाल, २८ मे १८४९ देखि २ डिसेम्बर १८५१ सम्म - वैधानिक गणतन्त्र अथवा राष्ट्रिय संविधानसभाको काल ।
प्रथम काल, अर्थात् २४ फेब्रुअरीदेखि (जुन दिन लुइफिलिप गद्दीबाट हटाइएका थिए) ४ मे १८४८ (जब संविधानसभाको अधिवेशनको उद्घाटन भएको थियो) सम्मको अवधि, अर्थात् वास्तविक फेब्रुअरी काललाई हामी क्रान्तिको प्रस्तावना भन्न सक्दछौं । औपचारिक रूपमा यस कालको स्वरूप कुन कुरामा अभिव्यक्त हुन्छ भने त्यस अवधिमा जून सरकारको गठन भएको थियो, त्यसले आफैँले आफूलाई एक अस्थायी सरकार घोषित गरेको थियो, त्यो सरकारजस्तै त्यस कालमा जे जति कुरा प्रस्तावित भए, प्रयोगमा ल्याइए अथवा निरुपित भए, केवल अस्थायी रूपमा मात्रै प्रस्तुत गरिए । कसैले पनि र कुनै कुराले पनि आफ्नो अस्तित्व तथा कुनै वास्तविक काम गर्ने अधिकारको दावी गर्ने आँट गर्न सकेको थिएन । ती सबै तत्त्वहरू, जसले क्रान्तिको आयोजना अथवा निर्धारण गरेका थिए- राजवंशीय विरोधी पक्ष [xviii], गणतन्त्रवादी बुर्जुवावर्ग, जनवादी गणतन्त्रवादी निम्न बुर्जुवावर्ग तथा समाजवादी जनवादी मजदुर- यी सबै तत्त्वहरूले फेब्रुअरी सरकारमा अस्थायी रूपमा स्थान पाएका थिए ।
अन्यथा हुन पनि सक्दैनथ्यो । प्रारम्भिक कालमा फेब्रुअरी घटनाहरूको लक्ष्य एक त्यस्तो निर्वाचन सुधार सम्पन्न गर्नु थियो, जसद्वारा मालिकवर्गभित्रै राजनीतिक विशेषाधिकारसम्पन्न मानिसहरूको दायरा फराकिलो पार्न सकियोस् र वित्तीय अभिजातवर्गको एकलौटी शासन समाप्त गर्न सकियोस् । परन्तु जब वास्तविक सङ्घर्ष सुरु भयो, जब जनता मोर्चाबन्दीमा उत्रियो, जब राष्ट्रिय गार्डले प्रतिकारशून्य प्रतीक्षाको नीति लियो, सेनाले वास्तविक प्रतिरोध देखाएन र राजतन्त्र भाग्न बाध्य भयो, त्यसबेला गणतन्त्रको स्थापनालाई एक स्वाभाविक परिणामको रूपमा स्वीकार गरियो । प्रत्येक पार्टीले आफ्नै तरिकाले यसको व्याख्या गरे । सर्वहारावर्गले, जसले हतियारको बलमा गणतान्त्रिक व्यवस्था प्राप्त गरेको थियो, यस व्यवस्थामा आफ्नै छाप लगायो र यसलाई सामाजिक गणतन्त्र घोषित गर्यो । यस प्रकारले आधुनिक क्रान्तिको सामान्य सारतत्त्व निरुपित भयो- उपलब्ध सामग्रीहरू तथा आम जनताको चेतनाको विकासको आधारमा वर्तमान परिस्थिति र सम्बन्धहरूअन्तर्गत जे जति पनि तत्काल व्यवहार साध्य थिए, यो सारतत्त्व ती सबै कुराको सर्वथा प्रतिकूल थियो । अर्कोतर्फ, फेब्रुअरी क्रान्तिमा सहयोग पुऱ्याउने सर्वहारावर्गसिवाय अन्य सबै शक्तिहरूको दाबी पूरा गरियो र ती सबैले सरकारमा महत्त्वपूर्ण हिस्सा प्राप्त गरे । यही कारण हो, अलङ्कारयुक्त भाषणहरूको साथै वास्तविक अनिश्चितता तथा अकर्मण्यता, परिवर्तनको लागि उत्साहपूर्ण प्रयासको साथै पुरानो परिपाटीको पूर्ण आधिपत्य, सामाजिक एकताको देखावटी विकासको साथै समाजका विभिन्न तप्काहरूबीचको पृथकतामा वृद्धिको यस्तो विचित्र सम्मिश्रण हामी अन्य कुनै पनि युगमा पाउन सक्दैनौं । त्यसबेला, जब पेरिसको सर्वहारावर्ग अझै आफ्नो सामुन्ने देखापरेका महानतम् सम्भावनाहरूको कल्पनामा मस्त थियो र सामाजिक समस्याहरूबारे गम्भीर वादविवादमा तल्लिन थियो, रुढिवादी शक्तिहरु आफ्नो शिबिर सुदृढ तुल्याउदै थिए, ऐक्यबद्ध हुँदै थिए, सोचविचार गर्दै थिए र उनीहरूले राष्ट्रको विशालतम जनसमुदाय- ती किसानहरू तथा निम्नबुर्जुवाहरूको अप्रत्याशित समर्थन प्राप्त गरे, जो जुलाई राजतन्त्रको[xix] तगारो हट्नासाथ अकस्मात् राजनीतिक रङ्मञ्चमा ओइरिएका थिए ।
फेब्रुअरी काण्डको लगत्तैपछि केवल राजवंशीय विरोधी पक्षलाई गणतन्त्रवादीहरूलाई समाजवादीहरूले चकित तुल्याएका थिएनन्, अपितु सम्पूर्ण फ्रान्सलाई नै पेरिसले चकित तुल्याइदिएको थियो ।
द्वितीय काल अर्थात् ४ मे १८४८ देखि सन् १८४९ को मे महिनाको अन्त्यसम्म बुर्जुवा गणतन्त्रको सङ्गठन तथा स्थापनाको काल थियो । फेब्रुअरी काण्डको लगत्तैपछि केवल राजवंशीय विरोधी पक्षलाई गणतन्त्रवादीहरूलाई समाजवादीहरूले चकित तुल्याएका थिएनन्, अपितु सम्पूर्ण फ्रान्सलाई नै पेरिसले चकित तुल्याइदिएको थियो । राष्ट्रियसभा, जसको अधिवेशन ४ मे १८४८ को दिन सुरु भएको थियो, राष्ट्रिय महानिर्वाचनमा छानिएको थियो र यसले राष्ट्रको प्रतिनिधित्व गर्दथ्यो । यो संसद् फेब्रुअरी काण्डका मिथ्या दाबीहरूप्रति सजीव प्रतिरोध थियो र यसले क्रान्तिका परिणामहरूलाई बुर्जुवा स्तरमा झार्नुपर्दथ्यो । पेरिसको सर्वहारावर्गले यस राष्ट्रियसभाको चरित्र तुरुन्तै बुझिहाल्यो र यस वर्गले सभाको अधिवेशन सुरु भएको केही दिनपश्चात् नै, मे १५ को दिन [xx], बलात् यसको अस्तित्व नष्ट पार्ने, यसलाई भङ्ग गर्ने, त्यस जैविक रूपलाई, जसले राष्ट्रिय भावनामा प्रतिकूल प्रभाव पार्ने खतरा उत्पन्न गरेको थियो, पुनः त्यसका सङ्घटक अङ्गहरूमा विभाजित पार्ने विफल प्रयत्न गर्यो । परन्तु हामीलाई ज्ञात भएको कुरा हो, १५ मेका घटनाहरूको परिणाम ब्लाँकी र उनका अनुयायीहरूलाई अर्थात् सर्वहारा पार्टीका वास्तविक अगुवाहरूलाई त्यस सम्पूर्ण अवधिको लागि, जसको हामी यहाँ चर्चा गर्दैछौं, सामाजिक रङ्गमञ्चबाट हटाउनमै सीमित रह्यो ।
पेरिसको सर्वहारावर्ग पराजित भएपछि तीन हजारभन्दा बढी विद्रोहीहरू मारिए, पन्ध्र हजार मानिसहरूलाई मुद्दा नचलाइकनै कालापानी पठाइयो । यस पराजयपश्चात् सर्वहारावर्ग क्रान्तिको रङ्गमञ्चबाट पछि हट्यो ।
लुई फिलिपको बुर्जुवा राजतन्त्रपश्चात् बुर्जुवा गणतन्त्र मात्रै स्थापित हुन सक्दछ, अर्थात् जहाँ बुर्जुवावर्गको एउटा सानो हिस्साले राजाको नामबाट राज्य गर्दथ्यो, त्यहाँ अब सम्पूर्ण बुर्जुवावर्गले जनताको नामबाट राज्य गर्नेछ । पेरिसका सर्वहारावर्गको माग एक मूर्खतापूर्ण कल्पना-उडान मात्रै हो, जसको अन्त्य हुनु नितान्त आवश्यक छ- राष्ट्रिय संविधानसभाको यस घोषणाको जवाफ पेरिसको सर्वहारावर्गले जुन विद्रोहद्वारा, युरोपेली गृहयुद्धहरूको यस विराटतम घटनाद्वारा दियो । बुर्जुवा गणतन्त्र विजयी बन्यो । वित्तीय अभिजातवर्ग, औद्योगिक बुर्जुवावर्ग, मध्यमवर्ग, निम्नबुर्जुवावर्ग, सेना, गस्ती सेनाको रूपमा सङ्गठित लम्पट – सर्वहाराहरू [xxi], बुद्धिजीवीहरू, पादरीहरू तथा ग्रामीण जनता- सबै यसको पक्षमा थिए । पेरिसको सर्वहारावर्गको पक्षमा स्वयम् ऊ आफैँ सिवाय अरू कोही थिएन । पेरिसको सर्वहारावर्ग पराजित भएपछि तीन हजारभन्दा बढी विद्रोहीहरू मारिए, पन्ध्र हजार मानिसहरूलाई मुद्दा नचलाइकनै कालापानी पठाइयो । यस पराजयपश्चात् सर्वहारावर्ग क्रान्तिको रङ्गमञ्चबाट पछि हट्यो । हरेक पल्ट, जब आन्दोलन फेरि चर्केजस्तो लाग्थ्यो, सर्वहारावर्गले अघि बढ्ने प्रयत्न गर्दथ्यो- परन्तु यी प्रयासहरू झन्झन् कमजोर र कम फलदायी हुँदै गए । जबजब आफूमाथि रहेका सामाजिक तप्काहरूमध्ये कसैमा क्रान्तिकारी हलचल सुरु हुन थाल्दछ, सर्वहारावर्गले अविलम्ब त्यस तप्कासँग सम्झौता गर्दछ र यस प्रकारले ऊ विभिन्न पार्टीहरूले सामना गर्नुपरेका सबै पराजयहरूको सहभागी बन्न पुग्दछ । परन्तु यी पछिल्ला प्रहारहरू समाजको जति व्यापक हिस्साहरूमा फैलिंदै जान्छन्, त्यत्तिकै कमजोर पनि हुँदै जान्छन् । राष्ट्रियसभा तथा समाचारपत्र जगतमा सर्वहारावर्गका सबैभन्दा महत्त्वपूर्ण नेताहरू एकपछि अर्को गर्दै अदालतको शिकार बन्दै जान्छन् र उनीहरूको स्थान अधिकाधिक संदिग्ध व्यक्तिहरूले लिन थाल्दछन् । सर्वहारावर्गको एक हिस्सा सिद्धान्तवादी प्रयोगहरू, विनिमय बैङ्कहरू तथा मजदुर सङ्घहरूको स्थापनातिर लाग्दछन् । अर्को शब्दमा भन्ने हो भने त्यो हिस्सा त्यस्तो आन्दोलनमा फस्दछ, जसले गर्दा त्यसले पुरानो विश्वमा स्वयम् त्यस विश्वमा निहित महानतम साधनहरूको समग्र प्रयोगद्वारा क्रान्ति ल्याउने आफ्नो लक्ष्यलाई त्याग्दछ र समाजको पिठिउँपछाडि एकाङ्गी तरिकाले, आफ्नो अस्तित्वको सीमित अवस्थाभित्र स्वतन्त्रता प्राप्त गर्ने प्रयास गर्दछ र त्यसैकारणले अनिवार्यतः असफलताको भागी बन्दछ । स्पष्टत: सर्वहारावर्गले त्यस बेलासम्म आफ्नो विगत क्रान्तिकारी गरिमा फर्काउन सक्ने छैन र नयाँ सम्झौताहरूबाट नयाँ शक्ति प्राप्त गर्न सक्ने छैन, जबसम्म ती सबै वर्गहरू, जोसँग जुनमा उसले सङ्घर्ष गरेको थियो, आफैँ पराजित हुने छैनन्, जसरी स्वयम् ऊ पराजित भएको थियो । परन्तु पराजित सर्वहारावर्गले यस महानतम विश्व ऐतिहासिक सङ्घर्षमा कम्तीमा पनि आफ्नो प्रतिष्ठा गुमाएन । जुनको भूकम्पले फ्रान्सलाई मात्रै नभएर सम्पूर्ण युरोपलाई नै थर्काइदिएको छ । यसको विपरीत, माथिल्ला वर्गहरूले तत्पश्चातका पराजयहरूमा कति कम मूल्य तिरे भने ती घटनाहरूलाई कुनै महत्त्व दिनको लागि विजयी पार्टीले निर्लज्जातापूर्ण अतिशयोक्तिको प्रयोग गर्नुपरेको छ, त्यसमाथि जतिजति पराजित पार्टी सर्वहारावर्गबाट टाढिदै जान्छ, त्यतित्यति नै यी पराजयहरू झन्झन् कलङ्कपूर्ण हुँदै जान्छन् ।
सर्वहारावर्गले त्यस बेलासम्म आफ्नो विगत क्रान्तिकारी गरिमा फर्काउन सक्ने छैन र नयाँ सम्झौताहरूबाट नयाँ शक्ति प्राप्त गर्न सक्ने छैन, जबसम्म ती सबै वर्गहरू, जोसँग जुनमा उसले सङ्घर्ष गरेको थियो, आफैँ पराजित हुने छैनन्, जसरी स्वयम् ऊ पराजित भएको थियो ।
निःसन्देह, जुन विद्रोहीहरूको पराजयले त्यो जग तयार पार्यो, जसमा बुर्जबा गणतन्त्रको भवन तयार हुन सक्दथ्यो, तर यसको साथसाथै युरोपमा जुन विवाद चल्दैछ, त्यो “गणतन्त्र कि राजतन्त्र” भन्ने विषयलाई लिएर चलेको होइन भन्ने कुरा पनि त्यसले स्पष्ट पारिदियो । यहाँ बुर्जुवा गणतन्त्र भनेको एक वर्गमाथि अन्य वर्गको निर्वाध स्वेच्छाचारी शासन हो भन्ने कुरा यसले देखाइदियो । यसले के कुरा पनि देखाइदियो भने पुरानो सभ्यता भएका देशहरूमा, जहाँ वर्ग-विभाजन विकसित अवस्थामा पुगिसकेको छ, उत्पादनका आधुनिक अवस्थाहरू विद्यमान छन् र जहाँ बौद्धिक चेतना कुन स्थितिमा पुगिसकेको छ भने युगौयुगको कार्यको फलस्वरूप सबै परम्परागत धारणाहरू बिलाइसकेका छन्, त्यस्ता देशहरूमा गणतन्त्रको तात्पर्य सामान्यतः बुर्जुवा समाजको क्रान्तिकारी रूपान्तरणको राजनीतिक रूप मात्रै हो, त्यसको अस्तित्वको पुरातन रूप होइन, जस्तै उत्तरी अमेरिकाको संयुक्त राज्यमा छ, जहाँ यद्यपि वर्गहरूको अस्तित्व छ, तर तिनीहरू अझै दिगो भैसकेका छैनन् र अविरल गतिमा आफ्ना सङ्घटक अङ्गहरूको निरन्तर परिवर्तन तथा अन्तर्विनिमय गर्दैछन्, जहाँ उत्पादनका आधुनिक साधनहरू अति जनसङ्ख्याको स्थायी प्रवृत्तिअनुसार विकसित हुनुको साटो हात र मस्तिष्कको सापेक्षित अभावको पूर्ति गर्दैछन् र अन्तिम कुरा के हो भने, जहाँ एक प्रचण्ड, युवा स्फूर्तिले भरिपूर्ण गति भएको भौतिक उत्पादनले नयाँ विश्वमाथि विजय प्राप्त गर्ने कुरा त परै जाओस्, पुरानो जगत्को हाउ नष्ट पार्नेसम्म पनि न फुर्सत नै पाएको छ, न त मौका नै ।
हरेक पल्ट, जब समाजका शासकहरूको परिधि सङ्कुचित हुन्छ, जब सार्वजनिक हितमाथि सङ्कीर्ण स्वार्थले विजय प्राप्त गर्दछ, समाजको उद्धार भएको ठानिन्छ । अति सामान्य पुँजीवादी आर्थिक सुधारसम्बन्धी मागहरू, अति मामुली उदारवादी, अति औपचारिक गणतन्त्रवादी तथा अति सतही माग प्रजातान्त्रिक मागहरूसमेत "समाजमाथि प्रहारको" रूपमा दण्डित हुन्छन्, “समाजवादको" रूपमा तिनको भर्त्सना गरिन्छ ।
जुन काण्डको समयमा सर्वहारावर्गलाई अराजकताको पार्टी, समाजवादको, साम्यवादको पार्टी ठान्ने ती सबै वर्गहरू सर्वहारावर्गको विरुद्ध सुव्यवस्था पार्टीको रूपमा ऐक्यबद्ध भए, उनीहरूले “समाजका शत्रुहरूबाट" समाजलाई “बचाए” । पुरानो समाजको नारा - “सम्पत्ति, परिवार, धर्म, सुव्यवस्था" उनीहरूको सेनाको मूलमन्त्र बन्यो र यी प्रतिक्रान्तिकारी योद्धाहरूलाई उनीहरूले “यसै चिन्हले तँलाई विजयी बनाउनेछ !”[xxii] भन्दै ढाडस दिए । यसबेलादेखि जून काण्डको समयमा यस झण्डामुनि एकत्रित भएका बहुसङ्ख्यक पार्टीहरूमध्ये कुनै पार्टीले आफ्नो वर्गहितको लागि क्रान्तिको मैदानमा डट्न खोज्दा “सम्पत्ति, परिवार, धर्म, सुव्यवस्था ! "को नाराद्वारा त्यसलाई पराजित गरियो । हरेक पल्ट, जब समाजका शासकहरूको परिधि सङ्कुचित हुन्छ, जब सार्वजनिक हितमाथि सङ्कीर्ण स्वार्थले विजय प्राप्त गर्दछ, समाजको उद्धार भएको ठानिन्छ । अति सामान्य पुँजीवादी आर्थिक सुधारसम्बन्धी मागहरू, अति मामुली उदारवादी, अति औपचारिक गणतन्त्रवादी तथा अति सतही माग प्रजातान्त्रिक मागहरूसमेत "समाजमाथि प्रहारको" रूपमा दण्डित हुन्छन्, “समाजवादको" रूपमा तिनको भर्त्सना गरिन्छ । अन्ततोगत्वा “धर्म र सुव्यवस्थाका" यी महापण्डितहरू आफ्नो पिथिया त्रिपाइबाट[xxiii] लात हिर्काएर हटाइन्छन्, मध्यरातमा बिछ्यौनाबाट घिसारेर ल्याइन्छन् र जेलको गाडीमा राखेर कालकोठरीमा पुऱ्याइन्छन् अथवा निर्वासित हुन्छन् । उनीहरूका मन्दिरहरू ढालिन्छन् र उनीहरूको मुखमा बुजो लगाइन्छ, उनीहरूको पखेटा काटिन्छ र उनीहरूका कानुनहरूको धज्जी उडाइन्छ र यी सबै कुरा धर्म, सम्पत्ति, परिवार र सुव्यवस्थाको नाममा गरिन्छ । रक्सीले मातेका सिपाहीहरूको जितद्वारा यी सुव्यवस्थाका पुजारीहरू, यी बुर्जुवाहरू उनीहरूकै बार्दलीमा गोलीले हिर्काएर मारिन्छन्, उनीहरूको पारिवारिक थलो अपवित्र पारिन्छ, मनोरञ्जनको लागि उनीहरूको घरहरूमाथि गोलाबारी गरिन्छ र यी सबै कुरा सम्पत्ति, परिवार, धर्म र सुव्यवस्थाको नाममा गरिन्छ । यी सबै कुराको अन्तिम नतिजाको रूपमा बुर्जुवा समाजका यी निकृष्टतम मानिसहरूले सुव्यवस्थाको पवित्र व्यूह खडा गर्दछन् र काप्युलिन्स्कीका वीरले[xxiv] “समाजका उद्वारकको” रूपमा तुइलरी दरबारभित्र प्रवेश गर्दछन् ।
पादटिप्पणीहरु:
[i] सन् १७९३-१७९५ को पर्वत दल (मोंतान्यारहरू)- अठारौं शताब्दीको अन्त्यमा भएको फ्रान्सेली बुर्जुवा क्रान्तिको समयमा कन्भेन्टको एक क्रान्तिकारी जनवादी दल ।
[ii] ब्युमेर- फ्रान्सेली गणतन्त्रात्मक पात्रोअनुसार एक महिना । अठारौ ब्युमेर (९ नोभेम्बर) १७९९ । यस दिन नेपोलियन बोनापार्टले सत्ता उल्टाएका थिए र फौजी तानाशाही स्थापना गरेका थिए । “अठारौ व्युमेरको द्वितीय संस्करण” भन्नाले मार्क्सको तात्पर्य २ डिसेम्बर १८५१ को सत्ता परिवर्तन
हो ।
[iii] यहाँ मार्क्सले सत्रौं शताब्दीमा बेलायतमा भएको बुर्जुवा क्रान्तिको चर्चा गुर्नभएको हो ।
[iv] सेतो पञ्जा लगाएको गणतन्त्रवादी, अलङ्कारिक अर्थ छद्म क्रान्तिकारी । - सं.
[v] बेडलम- लण्डनको एउटा पागलखाना ।
[vi] १० डिसेम्बर १८४८ को दिन भएको आमचुनावमा लुइ बोनापार्ट फ्रान्सेली गणतन्त्रको राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
[vii] "मिस्रो मासुभाँडो सम्झेर पछुताउनु”- यो अभिव्यक्ति बाइबलको एउटा किंवदन्तीबाट लिइएको । हो, जसअनुसार मिस्रको कैदबाट भागेका यहूदीहरूमध्ये यात्राको कठिनाइ र भोकले थाकेका केही डरछेरुवाहरू कैदी जीवनका ती दिनहरू सम्झेर पछुताउँदै थिए, जब उनीहरू कम्तीमा पनि पेटभरि खान पाउँदथे ।
[viii] आकस्मिक प्रहार ।
[ix] उच्छृङ्खल कारबाई ।
[x] “Hic Rhodus, hic salta ! (“यही छ तिम्रो रोदस, यहीं हाम फाल !")- प्राचीन युनानी नीति कथाकार इसपको एउटा नीतिकथाको वाक्य । यस कथामा कुनै गफाडीले गवाहहरूको हवाला दिदै कसरी उनले एकपल्ट रोदसमा आश्चर्यजनक रूपले हाम फालेका थिए भन्ने धाक लाउँदा, उसलाई जवाफ दिँदै मानिसहरूले भनेका थिए, “किन चाहियो र गवाह, यहीं छ तिम्रो “यहीं देखाऊ, यही मुख्य कुरा हो !" रोदस, यहीं हाम फाल।" यहीं गुलाफ छ, यहीं नाच ! यहीं गुलाफ छ, यहीं नाच । - उपर्युक्त उद्धरणको यो पदान्वय (युनानी भाषामा रोदस शब्दको अर्थ गुलाफ पनि हुन्छ) हेगेलले आफ्नो रचना Grund Linien der Philosophie der Rechts ('न्यायदर्शनको सिद्धान्त') को भूमिकामा प्रयोग गर्नुभएको हो ।
[xi] सन् १८४८ को फ्रान्सेली संविधानअनुसार प्रत्येक चार वर्ष मे महिनाको दोस्रो आइतबार नयाँ राष्ट्रपतिको चुनाव हुनुपर्थ्यो । मे १८५२ मा लुइ बोनापार्टको राष्ट्रपतितत्वकाल समाप्त हुन्थ्यो ।
[xii] किलिआसवादी (सहस्राब्दी, युनानी भाषामा chilias भनेको सहस्र हो) - रहस्यवादी धार्मिक विचारधाराका प्रचारकहरू । यस विचारधाराअनुसार इसाले दोस्रोपटक संसारमा पदार्पण गर्नेछन् र पृथ्वीमा सहस्र वर्षको स्वर्णयुग स्थापित हुनेछ, जब न्याय, सार्विक समानता र समृद्धिको बोलवाल हुनेछ ।
[xiii] In partibus infidelium (शब्दश: अनुवाद- “नास्तिकहरूको देशका”) - गैरइसाई देशहरूमा मात्र औपचारिकताको लागि मनोनित गरिने क्याथोलिक बिशपको उपाधिसँग जोडिने शब्द मार्क्स र एङ्गेल्सले देशको वस्तुस्थितिको वास्ता नगरी विदेशमा स्थापना गरिने विभिन्न प्रवासी सरकारहरूको लागि आफ्ना कृतिहरूमा प्रायसः प्रयोग गर्नु हुने व्यङ्ग्यवाक्य ।
[xiv] क्यापिटोलियम- रोमको एउटा सानो डाँडो, जसलाई किल्लाको रुप दिइएको थियो । किंवदन्तीअनुसार ३९० इ.पू. गालहरूको आक्रमणको समय युनहरूको मन्दिरबाट आएको हाँसहरूको क्योंक्यों आवाजले क्यापिटोलियमको प्रहरीहरूलाई बिउँझाइदिएकोले मात्रै रोम बच्न सकेको थियो ।
[xv] यहाँ तथाकथित “अफ्रिकाली” अथवा “अल्जेरियालीहरूको" चर्चा गरिएको हो । फ्रान्सका ती जर्नेलहरू र अफिसरहरू, जसले आफ्नो स्वतन्त्रताको लागि सङ्घर्षरत अल्जेरियाली जातिहरूको विरुद्ध औपनिवेशिक लडाइँमा सैनिक तरक्की प्राप्त गरेका थिए । काभेन्याक लामोरिस्येर, बेदोजस्ता "अफ्रिकाली" जर्नेलहरूले राष्ट्रिय विधायिका सभामा गणतन्त्रवादी दलको नेतृत्व गरेका थिए ।
[xvi] स्वतन्त्रता, समानता, बन्धुत्व । - सं.
[xvii] ग्यातेको 'फाउस्ट' मा मेफिस्टोफिलिसको उक्ति । - सं.
[xviii] राजवंशीय विरोधीपक्ष- जुलाई राजतन्त्रको समयमा फ्रान्सको संसद्मा एक विरोधी दल । औद्योगिक तथा व्यापारी बुर्जुवावर्गका उदारपन्थी तप्काहरूको दृष्टिकोण अभिव्यक्त गर्ने यस समूहका प्रतिनिधिहरू निर्वाचन पद्धतिमा सामान्य सुधारको पक्षमा थिए । यस्ता सुधारहरूद्वारा क्रान्ति रोक्न सकिन्छ र आर्लेआन राजवंशको शासन कायम राख्न सकिन्छ भन्ने उनीहरूको सोचाइ थियो । राजवंशीय विरोधी पक्षका नेता ओदिलों बारों थिए ।
[xix] जुलाई राजतन्त्र- लुई फिलिपको शासनकाल (इ.स. १८३०-१८४८) । सन् १८३० को जुलाई क्रान्तिको फलस्वरूप यस शासनकालको नाम रहन गएको हो ।
[xx] १५ मे १८४८ को दिन पेरिसका मजदुरहरू तथा कालिगडहरूको एउटा जुलुसले संविधानसभाको अधिवेशन भवनभित्र पसेर संविधानसभा भङ्ग गरिएको र क्रान्तिकारी सरकारको गठन भएको घोषणा गरेको थियो । परन्तु लगत्तै त्यहाँ आइपुगेका राष्ट्रिय गार्ड र सेनाले प्रदर्शनकारीहरूलाई धपाए । मजदुर नेताहरू (ब्लॉकी, बार्बेल, अबलेर, रास्पाइल, सोब्रिये तथा अन्य) गिरफ्तार भए ।
[xxi] क्रान्तिकारी जनताको विरुद्ध सङ्घर्ष गर्नको लागि अस्थायी सरकारले २५ फेब्रुअरी १८४८ मा एउटा अध्यादेशद्वारा एक गतिशील गार्डको स्थापना गरेको थियो । यो गार्ड मुख्यतया लम्पट- सर्वहाराहरूबाट बनेको थियो र जुन विद्रोहको दमनको लागि प्रयोग गरिएको थियो ।
[xxii] रोमन इतिहासविद् युसेबियासको कथनानुसार इ.स. ३१२ मा सम्राट् कन्सटेन्टाइन प्रथमले आफ्नो शत्रु माक्सेनचिमाथि विजय प्राप्त गर्नुभन्दा पहिले आकाशमा कसको चिन्ह देखेका थिए, जसमा लेखिएको थियो, “यसै चिन्हले तँलाई विजयी बनाउनेछ ।”
[xxiii] युनानी देवदासी तथा भविष्यवक्ता पिथियाले देल्फासस्थित अपोलोको मन्दिरमा एउटा विशेष त्रिपाइको उभिएर भविष्यवाणी गर्दथिन् ।
[xxiv] काप्युलिन्स्की- हाइनेको काव्य 'दई वीरहरू' का एक नायक, फजुलखर्ची पोलिस अभिजात, फ्रेन्च शब्द crapule (नीच, खन्चुवा, रक्सीबाज, कामचोर, अधम) बाट काप्युलिन्स्की शब्द बनाइएको हो । मार्क्सले लइ बोनापार्टलाई काप्युलिन्स्की नामले सम्बोधन गर्नुभएको हो ।
प्रगति प्रकाशन मास्कोद्वारा प्रकाशित । अनुवादक: राजेन्द्र मास्के
प्रतिक्रिया